लघुवित्तको उद्देश्य: उद्यमशीलताको विकास कि फगत व्यापार ?



१. लघुवित्तबाट कर्जा लिएको थिएँ, जति तिर्दा पनि सकिएन ।
२. मैले ६/७ वटा लघुवित्तबाट कर्जा लिएको छु ।
३. लघुवित्तबाट १ लाख ऋण निकाल्दा ८५ हजार रुपैयाँमात्रै हातमा पर्यो । ब्याज भने १ लाख रुपैयाँकै तिर्नुपर्छ ।
४. किस्ता तिर्न एक दिन ढिला भयो भने कि झुन्डिएर मर् कि मेरो घरमा काम गर्न आइज । जसरी तिरे पनि कर्जा तिर् । शरीर बेचेर नै किन नहोस् भन्छन् ।
५. कर्जा उठाउन भन्दै राति ८-९ बजे पनि घरमा आउँछन् । अभद्र व्यवहार गर्छन् । समयमा पैैसा तिर्न नसक्दा बाख्रा, भैँसी, गरगहना जे भेट्यो, त्यही उठाउने गरेका छन् ।
६. साथीले लिएको पैसा पनि मलाई नै तिर्नु भन्छन् ।
७. लघुवित्तका कर्मचारीले सुरुमा घरमा धाएकै-धायै गरेर जबर्जस्ती समूहमा बस्न बाध्य पार्छन् र कर्जा लिन लगाउँछन् ।
८. एक लाख कर्जा लिएको थिएँ । सबै तिरिसकेँ । तर, संस्थाले ‘तिरेको छैन’ भन्दै बचत फिर्ता गरेको छैन ।
९. मलाई लघुवित्तले जबर्जस्ती फसाएको हो । पहिला समूहमा बस्न कर गरे । अनि ऋण लिन दबाब दिए ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सोमबार आयोजना गरेको ‘संकटमा लघुवित्तः कारण र समाधान’ विषयक अन्तरक्रियामा रौतहटकी दिलकुमारी कार्की, सिरहाकी पुनमकुमारी महतो, काठमाडौंकी, कमला मोक्तान, गुल्मीकी शिखा रेग्मी र काभ्रेकी प्रिया खत्रीबाट अभिव्यक्त भएका अश्रुमिश्रित साझा आरोप हुन् यी ।

लघुवित्त वित्तीय संस्थाका कार्यशैलीका विषयमा अनेकन टिकाटिप्पणी भइरहेका बेला सेजनले कार्यक्रम आयोजना गरेको मौका पारेर लघुवित्तका ऋणीले धक फुकाएर आफ्ना कुरा राखेका हुन् । यसले के देखाउँछ भने लघुवित्त र लघुवित्तका कर्मचारीको कार्यशैली पटक्कै व्यावसायिक छैन, बरु अराजक छ ।

देशमा रोजगारीका अवसर न्यून छन् । सानोतिनो भए पनि व्यापार-व्यवसाय गर्ने र दुई-चार पैसा कमाउने रहर सबैमा हुन्छ । ती रहर पूरा गर्न मिटरब्याजीको फन्दामा पर्नेहरुको संख्या निकै ठूलो छ ।

वैधानिक ढंगले खुलेका लघुवित्तले पूर्णत व्यावसायिक बनेर लघुवित्तको मर्मअनुसार नै व्यापार गर्ने हो भने मिटरब्याजीको चंगुलबाट विपन्नलाई मुक्त पार्न पनि सक्थे । तर, सेजनको कार्यक्रममा बगाएका ऋणीका आँसुले लघुवित्त स्वयं वैधानिक मिटरब्याजी बनिरहेका त छैनन् भन्ने प्रश्न जन्माएको छ ।

ऋणीका आरोपमाथि एकैछिन मात्र घोत्लिने हो भने अनेकन् आशंका उब्जिन्छन् । लघुवित्त वित्तीय संस्था र तिनका कर्मचारीलाई व्यापार विस्तार गर्न तीव्र दबाब छ । लघुवित्तका कर्मचारीले अनेक चिल्ला कुरा गरेर महिलालाई समूहमा आबद्ध गराउँछन् ।

व्यापार विस्तारको दबाबमा रहेका लघुवित्तका कर्मचारीका कारण एकै महिलालाई जति पनि संस्थामा सदस्य बन्न बाध्य हुन्छन् । अरुबाट कर्जा लिइसकेको थाहा पाउँदा-पाउँदै आफ्नोबाट पनि लिन दबाब सिर्जना गर्छन् ।

