नेपाल हाइड्रोमा इन्साइडर ट्रेडिङ : अध्यक्ष रहँदा ज्ञानेन्द्रलाल प्रधानले गरे करोडौंको सेयर किनबेच



काठमाडौं । इन्जिनियर ज्ञानेन्द्रलाल प्रधान । यो नाम सुन्नासाथ सबैको मनमा जलविद्युत् अर्थात् बिजुली याद आउँछ । प्रधान नेपाली उर्जा क्षेत्रका हस्ती हुन् । जलविद्युत क्षेत्रमा उनको नाम सँधै शीर्ष स्थानमा आउँछ ।

उनै प्रधान ६ महिना अघिसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको नेपाल हाइड्रो डेभलोपर लिमिटेडका अध्यक्ष थिए ।

अध्यक्ष प्रधानले आफू पदमा रहँदा अर्थात् अध्यक्ष भएको समयमा त्यही कम्पनी अर्थात् नेपाल हाइड्रो डेभलोपर लिमिटेडको सेयर बिक्री गरेको पाइएको छ । जुन धितोपत्र ऐन विपरित छ ।

क्लिकमाण्डूले प्राप्त गरेको विवरणअनुसार प्रधानले धितोपत्र सम्बन्धी विद्यमान कानूनी व्यवस्था विपरीत सेयर किनबेच गरेको पाइएको छ, त्यो पनि श्रीमती, बिमला श्रेष्ठ प्रधान, छोरा चेतन प्रधान र छोरी निभिता प्रधानको नाममा ।

धितोपत्र दर्ता निष्काशन नियमावली ३८ (१क) अनुसार कुनै पनि सुचिकृत कम्पनीको संचालक, कार्यकारी प्रमुखलगायतका पदाधिकारीहरुले पदमा रहँदा वा पदवाट हटेको १ वर्षसम्म आफ्नो वा आफ्नो परिवार र आफू संलग्न कम्पनीमार्फत् त्यस्तो कम्पनीको सेयर खरिदबिक्री गर्न नपाइने व्यवस्था गरेको छ ।

तर, प्रधानले आफू पदमा रहेको समयमा नै श्रीमती, छोरा र छोरीको नाममा रहेको ९५ हजारभन्दा बढी कित्ता सेयर ६ करोड रुपैयाँभन्दा बढीमा बिक्री गरेको पाइएको छ ।

प्राप्त विवरणअनुसार प्रधानले श्रीमती विमला प्रधान श्रेष्ठ, छोरो चेतन र निभिता प्रधानको नाममा रहेको २/२ करोड रुपैयाँको दरले ६ करोड रुपैयाँ बढीको सेयर बिक्री गरेका छन् ।

प्रधानले गरेको यो कारोबार ऐनअनुसार भित्री कारोबार भएको देखिएको छ । धितोपत्र सम्बन्धी ऐन,२०६३ को दफा ९२ मा भित्री कारोबारमा संलग्न हुन सक्ने व्यक्ति भन्नाले यस ऐनको प्रयोजनको लागि देहायका व्यक्तिलाई कुनै संगठित संस्थाले सार्वजनिक नगरेका भित्री सूचना वा जानकारीमा पहुँच भएको व्यक्ति मानिनेछ ।

(क) सो संगठित संस्थाका सञ्चालक, कर्मचारी वा शेयरवालाको हैसियतले कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्ति,
(ख) सो संगठित संस्थालाई पेशागत सेवा प्रदान गर्ने नाताले कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्ति,
(ग) खण्ड (क) र (ख) मा उल्लिखित व्यक्ति वा स्रोतमा प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क भई कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्ति रहेको मानेको छ ।

इन्साइडर ट्रेडिङ यात्रा र प्रधानको राजीनामा

कुनै पनि सूचीकृत कम्पनीको नेतृत्वमा रहने र त्यही कम्पनीमा आफ्नो परिवारका सदस्यको नाममा रहेको सेयर बिक्री गर्नु भनेको भित्री कारोबार अर्थात् इन्साइडर टे«डिङ हो ।

प्रधानले आफू अध्यक्ष रहेको कम्पनीको छोरा चेनत प्रधानको सेयर बिक्री गर्ने गरेका थिए ।

नेपाल हाईड्रो डेभलोपर कम्पनी लिमिटेडको सञ्चालक समिति अध्यक्ष तथा सञ्चालकबाट प्रधानले २०७८ भदौ १३ गते राजीनामा दिए । कम्पनीले नेप्सेलाई १४ गते जानकारी गरायो ।

