विराटनगरबाट ६ जना प्रधानमन्त्री, छैन विकास र समृद्धि

विराटनगरको माटो र जनजीवनसँग जोडीने केही काम नगरेको महानगरवासीको गुनासो


विराटनगर । औद्योगिक नगरको पहिचान बोकेको विराटनगरले पछिल्लो समय प्रधानमन्त्री उत्पादन गर्ने सहरको अर्को उपनाम पनि कमाएको छ । तर त्यही विराटनगर विकास र समृद्धिका लागि सहयोगी हात खोजी रहेको छ ।

लोकतन्त्रका लागि बिगुल फुक्ने र राजनीतिक रूपमा समेत सचेत मानिने विराटनगर कोशी प्रदेशको राजधानी पनि हो । अहिलेसम्म विराटनगरले ६ जना प्रधानमन्त्री जन्माइसकेको छ । तर महानगर र आसपासको क्षेत्रबाहेक दायाँबायाँका बासिन्दा विकट गाउँलेको जीवन बिताउन बाध्य छन् । बजार क्षेत्रबाहेकका महानगरवासी स्वच्छ खानेपानी, बिजुली र पक्की सडक अनि ढल व्यवस्थापनको अभाव खेपिरहेका छन् । जहाँ हिउँदमा धुलाम्मे र वर्खामा डुवान अनि हिलाम्मे हुन्छ ।

२०१६ सालदेखि २०८२ सालसम्मको ६६ वर्षको राजनीतिक यात्रामा विराटनगरमा जन्मेर यहीको माटोलाई कर्मथलो बनाएर राजनीति गर्ने ६ जना मुलुकका प्रधानमन्त्री भइसकेका छन् । मुलुकका लागि आधा दर्जन प्रधानमन्त्री जन्माएको विराटनगर विकास र समृद्धिमा अन्य सहरको तुलनामा पछि छ ।

‘गोठाला धेरै भए बाख्रा चर्दैनन्, बाली खान हिँड्छन्’ भन्ने उखानसँग विराटनगरको पीडा जोडिएको छ । हुन पनि त्यस्तै भएको छ । यहाँका आधा दर्जन व्यक्तित्व प्रधानमन्त्री भए तर विराटनगर विकास र समृद्धिका लागि अरुलाई नै पर्खिरहेको छ ।

६ वटै प्रधानमन्त्रीको कार्यकाल देखे–भोगेका ८३ वर्षीय उद्योगी व्यवसायी ताराचन खेतानका शब्दमा, ‘विराटनगरका प्रधानमन्त्री ६, विराटनगरमै छैन विकास र समृद्धि ।’ विराटनगरमा प्रधानमन्त्रीको भीड मात्र लागेको उनको गुनासो छ । खेतानको अनुभवमा, उनीहरूले विराटनगरको विकास र समृद्धिका लागि यो वा त्यो गरे भनेर देखाउने एउटा उदाहरण छैन ।

विराटनगरले २०१६ सालमा मुलुकको पहिलो जननिर्वाचित प्रधानमन्त्रीको रूपमा विश्वेश्वरप्रसाद कोइराला र २०८२ भदौ अन्तिममा मुलुककै पहिलो महिला प्रधानमन्त्रीका रूपमा पूर्वप्रधानन्यायाधीश समेत रहेकी सुशीला कार्कीलाई दिएको छ ।

भ्रष्टाचार, कुशासन र वेथिति विरुद्ध जेन–जीले भदौ २३ र २४ गते गरेको सशक्त आन्दोलनले कांग्रेस र एमाले सम्मिलित झण्डै दुई तिहाइको केपी शर्मा ओली नेतृत्वको सरकार सत्ताच्यूत भएपछि अघिल्लो शुक्रबार सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएसँगै विराटनगरबाट प्रधानमन्त्रीमा नियुक्त हुनेको संख्या ६ पुगेको हो । विराटनगरबासीले सूर्यबहादुर थापा पनि विराटनगरकै भएको दाबी गर्ने गरेका छन् किनकी विराटनगरमा उनको निवास रहेको छ ।

