एउटै मूल्यका पेट्रोलियम र विद्युतीय गाडी आयात गर्दा उपभोक्तासम्म आइपुग्दा कति फरक पर्छ ?



काठमाडौं । केही वर्षयता विश्वभर पेट्रोलियम इन्धनको विकल्पमा विद्युतीय सवारी साधन लोकिप्रिय बन्दै गएका छन् ।

नेपालको सडकमा हेर्ने हो भने विद्युतीय गाडीको संख्या बाक्लिदै गएको छ । एकातिर सरकारले यस्ता गाडीलाई प्रोत्साहन गरेको छ भने अर्को तिर विक्री गर्ने व्यवसायीहरुले पनि यसैमा भविष्य देख्न थालेका छन् ।

अमेरिकाको इनर्जी इन्फरमेशन एड्मिनिस्ष्ट्रेसन (इआईए)ले सन् २०५० सम्ममा विश्वभर कुल सवारी साधनमध्ये ३१ प्रतिशत विद्युतीय सवारी साधनले ओगट्ने प्रक्षेपण गरिसकेको छ । इआईएले विश्वभर कम भन्सार शुल्क लाग्ने विद्युतीय सवारी साधनको संख्या वार्षिक ०.७ प्रतिशतले बढ्ने अनुमान समेत गरेको छ ।

यता नेपाल सरकारले वातावरणमैत्री सवारी तथा यातायात नीति, २०७१ मा विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति अंगिकार गरेको छ ।

उक्त नीतिमा भनिएको छ, ‘२०७७ (सन् २०२०) सम्ममा समग्र सवारी तथा यातायातको साधनको कम्तीमा २० प्रतिशत वातावरणमैत्री सवारी तथा यातायातका साधनहरुलाई सञ्चालनमा ल्याइने व्यवस्था गर्ने ।’

यद्यपि सरकारले तत्कालीन समयमा लिएको निर्धारित लक्ष्य समयभन्दा एक वर्षबढी हुँदासम्म पनि हासिल भएको छैन ।

पेट्रोलियम इन्धन प्रयोग हुने सवारी साधनको तुलनामा कैयन गुणा कम खर्च हुने विद्युतीय सवारी साधनको प्रयोग पछिल्लो समय अपेक्षाकृतरुपमा वृद्धि नभए पनि चालु आवको ६ महिना आयात भएका विद्युतीय सवारी साधनको संख्याले त्यसतर्फ आकर्षण बढेको देखिन्छ ।

के पेट्रोलियम इन्धन प्रयोग हुने सवारी साधनको तुलनामा विद्युतीय सवारी साधन प्रयोग सस्तो र राम्रो छ त ? यसका लागि उदाहरण हेरौं ।

विद्युतीय सवारी साधनको आयात गर्दा लाग्ने खर्च
सबैभन्दा पहिले १०० किलोवाटसम्म क्षमता भएको कुनै जीप, भ्यान वा कार भारत, चीनलगायतका मुलुकबाट आयात गर्दा लाग्ने खर्च तुलना गरौं ।

जस्तै, कुनै पनि १०० किलोवाटको जीप, भ्यान र कारको मूल्य चीन वा भारतमा २० लाख रुपैयाँ पर्छ भने आयातकर्ताले भन्सार महशुल १० प्रतिशत तिर्नुपर्ने हुन्छ । अर्थात २० लाखको गाडीमा १० प्रतिशत मूल्य जोड्दा २२ लाख पुग्न जान्छ ।

यस्तो शुल्क १०० किलोवाटदेखि २०० किलोवाटसम्मको हकमा १५ प्रतिशत, २०० देखि ३०० किलोवाट क्षमताको सवारीमा ३० प्रतिशत र ३०० किलोवाट क्षमताभन्दा माथिको विद्युतीय सवारी साधनको हकमा ४० प्रतिशत भन्सार शुल्क लाग्ने व्यवस्था छ ।