प्रधानले दिएको राजीनामा १३ गतेदेखि नै लागू भएको थियो । १३ गतेदेखि लागु हुने गरी सञ्चालक समितिले स्वीकृत गरेको थियो । तर, उनले उक्त कम्पनीका आफू अध्यक्ष हुँदा नै २०७७ साल असोज १४ गते बिक्री गरेका थिए । त्यो बेला उनले करिब डेढ सय कित्ता सेयर करिब ५० हजारमा बिक्री गरेका थिए । त्यो बेला कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१५ को हाराहारीमा रहेको थियो ।

प्रधानले असोज १५ पछि १० दिनको अवधिमा ४५ सय कित्ताभन्दा बढी सेयर छोराकै नाममा बिक्री गरेको तथ्याङकले देखाएको छ ।

त्यो बेला कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१० देखि २३० रुपैयाँको अन्तरमा रहेको थियो । यो अवधिमा उनले छोरोनाको नाममा रहेको साढे ११ लाख रुपैयाँभन्दा बढीको सेयर बिक्री गरिसकेका थिए ।

त्यसपछि चुप लागेर बसेका प्रधानले त्यसको एक वर्षपछि अर्थात् २०७८ साउन दोस्रो साता भने परिवारका सदस्यको नाममा रहेको सेयर धमाधम बिक्री गर्न थाले । जुन बेला कम्पनीको सेयर प्रति कित्ता ६०० भन्दा बढी पुगेको थियो ।

नेप्सेमा भएको कारोबार विवरण हेर्ने हेर्दा प्रधानले छोरा चेतन प्रधानको नाममा रहेको सेयर साउन दोस्रो साताबाट बिक्री गरेको देखिएको छ । साउन १७ गतेपछि १० दिनको अवधिमा प्रधानको नाममा रहेको करिब २ करोड रुपैयाँको सेयर बिक्री भएको छ । यो अवधिमा प्रतिकित्ता ६०१ रुपैयाँदेखि ६८७ रुपैयाँको अन्तरमा सेयर बिक्री भएको छ । १० दिनको अवधिमा ३० हजारभन्दा बढी कित्ता सेयर कारोबार गरिएको तथ्याङकले पुष्टि गरेको छ । प्रधानले आफू कम्पनीमा हुँदा नै छोराको नाममा रहेको ३५ हजारभन्दा बढी कित्ता सेयर बिक्री गरेका छन् ।

१० दिन लगाएर छोराको सेयर बिक्री गरेका प्रधानले त्यसपछि श्रीमतीको नाममा रहेको सेयर बिक्री गर्न थाले ।

उनले साउन २०७८ अन्तिम साताबाट श्रीमती बिमला प्रधान श्रेष्ठको नाममा रहेको सेयर पनि बिक्री गर्न शुरु गरे । त्यो बेला छोराको भन्दा बढी आम्दानी श्रीमतीको नाममा रहेको सेयर बिक्री गरेर भएको देखिएको छ । छोराको सेयर बिक्री गर्दा ७०० भन्दा कम मूल्य रहेको थियो । श्रीमतिको नाममा सेयर बिक्री गर्ने बेला कम्पनीको सेयर मूल्य प्रति कित्ता ७०० रुपैयाँ पार गरिसकेको थियो । बीचमा केही समय घटेर ६९० रुपैयाँसम्म रहेको थियो ।

प्रधानले श्रीमतीको नाममा रहेको ३० हजारभन्दा बढी कित्ता सेयर २ दिनको अवधिमा विभिन्न मूल्यमा बिक्री गरेका छन् ।

श्रीमती बिमलाको नाममा रहेको सेयर प्रतिकित्ता ६९० देखि ७३० रुपैयाँसम्मको अन्तरमा बिक्री गरेको पाइएको छ । उनले यो अवधिमा एकै जनाको करिब २ करोड बिक्री गरेका छन् ।

प्रधानले श्रीमती र छोराको नाममा भएको सेयर धमाधम बिक्री गरेको भएपनि छोरीको नाममा भने थोरै सेयर किनेर पहिला नै राखेका थिए । उनले छोरीको नाममा निकै सस्तो मूल्यमा सेयर किनेर राखेका थिए । पछि निकै महंगो मूल्यमा बिक्री गरे ।

२०७७ माघ तेस्रो साता छोरी निभिता प्रधानको नाममा १०० कित्ता सेयर किनेर राखेका थिए । त्यो सेयर ६ महिना राखेर २०७८ साउनमा मूल्य बढेर ६०० रुपैयाँ घटेपछि बिक्री गरेको तथ्याङकले देखाएको छ ।