सुशीला मुलुकको पहिलो महिला प्रधानमन्त्री मात्र होइनन्, उनी देशको पहिलो महिला प्रधानन्यायाधीश पनि हुन् । विराटनगरले पहिलो जननिर्वाचित र पहिलो महिला प्रधानमन्त्री मात्र होइन, पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी पनि मुलुकलाई दिएको छ । त्यति मात्र होइन, विराटनगरको माटोले एकै बाबुका तीन छोरालाई पनि प्रधानमन्त्री बनाएको छ ।

ती हुन् पिताजी कृष्णप्रसाद कोइरालाका पुत्रत्रय विश्वेश्वरप्रसाद, मातृका प्रसाद र गिरिजाप्रसाद कोइराला । ती मध्ये बीपी एक पटक, मातृका दुई पटक र गिरिजा चार पटक प्रधानमन्त्री बनेका थिए । तर उनीहरूले विराटनगरको समृद्धि एक इन्च पनि नबढाएको महानगरवासीको गुनासो छ ।

धनकुटामा जन्मिएर विराटनगरलाई कर्मथलो बनाएका नगेन्द्रप्रसाद रिजाल पनि दुई पटक प्रधानमन्त्री बनेका थिए । खेतानले भने, ‘ती सबैले विराटनगरको विकास र समृद्धिका लागि सिन्को पनि भाँचेनन् ।’

साताअघि यहीकी सुशीला प्रधानमन्त्रीमा आसिन छिन् । उनी अन्तरिम सरकारकी प्रधानमन्त्री हुन् । उनको जिम्मेवारी फागुनमा निर्वाचन गरेर नयाँ सरकारलाई सत्ता जिम्मा लगाउनु मात्र देखिएको छ ।

उनीबाट विराटनगरको विकास र उन्नतिका लागि केही गर्ने महानगरवासीले आशा गर्नु दिवा–सपना मात्र हुने वृद्ध खेतानको बुझाइ छ । उनले भने, ‘सबै यहाँका प्रधानमन्त्रीले विराटनगरको माटो र जनजीवनसँग जोडिने कुनै पनि काम गरेनन् ।’

‘विराटनगरमा प्रधानमन्त्रीको नाममा आधा दर्जन व्यक्तिको भीड मात्र लाग्यो । महानगरको विकासका नाममा केही पनि काम भएन,’ ७५ वर्षीय खेमचन्द लालवानीले भने, ‘कुनै पनि प्रधानमन्त्रीले महानगरको विकास त गरेनन् नै, उनीहरूले यहाँका उद्योगी व्यवसायीलाई समेत निराश तुल्याए ।’

वि.सं. १९९३ मा तत्कालीन व्यवसायी रामलाल गोल्छा र कृष्णप्रसाद कोइरालाको प्रयासमा विराटनगर जुट मिल स्थापना भएर विराटनगरले मुलुककै पहिलो औद्योगिक यात्रा सुरु गरेको इतिहास छ । लालवानीले भने, ‘विराटनगरका ६ जना प्रधानमन्त्री बने तर ती कुनैले पनि मुलुकको पहिलो उद्योग त्यो जुट मिलको अस्तित्व जोगाउन सकेनन् । त्यति मात्र होइन, नयाँ उद्योगका लागि पनि औद्योगिक वातावरण बनाउन नसक्दा यहाँका उद्योगी नै अन्यत्र पलायन हुन बाध्य भए ।’

प्रधानमन्त्रीको भीडमा विराटनगरले विकास र समृद्धि मात्र गुमाएन, निजी क्षेत्र समेत प्रताडित भएको अर्का उद्योगी महेश जाजुको प्रतिक्रिया छ । अहिले विराटनगर जे छ, निजी क्षेत्रको सहभागिता र योगदानले टिकेको उनको दाबी छ ।

