
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गर्ने भएका छन् ।
उनले शुक्रबार दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेका छन् । प्राधिकरणमा रहँदा आफूले गरेका काम र सरकारले बर्खास्ती गरेकोबारे बोल्न उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् । निकटहरुका अनुसार उनले प्राधिकरणमा आफूले दोस्रो कार्यकालमा गरेका कामहरु फेहरिस्त सार्वजनिक गर्नेछन् भने दोस्रो कार्यकाल पूरा हुन नपाउँदै राजनीति गरेर हटाउन लागेको बारे बोल्ने तयारी गरेका छन् ।
घिसिङलाई सरकारले ६ पटकसम्म स्पष्टीकरण सोधेर चित्त बुझ्दो नभएको भन्दै चैत ११ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बर्खास्त गरेको हो । घिसिङलाई बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको छ ।
घिसिङ र सरकारबीच डेडिकेटेड फिडर तथा ट्रंकलाइनको विषयलाई लिएर विवाद भएको थियो ।
घिसिङले सरकारलाई अटेर गरेर बक्यौता नतिरेको भन्दै उद्योगहरुको लाइन काटेको, टिओडी मिटरको प्रमाण नराखेको, प्राधिकरणको नाफा फर्जी भएको भन्दै बर्खास्त गरेको हो । उनले समयमा कार्य सम्पादन सम्झौता बमोजिम विवरण नबुझाएको भन्दै ऊर्जा मन्त्रालयले शुन्य अंक दिएको थियो ।
आफूलाई सरकारले बर्खास्त गरेपछि उनले सर्वोच्चमा रिट दायर गरेका थिए ।
सर्वोच्च अदालतले कुलमान घिसिङको पुनर्वहालीका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीशहरू डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा तीन दिनसम्म चलेको बहसपछि बिहीबार भएको आदेशले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । तर इजलासले मुद्दालाई प्राथमिकता दिने भन्दै अग्राधिकारको आदेश दिएको छ ।
कुलमानलाई पदमुक्त गर्ने सरकारको निर्णयमाथिको प्रश्न मुद्दाको अन्तिम किनारा लगाउदा टुंगिने इजलासको ठहर छ । यससँगै हितेन्द्रले काम गर्न पाउने भएका छन् ।
सर्वोच्चले पद थमौतीको अन्तरिम आदेश नदिएपछि उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
प्रतिक्रिया