राष्ट्र बैंकले अब के गर्छ ६० किलो सुन ?



काठमाडौं । तस्करले हङ्कङबाट मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको सुन आज टक्सार महाशाखामा गालिएको छ।

महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहवरमा सुन गालिएको हो । यसअघि सोमबार ब्रेक शुबाट सुन छुट्याउने काम गरिएको थियो ।

यसरी छुट्याइएको सुनको तौल ६० किलो सात सय ८९ ग्राम थियो । गालेपछि सुनको मात्रा ६० किलो ७१६ ग्राम पुष्टि भएको छ।

सुन गाल्ने काम सकिएसँगै त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने प्रमुख आचार्यले बताए । त्यसका लागि सकेसम्म ३ दिनमा काम सक्ने अन्यथा ७ दिनभित्र सम्पूर्ण विवरण सार्वजनिक हुने बताए ।

आचार्यले गुणस्तर परीक्षण सकिएपछि उक्त सुन नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बजार मूल्यको ५ प्रतिशत थप मूल्य तिरेर सरकारबाट लिने जानकारी दिए ।

राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । अहिले सुन तस्करीबारे केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ ।


क्लिकमान्डु