फर्काउला त बिराटनगरले गुमाएको औद्योगिक र राजनीतिक साख ?
मोरङ । बिराटनगरलाई चिनाउने मुख्य दुई परिचय छन् । उद्योगको जन्मभूमि र ‘पोलिटिकल हब’ ।
सय वर्षको इतिहासमा बिराटनगरले आफ्नो नाम स्थापित गराउनुमा मुख्य कारण यिनै हुन् । त्यसबाहेक अन्य कैयन प्रसंग पनि बिराटनगरको परिचयमा जोडिन्छन् । तर, ती सबै सहायक तत्वमात्रै हुन् ।
स्कुलको पाठ्यक्रमदेखि बिराटनगर जुटमिलको कथा पढ्दै पछिल्लो पुस्ता हुर्कियो । यही जुटमिलले मुलुकको कुनाकान्तारासम्म बिराटनगरलाई चिनायो ।
त्यही पुस्ताले मुलुकको राजनीतिक उथलपुथल भोग्यो । राणाशासन, पञ्चायतकाल, प्रजातन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा मुलुकको राजनीतिक ‘मियो’मा कुनै न कुनै तरिकाले बिराटनगर जोडिन्थ्यो । ५ वटा प्रधानमन्त्री जन्माएको बिराटनगर जहिल्यै चर्चाको शिखरमा रह्यो ।
फागुनको मध्यतिर हामी यही सहरका गल्लीहरु घुम्दै थियौं । बिराटनगर अझ भनौं प्रदेश नम्बर १ लाई आर्थिक र व्यावसायीक विकासका दृष्टिकोणले हेर्ने उद्देश्यका साथ सय वर्ष पुरानो जुट उद्योग, पहिलो गाडी उत्पादक कम्पनी, तीन प्रधानमन्त्री जन्माउने कोइराला निवासदेखि ३० हजार लगानी गरेर स्टार्टअप शुरु गरेको दुहवीका अमन चौधरीसम्म भेट्यौं ।
बिराटनगरलाई नजिकबाट बुझेका एक दर्जन व्यक्तित्वसँग कुरा गर्दा बिराटनगरको परिचयमा नयाँ तथ्य भेटियो । त्यो के भने बिराटनगर अब पहिलेको बिराटनगर रहेन ।
औद्योगिकराणको शुरुवातको बिरासतदेखि एकपछि अर्को प्रधानमन्त्री जन्माउने सहरले पहिलाको आफ्नो बिरासत गुमाउँदै गएको छ ।
बिराटनगरको उदय र गुमाउँदै गएको साखलाई यही सहरका व्यक्तित्वहरुले कसरी हेरिरहेका छन् त ? हामीले केही व्यवसायी तथा अन्य व्यक्तिसँग कुरा गरेका छौं ।
सय वर्षअघि रामलाल गोल्छा बिराटनगर छिर्दै गर्दा यो एउटा सानो गाउँ थियो । स्थानीयको मुख्य व्यवसाय कृषि थियो । बिराटनगरदेखि इटहरीको भेगमा जुटको खेती हुन्थ्यो ।
रामलालले पनि जुट खेती गर्न थाले । अरुको खेती पनि संकलन गरेर ठेलामा राखेर जोगबनी कटाउँथे । त्योबेला केही राइस मिल भने शुरु भइसकेका थिए ।
त्यही रामलालको परिवार आज मुलुकको सबैभन्दा ठूलो व्यावसायीक घराना बनेको छ । बिराटनगरदेखि काठमाडौंसम्म व्यावसायीक वर्चश्व जमाइरहेको छ । बिराटनगरले दुई दजर्न बढी व्यवसायिक घराना जन्माएको छ ।
सय वर्ष पुरानो जुट उद्योग सम्हालिरहेका राजकुमार मुलुकमै पहिलो मोटर्स उत्पादन गर्ने सुरेन्द्र, स्टील उद्योगमा लागेका दिनेश उनै रामलाल गोल्छाका नातीहरु हुन् । जसले बिराटनगरलाई आधार बनाएर उद्योग व्यवसाय सञ्चालन गरिरहेका छ्न ।
