ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा दायर
काठमाडौं । सेयर बजारमा भित्री कारोबार गरेको आरोपमा हाइड्रोविज्ञ ज्ञानेन्द्रलाल प्रधानमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सरकारी वकिलको कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा २६ करोड रुपैयाँ माग दाबीसहित मुद्दा दायर गरेको हो ।
सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले शुक्रबार प्रधानमाथि २६ करोड रुपैयाँ माग दाबी गर्दै सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरेको बताए ।
प्रधान नेपाल हाइड्रो डेभलपर्समा अध्यक्ष हुँदा भित्री सूचना पाएर कानून विपरित सेयर कारोबार गरेर लाभ लिएको भन्दै उनीविरुद्ध मुद्दा दायर भएको जनाइएको छ । उनले गैह्रकानूनी रुपमा २६ करोड कमाएको सरकारी वकिलको कार्यालयको ठहर छ ।
प्रधानले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१क) मा भएको व्यवस्था विपरित कारोबार गरेका थिए । प्रधानले उक्त कारोबार गरेको पाएपछि धितोपत्र बोर्डले कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठलाई तहकिकात अधिकृत तोकेर अध्ययन/अनुसन्धान गरेको थियो ।
उनले गरेको अध्ययनबाट प्रधानले धितोपत्र सम्बन्धी ऐनको दफा ९८ प्रभावित हुने गरी कारोबार गरेको देखाइएको थियो।
अध्ययनमा भनिएको छ ‘निजले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९८ को जालसाजीयुक्त कारोबार अन्तर्गतको बुँदा ‘क’ बमोजिम नियमन निकाय धितोपा बोर्ड, धितोपत्र बजार लगाउत अन्य सरोकारवालालाई झुक्याउने योजना वा काम गरेको देखिन आएको छ । दफा ९८ को ‘क’ भनिएको छ की ‘कसैलाई झुक्याउन कुनै प्रविधि,योजना वा काम गरेमा’ भनिएको छ ।
तहकिकात अधिकृतले जालसाजीयुक्त कारोबार गरेको भनेपछि सम्पत्ति शुद्धीकरण विभाले सम्पत्ति शुद्धीकरण गरेको भन्दै अनुसन्धान गरेर मुद्दा नै दायर गरेको छ ।
दफा ९८ मा भनिएजस्तो प्रधानले जालसाजीयुक्त कारोबार गरेको हो भने त्यसले कसैन कसैलाई हानी नोक्सानी हुनुपर्ने हो । दफा १०१ को उपदफा ३ मा ‘त्यस्तो कारोबारबाट कसैलाई हानी नोक्सानी भएको रहेछ भने त्यस्तो हानी नोक्सानी समेत भराई दिनु पर्नेछ’ भन्ने व्यवस्था रहेको छ ।
बोर्डको अध्ययनअनुसार प्रधानले गरेको कारोबारले धितोपत्र बोर्ड, धितोपत्र बजार लगायत अन्य सरोकारवाला पक्षलाई झुक्याउने काम भएको छ ।
यस्तै प्रकृतिको कारोबारमा रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरुप्रसाद न्यौपाने सम्पत्ति शुद्धीकरणको कसुरमा दोषी ठहर भएका छन् । उनलाई विशेष अदालतले दोषी ठहर गरेको छ ।
न्यौपानेले भित्री कारोबार गरेको भन्दै २०७९ चैत ८ गते धितोपत्र बोर्डले काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा दायर गरेको थियो । न्यौपानेले भित्री कारोबार गरेको दाबी गर्दै सरकारी वकिल कार्यालयमार्फत नेपाल धितोपत्र बोर्डले मुद्दा दायर गरेको हो । मुद्दामा ३ करोड २३ लाख ९७ हजार रुपैयाँ जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय माग दाबी गरिएको थियो ।
