प्रजातन्त्रको बिगुल फुकेको कोइराला निवास: जेनजी आन्दोलनको आगोले निलेको धरोहर

कांग्रेस र प्रजातान्त्रिक आन्दोलनका सबै प्रमाण र कागजात खरानी


विराटनगर । प्रधानमन्त्री सुशिला कार्कीका पति दुर्गा सुवेदी कांग्रेससँग नजिक हुँदाको बखत विराटनगरको कोइराला निवासका बारेमा भन्ने गर्थे, ‘निवासका जनावरसमेत उसबेला प्रजातन्त्र बिरोधीविरुद्ध प्रदर्शन गर्थे ।’

सुवेदीकै भाषामा कोइराला निवासका उसबेलाका कुकुरलगायतका पालतु जनावर राणा र पञ्चायतकालमा अक्सर उत्तानो टाङ पारेर सुत्थे । त्यसबेला निवासमा पुग्ने जो कोहीले त्यो दृश्यलाई प्रजातन्त्र बिरोधीलाई निवासका पाल्तु जनावरले समेत बिरोध प्रदर्शन गरेको संकेतका रूपमा अर्थ्याउँथे ।

सुवेदी २०३० जेठ २८ गते कांग्रेसले विराटनगरमा जहाज अपहरण गर्दाका प्रमुख मध्येका एक हुन् । जहाज अपहरणमा सुवेदीसहित वसन्त भट्टराई, नगेन्द्र ढुंगेल र मदन अर्याल संलग्न रहेको इतिहास छ ।

कांग्रेसको नेतृत्वमा भएको त्यो जहाज अपहरणमा राष्ट्र बैंकको भारु ३० लाख लुटिएको थियो । विराटनगरबाट काठमाडौं उडेको तत्कालीन शाही नेपाल वायु सेवा निगमको जहाज सुवेदीको समूहले अपहरण गरेर भारतको फारबिसगञ्ज पुर्‍याएको थियो ।

विसं १९८६ ताका जहानियाँ राणा शासन उत्कर्षमा रहेको समयमा पिताजी कृष्णप्रसाद कोइरालाले अहिलेको कोशी अस्पताल पश्चिमको कुनामा कोइराला निवासको रूपमा एउटा काठे घर ठड्याएका थिए ।

सखुवाको काठ र गिलेवा इँटा जोडेर तयार गरिएको त्यो घर मात्रै थिएन, नेपाली लोकतन्त्रको जन्मस्थल पनि थियो । त्यही घरलाई कांग्रेसको तीर्थस्थल र लोकतन्त्रवादीको संग्रहालय पनि भनिन्थ्यो।

त्यही घरबाट बुबा कृष्णप्रसादले राणा प्रधानमन्त्री चन्द्र शमसेरलाई जनताको फाटेको भोटो र दौरा पार्सल पठाएर राणा शासनविरुद्ध ‘जेहाद’ छेडेको इतिहास छ ।

त्यतिमात्र होइन, त्यही घरबाट नेपाली कांग्रेसले राणा शासनविरुद्धको क्रान्तिको बिगुल फुक्यो, जसले प्रजातन्त्रको उज्यालो ल्यायो र पटक-पटक अधिनायकवादको प्रतिरोध पनि गर्‍यो । २००७ साल, पञ्चायतको ३० वर्षे कालरात्री, २०४६ को जनआन्दोलनदेखि २०६२/२०६३ को दोस्रो जनआन्दोलनसम्म यो घर लोकतान्त्रिक राजनीतिक केन्द्र बन्यो ।

धेरै बिद्रोही आन्दोलन गरेको अनि भोगेको नेपाली लोकतन्त्रको धरोहर घरले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते एकाएक आगोको लप्का बेहोर्‍यो । करिब १०० वर्षअघि बुबा केशवले काठको घर, टिनको छानो र बाँसका भित्तामा माटो लेपन गरिएको थियो । जसलाई पछिल्लो समय घरको मूली बनेका शेखरले संरक्षण गर्दै आएका थिए ।

आगजनीको एक सातापछि गत शनिवार घरमुली शेखर कोइराला ध्वस्त भएको आफ्नै निवासमा आइपुगे । हजुरबुवाले सृजना गरेको लोकतन्त्रको धरोहरको खण्डहर देख्दा उनी भक्कानिए । घरको खरानीमाथि उभिएर उनले विराटनगरका सञ्चारकर्मीहरूसँग जंगिँदै प्रश्न गरे, ‘यो घरमा आगो लाग्दा तपाईंहरू कहाँ हुनुहुन्थ्यो ?’

