कतार एयरवेजले ६ दिनपछि राहत उडान सञ्चालन गर्दै, नेपाल प्राथमिकतामा परेन

539
Shares

काठमाडौं । इजरायल र संयुक्त राज्य अमेरिकाले इरानमाथि गरेको संयुक्त सैन्य आक्रमणपछि मध्यपूर्वी क्षेत्रमा उत्पन्न हवाई संकटका कारण अलपत्र परेका यात्रुको उद्दारमा कतार एयरलाइन्स ६ दिनपछि खटिने भएको छ । कतार एयरवेजले उद्धार उडाका लागि सीमित राहत उडान सञ्चालन गर्ने घोषणा गरेको छ।

एयरलाइन्सका अनुसार राहत उडान दोहाबाट नभई ओमानको मस्कटबाट बेलायतको लन्डन (हिथ्रो), जर्मनीको बर्लिन, डेनमार्कको कोपेनहेगन, स्पेनको म्याड्रिड, इटालीको रोम र नेदरल्यान्ड्सको एम्स्टर्डमका लागि सञ्चालन गरिनेछ। साथै साउदी अरेबियाको रियादबाट जर्मनीको फ्रान्कफर्टका लागि पनि एक उडान सञ्चालन गरिने जनाएको छ।

घोषणा गरिएका राहत उडानको सूचीमा नेपाल भने समावेश छैन। कतार एयरवेजका दुई वटा ठूला जहाज भने शनिबारदेखि काठमाडौंमा रोकिएका छन्।

एयरलाइन्सका अनुसार यी उडानहरू हालको अवस्थाका कारण विभिन्न स्थानमा रोकिएका यात्रुलाई गन्तव्यसम्म पुर्‍याउने उद्देश्यले सञ्चालन गरिनेछन्।

यसैबीच कतारको हवाई आकाश बन्द रहेकाले एयरलाइन्सका नियमित उडानहरू अस्थायी रूपमा स्थगित रहेका छन्। कतारको नागरिक उड्डयन प्राधिकरणले हवाई आकाश सुरक्षित रूपमा पुनः खुला भएको घोषणा गरेपछि मात्र नियमित उडान पुनः सञ्चालन गरिने एयरलाइन्सले जनाएको छ।

यस विषयमा थप जानकारी शुक्रबार दोहा समयअनुसार बिहान ९ बजे सार्वजनिक गरिने कतार एयरवेजले जनाएको छ। यात्रुहरूलाई आधिकारिक सूचना नआउँदासम्म विमानस्थलमा नजान पनि आग्रह गरिएको छ।