१०० अर्ब रुपैयाँ निक्षेप संकलन हुँदै, राष्ट्र बैंक पैसा थुपार्न लागेको हो ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले १०० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको छ । बोलकबोल विधिबाट १३ दिनका लागि १०० अर्ब निक्षेप संकलन गर्न लागेको सूचना राष्ट्र बैंकले प्रकाशित गरेको हो ।

राष्ट्र बैंकले निक्षेप संकलन गरिरहेको सूचना सार्वजनिक भएपछि सेयर बजारमा लगानीकर्ताका विभिन्न ग्रुपमा राष्ट्र बैंकले पैसा थुपारि रहेको हल्ला चलिरहेको छ । शेयर बजारमा लगानी गर्ने विभिन्न व्यक्तिहरूले राष्ट्र बैंकले पैसा थुपारिरहेको आरोप लगाउँदै सामाजिक सञ्जालमा पोस्ट समेत गरेका छन् ।

के साँच्चै राष्ट्र बैंकले पैसा थुपार्न लागेको हो ? राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले प्रकाशित गरेको निक्षेप संकलन सम्बन्धी विवरण अनुसार राष्ट्र बैंकले पैसा थुपारेको देखिँदैन् ।

राष्ट्र बैंकले अन्तिम पटक गत असोज २१ गते २ दिनका लागि २.९९ प्रतिशत ब्याजदरमा ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो । उक्त निक्षेपमा २ दिन ब्याज जोड्दै राष्ट्र बैंकले सबै रकम असोज २३ गते नै बैंकिङ प्रणालीमा फिर्ता गरिसकेको छ ।

राष्ट्र बैंकले त्यसअघि असोज १६ गते ७ दिन अवधिका लागी २.९७ प्रतिशत ब्याजदरमा ४१ अर्ब ४० करोड रुपैयाँ संकलन गरेको थियो । उक्त निक्षेप पनि ब्याज सहित असोज २३ गते बैंकिङ प्रणालीमा फिर्ता भइसकेको छ ।

राष्ट्र बैंकले असोज १३ गते ७ दिन अवधिका लागि २.९७ प्रतिशत ब्याजदरमा ४४ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । उक्त रकम पनि ब्याज जोड्दै असोज २० गते नै बैंकिङ प्रणालीमा फिर्ता भइसकेको छ ।

राष्ट्र बैंकले असोज ९ गते १४ दिनका लागी २.९९ प्रतिशत ब्याजदरमा संकलन गरेको १९ अर्ब ५५ निक्षेप पनि ब्याज सहित असोज २३ गते बैंकिङ प्रणालीमा फिर्ता भइसकेको छ । राष्ट्र बैंकले असोज २ गते २१ दिनका लागी २.९९ प्रतिशत ब्याजदरमा संकलन गरेको १३ अर्ब ४५ करोड रकम समेत ब्याज जोड्दै असोज २३ गते बैंकिङ प्रणालीमा फिर्ता भइसकेको छ ।

अन्तर बैंक ब्याजदर निक्षेप संकलन दर भन्दा मुनि भएपछि राष्ट्र बैंकले चालू आर्थिक वर्षमा साउनदेखि निरन्तर निक्षेप संकलन गरिरहेको छ । राष्ट्र बैंकले साउन देखी असोज २१ गते सम्म १८ पटक निक्षेप संकलन गरिसकेको छ । तर, हालसम्म राष्ट्र बैंकले संकलन गरेको सबै निक्षेप विभिन्न मितिमा बजारमा फिर्ता भइसकेको छ ।

जसले गर्दा राष्ट्र बैंकले पैसा थुपार्‍यो भन्ने हल्ला तथ्यबाट पुष्टि हुँदैन । राष्ट्र बैंकले बिहीबार संकलन गर्न लागेको १०० अर्ब निक्षेप तिहार बिदा सुरु हुने अघिल्लो दिन कात्तिक १३ गते बजारमा ब्याज सहित फिर्ता भइसक्ने छ । असोज २३ गतेपछि बन्द भएका कार्यालय असोज २८ गते खुल्दा अन्तर बैंक ब्याजदर घटेर २.९ प्रतिशतसम्म पुगेपछि राष्ट्र बैंकले १०० अर्ब निक्षेप बोलकबोल विधिबाट संकलन गरेको हो ।

ब्याजदर करिडोर सम्बन्धी नियम अनुसार अन्तर बैंक ब्याजदर निक्षेप संकलन दरभन्दा कम भएको अवस्थामा राष्ट्र बैंकले बजारमा पैसा संकलन गर्नु पर्ने तथा अन्तर बैंक ब्याजदर बैंक दर भन्दा माथि पुगेमा रिपो मार्फत बजारमा पैसा पठाउनु पर्छ ।

राष्ट्र बैंकले निक्षेपको ब्याजदर ३ प्रतिशत भन्दा कम हुनु हुँदैन भन्ने नीतिमा कायम रहन बजारबाट १०० अर्ब निक्षेप संकलन गर्न लागेको हो । बिहीबारको निक्षेप संकलन पनि अन्तर बैंक ब्याजदर स्थिर नरहेको अवस्थामा राष्ट्र बैंकले फेरी पनि १३ दिन भन्दा कम अवधिका लागी निक्षेप संकलन गर्न सक्नेछ ।

किनभने कात्तिक १५ गत्तेदेखि हुने तिहार बिदा १९ गतेसम्म तथा २२ गते छठ बिदा र २४ गते शनिवार भएकाले आगामी कात्तिक २५ गतेबाट मात्रै कार्यालयहरू पूर्ण रूपमा सञ्चालन हुने देखिन्छन् । जसले गर्दा बिहीबार संकलन हुने १०० अर्ब निक्षेपले अन्तर बैंक ब्याजदर ३ प्रतिशत बिन्दुमा स्थिर रहेमा राष्ट्र बैंकले कात्तिक २५ गते मात्रै निक्षेप संकलन गर्ने सम्भावना छ ।


क्लिकमान्डु