पक्राउ गरेको २७ दिनपछि गालियो ‘ब्रेक सु’मा हालेर तस्करी भएको सुन, ६० किलो ७१६ ग्राम पुष्टि



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट बाहिरिइसकेपछि साउन ३ गते राति राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन आज (मंगलबार) गालिएको छ ।

बरामदपछि नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा बबरमहलमा राखिएको सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, राष्ट्र बैंक र विभागका प्रतिनिधिको रोहबरमा गालिएको हो ।

मोटरसाइकल र स्कुटरको ब्रेक सु मा लुकाएर ल्याएका सुन सोमबार तीनवटै निकायको रोहवरमा अलग गरिएको थियो । अलग गरेको सुनको तौल ६० किलो ७८९ ग्राम थियो । गालिसकेपछि ६० किलो ७१६ ग्राम सुन निस्किएको राष्ट्र बैंकका निर्देशक एवं टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यले जानकारी दिए ।

‘ब्रेक सु बाट अलग गरिएको सुनलाई पहिला सफा गर्‍यौं र त्यसपछि गालेका छौं,’ आचार्यले भने, ‘बिहान साढे १० बजेदेखि सफा गर्न र गाल्न थालिएको हो, चार घण्टामा बल्ल गाल्ने र जोख्ने काम सकिएको छ । ६० किलो ७१६ ग्राम सुन निस्किएको छ ।’

यसअघि ‘ब्रेक सु’सहित सुनको तौल १५५ किलो थियो । ब्रेक सु बाहेक सुनको तौल करिब एक क्विन्टल अनुमान गरिएको थियो । सुनको गुणस्तर र आर्थिक परीक्षणको काम अझै बाँकी नै रहेको आचार्यले बताए ।

विभागबाटै १९ दिन अनुसन्धान

राजस्व अनुसन्धान विभागले सुन बरामद गरेपछिका १९ दिनसम्म आफैं अनुसन्धान गर्‍यो । विभागले उपसचिवहरु विदुरकुमार कार्की, विनोद लामिछाने र लाई अनुसन्धान अधिकृत तोकेर तस्करीको सुनमाथि अनुसन्धान अघि बढायो ।

तस्करीको सुन बरामद प्रकरणमा हालसम्म १८ जना पक्राउ परिसकेका छन् । तीमध्ये १ जना धरौटीमा छुटेका छन् । हङकङबाट नेपाल भित्र्याइएको सुन प्रकरणमा पक्राउ परेका १४ नेपाली, दुई चिनियाँ र एक भारतीय सीआईबीको हिरासतमा छन् ।

विभागले १७ दिनको अनुसन्धानमा एकदमै रफ्तारमा काम गरेको तत्कालीन अनुसन्धान अधिकृत एवं उपसचिव सन्तोष पौडेल बताउँछन् । ‘करिब १० मुख्य ठाउँमा छापा मारेका थियौं भने १८ जनालाई पक्राउ गरेका थियौं,’ उनले भने, ‘अनुसन्धान गरेको जहाँ पुगेको थियो र जतिलाई समातिएको थियो, ती सबै सीआईबीलाई जिम्मा लगाएका छौं ।’

राजस्व अनुसन्धान विभागले चिनियाँले सुरुमा सामान लगेर थन्क्याउने गरेको बालुवाटार गोदाम र त्यही प्रयोजनमा प्रयोग भइरहेको लाजिम्पाटको गोदाममा छापा मारेको थियो । त्यसपछि सुन निकालिसकेको अवस्थामा ६६ वटा कार्टुन फेलापरेको लाजिम्पाटको घरमा विभागले छापा मार्‍यो ।

चिनियाँ मूलका भारतीय नागरिक थुप्तेन छिरिङ बसेको पानीपोखरी फ्ल्याटमा छापा मारेर उनलाई पनि नियन्त्रणमा लियो । सामान राख्ने गरेको सोह्रखुट्टेको गोदाममा छापा मार्‍यो ।

त्यसपछि तीन वर्षदेखि चिनियाँले प्रयोग गर्दै आएको टोखाको गोदाम र कारखानामा छापा मार्‍यो । विभागले सुन बोक्ने चिनियाँले प्रयोग गर्दै आएको धापासीको घरमा छापा मार्‍यो ।

विभागले धुम्बाराही पीपलबोट र मण्डिखाटारमा दुईवटा घरमा छापा मार्‍यो । चिनियाँले भाडामा लिएका ती घरमा ८–१० जना भारतीय केटीहरु पनि बस्ने गरेको पाइएको थियो ।

त्यसपछि विभागले ठमेलको होटल भियनामा छापा हानेर छावा छिरिङलाई पक्राउ गर्‍यो । सँगै गल्कोपाखामा रहेको छिरिङको घरमा पनि छापा हानेको उपसचिव पौडेलले जानकारी दिए ।

सुन तस्करी प्रकरणमा प्रहरीले मंगलबार थप ३ जनालाई पक्राउ गरेको छ । सीआईबीले २ पुरुष र १ महिलालाई पक्राउ गरेको हो । पक्राउ उनीहरुको साथबाट ३१ लाख रुपैयाँ समेत बरामद भएको जनाइएको छ । पक्राउ पर्ने चिनियाँ नागरिकहरुमा पुरुष गाउ हुइ, झोङ सेक चिन र महिला ताङ पिङ रहेका छन् ।

विभागले साउन २१ गते सुन तस्करी प्रकरणमा भेटिएका प्रमाण, तथ्य र हिरासतमा रहेका १७ जना सीआईबीलाई बुझाइसकेको छ । सीआईबीले एसपी सञ्जयसिंह थापाको कमान्डमा सुनको अनुसन्धान गरिरहेको छ ।

विभागका महानिर्देशक नवराज ढुंगानाले सुन तस्करी अन्तरदेशीय संगठित अपराध भएकाले विभागले थप छानबिन र मुद्दा अभियोजनको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई सुम्पिएको बताएका छन् । उनले अन्तर्राष्ट्रिय अपराधको रुपमा स्थापित हुने र राजस्व अनुसन्धान गर्दै जाँदा यससँग अन्य कानुन पनि आकर्षित हुने अवस्था देखिएको बताएका हुन् । हाल अनुसन्धान गरिरहेको सीआईबीले भने यसबारेमा केही बताएको छैन ।


क्लिकमान्डु