व्यावसायीक दृष्टिकोणले हेर्ने हो भने गोल्छा परिवारले बिराटनगरलाई नजिकबाट चिनेको छ । सुरेन्द्र गोल्छा बिराटनगर पछिल्लो एक दशकमा मात्र अलि अघिबढेको बताउँछन् ।
‘१० वर्ष अघिसम्म बिराटनगर गाउँजस्तो लाग्थ्यो, अहिले आएर यसले बल्ल सहरको फिल दिन थालेको छ,’ बिराटनगरस्थित आफ्नो कार्यालयमा क्लिकमाण्डूसँग गफिदै गोल्छाले सुनाए ।
बिराटनगरमा वि.सं. १९८० सालतिर राइस मिल खुलेको थियो ।
वि.सं. १९९३ मा रामलाल गोल्छाको पहलमा नेपालको पहिलो विदेशी लगानी भएको बिराटनगर जुट मिल खुल्यो । जुन मिलबाट नेपालको प्रजातान्त्रिक आन्दोलनको बिगुल फुकिएको थियो । जहाँबाट २००७ साल मंसिर २८ गते प्रजातन्त्रको पक्षमा आन्दोलन गर्न ‘नेपाल प्रजातन्त्र रेडियो’को शुरुवात पनि जुटमिलबाटै गरिएको थियो । प्रजातन्त्रको स्थापना भएपछि काठमाडौं ल्याइयो र रेडियो नेपालका रुपमा हालसम्म सञ्चालनमा छ ।
बिराटनगर अहिले पनि निजी क्षेत्रका संघ संगठनमा व्यावसायिक हकहितको आवाज उठाउनेमा अगाडि नै छ । मुलुकको पुरानो व्यावसायिक संस्था मोरङ व्यापार संघ होस् वा उद्योग संगठन मोरङ जसले काठमाडौंलाई दबाब दिने आन्दोलन गरिरहेका छन् ।
‘गोग्राह’ जब बिराटनगर हुँदै औद्योगिक सहर बन्यो
रंगेलीबाट मोरङको जिल्ला सदरमुकाम सरेको १०८ वर्ष भयो । वि.सं. १९७१ सालमा रंगेलीबाट मोरङको सदरमुकाम बिराटनगर सर्यो ।
सदरमुकाम बिराटनगर सार्न त्यसबेला कृष्णप्रसाद कोइराला, सुब्बा गुञ्जमान, डिट्ठा कृष्णराज, हनुमानदास श्रेष्ठ, सुब्बा कालीदास, सुबेदार अनन्तराम लगायतको योगदान रहेको भेटिन्छ । बिराटनगरलाई पहिले गोग्राह भनेर चिनिन्थ्यो । गोग्राह खोलाको नामबाट राखिएको थियो ।
मोरङको बुधनगरस्थित भेडियारीमा बिराट राजाको दरबार रहेको र उनकै नामबाट बिराटनगर रहेको विभिन्न दस्तावेजमा भेटिन्छ । वि. सं. २००८ सालमा नगरपालिका घोषणा भएको बिराटनगर उपमहानगरपालिका हुँदै २०७४ सालमा महानगरपालिका घोषणा भएको हो ।
जुटमिल खोल्नुअघि बिराटनगरमा केही राइसमिलहरु भने खुलिसकेका थिए ।
प्रधानमन्त्रीका रुपमा जुद्धशमशेर बिराटनगर भ्रमणको क्रममा थिए ।
त्यो समयमा रामलाल गोल्छाले जुटको व्यापार थालेको थिए । उनले ‘जुट प्रेस’ पनि स्थापना गरेका थिए । जुट प्रेस भनेको एउटा मेसिन थियो, जसले ठूलो आकारमा रहेको जुटलाई प्रेसर थिएर सानो बन्डल बनाउने काम गथ्र्यो ।
