यी हुन् नेपाली बजारमा उपलब्ध दुई पांग्रे विद्युतीय सवारी, मूल्य र माइलेज कति ?



काठमाडौं । विद्युत् उत्पादन बढिरहेका बेला यसको खपत बढाउनका लागि इलेक्ट्रिक सवारी साधनको प्रयोग बढाउनुपर्ने बहस शुरु भएको छ ।

यो बहस शुरु भएको पनि लामो समय भइसकेको छ । पछिल्लो समय इलेक्ट्रिक कार, बाइक तथा स्कुटरको प्रयोग पनि बिस्तारै बढिरहेको छ ।

पेट्रोल प्रयोग हुने सवारी साधनको तुलनामा १५ गुणाभन्दा बढी सस्तो पर्ने इलेक्ट्रिक स्कुटर तथा बाइकको प्रयोगमा पछिल्लो समय मानिसहरुको रुचि देखिन थालेको छ । प्रयोगकर्ताको रुचि बढेसँगै विभिन्न प्रकारको ब्राण्डमा बाइक तथा स्कुटरहरु पनि नेपाल भित्रिन थालेका छन् ।

हाल नेपालमा करिब २ दर्जन ब्राण्डका इलेक्ट्रिक स्कुटर र बाइकहरु उपलब्ध छन् ।

नेपालमा हाल उपलब्ध भएका दुई पाङ्ग्रे सवारीको मूल्य न्यूनतम १ लाख १० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्ममा उपलब्ध छन् ।

टेल्जीका व्यवस्थापक सञ्जीव शिल्पाकार इलेक्ट्रिक बाइक तथा स्कुटर र पेट्रोलबाट चल्ने बाइक तथा स्कुटरमा खासै फरक नभएको बताउँछन् ।

‘प्रयोगका हिसाबमा खासै फरक छैन, तर इलेक्ट्रिक बाइकको सञ्चालन खर्च पेट्रोल प्रयोग हुने सवारी साधनको तुलनामा शुन्य जस्तै हो,’ उनले भने ।

हाल नेपालमा एकपटक फूल चार्ज गर्दा ६० किलोमिटरदेखि १४० किलोमिटर गुड्ने क्षमताका बाइक तथा स्कुटर उपलब्ध छन् । यी स्कुटर चार्ज गर्न २ देखि ४ युनिटसम्म विद्युत् खपत हुन्छ । अर्थात् एकपटक फूल चार्ज गर्न २० देखि ४० रुपैयाँसम्म । एकपटक फूल चार्ज गरेपछि ७० देखि १४० किलोमिटरसम्म गुड्न सकिन्छ ।

समस्या चार्जिङ स्टेसनको
नेपाल सरकारले विद्युतिय सवारी साधन प्रवर्द्धन गर्ने उद्देश्यले यसवर्ष देशभरका विभिन्न निजी संस्थासँग मिलेर ५०० वटा चार्जिङ स्टेसन पूर्वाधार निर्माण गर्ने लक्ष्य राखेको विद्युत् नियमनका सदस्य तथा विद्युत् नियमन आयोगका प्रवक्ता डा. रामप्रसाद धितालले बताए ।

यसका लागि विद्युत् नियमन आयोगले चार्जिङ स्टेसन सञ्चालन गर्दा लाग्ने लागतदेखि प्रतियुनिट चार्ज गर्दा कति खर्च लाग्ने समेतको विवरण निकालेको छ ।

चार्जिङ स्टेसनमा गएर चार्ज गर्दा जम्मा प्रतियुनिट ३.७५ देखि ९ रुपैयाँ लाग्ने गरी मूल्य निर्धारण गरिएको धितालको भनाइ छ । मूल्य भने स्टेसनको भोल्टेज अनुसार निर्धारण हुने पनि आयोगका प्रवक्ता डा. धितालले बताए ।

