
विराटनगर । पूर्वको प्रमुख व्यापारिक नाका विराटनगरको जोगबनीबाट आर्थिक वर्ष २०८२/०८३ मा २ खर्ब ४१ अर्ब ६५ करोड ९९ लाख रुपैयाँको आयात हुँदा निर्यात ८८ अर्ब ७२ करोड ८४ लाखमा खुम्चिएको छ ।
यो नाकाबाट आर्थिक वर्ष २०८२/८३ मा १ खर्ब ५२ अर्ब ९३ करोड १५ लाखले व्यापार घाटा भएको तथ्यांक छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा गत वर्ष १६ प्रतिशतले वैदेशिक व्यापारको आकार बढेर २ खर्ब ४१ अर्ब पुग्दा निर्याततर्फ २० प्रतिशतले बढेर ८८ अर्ब ७२ करोड पुगेको छ । गत आर्थिक वर्ष समग्रमा जोगबनी नाकाबाट हुने व्यापार १७ प्रतिशतले बढेको तथ्यांक छ । विराटनगर भन्सारका अनुसार जेठ १५ अगाडि जोगबनी नाकाको व्यापार सन्तुलित थियो । जेठ १५ मा चालु वर्षको बजेट सार्वजनिक भएपछि व्यापार नै ह्वात्तै घट्यो ।
औद्योगिक नगर विराटनगरको वैदेशिक व्यापारलाई निर्यातमा प्रशोधित भटमासको तेलले धानेको पाइएको छ । वर्षभरि यो नाकाबाट ८८ अर्ब ७२ करोड मूल्यका औद्योगिक उत्पादन निकासी हुँदा प्रशोधित भटमासको तेलको हिस्सा मात्र करिब ५० अर्ब रहेको विराटनगर भन्सारको तथ्यांक छ ।
आर्थिक वर्ष २०८२/०८३ को तथ्यांकले जोगबनी नाकाबाट ४९ अर्ब ९८ करोड ८४ लाख मूल्यको २२ करोड ५४ लाख ६५ हजार ४७० किलो प्रशोधित भटमासको तेल निकासी भएको देखाउँछ ।
त्यसैगरी जोगबनी नाकाको वैदेशिक व्यापार भटमासको प्रशोधित तेलपछि सिन्थेटिक यार्न (धागो) र जुटजन्य सामग्रीले धानेको पाइएको छ । गत वर्ष यो नाकाबाट सिन्थेटिक यार्न ८ अर्ब २३ करोड मूल्यको निकासी हुँदा जुटका सामग्रीको हिस्सा ७ अर्ब २६ करोड छ ।
जोगबनी नाकाबाट २ अर्ब ७४ करोडको जुटको झोला, २ अर्ब ५१ करोडको जुटको कपडा, १ अर्ब ६९ करोडको भेनियर सिट र १ अर्ब ६६ करोड मूल्यको प्रशोधित सूर्यमुखी तेल निर्यात भएको छ । पछिल्लो समय चर्चामा रहेको नेपाली ‘स्पोर्टस् सु’ को निर्यात १ अर्ब ४० करोड पुगेको छ । त्यसैगरी तामाको पाता १ अर्ब २८ करोड र चाउचाउ तथा पास्ता १ अर्ब १ करोड मूल्यको निकासी भएको विराटनगर भन्सार कार्यालयको वार्षिक तथ्यांक छ ।
आयाततर्फ भने औद्योगिक पदार्थ र इन्धनको हिस्सा बढी छ । सबैभन्दा बढी राजस्व योगदान गर्ने वस्तुहरूमा कच्चा भटमासको तेल, पोलिथिन दाना, एलपी ग्यास, एचआर सिट र कपर वायर रहेका छन् । कच्चा भटमासको तेलको आयातबाट मात्रै सरकारले वार्षिक २ अर्ब ६० करोड रुपैयाँ राजस्व संकलन गरेको छ । असार महिनामा मात्रै ४ अर्ब ५२ करोड रुपैयाँको कच्चा तेल आयात भएको छ ।
अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८२/०८३ मा जोगबनी नाकाको व्यापार १६ प्रतिशतले बढे पनि विराटनगर भन्सारको राजस्व संकलनको लक्ष्य भने गत वर्ष पनि पूरा हुन सकेन । यो भन्सार विगत ६ वर्षदेखि लक्ष्य अनुसारको राजस्व असुलीमा असफल हुँदै आएको छ । आर्थिक वर्ष २०८२/८३ मा ४१ अर्ब ३४ करोड ८० लाख रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य रहँदा विराटनगर भन्सारले ८५.५६ प्रतिशत अर्थात् ३५ अर्ब ३७ करोड ६७ लाख रुपैयाँ मात्र राजस्व असुली गरेको छ । असार महिनामा ३ अर्ब ५९ करोडको लक्ष्य राख्दा ३ अर्ब २ करोड ५७ लाख मात्र राजस्व उठेको छ ।