सोही कायम भएको मूल्यमा सडक निर्माण दस्तुर ५ प्रतिशत रुपैयाँ जोडिन्छ । जसमा आयातकर्ताले २२ लाख रुपैयाँमा थप ५ प्रतिशत तिर्नुपर्छ । उक्त रकम जोड्दा सो गाडीको मूल्य १ लाख १० हजार बढ्न गई सो गाडीको मूल्य २३ लाख १० हजार रुपैयाँ कायम हुन्छ ।

त्यस्तै, उक्त गाडीमा थप मूल्य अभिवृद्धि कर १३ प्रतिशत लाग्दछ । भ्याटसहित मूल्य कायम गर्दा सो गाडीको मूल्य २६ लाख १० हजार ३०० रुपैयाँ कायम हुन्छ । साथै, त्यसमा कम्पनीले एउटा गाडीवापत ४ लाखसम्म मार्जिन राख्दा सो गाडीको मूल्य ३० लाख बढीमा बिक्री गर्नुपर्ने अवस्था सिर्जना हुन्छ ।

पेट्रोल प्रयोग हुने सवारी साधनको आयात गर्दा लाग्ने खर्च
पेट्रोलियम इन्धनबाट चल्ने १५०० सीसीदेखि २५०० सीसीको मूल्य भारतमा २० लाख रुपैयाँ पर्छ भने अन्तशुल्क मात्रै ७० प्रतिशत तिर्नुपर्छ ।

अन्तशुल्क मात्रै तिर्दा सो गाडीको मूल्य ३४ लाख रुपैयाँ कायम हुन्छ । त्यसमा २००० हजारभन्दा माथि सीसीको खरिद गरेमा १० प्रतिशत र २००० भन्दा कम सीसीको खरिदमा ८ प्रतिशत सडक निर्माण दस्तुर तिर्नुपर्छ ।

मानौं, तपाईंले २००० सीसीभन्दा माथिको चारपाङ्ग्रे सवारी साधन नेपाल ल्याएमा १० प्रतिशत सडक निर्माण दस्तुर लाग्नेछ । जसमा सो गाडीको मूल्य ३ लाख ७४ हजार थप भई ३७ लाख ४० हजार रुपैयाँ कायम भयो ।

त्यसैगरी, सोही गाडीमा ८० प्रतिशत भन्सार महशुल जोडिन्छ । जसमा आयातकर्ताले भन्सार महशुल मात्रै २९ लाख ९२ हजार रुपैयाँ तिनुपर्छ । सो रकम जोड्दा गाडीको मूल्य ६७ लाख ३२ हजार रुपैयाँ पर्न गयो ।

साथै, भन्सार महशुल, अन्तशुल्क र सडक दस्तुर जोडेर कायम भएको मूल्यमा थप १३ प्रतिशत भ्याट लाग्छ । जसमा १३ प्रतिशतमा पर्न आउने भ्याट रकम ८ लाख ७५ हजार १६० रुपैयाँ जोड्दा सो गाडीको मूल्य ७६ लाख ७ हजार १६० पर्न जान्छ । साथै, आयातकर्ताले ३ लाख मात्रै मार्जिन राखेर बिक्री गर्ने हो भने सो गाडीको मूल्य ८० लाख पर्नजाने देखिन्छ ।

पेट्रोलियम इन्धन प्रयोग हुने सवारी साधन आयात गर्दा सवारी साधनको वर्गीकरणका आधारमा अन्तशुल्क, भन्सार महशुल, सडक दस्तुर र भ्याट रकम जोडेपछि मात्रै उपभोक्ता समक्ष पुग्छ । जसमा सवारी साधन अनुसार ४० प्रतिशतदेखि १०० प्रतिशतसम्म अन्तशुल्क, ५ देखि १० प्रतिशतसम्म सडक दस्तुर, ८० प्रतिशत भन्सार महशुल र १३ प्रतिशत भ्याट तिर्नुपर्ने हुन्छ ।
यसलाई अझ यसरी बुझौं ।

