कारभित्र मृतअवस्थामा फेला परिन् रिजाल

1.6k
Shares

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा एक महिलाको शव कारभित्र जलेको अवस्थामा फेला परेको छ।

तारकेश्वर- ९, शुभकामना चोककी ४५ वर्षीया रश्मी रिजाल शनिबार दिउँसो उक्त कारमा मृत फेला परेकी हुन्।

रिजाल नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा ‘मर्चेन्ट हेड’ को पदमा कार्यरत थिइन्। पारिवारिक स्रोतका अनुसार उनी साउन ८ गते बिहान ७ बजेदेखि नै बेपत्ता भएकी थिइन्।

तारकेश्वर नगरपालिका वडा नं १ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिकै पार्किङ गरिएको बीएई ०४१० नम्बरको विद्युतीय कारभित्र उनको शव भेटिएको हो।

कारको पछाडिको सिटमा शव डढेको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए।

शनिबार दिउँसो करिब १ बजे स्थानीयले कारभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बालाजुको टोलीले घटनास्थल पुगेर प्रारम्भिक जाँचबुझ गरेको छ।

शवलाई पोष्टमार्टमका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल (टिचिङ) पठाइएको प्रहरीले जनाएको छ। कारभित्रै जलेको अवस्थामा शव भेटिएकाले घटनाको प्रकृतिबारे प्रहरीले गम्भीर छानबिन सुरु गरेको छ।

पोष्टमार्टमको रिपोर्ट र थप अनुसन्धानपछि मात्र मृत्युको वास्तविक कारण खुल्ने एसपी भट्टराईले बताए।