उनले छोरीको नाममा रहेको सेयर २०७८ साउन दोस्रो साताबाट साउन तेस्रो साताको अवधिमा सबै सेयर बिक्री गरेको देखिएको छ । प्रधानले छोरी निभिताको नाममा रहेको ३० हजारभन्दा बढी कित्ता सेयर २ करोडभन्दा बढी मूल्यमा बिक्री गरेका छन् ।

नेप्सेमा भएको कारोबार विवरण हेर्दा प्रधानले साउन २६ गते प्रतिकित्ता ६६१ रुपैयाँदेखि ६८२ रुपैयाँमा १८ हजार भन्दा बढी कित्ता सेयर १ करोड २० लाख रुपैयाँ भन्दा बढी मूल्यको सेयर बिक्री गरेका छन् ।

त्यस्तै साउन २६ गते प्रधानले ११ हजारभन्दा बढी कित्ता सेयर प्रतिकित्ता ६९० देखि ७१२ रुपैयाँ प्रतिकित्ताको दरले करिब सोढे ८३ लाखको सेयर बिक्री गरेको देखिएको छ ।

प्रधानले जब आफ्नो परिवारको नाममा भएको सेयर बिक्री गरे तब आफुले कम्पनीको अध्यक्ष तथा सञ्चालकबाट राजीनामा दिए । उनले २०७८ भदौ १३ गते राजीनामा दिए ।

२०७८ कात्तिक १५ गतेमात्रै कम्पनीको सञ्चालक समितिका सदस्य कुमुद कुमार दुगडलाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरियो । तर, अहिले पनि कम्पनीको वेव साइटमा पनि अध्यक्ष कोही पनि राखिएको छैन । अध्यक्ष भनिएका दुगड सञ्चालकमात्रै छन् ।

नेप्सेको वेवसाइटमा भने प्रधानलाई नै अध्यक्ष भनेर सर्वसाधारण लगानीकर्तालाई गलत सूचना दिएइको छ । प्रधानले आफुले छोडेपछि आफ्नो छोरी निभितालाई सञ्चालक बनाएका छन् ।

२०७८ कात्तिक १५ गते बसेको सञ्चालक समितिको बैठकले निभिता प्रधानलाई सञ्चालकमा नियुक्त गरेको छ ।

के होला कारबाही ?

यो कारोबारलाई धितोपत्र बोर्डले चासो दिएर अध्ययन गर्ने हो भने तथ्याङकले नै भित्री कारोबार भएको देखाएको छ । भित्री कारोबार गर्नेलाई धितोपत्र ऐनमा नै कारबाहीको व्यवस्था रहेको छ ।

धितोपत्र सम्बन्धि ऐन २०६३ को दफा ९१ मा भित्री कारोबार भन्नाले (१) कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीहरुको आधारमा आपूmले धितोपत्र कारोबार गरेमा वा अरुलाई धितोपत्र कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरु कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिनेछ भन्ने व्यवस्था रहेको छ ।

उक्त ऐनको दफा ९२ मा भित्री कारोबारमा संलग्न हुनसक्ने व्यक्तिः यस ऐनको प्रयोजनको लागि देहायका व्यक्तिलाई कुनै संगठित संस्थाले सार्वजनिक नगरेका भित्री सूचना वा जानकारीमा पहुँच भएको व्यक्ति मानिनेछ ।

(क) सो संगठित संस्थाका सञ्चालक, कर्मचारी वा शेयरवालाको हैसियतले कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्ति,
(ख) सो संगठित संस्थालाई पेशागत सेवा प्रदान गर्ने नाताले कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्ति,
(ग) खण्ड (क) र (ख) मा उल्लिखित व्यक्ति वा स्रोतमा प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क भई कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्ति हुने उल्लेख छ ।

धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले धितोपत्र ऐन, नियमभन्दा बाहिर गएर कोही कसैले सेयर कारोबार गरेको पाइएमा कानूनअनुसार कारबाही गर्ने बताए ।

धितोपत्र ऐन सबैको लागि बराबर हुने भन्दै उनले कानूनभन्दा बाहिर गएर कसैले कारोबार गर्न नमिल्ने बताए ।

‘यस विषयमा अध्ययन गर्ने र कानूनको कुन व्यवस्थालाई उलंघन गरेको छ, त्यो हेरेर प्रमाणित भएमा कारबाही गर्ने छौं’ उनले भने ।


सोभित थपलिया