नियमित कर्जा तिर्न सक्ने क्षमता कति छ भन्नेमा कुनै ख्याल राख्दैनन् । कर्जा भिडाउनुलाई मात्र आफ्नो जिम्मेवारी सम्झन्छन् । ऋणीलाई लघुवित्तले दिने सेवा, लिने शुल्क र साँवा-ब्याज तिर्नुपर्ने प्रक्रियाबारे बताउँदैनन् ।

सकेसम्म भौचर दिँदैनन् । तिरेको पैसा र तिर्न बाँकी पैसाबारे औपचारिक जानकारी दिन आवश्यक ठान्दैनन् । कृषि तथा लघुउद्यम व्यवसायमै कर्जा सदुपयोग भएको छ कि छैन भन्ने मतलव नै राख्दैनन् ।

‘अस्वस्थ प्रतिस्पर्धाको परिणाम’

नेपालमा लघुवित्तको परिकल्पनाकार हुन्, राष्ट्र बैंकका दिवंगत डेपुटी गभर्नर डा. हरिहरदेव पन्त । धन नभएकालाई लक्षित गरी उनले खोलेको ‘निर्धन’ गैरसरकारी संस्था अहिले निर्धन उत्थान लघुवित्त वित्तीय संस्था नेपालकै पहिलो हो ।

विश्व लघुवित्तको इतिहासमा सर्वाधिक सफल मानिने बंगलादेशी लघुवित्त प्रयोक्ता डा. मोहम्मद युनुसबाट प्रभावित भएर डा. पन्तले नेपालमा खोलेको निर्धन उत्थानको प्रमुख कार्यकारी अधिकृत छन्, उनकै छोरा जनार्दनदेव पन्त ।

चीन र भारतजस्ता ठूलो अर्थतन्त्रका कारण नेपालमा ठूला उद्योग फस्टाउन सक्ने वातावरण बन्न नसकेका बेला साना उद्यम सिर्जना गर्न लघुवित्तको परिकल्पना गरिएको पन्त बताउँछन् । उनका अनुसार वास्तविक गरिबी शून्यमा झारेर जनताको जीवनस्तर उकास्न, साना उद्यम र उत्पादन वृद्धिमा लगानी गर्न यो अवधारणा अघि सारिएको हो ।

तर, यथार्थमा त्यस्तो भइरहेको छैन । कृषिमा व्यावसायिकताको खोजी गर्न १५-२० हजार रुपैयाँ लगानी सहयोग गर्नुपर्ने लघुवित्तहरु नाफाका लागि अस्वस्थ प्रतिस्पर्धाको दौडमा छन् । पन्त यसमा पूर्ण सहमत छन् ।

‘गरिबीको स्तरीकरण गर्ने, समूह गठन गर्ने र व्यावसायिक परियोजना जस्ता विषयमा जानकारी गराएर मात्र ऋण दिनुपर्ने हो,’ सेजनको कार्यक्रममा उनले भने, ‘तर यी काम नगरी पहिले नै ऋण दिइयो, पैसा कसरी प्रयोग गर्ने भन्ने योजना नै नभएपछि सदुपयोग भएन, गरिब झन् गरिब हुने स्थिति आयो ।’

लघुवित्तको सिद्धान्तविपरीतका गतिविधि भइरहेकाले नै अहिले चौतर्फी धेरै उठेको पन्तको बुझाइ छ । ‘हामीले एक ठाउँमा वचत के हो र ऋण के हो सिकाएर १०-२० हजार रुपैयाँ ऋण दिन सुरु गरेका थियौं तर अर्को एउटा संस्था छिरेर एक–दुई लाख बाँड्न थाल्यो,’ अस्वस्थ प्रतिस्पर्धाको दृष्टान्त प्रस्तुत गर्दै उनले भने, ‘त्यसपछि सबै बिग्रियो । वित्तीय साक्षरता नै नपुगेको स्थानमा भटाभट पैसा बाँडेपछि के हुन्छ ?’

