हामीले संसारलाई कोरोनाको बीमा गर्न सकिन्छ भन्ने सन्देश दिएका छौंः चिरञ्जीबी चापागाईं



विश्वभर महामारीकारुपमा फैलिएको कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र तहसनहस भएको छ । कोरोनाको संक्रमण फैलिन नदिन नेपाल सरकारले गत चैत ११ गतेदेखि पूरै देश लकडाउन छ । लकडाउनले देश ठप्प हुँदा आर्थिक गतिविधिहरु पनि ठप्प छन् । बीमा भनेको फोर्स सेभिंग हो । जसकारण लक डाउनले आम्दानी घटेका कारण आगामी दिनमा बीमा गर्नेहरुको संख्या बढाउन ठूलो चुनौतिपूर्ण देखिन्छ । कोरोना रोकथामका लागि गरिएको लकडाउनले बीमा क्षेत्रमा कस्तो असर पर्यो । र, असर कम गर्न बीमा समितिले के कस्ता रणनीति अबलम्बन गर्छ ? जस्ता विषयमा केन्द्रित रहेर क्लिकमाण्डूका लागि पुष्प दुलालले बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईंसँग गरेको कुराकानीः

कोरोना भाइरसको महामारीले अर्थतन्त्रमा ठूलो असर पारेको छ । बीमामा कस्तो असर पार्छ ?

समग्र अर्थतन्त्रका बारेमा राष्ट्रिय योजना आयोग, अर्थतन्त्रालयले अध्ययन गर्लान् । हाम्रोतर्फबाट भन्दा अहिले सबै क्षेत्र बन्द नै छ । पर्यटन क्षेत्र एक किमिसले ध्वस्त नै भइसक्यो, उत्पादनमुलक क्षेत्रमा पनि त्यस्तै छ । कृषिमा त्यतिधेरै पहिलेदेखि नै राम्रो अवस्थामा थिएन ।

सबैभन्दा राम्रो भनेको रेमिट्यान्स हो । नेपालीहरु जुन जुन देशमा बढी संख्यामा काम गर्न गएका छन् त्यो ठाउँमा कोरोनाको प्रभाव बढी छ । अपुष्ट तथ्यांक अनुसार १४/१५ लाख मानिसहरु अब नेपाल फर्कनेछन् । मलेसिया र खाडी क्षेत्रबाट ।

यसले अर्थतन्त्रमा त ठूलो असर पार्छ नै साथै यसले बीमा क्षेत्रमा पनि असर पर्ने हो । सबै क्षेत्रमा राम्रो हुँदा बीमा पनि राम्रो हुने हो । मानिससँग बचत नै हुँदैन भने बीमा कम हुन्छ ।

हामीले ३÷४ वर्षमा जुन ग्रोथ अपनाएका थियौं, त्यसमा ब्रेक लाग्छ । यसवर्ष अझै पनि ३.५ प्रतिशत वृद्धि हुन्छ भन्ने छ । तर त्यो पनि खुम्चिने सम्भावना अझ बढी छ । यसरी हेर्दा कोरोना भाइरसका कारणले बीमा क्षेत्रमा रोजगारी सिर्जनाको हिसाबले, ग्रार्हस्थ उत्पादनमा योगदान पुर्याउने र बीमाको पहुँचको हिसाबले खुम्चने सम्भावना छ ।

बीमाको वृद्धि खुम्चिन नदिनका लागि के गर्नुपर्ला ?

जीवन बीमा भनेको फोर्स सेभिङ हो भने निर्जीवन बीमा आर्थिक गतिविधि बढेको हिसाबले हो । जीवन बीमा बचत भए मात्रै गर्ने हो । खानै भएन भने सरेन्डर पनि गर्छ सक्छ । गत वर्षको तुलनामा जीवन बीमामा २० प्रतिशते वृद्धिदर थियो साथै निर्जीवन बीमातफृ ३ प्रतिशतको वृद्धि हुन्छ भन्ने अनुमान थियो ।

तर भारतमा पनि लकडाउन भइरहेको र नेपालमा पनि अवस्था गम्भीर भइरहेको हुँदा यो हल हुने सम्भावना अहिले छैन । त्यसैले त्यो वृद्धिदरमा असर पार्छ । अब आजभोलिमा अर्को प्रक्षेपण गर्छौ । यो २० प्रतिशतबाट घटेर ५ प्रतिशतमा झर्छ कि भन्ने छ ।