जुट उद्योगको सम्भावना देखेका रामलाल गोल्छाले जुटमिल खोल्ने अनुमतिको माग गरेको र जुद्धशमशेरको अनुमतिले जुटमिलको लाइसेन्स पाएका थिए ।
‘हजुरबुबासँग जुटमिल खोल्नका लागि एक रुपैयाँ पनि थिएन, उहाँले बनाएको सोचले जुट मिल खुलेको हो,’ रामलाल गोल्छाका नाती सुरेन्द्र गोल्छा सुनाउँछन् ।
अहिले बिराटनगर जुटमिल सञ्चालनमा छैन । बिराटनगरमा त्यसपछि दि जुद्ध म्याच उद्योग, अशोक टेक्सटायल, मोरङ सुगरमिल, गणपति कटन मिललगायतका उद्योगहरु खुले । जसमध्ये धेरै बन्द भइसकेका छन् । रामलाल गोल्छाको बिरानटगर जुटमिलपछि रघुपति जुटमिल खोले । जुन अहिले रामलालका नाती राजकुमार गोल्छाले सञ्चालन गरिरहेका छन् ।
बिराटनगरमा २००७ सालअघि नै एक दर्जन ठूला उद्योग खुलेका थिए । जोगबनीसम्म आएको रेलले बिराटनगरका उद्योगमा उत्पादित वस्तुलाई भारतमा निर्यात गर्न सजिलो थियो । जसले गर्दा बिराटनगरमा उद्योग खोल्ने लहर नै चल्यो ।
एकातिर विराटनगरमा उद्योगहरु खुल्दै गए भने अर्कोतिर भारतसँगको सम्बन्ध अझ नजिक भयो । विराटनगर शहर भारतको रेलमार्गसँग जोडियो ।
भारतले जोगबनीसम्म ल्याएको रेलले बिराटनगर र भारतबीचको दूरी छोट्यायो । त्यही रेलले बिराटनगरलाई पहिलो औद्योगिक नगर बनाएको सुरेन्द्र गोल्छा बताउँछन् ।
‘जोगबनीमा आएको रेलले बिराटनगरमा उद्योग व्यवसाय खुल्न थाल्यो र बिराटनगर व्यावसायिक हब बन्यो,’ उनले भने ।
जोगबनीमा रेल आएपछि भारतसँग व्यापार गर्ने नाकाको रुपमा बिराटनगर विकसित भयो । जसले बिराटनगरमा उद्योगहरु खुल्न थाले र औद्योगिक सहरका रुपमा चिनियो ।
बिराटनगरको डाउनफल
बिराटनगरले आफ्नो पहिचानलाई लामो समय टिकाइ राख्न सकेन । दशक अघिसम्म जसरी तीव्ररुपमा उद्योगहरुको विकास भएको थियो त्यो सुस्तमात्र भएको छैन । बिराटनगरबाट उद्योगहरु मुलुकका अन्य स्थानमा सिफ्ट हुँदै गएका छन् ।
बिराटनगरको डाउनफल हुनुमा केही कारणहरु छन् ।
कतिपय जानकारहरु पूर्वपश्चिम राजमार्गको बिस्तार तथा वीरगञ्ज नाकाको बिस्तारलाई बिराटनगरको डाउनफल मान्छन् । यसको शुरुवात २०३० देखि भएको उनीहरुको भनाइ छ ।
बिराटनगरलाई केन्द्र बनाएर उद्योग चलाएका उद्योगीहरुले वीरगञ्ज आसपासमा उद्योग खोल्न थाले । बिराटनगरमा पछिल्लो ४ पुस्तादेखि व्यवसाय गर्दै आएका व्यवसायी अविनाश बोहरा वीरगञ्जको तुलनामा बिराटनगरको लागत बढी भएको कारण डाउनफल भएको विश्लेषण गर्छन् ।
‘वीरगञ्जको बोर्डर खुलेसँगै बिराटनगरभन्दा वीरगञ्जको लागत सस्तो भयो, उद्योगलाई चाहिने कच्चापदार्थ र बजारका लागि वीरगञ्ज सस्तो हुँदा लगानी वीरगञ्जतर्फ सिफ्ट हुन थाल्यो,’ बोहराले भने ।