धितोपत्र बोर्डका अनुसार प्रधानले कानून विपरित २६ करोड ३३ लाख ५६ हजार ५५७ रुपैयाँको सेयर बिक्री गरेका थिए ।
प्रधान उक्त कम्पनीको अध्यक्ष भएको समयमा श्रीमती विमला श्रेष्ठ प्रधानको नाममा कम्पनीको २०७८ साउन १४ गते ३० हजार ५०० कित्ता र अध्यक्षबाट राजीनामा दिएपछि २०७८ कात्तिक २९ गते १ लाख ५० हजार कित्ता, २०७८ पुस ५ गते ९७ हजार २५० कित्ता र २०७८ माघ २० गते १ लाख कित्ता गरी कूल ३ लाख ७७ हजार ७५० सेयर घरायसी नामसारी गरेको गरेर सोही सेयर धितोपत्रको दोस्रो बजार मार्फत बिक्री गरेको बोर्डका तहकिकात अधिकृतले गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै प्रधानले कम्पनीको अध्यक्ष हुँदा नै छोरा चेतन प्रधानको नाममा २०७८ साउन १४ गते ३० हजार ५०० कित्ता, अध्यक्षबाट हटेपछि २०७८ असोज ५ मा ३२ हजार ९०६ कित्ता गरी ६३ हजार ६०४ कित्ता सेयर घरायसी नामसारी गरेको उल्लेख छ ।
प्रधानले अध्यक्ष भएको समयमा अविवाहित छोरी निभिता प्रधानको नाममा २०७८ साउन १४ गते ३० हजार ५०० कित्ता र २०७८ असोज ५ गते ३२ हजार ९०६ कित्ता गरी ६३ हजार ६०४ कित्ता नामसारी गरेको पाइएको छ ।
आफुले अध्यक्षबाट हटेर छोरीको नाममा सेयर नामसारी गरेर बिक्री गरेपछि निभिता प्रधानलाई २०७८ कात्तिक १५ देखि सोही कम्पनीमा सञ्चालक बनाएका छन् । बोर्डको अध्ययनले नै प्रधानले श्रीमती विमला श्रेष्ठ प्रधानको नामबाट ३ लाख ६६ हजार ५८० कित्ता सेयर १८ करोड ५० लाख ७२ हजार ९४७ रुपैयाँमा कारोबार भएको पाइएको छ ।
त्यसैगरी प्रधानले छोरा चेतन प्रधानको नामबाट ५ हजार ३६४ कित्ता सेयर खरिद तथा ७० हजार ४३४ कित्ता बिक्री गरी ७५ हजार ७९८ कित्ता सेयरको ४ करोड ८ लाख ४९ हजार ३६५ रुपैयाँको कारोबार गरेका छन् ।
प्रधानले अविवाहिता छोरी निभिता प्रधानको नामबाट २०० कित्ता खरिद तथा ६३ हजार ५२१ कित्ता बिक्री गरी ६३ हजार ७२१ कित्ता सेयरको कुल रकम ३ करोड ८० लाख ५७ हजार १५३ रुपैयाँको सेयर कारोबार भएको छ । प्रधान २०७१ साउन १९ गतेदेखि २०७८ भदौ १३ गतेसम्म नेपाल हाइड्रो डेभलपरको सञ्चालक समितिको अध्यक्ष भएका थिए । प्रधानसँग ४ लाख ३८ हजार ७५० कित्ता सेयर रहेको बोर्डको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
बोर्डको अध्ययनअनुसार प्रधानले गरेको कारोबारले धितोपत्र बोर्ड, धितोपत्र बजार लगायत अन्य सरोकारवाला पक्षलाई झुक्याउने काम भएको छ । तर सम्पत्ति शुद्धीकरण विभागले गरेको अनुसन्धानले प्रधानले भित्री कारोबार नै गरेको भनेर किटान गरेको छ ।
अनुसन्धानपछि प्रधानले अवैध रुपमा आर्जन गरेको सम्पत्ति र त्यसको दोब्बर रकम माग दाबी गर्दै मुद्दा चलाउन सिफारिस गरेको भएपनि उनले अवैध रुपमा आर्जन गरेको सम्पत्ति लगानी गरेर आएको थप प्रतिफल के हुने भन्ने विषयमा प्रश्न उठेको छ ।