जीवन बीमा र निर्जीवन बीमा गरी असार मसान्तसम्म १ खर्ब १८ अर्ब रुपैयाँ संकलन हुन्छ भन्ने हो । २ अर्ब निर्जीवन र बाँकी जीवन बीमाको प्रिमियत संकलन हुन्छ भन्ने अनुमान गरेका छौं । यस हिसाबले ५/७ प्रतिशतको वृद्धिदर हुन्छ ।

यसरी हेर्दा बीमामा लगानी गरेकाहरुले यो वर्ष लाभांश खान गाह्रो हुने हो ?

यो वर्षको त ठीक छ । गत वर्ष जुन एनएफआरएस लागू गर्दा २ वटा कुराहरु थिए । एउटा ऐनले कल्पना गरेको प्रोभिजनिङ पनि गर्नुपर्ने र अर्को एनएफआरएस अनुसारको प्रोभिजनिङ पनि गर्नुपर्ने थियो । त्यसकारण बीमा कम्पनीमा प्रोभिजनिङको कुरा छ । हाम्रो ऐन अहिले संसदमा छ । त्यो पास हुने वित्तिकै दोहोरो प्रोभिजनिङ गर्नु पर्दैन । त्यसैले यो वर्ष घटिहाल्ला भन्न सकिन्न । तर अर्को २०७७/७८ मा बढी असर पर्ने सम्भावना बढी छ ।

कोरोनाले मान्छेहरुको आम्दानी घटेको छ । भोलिका दिनमा सरेन्डर गर्नेहरुको संख्या बढ्यो भने त्यसले त असर गर्ला नि ?

अब त्यसमा पनि ब्यापक प्रचारप्रसार गर्नुपर्छ । हिँजोका दिनमा साक्षरता पनि कम थियो । मानिसहरु अहिले बाठा पनि भएका छन् । सरेन्डर गर्दा घाटा हुन्छ । नयाँ प्रिमियम नतिरे पनि सरेन्डर नगरौं भन्ने हो । यसका लागि क्याम्पेन चलाउनुपर्छ ।

संसारमै नभएको कोरोना महामारीको बीमा नेपालमा चाहीँ कसरी संभव भयो ?

हामीले पनि कोरोना भाइरसको महामारीमा बीमा क्षेत्रलेले कसरी सहयोग गर्ने भन्ने विषयमा बीमक संघसँग छलफल भयो । हामीलाई के प्लस प्वाइन्ट भइदियो भने हामीसँग पहिले नै बीमा पुल बनाइसकेका थियौं । आजका दिनमा पनि एउटा एउटा बीमा कम्पनीले ल्याएको भए हुने थिएन । हामीले बीमा पुलमार्फत छोटो अध्ययन गरौं न त भन्ने भयो ।

भारत र थाइल्याण्डमा पनि केही कम्पनीले बीमा शुरु गरेको कुरा भयो र २ दिनमै शुरु गर्ने निर्णय भयो । तर भोलिका दिनमा महामारीको सीमा पनि नहुने भयो, प्रक्षेपण पनि भएन । त्यसैले न्यून आय भएका वर्गलाई, फ्रन्टलाइनमा बसेर काम गर्नेहरु स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलगायतलाई लक्षित गरी ल्याउने भयो ।

र, त्यसमा पनि हरेक १५ सम्पूर्ण तथ्यांक संकलन गरी अध्ययन थाल्यौं । बीचमा के भइदियो भने बीमक संघका साथीहरुले अनलाइनर्मात् प्यानालिस्टका रुपमा काम गर्नु भएन । विदेशमा पनि हाम्रो बारेमा प्रशंसा भयो । विदेशीहरुले पनि हाम्रो अनुसरण गर्न सक्छन् ।

अब यस्तो अवस्थामा कसरी हुन्छ त भनेर हेर्दा २ वटा मोडल हुन्छ ।

बीमा हुनलाई मेडिकल अन्डरराइटिङ र फाइनान्सियल अन्डरराइटिङ हुनुपर्छ । अब यो बीमा यी दुबै हुनु पर्दैन । एक पटक तिर्ने हो । ३ सय र ६ सय रुपैया निकालेका छौं । यी दुबै कुरा नचाहिने भएपछि हामीले अनलाइनबाट लिनसक्छौं । त्यसपछि बीमा कम्पनीहरु अनलाइन पेमेन्ट गर्नेलाई पनि सम्झौता गरी अगाडि बढ्नुस भन्यौं । अनलाइनको सेवा नहुनेलाई घुम्ती बीमा सेवा पनि छ । त्यसैले लकडाउनमा पनि यो बीमा पोलिसीमा हुन्छ भन्ने हो ।

लकडाउनमा बीमा कम्पनीहरुले पासै पाएनन् । बीमा समिति साह्रै कमजोर भएका काररण यस्तो अवस्था आएको हो भन्ने आरोप छ नि !