केही लघुवित्तले ३६ प्रतिशतसम्म ब्याज असुलेर अपराध गरिरहेको र यसमा नियामक राष्ट्र बैंकसमेत मौन देखिएको सीईओ पन्तले बताए । ‘अहिले जति समस्या आएका छन्, त्यो उद्देश्य र काममा तालमेल नमिल्दा आएको हो,’ उनी भन्छन्, ‘लघुवित्तबाट लिएको पैसा उत्पादनमै लगाइनुपर्छ, अन्यत्र जान दिनै हुँदैन ।’

‘मोडल फेर्न सुझाव’

नेपालले बंगलादेशको ‘ग्रामीण मोडल’लाई पछ्याएर लघुवित्तको अवधारणा भित्र्याएको हो । लघुवित्तका अध्येता डा. भरतसिंह थापा नेपालले अब बंगलादेशको सिको गरेर पछ्याएको पुरानो ‘ग्रामीण मोडल’ मा पुनर्विचार गर्नुपर्ने अवस्था आएको बताउँछन् । ‘यो मोडलले अब यहाँ काम गरेन भन्ने प्रमाणित भइसक्योे,’ उनी भन्छन् ।

नेपालका लघुवित्तले बैंकले जस्तै गरी व्यवसाय गरेको उनको बुझाइ छ । ‘बैंकले ऋण दिन्छ, असुल गर्छ तर ऋणीको सामाजिक पक्ष, पारिवारिक परिवेश, आर्थिक अवस्था, व्यक्तिगत तथा मनोवैज्ञानिक अवस्था केही हेर्दैन, मात्र पैसा हेर्छ,’ उनले भने, ‘लघुवित्त कार्यक्रम गरिब, विपन्न र सीमान्तकृत समुदायप्रति लक्षित हुनुपर्छ । बैंकबाट ऋण नपाउनेहरुका लागि हुनुपर्छ । गाउँका साहु महाजनले विश्वास नगर्नेहरुका लागि हुनुपर्छ ।’

अहिले लघुवित्तले अन्धाधुन्ध व्यापार गरिरहेका छन् । बैंकको ब्याज तिर्न पनि ऋण दिइरहेका छन् । लघुवित्तका समूहभित्रै झगडा छ, हानाथाप छ । ‘समूहको एउटा सदस्यले लिएको ऋण नतिर्दा समूहसँगै समाज भाँडिँदैछ, लघुवित्तका कारण सद्भाव, एकता, भाइचारा नै खल्बलिएको छ,’ डा. थापाले भने, ‘आर्थिक स्थिति मात्र होइन, यसरी समाज नै खल्बलियो भने लघुवित्तको अहिलेको मोडल फेर्नुपर्छ ।’

तर, अहिलेको मोडल फेर्ने हो भने कुन मोडलमा जाने भन्ने उनले सुझाएनन् ।

‘लघुवित्तमा बढी व्यापारीकरण’

लघुवित्तमा बढी नै व्यापारीकरण भइरहेको यथार्थ छर्लंग छ । संस्थाहरुको अस्वस्थ प्रतिस्पर्धाको सिकार ऋणी बनिरहेका छन् ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल धेरै लघुवित्तले कर्मचारीलाई निश्चित रकम ऋण लगानी गर्नुपर्ने लक्ष्य तोकिदिने गरेको र कर्मचारीले लक्ष्य भेट्टाउन घर-घरमा गएर पैसा बाँड्ने गरिरहेको बताउँछन् ।

राति १०, ११, १२ बजे पनि ऋणीकहाँ गएर बाख्रा-पाठा तान्ने र घरमा आग्लो लगाइदिनेसम्मको काम गरेको गुनासो आएको उनले बताए ।

यसको अर्थ राष्ट्र बैंक लघुवित्तको कार्यशैलीबारे पूर्णजानकार छ । लघुवित्त कृषि र लघुउद्यमको विकासभन्दा पनि नाफामुखी मात्रै भइरहेका भन्नेमा स्पष्ट छ । तर, समस्या निराकरणका लागि किन प्रयास भइरहेको छैन त ?