‘यो मेरो घर मात्र थिएन । यो घर लोकतन्त्रको पर्यायवाची पनि थियो । लोकतन्त्रका लागि राणाकालदेखि लड्दै आएको यो घर जल्दा तपाईंहरू कहाँ हुनुहुन्थ्यो ?’ उनको प्रश्न थियो ।

स्थापना कालदेखि अहिलेसम्म यो घरमा प्रजातन्त्र बिरोधीले ढुंगासमेत प्रहार गर्न सकेका थिएनन् । बुबा कृष्णप्रसादपछि बीपी, केशव, नोना र त्यसपछि पछिल्लो समय २०६५ सालसम्म यो घरको मुली गिरिजाप्रसाद थिए । त्यसबेलासम्म यो घरले २००७ साल, पञ्चायतको ३० वर्षे काल, २०४६ को जनआन्दोलनदेखि २०६२/२०६३ को दोस्रो जनआन्दोलनसम्म धान्दै लोकतान्त्रिक राजनीतिक केन्द्र बन्दा कसैले पनि ढुंगा समेत प्रहार गर्ने हिम्मत गरेका थिएनन् ।

२०६५ सालयता यो घरको मुली शेखर हुन् । गिरिजाप्रसादको निधनपछि उनी यही घरमा बस्दै कोइराला परिवारको विरासत धान्दै कांग्रेसको खुला राजनीतिमा दौडधुप गर्दै आएका छन् । कांग्रेसको सक्रिय राजनीतिमा रहेर घरमुली आफैं भएको अवस्थामा यो घर किन खरानी बन्यो ? त्यसको उत्तर स्वयं शेखरसँगै होला ।

आगजनी हुनुअघिको कोइराला निवास

कपडाको साधारण व्यापार गर्ने कृष्णप्रसादले आफ्नै मेहनत र पसिनाको कमाइले ठड्याएको त्यो घर एक दिन नेपाली राजनीतिक इतिहासको महत्वपूर्ण साक्षी बन्नेछ भन्ने अनुमान विरलैले गरेको हुन सक्छ ।

कृष्णप्रसाद पेशाले व्यापारी थिए । उनी समाज सुधारकको अगुवा पनि थिए । उनका तीन छोराहरू विभिन्न कालखण्डमा मुलुकका प्रधानमन्त्री बनेर ‘एकै बाबुका तीन छोरा प्रधानमन्त्री’ शीर्षकको इतिहास नै बन्यो । मातृकाप्रसाद कोइराला २००८, विश्वेश्वरप्रसाद कोइराला २०१६ जेठ र गिरिजाप्रसाद कोइराला २०४८ जेठमा नेपालका प्रधानमन्त्री भएका थिए । एकै परिवारबाट तीन प्रधानमन्त्रीको उदय हुनु दुर्लभ उदाहरण मानिन्छ ।

सिन्धुलीको दुम्जा गाउँमा जन्मेका कृष्णप्रसाद विराटनगर बसाइँ सरे । उनी देशका विभिन्न भन्सारमा ठेक्का चलाउँदै कपडाको व्यापार गर्थे । व्यापारको क्रममा कलकत्तासम्मको आवतजावत बढ्दा उनीमा राजनीतिक क्रियाकलाप बढ्दै गयो । विराटनगरमा आदर्श विद्यालय स्थापनासँगै महिला समितिमार्फत् महिलामाझ चेतना फैलाउने, छोरीहरूको शिक्षा प्रोत्साहन गर्ने जस्ता समाज सुधारका कार्यहरूमा उनले अगुवाइ गरे ।

गत भदौ २४ गते अपराह्न कोशी अस्पताल अघिल्तिरको गल्लीबाट अराजक भीड पश्चिमतर्फ लम्कियो। हरियो रंगले पोतिएको फलामे गेट भत्काएर अराजक हुल कोइराला निवासभित्र पसेर ताण्डव मच्चाउने क्रममा तोडफोड, लुटपाटपछि घरमा आगो झोसेर भीड गेटबाहिर निस्कियो ।