‘स्टेसनको भोल्टेजअनुसार हिउँद र वर्षामा प्रतियुनिट ३.७० रुपैयाँदेखि ९ रुपैयाँसम्म चार्जिङ शुल्क लाग्ने छ,’ प्रवक्ता धितालले भने, ‘निजी संस्थाले भने आफ्नो चार्जिङ स्टेसनमा सरकारले तोकेको मूल्यमा २० प्रतिशत बढी लिन पाउने छन् ।’

आफ्नै घरमा चार्ज गर्न सकिन्छ ?
विद्युतीय बाइक तथा स्कुटर घरमै पनि चार्ज गर्न सकिन्छ । विद्युतीय स्कुटर वा बाइक चार्ज गर्न आफ्नै घरमा भएको एम्पियरले पुग्ने प्रवक्ता डा. धितालले बताए ।

‘स्कुटर वा बाइकमा भएको ब्याट्री भोल्टेज जम्मा ६० देखि ७० मात्र हुन्छ,’ डा. धितालले भने, ‘त्यसका लागि घरमा भएको एम्पियरले पुग्छ ।’
तर गाडीका लागि भने चार्जिङ्ग स्टेसन वा घरको फेज बढाउन आवश्यक पर्ने डा. धितालको भनाइ छ ।

यस्ता छन् नेपालमा उपलब्ध दुई पाङ्ग्रे इलेक्ट्रिक सवारीहरु
पुयर ईभी
यो ब्राण्डको स्कुटर नेपालमा सन् २०२१ देखि आएको हो । यसलाई अहिले नेपाली बजारमा चलेको ब्राण्ड मानिन्छ । यो भारतमा बनेको हो । यसले धेरै थरिका इलेक्ट्रिक स्कुटरहरू बजारमा ल्याएको छ । एक चोटी फुल चार्जमा ११६ किलोमिटरसम्मको माइलेज दिने कम्पनीले दाबी गरेको छ । यसको मूल्य नेपाली बजारमा १ लाख ९९ हजारदेखि २ लाख ४९ हजारसम्ममा उपलब्ध छ । यसको ब्याट्री फुल चार्ज गर्न ३ देखि ४ घण्टा लाग्छ ।

नीयु
यो स्कुटरको ब्राण्डले नेपाली बजारमा विगत ३ वर्षदेखि आफ्नो स्कुटरहरु नेपालमा बेच्दै आएको छ । यो स्कुटर लामो दूरीको इलेक्ट्रिक स्कुटर खोज्नेहरूका लागि यो एउटा विकल्पको रुपमा राख्न सकिन्छ । कम्पनीले यो स्कुटरमा डबल ब्याट्रीको समेत फिचर थपेको छ । जसले अन्य विद्युतीय स्कुटरहरूको लगभग दोब्बर दूरी पार गर्न सकिन्छ । यसको चार्जिङ समय ६ देखि ७ घण्टा लाग्छ । कम्पनीले ब्याट्रीमा भने २ वर्षको वारेन्टी दिएको छ । नेपाली बजारमा यसको मूल्य १ लाख ४५ हजारदेखि ४ लाख ४५ हजारसम्म तोकिएको छ ।

टेल्जी
टेल्जी ब्राण्डको स्कुटर वा बाइक नेपालका लागि अर्को राम्रो विशेषता सहित नेपालीले रुचाएको ब्राण्ड हो । यसको निर्माण चिनियाँ कम्पनीले गरेको हो । यो ब्राण्डका स्कुटर वा बाइकले फुल चार्जमा १३० किलोमिटरको दूरी तय गर्न सक्षम रहेको मोडलहरु नेपालमा उपलब्ध रहेको कम्पनीले बताएको छ । यसको ब्याट्री चार्ज गर्न लगभग ५ देखि ६ घण्टा लाग्छ । कम्पनीले ब्याट्रीमा भने २ वर्षको वारेन्टी दिएको छ । यसको मूल्य नेपाली बजारमा १ लाख ८५ हजारदेखि २ लाख १० हजारसम्म राखिएको छ ।

