रविलाई पोखराबाट काठमाडौं ल्याइयो



काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई काठमाडौं ल्याइएको छ ।

लामिछानेलाई बुध्द एयरको विमानबाट काठमाडौं ल्याइएको हो । लामिछानेलाई विमानस्थलबाट माइतीघरस्थित जिल्ला प्रहरी परिसर काठमाडौं लगिँदै छ ।

लामिछानेलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले काठमाडौं जिल्ला परिसरलाई अनुमति दिएको थियो ।

अब काठमाडौंस्थित सरकारी वकिलको कार्यालयमा उनको बयान लिइनेछ । प्रहरी स्रोतका अनुसार उनलाई काठमाडौंमा ३ दिन राखिने छ ।

पक्राउ पुर्जी जारी भएसँगै काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनीहरुमाथि अनुसन्धानका लागि बाटो खुलेको थियो ।

यसअघि प्रहरी वृत्त कालीमाटीमा जाहेरी परेपछि उक्त फाइल जिल्ला प्रहरी परिसरले कालीमाटीबाट झिकाएर अनुसन्धान अघि बढाएको हो ।

स्वर्णलक्ष्मी सहकारीमा राखेको करिब १ अर्ब रुपैयाँ अनियमितता गरेको भन्दै प्रहरीमा ५ सय २८ जनाले २०८१ को वैशाखमा जाहेरी दिएका थिए ।

जीबी राई अध्यक्ष रहेको उक्त सहकारीमा रास्वपा सभापति रविलामिछानेसहितले रकम अपचलन गरेको प्रहरीले भौचरसमेत फेला पारेको छ।

स्वर्णलक्ष्मीबाट जीबी र रविले दुई पटक ऋण लिएको तर फिर्ता नगरेको भेटिएको प्रहरीले जनाएको छ।

२०७८ भदौ ४ मा उनीहरुले ‘फोर ह्विलर लोन’ र २०७८ कात्तिक १ मा ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न भनेर ऋण निकासा गराएको भेटिएको छ ।

‘फोर ह्विलर लोन’ बापत ४६ लाख ९८ हजार र ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न ४६ लाख ८८ हजार ऋण लिएका छन् ।

दुई पटक गरी जम्मा ९३ लाख ८६ हजार ऋण लिएका थिए । उनीहरूले ६१ लाख ७३ हजार फिर्ता गरेका छैनन् । गैर कानुनी हिसाबले जीबी र लामिछानेको नाममा प्रवाह भएको ऋणको ३५ थान भौचर प्रहरीले फेला परेको जनाइएको छ ।

लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि यसअघि रुपन्देही लगिएको थियो ।

लामिछानेले हिरासतबाटै सोमबार राति आफूमाथि सरकारी वकिलको कार्यालयबाट पनि षड्यन्त्र भएको आरोप लगाउँदै लामो सन्देश सार्वजनिक गरेका थिए । लामिछानेलाई काठमाडौंमा बयानका लागि कम्तीमा ३ दिन राख्ने तयारी गरिएको छ ।

कात्तिक २ गते काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परेका लामिछाने त्यसयता कास्की प्रहरीको हिरासतमा छन् । पछिल्लो पटक लामिछानेलाई कास्की जिल्ला अदालतले मंसिर ९ गते १५ दिनका लागि म्याद थप गरिएको छ ।


क्लिकमान्डु