जता लागत सस्तो पर्छ उद्योगीहरु त्यतैतर्फ केन्द्रित हुन थाले र लगानीलाई सिफ्ट गर्न थाले ।
बिराटनगरमै बसेर व्यवसाय गर्ने गोल्छा परिवारका तेस्रो पुस्ताका दिनेश गोल्छा बिराटनगरले औद्योगिकरणको शुरुवात गरेर २५ वर्षसम्म मात्र नेतृत्व दिन सकेको विश्लेषण गर्छन् ।
‘वीरगञ्जबाट आयात गर्न सजिलो भयो, कृषिमा आधारित उद्योगहरु चलेको बिराटनगरमा कृषि उत्पादन घट्दै गएपछि विदेशबाट कच्चा पदार्थ ल्याएर चलाउने उद्योगका लागि वीरगन्ज आकर्षणको केन्द्र बन्न थाल्यो,’ गोल्छाले भने ।
बिराटनगर नगरपालिका प्रदेश नम्बर १ को राजधानी हो । बिराटनगरबाट शुरु भएको औद्योगिकरणको लहर सुनसरी हुँदै पश्चिमतर्फ सिफ्ट हुन भयो । औद्योगिकरणको लहर वीरगञ्ज हुँदै अहिले भैरहवा क्षेत्रसम्म बिस्तार भइसकेको छ ।
बिराटनगर पछाडि पर्नुमा वीरगञ्जमा भन्सार नाकादेखि बिजुलीको अभाव र श्रम समस्यालाई प्रमुख बाधक रहेको उद्योगीहरुको भनाइ छ ।
क्षमताका हिसालले प्रदेश नम्बर १ सबैभन्दा बढी जलविद्युत् क्षमता भएको प्रदेश हो । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्यसमेत रहेका बोहरा अरुण तेस्रो २०५१ सालमा नबन्नु बिराटनगरको दुर्भाग्य भएको बताउँछन् । जसले बिराटनगरको औद्योगिकरणलाई अहिलेसम्म असर गरिरहेको छ ।
‘अरुण ३ बनेको भए बिराटनगरले औद्योगिक क्षेत्रमा नेतृत्व कायम गर्ने थियो, अरुण तेस्रो नबन्दा त्यसले गर्ने भ्यालू एड रोकियो, बिराटनगर पछाडि पर्नुका एउटा कारण त्यो पनि हो,’ बोहराले भने ।
प्रदेश नम्बर १ को एकमात्रै महानगरपालिका भएपनि राजनीतिक कारणले बिराटनगरमा बसाइँ सरेर आउनेको संख्या घट्यो । पूर्वी पहाडबाट बसाइँ सराइँ गरेर झर्नेहरुको रोजाइ इटहरी, झापाको दमक र बिर्तामोड बन्न थाल्यो ।
बिराटनगरमा मिश्रित समूदायको बसोबास थियो । तर, मधेश आन्दोलनले केही समय मिश्रित बसोबासको जगलाई हल्लाइदियो । उद्योगी सुरेन्द्र गोल्छा मधेश आन्दोलनपछि पहाडी समूदाय बिराटनगर छाडेर इटहरी तथा काठमाडौं लागेको बताउँछन् ।
बिराटनगरको डाउनफल हुँदा परेको समस्याको बारेमा कुरा गर्दै गोल्छाले मारवाडी समूदायमा बिराटनगर बस्ने केटालाई केटी समेत पाउन नसक्ने स्थितीसमेत आएको बताए ।
‘मेरो ठूलो छोरा धिरजलाई बिराटनगरबाट काठमाडौं सिफ्ट गर्नुमा विवाह पनि एउटा कारण थियो, काठमाडौंको व्यापार हेर्नुपर्ने बाध्यता र बिराटनगर नै स्थायी बसोबास भएको हुँदा केटी नपाउने सम्भावना देखेर मैले छोरालाई काठमाडौं सिफ्ट गरेको थिए,’ गोल्छाले सुनाए ।
