नाफा घटेपनि बीमा कम्पनीको बोनस घट्दैनः अध्यक्ष चापागाईं



काठमाडौं । बीमा समिति अध्यक्ष चिरन्जीवी चापागाईंले यो वर्ष बीमा कम्पनीहरुको नाफामा गिरावट आएपनि कम्पनीले दिने बोनसमा कुनै कमी नआउने बताएका छन् ।

कोरोनाका कारण नयाँ पोलिसी जारी गर्न समस्या हुँदा नाफामा गिरावट आएपनि बोनसमा कुनै कमी नआउने बताए । कोरोना भाइरसको संक्रमणको समयमा बैंकहरुले ब्याजदर घटाएको कारण पनि नाफामा असर हुने उनको भनाइ छ ।

जीवनको तुलनामा निर्जीबन बीमामा कम असर देखिने उनको तर्क गरे । कोरोनाका कारण बेरोजगारी बढेको खण्डमा केही समस्या देखिने तर समग्रमा आगामी १/२ वर्षसम्म समस्या न्यून देखिने उनको भनाइ छ ।

हामीले संसारलाई कोरोनाको बीमा गर्न सकिन्छ भन्ने सन्देश दिएका छौंः चिरञ्जीबी चापागाईं

बीमा क्षेत्रमा पर्ने समस्या न्यूनिकरणमा राज्यले लिने आर्थिक नीति, गतिविधिमा भरपर्ने अध्यक्ष चापागाईंले बताए ।

उनले बीमा कम्पनीहरुलाई अनावश्यक रुपमा फजुल खर्च नगर्न निर्देशन दिएको छ । नाफिजले आयोजना गरेको छलफलमा अध्यक्ष चापागाईंले यस्तो निर्देशन दिएका हुन् । यो बेलामा जीवन तथा निर्जीबन बीमा कम्पनीहरुले सबै फजुल खर्च कटाएर प्रचार प्रसारमा लाग्न आग्रह गरेका छन् ।

उनले बीमा समितिले ल्याएको कोरोना भाइरस बीमा चाँडै नै लक्षित वर्गमा पुर्याउने गरी काम गर्ने बताए । न्यून आय भएको मानिससम्म पनि पुग्ने उनले प्रण गरेका छन् ।

उनले अहिले यो पोलिसी ट्रायलमा रहेको र आगामी दिनमा यसको प्रभावको बारेमा थप अध्ययन गरेर अघि बढने बताए । यो पोलिसी ल्याएर पैसा उठाएर साउ मोटाउने भन्दा पनि यसबाट संकलन भएको रकमले भोलिको दिनमा फाण्ड बनाएर अस्पतालको लागि भेन्टिलेटर सहयोग गर्न सकिने वा यस्तै सामाजिक काममा लगाउन सकिने बताए । उनले सबै कमपनीलाई आफ्ना मजदुरको बीमा गराउन आग्रह गरे ।

बीमा समितिको क्षमता भएका कारण सरकारलाई ५ करोड सहयोग गरेको भन्दै बीमा कम्पनीहरुले पनि क्षमता अनुसार सरकारको कोरोना बिमा कोषमा सहयोग गर्न सक्ने बताए ।

समितिका अध्यक्ष चापागाईंले कसैले प्रिमीय तिर्न नसके सरेन्डर गर्नुपर्ने अवस्था नआउने बताए ।

उनले भने ‘कुनै बिमीतले बीमाको प्रिमियम तिर्न सक्नु भएन भने अवधि रहेसम्म पोलिसी फिर्ता नलिनु, आर्थिक गतिविधि बढेमा पैसा तिर्नसक्ने व्यवस्था समितिले मिलाउने छ ।’

उनले जीवन कम्पनीको ६२ अर्ब र निर्जीबन बीमा कम्पनीको १८ अर्ब प्रिमीयम संकलन भएको जानकारी गराए । यो वर्ष जीवन र निर्जीबनबाट १ खर्ब १८ अर्ब रुपैयाँ प्रिमीयम संकलन हुने अनुमान रहेको बताए । जीवन बीमामा १८ प्रतिशत र निर्जीबनमा २,३ प्रतिशत बढने उनको भनाई छ ।

छलफलमा जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डेले अहिले नयाँ पोलिसी जारी गर्न सम्भव नरहेकोले पोलिसी नविकरणतर्फ सबैको ध्यान गएको बताए ।

कोरोनाका कारण जीवन बीमा क्षेत्रमा कति असर परेको छ भने अहिले नै भन्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

उनले यो वर्ष जीवन बीमा कम्पनीको नाफामा गिरावट आउने बताए । चैतदेखि असारसम्म धेरै पोलिसी बिक्री हुने भएपनि लकडाउनको कारण समस्या भएको उनको भनाइ छ ।


पुष्प दुलाल