भारतमा टाटा ईभीको नयाँ रेकर्ड: एकै महिना १० हजार युनिट बिक्री

49
Shares

एजेन्सी । टाटा मोटर्सले भारतीय इलेक्ट्रिक भेहिकल (इभी) बजारमा नयाँ कीर्तिमान कायम गर्दै मे २०२६ मा पहिलो पटक १० हजार युनिटको माइलस्टोन पार गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार मे महिनामा कुल १०,५१७ युनिट इलेक्ट्रिक कार बिक्री भएका छन्, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा ८५ प्रतिशतको वृद्धि हो। सन् २०२५ को मे महिनामा टाटाले ५,६८५ युनिट ईभी बिक्री गरेको थियो ।

यस ऐतिहासिक सफलतामा टाटा पन्च ईभी, नेक्सन ईभी र टियागो ईभीको उच्च मागले मुख्य भूमिका खेलेको देखिन्छ । इन्धनको मूल्य वृद्धि र वातावरणीय चेतनाका कारण ग्राहकहरूमा इलेक्ट्रिक सवारीप्रति बढ्दो आकर्षणले टाटा मोटर्सलाई यस उपलब्धिमा पुर्‍याएको हो ।

हाल भारतीय ईभी बजारमा टाटा मोटर्सको करिब ७० प्रतिशतभन्दा बढी हिस्सा रहेको बताइएको छ ।

इलेक्ट्रिक खण्डसँगै कम्पनीको समग्र प्यासेन्जर भेहिकल बिक्रीमा पनि ४२ प्रतिशतको सुधार आएको छ ।

मे २०२६ मा टाटाले कुल ५९,७९० युनिट सवारी साधन बिक्री गरेको छ, जसमा आन्तरिक बजारमा ५९,०९० युनिट र निर्याततर्फ ७०० युनिट रहेका छन् । यो वृद्धिसँगै टाटा मोटर्सले भारतीय अटो बजारमा मारुती सुजुकी पछिको दोस्रो ठूलो कार निर्माताको रूपमा आफ्नो स्थान थप मजबुत बनाएको छ ।