पछिल्लो समयमा बिराटनगरका उद्योगीलाई भारतको मीरगञ्जमा भाँचिएको पुलले अर्को तनाव थपेको छ ।
उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेल पनि पूर्वाधार अभावले बिराटनगरबाट उद्योगहरु पश्चिमतर्फ सिफ्ट भएको बताउँछन् ।
‘नेपालमा उद्योग शुरुवात बिराटनगरबाट भयो, बिराटनगर जुटमिल जोगाउन हामीहरुले सकेनौं, मुलुकको पहिलो उद्योग बिराटनगर रहेको जुटमिल अहिले बन्द छ । राजनीतिक हिसाबले भएका आन्दोलनको बढी असर पूर्वका उद्योगीमा पर्यो,’ प्याकुरेलले भने ।
सूर्य नेपाल प्रालिले लगाएको गार्मेन्ट युनिट मजदूर आन्दोलनको कारण बन्द भयो । बिराटनगर क्षेत्रका ४ दर्जन उद्योगहरु बन्द भए । मजदूर आन्दोलनको कारण बिराटनगर क्षेत्रमा उद्योग लगाउन नसक्ने सन्देश उद्योगीमा गयो ।
‘बहुराष्ट्रिय कम्पनी सुर्य नेपालको गार्मेन्ट युनिट बन्द भएको सन्देश नराम्रोसँग फैलियो । जसले थप उद्योगहरु बिराटनगरमा लाग्न सक्ने स्थिती भएन,’ उद्योगी सुरेन्द्र भन्छन् ।
के पुरानो साख फर्केला त ?
बिराटनगरले हार भने अझै मानेको छैन । विभिन्न कारणले यसको विकासक्रम सुस्त भए पनि यसले आफ्नो पुरानै पुनः समात्ने र साख फर्काउने विश्वास बिराटनगरबासीलाई अझै पनि छ ।
दोस्रो पुस्ताका उद्योगी सुयस प्याकुरेल बिराटनगर समग्र प्रदेश १ मा व्यवसायीक हिसाबले अगाडि बढ्नेमा आशावादी छन् ।
वीरगञ्जपछि भन्सार नाकामा एकीकृत जाँचचौकी (आइसीपी) बनेको भन्सार नाका बिराटनगर हो ।
‘मेची पुलमा बनेको एशियन हाइवेको बिस्तार तथा आइसीपीमा रेलमार्ग जोड्ने हो भने औद्योगिकरणको नेतृत्व फेरि पनि बिराटनगरले नै गर्छ,’ प्याकुरेलले भने ।
वि.सं. २०५१ सालमा अवरोध भए पनि अरुण तेस्रो जलविद्युतको काम अहिले अघिबढेको छ । पूर्वी पहाडमा विकास भइरहेका जलविद्युत् आयोजनाले प्रदेश १ को विकासमा थप योगदान गर्ने उद्योगी र व्यवसायीको बुझाइ छ ।
अहिले आयात हुने नाकामा बिराटनगरलाई भैरहवाले जितिसकेको छ । तर, निर्यातको व्यापारको हिसाबले हेर्दा वीरगञ्जपछि बिराटनगर दोस्रो स्थानमा छ । र, चौथोमा मेचीनगर भन्सार छ ।
यो तथ्यांकले पनि बिराटनगर क्षेत्र र अहिलेको प्रदेश नम्बर १ निर्यात व्यापारका लागि ठूलो सम्भावना भएको क्षेत्रका रुपमा देखाउँछ । भारत, बंगलादेश तथा भुटानसम्म व्यापारका लागि बिराटनगर क्षेत्रमा हुने उद्योगले बढी लाभ पाउँछन् ।