हामी नियामक निकाय भएकाले जहिले पनि अर्कोे सशक्त नियामक निकाय राष्ट्र बैंकसँग तुलना गर्छौ । मैले बारम्बार के भन्छु भने २०१३ सालमा राष्ट्र बैंक स्थापना हुँदा छुट्टै ऐन आयो । मुख्यसचिवभन्दा माथि गभर्नर नियुक्ती भयो । २०२५ सालमा बीमा समिति आउँदाखेरी अर्थमन्त्रालयको ब्रान्च शाखाका रुपमा आयो । त्योसँग धेरै मानिसले चिनेकै छैन । अझै पनि बीमा संस्थान भन्ने बुझ्नेहरु छन् । बीमा समिति नै छैन । तर अहिले समस्या छैन ।

बीमा कम्पनीसँग पैसा छ, समितिले बनाइदिएको निर्देशन अनुसार लगानी पनि गरेको छ, अन्य क्षेत्रमा लगानी गर्न सक्छन् ?

बीमा ऐन २०४९ मा बीमितसँग संलकन गरेको शुल्क लगानी गर्नका लागि निश्चित क्षेत्र तोकिदिनुपर्ने छ भन्ने छ । त्यसैमा टेकेर हामीले निर्देशिका बनाइदिएको हो । त्यो लगानी निर्देशिका अनुसार नै लगानी गर्ने हो । अहिले दायरा पनि बढाइएको छ । जसमा टेक्निकल रिजर्भको निश्चित प्रतिशत आफै लगानी गर्न सक्नुहुन्छ । रियल स्टेट र सेयर बजारमा लगानी गर्न सक्नुहुन्छ ।

राष्ट्र बैंकले असार मसान्तसम्म साँवा ब्याजको किस्ता पछाडि सारेको छ । अझ बैशाखमा अर्को प्याकेज आउँछ भनिएको छ ? बीमाको हकमा के हुन्छ ?

जीवन बीमाको हकमा बैशाख मसान्तसम्मका लागि ब्याज नलिनु भनिसकेका छौं । प्रिमियम पनि लकडाउन खुलेपछि लिनुहुन्छ । तर निर्जीवन बीमाको हकमा अहिले विमान कम्पनी चलेका छैनन्, गाडी पनि चलेका छैनन् ।

हामीसँग हेलिकप्टर एसोसिएसनको पत्र पनि आएको छ । विदेशमा विमान बीमामा हल र प्यासेन्जरको बीमा हुने रहेछ । प्यासेन्जरको बीमा निकै धेरे हुने रहेछ र हलको बीमा निकै कम हुने रहेछ । तर हाम्रोमा ठ्याक्कै उल्टो के भने हलको बीमा निकै धेरै छ । प्यासेन्जरको कम छ । मैले यस विषयमा विदेशमा रहेका पुनरबीमा कम्पनीसँग पनि कुरा गर्न भनेका छौं ।

मोटरको हकमा लकडाउन कहिलेसम्म जान्छ थाहा छैन । त्यसैले एक महिनासम्म नो क्लेम डिस्काउन्टमा थप १५ दिन बढाएर सूचना निकालिसकेका छौं । अब धेरै नै लकडाउनको अवधि बढ्यो भने ६/८ महिनासम्म लम्बाउन सकिन्छ । त्यसमा पनि छलफल गर्न सकिन्छ ।

बीमितले लकडाउन खुल्ने वित्तिकै आएर बीमाको शुल्क कसरी तिर्न सक्लान ?

त्यसमा पनि छलफल गरौंला । लकडाउनको अवपिध कतिसम्म जान्छ भन्ने हिसाबले हामीले फेरि अर्को निर्णय लिनुपर्ने हुन्छ ।


पुष्प दुलाल