यहाँको निजी क्षेत्रले साँढे तीन दशकदेखि विराटनगरमा विशेष आर्थिक क्षेत्र र औद्योगिक प्रदर्शनी स्थलको माग गर्दै हरेक प्रधानमन्त्री र मन्त्रीसमक्ष गुहार माग्यो । तर कसैले पनि यहाँको निजी क्षेत्रको मागलाई सम्बोधन नगेको जाजु बताउँछन् । ‘यहाँबाट प्रधानमन्त्री हुने कसैले पनि विराटनगरलाई माया गरेनन्,’ उनले भने, ‘यहाँको निजी क्षेत्रलाई गुलजार हुने कुनै पनि प्रधानमन्त्रीले सहयोग गरेनन् ।’

अन्य प्रधानमन्त्रीहरूले आफ्नो ठाउँमा पर्याप्त विकास गरेर सानो बस्तीलाई सुविधा सम्पन्न सहरमा परिणत गराए । विराटनगरका ६ जना प्रधानमन्त्री हुँदा यहाँको विकासमा माखो पनि नमारिएको जाजुको भनाइ छ । ‘भारतकै उदाहरण लिने हो भने प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो गाउँ गुजरातलाई युरोपियन मुलुक जस्तै बनाए । तर विराटनगरमा ६ जना प्रधानमन्त्री हुँदा खै के गरे ?’

विराटनगरका ६ जनाले मुलुकको प्रधानमन्त्रीको नाममा आफ्नो नाम मात्र दर्ता गराए तर उनीहरूले विराटनगरको विकासका लागि केही पनि काम नगरेको महानगरका पूर्वमेयर भीमप्रसाद पराजुलीको आरोप छ ।

विराटनगरबाट बनेका प्रधानमन्त्री मध्ये गिरिजाप्रसाद कोइरालाले धरानमा रहेको तत्कालीन अञ्चल अदालत र धनकुटामा रहेको क्षेत्रीय अदालत विराटनगरमा ल्याएर पुनरावेदन अदालत बनाए । हाल त्यो उच्च अदालत छ ।

चार दशकदेखि विराटनगरमा पत्रकारिता गर्दै आएका अग्रज पत्रकार महोन भण्डारीले भने, ‘धनकुटामा रहेका केही क्षेत्रीय कार्यालयलाई विराटनगर सारे । त्यो बाहेक उनले विराटनगरमा बैजनाथ रंगशाला (हालको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला) बाहेक गिरिजा र अन्य प्रधानमन्त्रीले उल्लेख गर्न लायक केही पनि काम विराटनगरका नाममा गरेको देखिँदैन।’

विराटनगरको सामान्य स्वरूप २०७४ सालको स्थानीय निर्वाचनपछि फेरिएको पूर्वमेयर पराजुलीको दाबी छ । त्यसवेलासम्म विराटनगरले ५ जना प्रधानमन्त्री जन्माइसकेको थियो । तर विकास निर्माण शून्यप्रायः हुँदा विराटनगर बजार र सडक–नाला घिन लाग्दा थिए । ‘२०७४ पछि एशियाली विकास बैंकको साढे तीन अर्ब, एशियाली विकास बैंककै रुडप संस्थाको साढे तीन अर्ब र सहरी विकास मन्त्रालयको सहरी सघन कार्यक्रमअन्तर्गतको डेढ अर्ब रकमले महानगरभित्र करिब दुई सय किलोमिटर सडक, नाला र ढल निर्माण भएपछि विराटनगर हेर्नलायक भएको हो,’ पराजुलीले भने ।

विराटनगरबाट प्रधानमन्त्री बनेकाहरूले आउने पुस्तालाई देखाउन चिह्नसमेत नराखेको उनी बताउँछन् ।

‘जे जति विकास निर्माण भएको अहिलेको विराटनगरमा यहाँबाट भएका कुनै पनि प्रधानमन्त्रीको योगदान शून्य छ । यहाँका प्रधानमन्त्रीले विराटनगरको विकास र समृद्धिकालागि यो काम गरे भनेर आउने पुस्तालाई देखाउने चिन्ह समेत छैन’ उनले भने । विराटनगरको देखाउन लायक वीरेन्द्र सभागृह भूपालमानसिंह र विराटनगर विमानस्थल भारतले निर्माण गरेको हो ।