‘तिब्बतसम्म जाने सहज बाटो बनाउन सके चीन र भारतबीचको व्यापारदेखि यहाँ लगानी भित्राउन थप मद्दत पुग्ने देखिन्छ, मुख्य कुरा पूर्वाधारको विकास हुनुपर्छ,’ उद्योगी अविनाश बोहराले भने, ‘उद्योगको शुरुवात नै यहीबाट भएकाले प्रदेश नम्बर १ को कल्चरमा उद्योगको जिन छ, आउने दिनमा पूर्वाधारको विकास र निर्यातको सम्भावनाले बिराटनगरको वैभव फर्काउनेमा म विश्वस्त छु ।’
मजदूर आन्दोलनको कारण सूर्य नेपालको गार्मेन्ट युनिट बन्द भए पनि अन्यन्त्रको भन्दा मजदूरसँगको सम्बन्ध उद्योगीसँग सहज रहेको बुझाइ सो क्षेत्रका उद्योगीहरुको छ । धेरै रोजगारी दिने जुटमिल तथा रिलायन्स स्पेनिङ मिलजस्ता उद्योगहरु अन्यत्रको तुलनामा बिराटनगर क्षेत्रमा बढी भएको उद्योगको महत्व श्रमिकहरुले बढी बुझेको विश्लेषण उद्योगीहरु गर्छन् ।
‘पूर्वमा उद्योगी र मजदूरको सम्बन्ध राम्रो देखिन्छ, जति पश्चिममा छैन, औद्योगिक कल्चर भएका मजदूर बिराटनगर क्षेत्रमा बढी छन्,’ बोहराले थपे ।
मजदूर आन्दोलनको शुरुवात बिराटनगरबाट भए पनि काम गर्नका लागि सजिलो अन्यन्त्रभन्दा पूर्वका मजदूरको भएको बुझाइ उनको छ ।
तेस्रो पुस्ताका सुरेन्द्र गोल्छालाई पनि बिराटनगर पुनः आफ्नै वैभवमा फर्कन्छ भन्नेमा विश्वस्त छन् ।
‘जेठो छोरालाई विवाह गराउन नै काठमाडौं बसाउन परे पनि अर्कोलाई परेन, ऊ बिराटनगरमा बस्न रुचाउछ,’ सुरेन्द्रले भने ।
पछिल्लो समय बिराटनगरमा भएको पूर्वाधार विकास र व्यवसायमा एउटा चरण पार गरेको हुँदा बिराटनगरको लिडिङ पोजिसन फर्कने विश्वास सुरेन्द्रको छ । इटहरीको तुलनामा बिराटनगरमा जग्गाको मूल्य नबढ्नु औद्योगिकरणका लागि राम्रो सन्देश हुनसक्ने उनको बुझाइ छ ।
‘बिराटनगरको स्ट्याण्डर्ड अहिले बढेको छ । १० वर्षअघि खान खानका लागि राम्रो रेष्टुराँ समेत नभएको अवस्थामा बिराटनगरमा अहिले राम्रा होटल खुलेका छन् र पूर्वाधारमा राम्रो विकास भएको छ,’ गोल्छाले थपे ।
मेडिकल हबमा विकास
कतिपय व्यवसायी बिराटनगर ‘मेडिकल हब’का रुपमा अगाडि बढेको बताउँछन् । जसको छनक अहिले देखिन थालेको छ ।
बिराटनगरमा अहिले २ वटा मेडिकल कलेज सञ्चालनमा छ । नोबेल मेडिकल कलेज र बिराट मेडिकल कलेज ।
अत्यधिक बसाइँ सराइँ भए पनि इटहरीमा अहिले राम्रो अस्पतालको अभाव छ । जुन स्पेस अहिले पनि बिराटनगर र धरानले लिएको छ ।
उद्योगी दिनेश गोल्छा बिराटनगर आगामी दिनमा मेडिकल हबको रुपमा विकसित हुने प्रवल सम्भावना रहेको बताउँछन् ।
‘अब यहाँको सम्भावना मेडिकल हो । यो क्षेत्रलाई मेडिकल हब बनाउन सकिन्छ,’ उद्योगी दिनेश गोल्छाले भने, ‘औद्योगिक क्षेत्रमा बिराटनगरलाई वीरगञ्ज, हेटौंडा र भैरहवाले जितिसकेका छन् ।’
