स्मृतिमा गिरिजाप्रसाद कोइरालाः तस्बीरमा बिराटनगरको कोइराला निवास



काठमाडौं । गिरिजा प्रसाद कोइरालाको निधन मिति २०६६ चैत ७ गते शनिबार ८५ वर्षको उमेरमा छोरी सुजाता कोइरालाको घरमा भएको थियो। कोइराला निडर भई आफ्नो देशको न्याय र प्रजातान्त्रिक अधिकारको लागि पर्याप्त व्यक्तिगत त्यागमा लड्ने नेता थिए ।

उनै कोइरालाको घर हो मोरङको बिराटनगर । औद्योगिक नगरी बिराटनगर राजनीतिक शक्क्तिकेन्द्रिको हब पनि थियो ।

बिराटनगरलाई सबैभन्दा बढी प्रधानमन्त्री भएको सहर भनेर चिनिन्छ ।

बिराटनगरबाट ५ जना व्यक्ति प्रधानमन्त्री भए । कोइराला परिवारका मातृकाप्रसाद कोइराला, बीपी कोइराला र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । पहिलो कम्युनिष्ट प्रधानमन्त्रीका रुपमा मनमोहन अधिकारी बिराटनगरले दियो । पञ्चायतकालमा प्रधानमन्त्री भएका नगेन्द्रप्रसाद रिजाल बिराटनगरकै हुन् ।

गिरिजाप्रसाद कोइराला बस्ने कुर्सी

बिराटनगर जुट मिलबाट आन्दोलनको बिगुल फुक्दादेखि नै राजनीतिको बीऊ बसिसकेको थियो बिराटनगर । कोइराला परिवारले बिराटनगरलाई राजनीति हब नै बनाएका थिए ।

गिरिजाप्रसाद कोइराला त कुनै पनि घोषणा गर्नुपर्यो भने बिराटनगर हानिन्थे । कार्यकर्ता र पत्रकार जम्ममा गर्थे र मन फुकाएर कुरा खोल्थे । गिरिजाप्रसाद बिराटनगर जाँदा त्यहाँका पत्रकारका लागि ‘एक्सक्लुसिभ न्यूज’ दिन्थे । जुन समाचारले काठमाडौंको राजनीति तरंगित बन्थ्यो । त्योबेला कोइराला निवासमा निकै चहलपहल हुन्थ्यो ।

गिरिजाप्रसाद कोइराला सुत्ने ओछ्यान

सयौं कार्यकर्ताको भिड । दर्जनौं गाडीको लस्करले बिराटनगरको शिरोमणीमार्गमा रहेको कोइराला निवास चम्किन्थ्यो । तर, अचेल कोइराला निवासमा त्यो रमझम छैन । हरियो रंगको काठको बार्दलीमा बसेर हेर्ने कोही छैनन् ।

टिनले छाएको पुरानो घरमा सेतो रंग पोतिएको छ । प्रांगणमा नोना कोइराला र शेरख कोइरालका गाडी पार्किङमा छन् । ती गाडीहरु पनि धुलोले छोपिएका छन् ।

गिरिजाबाबु बसेर पत्रकार सम्मेलन गर्ने कुर्सी र पाहुनाका लागि राखिएका कुर्सीहरु पनि बाक्लो धुलोले छोपिएका छन् । ढोकै माथि टाँगिएका विपी, गिरिजाप्रसाद कोइरालाका फोटोहरु एक्लै भएका छन् । घर कुर्नलाई एउटा परिवारमात्रै छ ।

कोइराला निवास घुम्दै गर्दा विपी कोराइरालदेखि मुलुकको आन्दोलन र नेपाली कांग्रेसमा कोइरालाको बिरासत सम्झना आउँथ्यो।

कोइराला निवासमा बिपी कोइरालाले शेखरका बुवा केशव कोइरालालाई लेखेको पत्र राखिएको छ । तर, गिरिजाप्रसाद कोइरालाको निधनसँगै यो घरले त्यो बिरासत गुमाउँदै गएको छ ।

अहिले कोइराला परिवारका सदस्यमा बढी पुग्नेमा शेखर कोइराला हुन् । शेखर कोइराला बिराटनगरमा गिरिजाप्रसाद कोइराला बस्ने कुर्चीमा त बसेका छन् । तर, कांग्रेसको संस्थापन भने हुन सकेका छैनन् । गिरिजाप्रसादको निधनसँगै राजनीतिमा बिराटनगरको स्थान खुम्चेको थियो । शुसील कोइरालाको निधनपछि कोइराला परिवारको । बिराटनगर र कोइराला परिवारको पुरानो बिरासत पर्खाउने प्रयास शेखरले गरेपनि कांग्रेस सभापतिमा शेरबहादुर देउवासँग पराजित भएपछि उनले त्यो सकेनन् ।

कोइराला निवासले गुमाएको त्यो बिरासतसँगै बिराटनगरको पनि राजनीतिक शक्ति खुम्चिएको छ । बिराटनगर आउँदा गिरिजाप्रसाद कोइराला जब बोल्थे, त्योबेला बिराटनगरको शक्ति प्रर्दशन हुन्थ्यो । अब त्यो अवस्था छैन ।

सशस्त्र द्वन्द्वनमा होमिएको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनेदेखि गणतन्त्रसम्मको राजनीतिक विकासक्रममा बिराटनगरकै गिरिजाप्रसाद कोइरालाको मुख्य योगदान छ ।

साथै, औद्योगिकरणको युग शुरुवात गर्ने बिराटनगरबाट मुलुकका अन्य क्षेत्रमा औद्योगिकरणको शुरुवात गर्नमा २०४८ मा गिरिजाप्रसादले लिएको आर्थिक उदारिकरणको नीतिमा पनि बिराटनगरकै योगदान छ । जुन नीति आजसम्म पनि चलिरहेको छ।


क्लिकमान्डु