पहिलो जननिर्वाचित प्रधानमन्त्रीका रूपमा बीपी २०१६ जेठ १३ देखि २०१७ पुस १ सम्म वहाल रहे । उनले आफ्नो कार्यकालमा बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागू गरेका थिए ।

पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्रीका रूपमा २०५१ सालमा मनमोहन अधिकारीले आफ्नो नाम इतिहासमा लेखाएका थिए । उनको ९ महिने कार्यकाल निकै सफल ठानिन्छ । उनले ‘आफ्नो गाउँ आफैँ बनाऔँ’, महिला र पुरुषको नाममा संयुक्त रजिष्ट्रेशन पास तथा गाउँगाउँमा सहकारी जस्ता कार्यक्रम ल्याएका थिए । अधिकारीकै कार्यकालमा सरकारले ज्येष्ठ नागरिकलाई आव २०५२/५३ देखि वृद्ध भत्ता दिन सुरु गरेको थियो ।

२०४६ सालको परिवर्तनपछि झण्डै दुई दशकसम्म गिरिजाप्रसाद कोइरालाको वरपर मुलुकको राजनीति घुम्यो । त्यो अवधिमा उनी चार पटक प्रधानमन्त्री बने । उनका चारै कार्यकाल चर्चित र विवादस्पद बने । तर उनले चारै कार्यकालमा विराटनगरको विकास र उन्नतिका लागि सिन्को पनि नभाँचेको महानगरवासीको गुनासो छ ।

माओवादीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउनमा उनको प्रमुख भूमिका थियो । २०६२/६३ को लोकतान्त्रिक आन्दोलनपछि प्रतिनिधि सभाको पुनर्बहाली भएसँगै उनी सात दलको तर्फबाट चौथो पटक प्रधानमन्त्री बनेका थिए ।

उनको चौथो कार्यकालमा राजालाई नागरिकमा परिणत गर्ने, सैनिकलाई संसदको अधीनमा ल्याउने मात्र नभएर कोइराला तथा सात दलका नेताहरूले माओवादीसँग मिलेर जनविद्रोहको अन्त्य र संविधानसभाको निर्वाचन गराउने सम्झौतामा हस्ताक्षर गरेका थिए । त्यसैबखत कोइरालाले माओवादीसँग विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरी हिंसा र आतंकको राजनीति समाप्त भएको घोषणा गरेका थिए । त्यसैगरी उनको चौथो कार्यकालमै कोइरालाको नेतृत्वको सरकारले संयुक्त राष्ट्र संघको प्रत्यक्ष निगरानीमा माओवादीको जनसेना समायोजन तथा हतियार व्यवस्थापन सम्झौता पनि गरेको थियो ।

गिरिजाका अन्य कार्यकाल भने निकै विवादस्पद रहे । २०५० सालमा कोइरालाले नेपाल वायुसेवा निगममा हस्तक्षेप गर्दै भारतीय मूलका बेलायती व्यापारी दिनेश धमिजालाई मनोमानी ढंगले निगमको युरोपका लागि मुख्य प्रतिनिधिमा नियुक्त गरेका थिए । जुन अहिले पनि ‘धमिजा प्रकरण’ले चर्चित छ ।

त्यसैगरी तत्कालीन शाही नेपाल वायुसेवा निगमसँग तीन वटा विमान रहेको अवस्थामा सरकारले अस्ट्रियाको कम्पनी लाउडा एयरसँग सम्झौता गरी चौथो विमान भाडामा लिएर निगमलाई करिब दुई अर्ब क्षति पुर्‍याएको आरोप छ । यो ‘लाउडा काण्ड’ अहिले पनि याद गरिन्छ । त्यसैगरी कोइराला ‘चेज एयर प्रकरण’मा पनि विवादमा मुछिएका थिए ।

यस बाहेक विराटनगरका मातृकाप्रसाद कोइराला र नगेन्द्रप्रसाद रिजाल पञ्चायतकालमा दुई–दुई पटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनीहरूको कार्यकालमा पनि यहाँ केही विकास नभएको महानगरवासीको गुनासो छ ।