‘लघुवित्त स्वशासित संस्था भएकाले यसका संस्थापक, लगानीकर्ता, कर्मचारी र ऋणीसमेत अनुशासनमा बस्नुपर्छ,’ उनको प्रस्टोक्ति छ, ‘सोही मान्यताका कारण राष्ट्र बैंकले अलिकति लचक भएर हेरेको हो ।’

राष्ट्र बैंकले अब सकेसम्म एउटा मात्र र त्यो सम्भव नभए दुई वा तीनभन्दा बढी संस्थामा संलग्न हुन नपाउने गरी चाँडै निर्देशिका जारी गर्ने उनले बताए ।

‘एउटा लघुवित्तले ऋणीसँग १५ प्रतिशतभन्दा बढी ब्याज लिन पाउँदैन, त्यस्तो सूचना आए हामी तत्कालै कारबाही गर्छौं,’ नेपालले भने, ‘सेवा शुल्क पनि बढी लिएको पाइएकाले फिर्ता गराउने प्रक्रिया सुरु भइसकेको छ ।’

तत्काल गर्नुपर्ने काम

लघुवित्तले लघु उद्यमशीलता विकासमा धेरै राम्रो काम पनि गरेका छन् । तर, लगामबिनाको घोडा जस्तो देखिएको अहिलेको स्थितिबाट तत्काल केही गर्नैपर्ने अवस्था सिर्जना गरेको छ ।

लघुवित्त वित्तीय संस्थाले लघुवित्तको मर्मअनुसार काम गर्न तालिम प्रदान गरी संस्थागत सामाजिक उत्तरदायित्वबारे बुझाउनुपर्छ । कर्मचारीलाई व्यापार विस्तार गर्न अनावश्यक दबाब दिनु हुँदैन ।

एकभन्दा बढी समूहमा आबद्ध हुनबाट राष्ट्र बैंकले रोक्नुपर्छ । त्यसो भए एक ठाउँबाट कर्जा लिएको व्यक्ति अन्यत्र गएर लिन सक्दैन । वित्तीय ज्ञान पनि पाइसकेको हुदा ठूलो कर्जा चाहिए बैंकसम्म पुग्छ ।

नियमित साँवा-ब्याज तिर्न सक्ने क्षमता हेरेर मात्र कर्जा दिनुपर्छ । कर्जा दिनुअघि लघुवित्तले दिने सेवा, लिने शुल्क र साँवा–ब्याज तिर्नुपर्ने प्रक्रियाबारे स्पष्ट पार्नुपर्छ ।

हरेक वित्तीय कारोबारको भौचर लिन र सुरक्षित राख्न भन्नुपर्छ । तिरेको पैसा र तिर्न बाँकी पैसाबारे औपचारिक जानकारी दिनुपर्छ । कृषि तथा लघुउद्यम व्यवसायमै कर्जा उपयोग भएको निश्चित गर्नुपर्छ ।

अन्त्यमा, दायित्वभन्दा बाहिर गएर काम गरेको पाइए, राष्ट्र बैंकले तत्काल कारबाही गर्नुपर्छ । काननु पालनामा लचिलो बन्न हुँदैन । सुरुमै नसच्याए भद्रगोल भइसकेपछि सच्याउन सकिँदैन ।

कानुनी व्यवस्था

लघुवित्तले वित्तीय कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट इजाजत लिएका हुन्छन् । विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलालाई सदस्य बनाउनु, उनीहरुलाई नियमित बचत गर्न अभिप्रेरित गर्नु र सामूहिक जमानीमा कृषि तथा लघुउद्यम व्यवसाय सञ्चालन गर्न बिनाधितो कर्जा प्रवाह गर्नु उनीहरुको मूल जिम्मेवारी हो ।

लघुवित्त वित्तीय संस्थाले आफ्ना सदस्यबाहेकका व्यक्तिबाट बचत निक्षेप संकलन गर्न पाउँदैनन् । तोकिएको दायित्व पूरा गर्न बचतले पुगेन भने बैंक तथा वित्तीय संस्थाबाट विपन्न वर्ग शीर्षकमा पैसा सापटी लिन पाउने व्यवस्था छ ।

लघुवित्त वित्तीय संस्थाहरूको नियमन नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले गर्छ । राष्ट्र बैंकले छुट्टै एकीकृत निर्देशन नै जारी गरेको छ ।

लघुवित्त वित्तीय संस्थासम्बन्धी गुनासोको सुनुवाइ नेपाल राष्ट्र बैंकबाट हुन्छ । बैंक तथा वित्तीय संस्था नियमन विभागअन्तर्गत गुनासो सुनुवाइ इकाइ स्थापना गरिएको छ । त्यो इकाइसम्म ऋणीको पहुँच देखिँदैन । लघुवित्तसम्बन्धी गुनासा इकाइमा खासै पुग्दैन ।


डीआर आचार्य