डिजल प्रयोग हुने सवारी साधनको आयात गर्दा लाग्ने खर्च
त्यसैगरी, डिजेलबाट चल्ने १५०० सीसीदेखि २५०० सीसीको मूल्य भारतमा २० लाख रुपैयाँ पर्छ भने अन्तशुल्क मात्रै ७० प्रतिशत तिर्नुपर्छ । अन्तशुल्क मात्रै तिर्दा सो गाडीको मूल्य ३४ लाख रुपैयाँ कायम हुन्छ ।

त्यसमा २००० हजारभन्दा माथि सीसीको खरिद गरेमा १० प्रतिशत र २००० भन्दा कम सीसीको खरिदमा ८ प्रतिशत सडक निर्माण दस्तुर तिर्नुपर्न । मानौं, तपाईंले २००० सीसीभन्दा माथिको चारपाङ्ग्रे सवारी साधन नेपाल ल्याएमा १० प्रतिशत सडक निर्माण दस्तुर लाग्नेछ । जसमा सो गाडीको मूल्य ३ लाख ७४ हजार थप भई ३७ लाख ४० हजार रुपैयाँ कायम भयो ।

त्यसैगरी, सोही गाडीमा ८० प्रतिशत भन्सार महशुल जोडिन्छ । जसमा आयातकर्ताले भन्सार महशुल मात्रै २९ लाख ९२ हजार रुपैयाँ तिनुपर्छ । सो रकम जोड्दा गाडीको मूल्य ६७ लाख ३२ हजार रुपैयाँ पर्न गयो ।

साथै, भन्सार महशुल, अन्तशुल्क र सडक दस्तुर जोडेर कायम भएको मूल्यमा थप १३ प्रतिशत भ्याट लाग्छ । जसमा १३ प्रतिशतमा पर्न आउने भ्याट रकम ८ लाख ७५ हजार १६० रुपैयाँ जोड्दा सो गाडीको मूल्य ७६ लाख ७ हजार १६० पर्न जान्छ । साथै, आयातकर्ताले ३ लाख मात्रै मार्जिन राखेर बिक्री गर्ने हो भने सो गाडीको मूल्य कम्तीमा ८० लाख पर्न जान्छ ।

पेट्रोलभन्दा विद्युतीय सवारी साधन सस्तो
यहाँ प्रस्तुत गरेको तथ्याङ्कअनुसार हेर्ने हो भने पेट्रोल, डिजेल गाडीभन्दा विद्युतीय सवारी साधन धेरै गुणा सस्तो देखिन्छ ।

पछिल्लो समय भने सरकारले अपनाएको नीतिले विद्युतीय सवारी साधनको आयात बढेको व्यवसायीहरू बताउँछन् । विगतको दिनमा अन्तशुल्क ८० प्रतिशतसम्म कायम गरेको अवस्था विद्युतीय गाडी आयात गर्न निकै मुस्किल भएको थियो । तर, अहिले बढ्दो क्रममा रहेको नेपाल अटोमोबाइल एशोसिएसनको अध्यक्ष धु्रवबहादुर थापा बताउँछन् ।

उनकाअनुसार अहिलेको अवस्थामा पेट्रोलियम सवारी साधनभन्दा विद्युतीय गाडी निकै सस्तो छ । सरकारले विद्युतीय सवारी साधन प्रयोगमा प्रोत्साहन गर्नका लागि ल्याएको व्यवस्थाले उच्च रुपमा विद्युतीय सवारी साधनको आयात बढेको छ ।

सरकारले चालु आर्थिक वर्षको सार्वजनिक आर्थिक अध्यादेशले विद्युतीय सवारी साधनको आयातको अन्तःशुल्क महशुलमा पूर्ण रुपमा छुट दिएसँगै ६ महिनाको अवधिमै ११ सय ३ वट जीप, भ्यान र कार भित्रिएको छ । जुन हालसम्मकै उच्च हो ।


अरिष्मा मोक्तान