
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आफ्नो सचिवालयमा २७ जना कर्मचारी तथा सल्लाहकार नियुक्त गरेको पाइएको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार शाहले दुई जनालाई मन्त्री र दुई जनालाई राज्यमन्त्री सरहको सेवा-सुविधा पाउने गरी नियुक्ति दिएका हुन् ।
मुख्य सल्लाहकार कुमार बेन र राजनीतिक सल्लाहकार असिम शाहले मन्त्री सरहको सुविधा पाइरहेका छन् भने नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रलाई राज्यमन्त्री सरहको सुविधा दिइएको छ । यसका अतिरिक्त, एक जना अवैतनिक स्वास्थ्य सल्लाहकार पनि नियुक्त गरिएको छ ।
प्रधानमन्त्री शाहले मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा झारे पनि आफ्नै सचिवालयमा भने मन्त्री र राज्यमन्त्री सरहका चार जना सल्लाहकार राखेका छन् । २०८२ भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपछि सुशासनको नारासहित बनेको सरकारले पारदर्शिता नदेखाएको भन्दै आलोचना सुरु भएको छ ।
प्रधानमन्त्री सचिवालयमा ४८ जनासम्म राख्न पाउने व्यवस्था छ । यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ६६ जनासम्म राखेका थिए भने अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले सुरुमा २० जना नियुक्त गरे पनि विरोधपछि त्यसलाई ६ जनामा झारेकी थिइन् ।
प्रधानमन्त्री कार्यालयले अन्य मन्त्रालयका सल्लाहकारहरूको संख्याबारे पनि जानकारी दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले बढीमा ५ जनासम्म सल्लाहकार राख्न पाउने व्यवस्था गरिएको छ । अन्य मन्त्रीहरूले भने बढीमा ३ जना सल्लाहकार र ९ जनासम्मको स्वकीय सचिवालय टोली राख्न पाउने दरबन्दी तोकिएको छ ।





प्रतिक्रिया