त्यससँगै १०० वर्षभन्दा पुरानो राजनीतिक इतिहास बोकेको मात्र नभई नेपाली लोकतान्त्रिक राजनीतिक परिवर्तनको जीवित साक्षी कोइराला निवास खरानीमा परिणत भयो । त्यतिमात्र होइन, २००७ सालअघिदेखि गणतन्त्रको घोषणासम्म निरन्तर राजनीतिक बिगुल फुक्दै आएको ऐतिहासिक घर आगोको ज्वालासँगै इतिहासका पानामा सीमित बन्यो । घरमा रहेका कांग्रेस र प्रजातान्त्रिक आन्दोलनका सबै प्रमाण र कागजात जलेर खरानी भए ।

ऐतिहासिक कोइराला निवास खरानीमा परिणत भयो । घरको खरानीमाथि उभिएर घरमुली शेखरले उद्‍घोष गरे, ‘लोकतान्त्रिक इतिहास बोकेको घर खरानी भयो, तर प्रजातन्त्रको जग हल्लिएको छैन । यो घरलाई पहिलाकै स्वरूपमा ठड्याउने छु ।’

सन् १९४७ मा भारतमा बेलायती शासकविरुद्ध ‘भारत छोडो’ आन्दोलन सफलताको टुप्पोमा पुगेको थियो । त्यही बेला विराटनगरमा पनि भारतीय आन्दोलनको प्रत्यक्ष प्रभाव देखिन थाल्यो र त्यसकै रापतापमा राणा शासनविरुद्ध मोर्चाबन्दी हुन थाले ।

राणा बिरोधी गतिविधि तीव्र बन्दै गएपछि जुट मिलमा मजदुर हड्तालको आह्वान गरियो । वि.सं. १९९३ मा स्थापना भएको विराटनगर जुट मिल नेपालकै पहिलो उद्योग हो । यही घरको कोठामा बसेर आन्दोलनको ‘डिजाइन’ तयार पारिएको थियो । यही घरबाट बीपीले श्रमिक नेताहरूसँग रणनीति तय गर्दै भनेका थिए, ‘अब यसलाई निर्णायक आन्दोलन बनाउनै पर्छ ।’

त्यसैताका कृष्णप्रसादले तत्कालीन प्रधानमन्त्री चन्द्र शम्शेरलाई किसान र मजदुरको दुःख देखाउन फाटेका लुगा पार्सल गरेर दरबारमा पठाएका थिए । उसवेला कृष्णप्रसाद भन्थे, ‘दरबारलाई जनताको पीडा देखाउनै पर्छ र मात्र परिवर्तन सम्भव हुन्छ ।’ त्यसैले त तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शम्शेरले सर्वस्वहरण गरेपछि कृष्णप्रसाद सन्तानसहित भारत निर्वासित हुनु परेको थियो ।

वि.सं. २०१७ पुस १ गते, तत्कालीन राजा महेन्द्रले पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई कू गरेर पञ्चायती शासनको आरम्भ गरे । बीपीले तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी जीवन बिताए ।

उनी जेलमा रहँदा पनि यही घर पञ्चायत विरुद्धको आन्दोलनको मियो बनेको थियो । यही घरमा गिरिजाप्रसादको नेतृत्वमा कांग्रेस नेताहरू आन्दोलनको योजनाबारे रणनीति बुन्थे, गोप्य छलफल गर्थे र आन्दोलनको तयारीमा जुट्थे । जेलबाट छुटेपछि बीपी यही घरमा आएर आफैंले आन्दोलनको अगुवाइ गरेका थिए ।

आधुनिक नेपाली लोकतन्त्रका ‘जननेता’ बीपी कोइराला यही घरमा बस्दै सात सालको क्रान्तिमा सहभागी भए । २०१५ सालको पहिलो आमनिर्वाचनमा उनी यहीबाट उम्मेदवार बनेर विजयी मात्र भएनन्, मुलुकको पहिलो जननिर्वाचित प्रधानमन्त्री बने ।

२०३६ सालको जनमत संग्रहमा बहुदल पक्षको प्रचार-प्रसारको सचिवालय पनि यही घर थियो । २०४२ को सत्याग्रह, पञ्चायतकालीन दमनको प्रतिरोध, २०४६ को जनआन्दोलन र २०६२/६३ को जनआन्दोलनमा पनि यही कोइराला निवासको त्यो घर केन्द्र बनेको थियो ।

विराटनगरको कोइराला निवासको घर नेपाली लोकतन्त्रको हरेक निर्णायक क्षणको जीवित साक्षी थियो । यही निवासको घरले मुलुकको लोकतान्त्रिक राजनीतिको गोरेटो पनि खनेको थियो, जो आगोको लप्कासँगै विलय भयो । इतिहास समाप्त भयो ।