गोल्छा परिवारले स्थापना गरेको रामलाल गोल्छा आँखा अस्पताल आँखाको उपचारका लागि राम्रो अस्पतालमा गनिन्छ ।
पहिला बिराटनगरका मानिसहरु उपचारका लागि भारतीय बजार अरहिया पूर्णिया जानु परेकोमा अहिले बिराटनगर आउने गरेको उद्योगी सुरेन्द्र गोल्छाको अनुभव छ ।
‘स्वास्थ्य क्षेत्रमा सीमावर्ती बजारको तुलनामा हामीले राम्रो गरेका छौ,’ सुरेन्द्रले भने ।
हराउँदै गएको राजनीतिक पहुँच
बिराटनगरको अर्को परिचय हो, ‘राजनीति’ । बिराटनगरलाई सबैभन्दा बढी प्रधानमन्त्री भएको सहर भनेर चिनिन्छ ।
बिराटनगरबाट ५ जना व्यक्ति प्रधानमन्त्री भए । कोइराला परिवारका मातृकाप्रसाद कोइराला, बीपी कोइराला र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । पहिलो कम्युनिष्ट प्रधानमन्त्रीका रुपमा मनमोहन अधिकारी बिराटनगरले दियो । पञ्चायतकालमा प्रधानमन्त्री भएका नगेन्द्रप्रसाद रिजाल बिराटनगरकै हुन् ।
बिराटनगर जुट मिलबाट आन्दोलनको बिगुल फुक्दादेखि नै राजनीतिको बीऊ बसिसकेको थियो बिराटनगर । कोइराला परिवारले बिराटनगरलाई राजनीति हब नै बनाएका थिए ।
गिरिजाप्रसाद कोइराला त कुनै पनि घोषणा गर्नुपर्यो भने बिराटनगर हानिन्थे । कार्यकर्ता र पत्रकार जम्ममा गर्थे र मन फुकाएर कुरा खोल्थे । गिरिजाप्रसाद बिराटनगर जाँदा त्यहाँका पत्रकारका लागि ‘एक्सक्लुसिभ न्यूज’ दिन्थे । जुन समाचारले काठमाडौंको राजनीति तरंगित बन्थ्यो । त्योबेला कोइराला निवासमा निकै चहलपहल हुन्थ्यो ।
सयौं कार्यकर्ताको भिड । दर्जनौं गाडीको लस्करले बिराटनगरको शिरोमणीमार्गमा रहेको कोइराला निवास चम्किन्थ्यो ।
तर, गत फागुनको मध्यतिर पुग्दा कोइराला निवासमा त्यो रमझम थिएन । हरियो रंगको काठको बार्दलीमा बसेर हेर्ने कोही थिएनन् ।
टिनले छाएको पुरानो घरमा सेतो रंग पोतिएको छ । प्रांगणमा नोना कोइराला र शेरख कोइरालका गाडी पार्किङमा छन् । ती गाडीहरु पनि धुलोले छोपिएका छन् ।
गिरिजाबाबु बसेर पत्रकार सम्मेलन गर्ने कुर्सी र पाहुनाका लागि राखिएका कुर्सीहरु पनि बाक्लो धुलोले छोपिएका छन् । ढोकै माथि टाँगिएका विपी, गिरिजाप्रसाद कोइरालाका फोटोहरु एक्लै भएका छन् । घर कुर्नलाई एउटा परिवारमात्रै छ ।
घर कुर्न बसेका डिक घिमिरेले हामीलाई घरका प्रत्येक कोठाबारे परिचय गराए । घर घुम्दै गर्दा विपी कोराइरालदेखि मुलुकको आन्दोलन र नेपाली कांग्रेसमा कोइरालाको बिरासत सम्झना आउँथ्यो ।