इभेइ
यो स्कुटरमा लिड एसिड ६० भी व्याट्री प्रयोग गरिएको छ । एकपटक चार्ज गरेपछि १०० किलोमिटरसम्म चल्ने यो स्कुटरको टप स्पीड ६० किलोमिटरको गतीमा दौडिन सक्छ । फुल चार्ज गर्न ६ देखि ७ घण्टा लाग्ने र यसले २ युनिट विद्युत् खपत हुन्छ । यो कम्पनीले ब्याट्रीमा भने ५ वर्षको वारेन्टी दिएको छ । यो स्कुटरको नेपाली बजार मूल्य १ लाख १७ हजारदेखि २ लाख २४ हजारसम्म रहेको छ ।

टेरा
यो ब्राण्डको स्कुटर वा बाइकमा लिड एसिड ६० भी–२९ ए लिथिएम आयोन ब्याट्री प्रयोग गरिएको छ । एकपटक फुल चार्ज गरेपछि ८० देखि १०० किलोमिटरसम्म गुड्छ । यो ब्राण्डका स्कुटर वा बाइकको ब्याट्री फुल चार्ज गर्न ५ देखि ६ घण्टा लाग्दछ । यस कम्पनीको स्कुटर वा बाइकमा रहेको ब्याट्रीको वारेन्टी २ देखि ३ वर्षसम्मको छ । यो स्कुटरको नेपाली बजार मूल्य १ लाख १५ हजारदेखि ६ लाखसम्म रहेको छ ।

इभेनेङ्ग इ–बाइक
यो ब्राण्डले ल्याएको स्कुटर एकपटक फुल चार्ज गरेपछि ७० किलोमिटरसम्म गुड्न सक्छ । यो ब्राण्डको स्कुटर वा बाइकको ब्याट्री फुल चार्ज गर्न ३ देखि ४ घण्टा लाग्छ । कम्पनीले ब्याट्रीमा भने २ वर्षको वारेन्टी दिएको छ । यो ब्राण्डको स्कुटरको नेपाली बजार मूल्य १ लाख ८५ हजारदेखि ३ लाखसम्म रहेको छ ।

ओरभा
यो कम्पनीले नेपाली बजारमा विगत १ वर्षदेखि आफ्नो इलेक्ट्रिक स्कुटरहरु बेच्दै आएको छ । यो ब्राण्डको स्कुटरले फुल चार्ज गरेपछि लगभग ५५ किलोमिटर दूरी तय गर्न सक्ने र ब्याट्री फुल चार्ज गर्न भने ८ देखि १० घण्टा लाग्छ । कम्पनीले ब्याट्रीमा कति वर्ष वारेन्टी भन्ने कुरा खुलाएको छैन । नेपाली बजारमा यसको मुल्य १ लाख १० हजारदेखि रहेको छ ।

मियामा
मियामा ब्राण्डका इलेक्ट्रिक स्कुटर वा बाइक नेपाली बजारमा उपयुक्त मानिन्छ । यो कम्पनीले ब्याट्रीमा १ वर्षको वारेन्टी दिएको छ । ब्याट्री फुल चार्ज गर्न भने ४ देखि ५ घण्टा लाग्छ । एक चोटी फुल चार्ज भएपछि १०० किलोमिटर दुरी पार गर्न सकिन्छ । यो जापनमा बनेको स्कुटर हो । यो ब्राण्डको मूल्य नेपाली बजारमा १ लाख ४९ हजारदेखि २ लाख ९ हजारसम्म पर्छ ।

डुहान
दुहान चीनमा निर्माण भएको ब्राण्ड हो । यो ब्राण्डले तीन पाङ्ग्रे र दुई पाङ्ग्रे स्कुटर नेपाली बजारमा ल्याएको छ । यसको माइलेज भनेको १४० किलोमिटरसम्म छ । यसमा रहेको ब्याट्री फुल चार्ज हुन ६ घण्टा लाग्छ । यो ब्राण्डको मूल्य नेपाली बजारमा २ लाख ३१ हजारदेखि ३ लाख ६९ हजारसम्म रहेको छ । यो कम्पनीले ब्याट्रीमा भने डेढ वर्षको वारेन्टी दिएको छ ।