त्यसैगरी गत साउनमा ७८.५६, भदौमा ८०.४७, असोजमा ८२.५१, कात्तिकमा ५५.८४, मंसिरमा ८३.२६, पुसमा लक्ष्यको ९३.३६ प्रतिशत राजस्व असुली गर्दा माघमा लक्ष्यको १०२.९४ प्रतिशत राजस्व असुली भएको थियो । त्यसैगरी फागुनमा ९६.७, चैतमा १०१.३६, वैशाखमा ८८.२२ र जेठमा ८३.४२ प्रतिशत राजस्व असुली भएको थियो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत जेठ १५ गते संघीय संसद्मा आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्ने क्रममा २७३ प्रकारका औद्योगिक कच्चा पदार्थमा एक तह फरक हुने गरी भन्सार महसुल घटेको र ३६० प्रकारका वस्तुहरूमा अन्तःशुल्क खारेज भएको घोषणा गरे पनि त्यसको कुनै सकारात्मक प्रभाव जोगबनी नाकाको व्यापारमा नपरेको सम्बद्ध उद्योगी व्यवसायीले बताएका छन् ।
बजेटमा घोषणा गरिएको २७३ प्रकारका औद्योगिक कच्चा पदार्थमा एक तह फरक हुने गरी भन्सार महसुल घटाउने विषय सुनसरी–मोरङ औद्योगिक क्षेत्रका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ झैँ भएको उद्योगी एवं नेपाल उद्योग परिसंघ कोसीका अध्यक्ष पवनकुमार सारडाको आरोप छ । उनले भने, ‘बजेटकै कारण जोगबनी नाकाबाट औद्योगिक कच्चा पदार्थ र व्यापारिक सामानको आयात झन् घट्दो छ ।’
आवश्यक औद्योगिक कच्चा पदार्थमा भन्सार महसुल बढेको र अनावश्यकमा भन्सार महसुल घटेको उनले बताए । ‘अन्तःशुल्क पनि आवश्यक वस्तुमा हटेको छैन, उपभोग नै नहुने र अनावश्यक वस्तुमा अन्तःशुल्क घटेको छ,’ सारडाले भने, ‘सुनसरी–मोरङ औद्योगिक क्षेत्रका लागि अर्थमन्त्री वाग्लेको बजेटले व्यापार झन् घटाएको छ ।’
सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योगका लागि मुख्य गरेर भटमासको कच्चा तेल, सूर्यमुखीको कच्चा तेल, पोलिथिन दाना, एमएस वायरको क्वायल, एलपी ग्यास, शुद्ध फलाम, प्लास्टिक सिट, रिफाइनरी पाम आयल, तोरी, रायो र सर्सिउँको दाना प्रमुख कच्चा पदार्थ हुन् । तीमध्ये एमएस वायरको क्वायलमा मात्र भन्सार महसुल घटाइएको छ ।
एमएस वायरको क्वायलमा विगतमा भन्सार महसुल १० प्रतिशत थियो, बजेटपछि ५ प्रतिशतमा झरेको छ । बाँकी भटमासको कच्चा तेल, सूर्यमुखीको कच्चा तेल, पोलिथिन दाना, एलपी ग्यास, शुद्ध फलाम, प्लास्टिक सिट, रिफाइनरी पाम आयल, तोरी, रायो र सर्सिउँको दानाको आयातमा लाग्दै आएको भन्सार शुल्कमा एक आना पनि नघटेको विराटनगर भन्सार स्रोतले क्लिकमाण्डुलाई बतायो ।
बजेटपछि जोगबनी नाकाबाट आयात–निर्यात नै घटेको छ । भन्सार स्रोतले भन्यो, ‘एमआरपीका कारण दैनिक उपभोग्य वस्तुको आयात ह्वात्तै घटेको छ । बजेटका कारण औद्योगिक कच्चा पदार्थको आयात पनि घट्दो छ । बजेटमा उल्लेख भएका औद्योगिक कच्चा पदार्थ सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योगलाई आवश्यक नै पर्दैन । आवश्यक पर्ने प्रायः सबै औद्योगिक कच्चा पदार्थको भन्सार महसुल र अन्तःशुल्क विगतकै कायम छ ।’ भन्सार स्रोतका अनुसार उद्योगी र व्यापारी ‘पर्ख र हेर’को अवस्थामा बस्दा आयात–निर्यात नै घट्न पुग्यो, जसले राजस्व असुली नै प्रभावित बन्यो ।





प्रतिक्रिया