तर, गिरिजाप्रसाद कोइरालाको निधनसँगै यो घरले त्यो बिरासत गुमाउँदै गएको छ । अहिले कोइराला परिवारका सदस्यमा बढी पुग्नेमा शेखर कोइराला हुन् । शेखर कोइराला बिराटनगरमा गिरिजाप्रसाद कोइराला बस्ने कुर्चीमा त बसेका छन् तर, कांग्रेसको संस्थापन भने हुन सकेका छैनन् । गिरिजाप्रसादको निधनसँगै राजनीतिमा बिराटनगरको स्थान खुम्चेको थियो । शुसील कोइरालाको निधनपछि कोइराला परिवारको । बिराटनगर र कोइराला परिवारको पुरानो बिरासत पर्खाउने प्रयास शेखरले गरेपनि कांग्रेस सभापतिमा शेरबहादुर देउवासँग पराजित भएपछि उनले त्यो सकेनन् ।
नेपाली कांग्रेसको स्थापनापछि कोइराला परिवार कांग्रेसको संस्थापनमा छैन । कोइराला निवासमा बिपी कोइरालाले शेखरका बुवा केशव कोइरालालाई लेखेको पत्र राखिएको छ । शेखरले बिपीले अस्पतालबाट लेखेको पत्र भाई शसांक (बिपी पुत्र) र बहिनी सुजाता (गिरिजाप्रसादको छोरी)ले महाधिवेशनमा बुझ्न नसकेको बताएका थिए । महाधिवेशनको भोटले शेखर अहिले कांग्रेसमा प्रतिपक्षी नेता हुन् । अब त्यो घरको बिरासत थाम्ने जिम्मा शेखरकै काँधमा ।
कोइराला निवासले गुमाएको त्यो बिरासतसँगै बिराटनगरको पनि राजनीतिक शक्ति खुम्चिएको छ । बिराटनगर आउँदा गिरिजाप्रसाद कोइराला जब बोल्थे, त्योबेला बिराटनगरको शक्ति प्रर्दशन हुन्थ्यो । अब त्यो अवस्था छैन ।
हुन त कतिपय व्यवसायीहरु भने ५ जना प्रधानमन्त्री जन्माएको बिराटनगरले त्यसअनुसारको प्रगति गर्न नसकेको बताउँछन् ।
‘पाँच जना प्रधानमन्त्री हुँदा पनि बिराटनगर सहरले के पायो खोई ?’ सुरेन्द्र गोल्छा भन्छन्, ‘जति प्रधानमन्त्री भए पनि सहरको विकासमा अपेक्षाकृत टेवा पुगेको म देख्दिन ।’
तर, प्रधानमन्त्री बिराटनगरको हुँदा काठमाडौंसँगको सम्बन्ध बढाउन सजिलो हुने सुरेन्द्र स्वीकार गर्छन् ।
गोल्छाजस्तै अन्य कैयन उद्योगी व्यवसायीको मत पनि उस्तै छ । तर, एउटा सत्य के हो भने बिराटनगर कुनै बेला राजनीति हब थियो । र, त्यो गुम्दै गएको छ ।
साथै, पूर्वबाट पश्चिमतर्फ सरेको औद्योगिकरणले बिराटनगरले आफ्नो बिरासत गुमाउदै गएको छ । बिरासत गुमाए पनि राजनीतिक कोर्स र आर्थिक नीतिको विकासक्रममा भने बिराटनगरको ठूलो योगदान छ । सशस्त्र द्वन्द्वनमा होमिएको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनेदेखि गणतन्त्रसम्मको राजनीतिक विकासक्रममा बिराटनगरकै गिरिजाप्रसाद कोइरालाको मुख्य योगदान छ ।
साथै, औद्योगिकरणको युग शुरुवात गर्ने बिराटनगरबाट मुलुकका अन्य क्षेत्रमा औद्योगिकरणको शुरुवात गर्नमा २०४८ मा गिरिजाप्रसादले लिएको आर्थिक उदारिकरणको नीतिमा पनि बिराटनगरकै योगदान छ । जुन नीति आजसम्म पनि चलिरहेको छ ।