ओकीनवा
यो स्कुटर नेपाली बजारमा विकी ट्रेर्डसले ल्याएको हो । यो जापनमा बनेको ब्राण्ड हो । एकचोटी फुल चार्ज गर्न ४ देखि ५ घण्टा लाग्ने यो स्कुटरको ब्याट्रीले १३५ किलोमिटर माइलेज दिन्छ । यो स्कुटरको मूल्य नेपाली बजारमा १ लाख ७० हजारदेखि ३ लाख ४० हजारसम्म पर्छ ।

हिरो इभी
यो स्कुटर नेपाली बजारमा २०२० देखि उपलब्ध भएको हो । यो ब्राण्डको स्कुटर भारतीय कम्पनीले विश्व बजारमा ल्याएको हो । यसको मूल्य नेपाली बजारमा १ लाख ३५ हजारदेखि रहेको छ । फुल चार्जमा यसले लगभग ५० किलोमिटर माइलेज दिन्छ । यसको ब्याट्री चार्ज गर्न ७ घण्टा लाग्छ ।

भीमोटो
यो ब्राण्डको स्कुटर नेपालमा गत वर्ष आएको हो । यो स्कुटरमा रहेका ब्याट्रीले फुल चार्जमा ५५ देखि १२० किलोमिटरसम्म माइलेज दिने कम्पनीले बताएको छ । एकपटक ब्याट्री चार्ज गर्न लगभग ६ देखि ८ घण्टा लाग्छ । यो ब्राण्डको स्कुटरको मूल्य नेपाली बजारमा १ लाख १५ हजारदेखि २ लाख ६० हजारसम्म छ ।

बेला
यो ब्राण्डको स्कुटरलाई बेला मोर्टसले विगत २ वर्ष पहिले नेपालमा ल्याएको हो । यो स्कुटरमा रहेको ब्याट्रीले फुल चार्जमा ७५ किलोमिटरभन्दा माथि माइलेज दिन्छ । यसमा रहेको ब्याट्री चार्ज गर्न लगभग ४ देखि ५ घण्टा लाग्छ । यो स्कुटरको मूल्य नेपाली बजारमा १ लाख ५५ हजारदेखि रहेको छ ।

सुपर सोको इ–बाइक
यो बाइकले नेपालमा यही वर्षबाट उपलब्ध भएको हो । यो ब्राण्डको बाइक चीनमा बनेको हो । यो बाइकमा रहेको ब्याट्री चार्ज गर्न साढे ३ घण्टा लाग्छ । ब्याट्री फुल चार्ज हुँदा यसले ७५ किलोमिटर सम्मको माइलेज दिन्छ । कम्पनीले आफ्नो ग्राहकलाई ३ वर्षको वारेन्टी दिएको छ । यसको मूल्य नेपाली बजारमा २ लाख ३२ हजारदेखि ५ लाख ३९ हजारसम्म रहेको छ ।

एसएमएस इ–स्कुटर
यो ब्राण्डमा रहेको भनेको विशेषता भनेको सबैले किन्न सक्ने मूल्य निर्धारण गरिएको छ । यो ब्राण्डको स्कुटरले फुल चार्जमा ४० देखि ५० किलोमिटरसम्मको माइलेज दिन्छ । यसमा रहेको ब्याट्री चार्ज गर्न ३ युनिट विद्युत् खपत हुन्छ भने चार्जिङ्ग समय ४ देखि ५ घण्टा रहेको छ । यसको मूल्य नेपाली बजारमा १ लाख १४ हजारदेखि १ लाख ४० हजारसम्म रहेको छ ।


क्लिकमान्डु