नक्कली ऋणी खडा गर्नेदेखि काउन्टरबाटै नगद लगेर भएको थियो कर्णाली डेभलपमेन्ट बैंकमा घोटाला

1.9k
Shares

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक घोटालामा रकम अपचलन गर्न बैंकको भल्टबाटै नगद झिक्नेदेखि हकप्रद सेयरको लागि दाखिला भएको रकमसम्म प्रयोग भएको पाइएको छ ।

बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृतहरू, वित्त विभाग प्रमुख, मुख्य शाखा प्रमुख, अपरेसनमा काम गर्ने कर्मचारीहरू लगायत चेकमा हस्ताक्षरकर्ताहरू, चेकको रकम बुझिलिने कर्मचारीहरू, सो रकम बुझिलिइ संस्थाको भल्ट वा दैनिक बैंकिङ कारोबारमा राख्नु पर्ने जिम्मेवारीमा रहेका कर्मचारी लगायत उक्त कार्य गर्न आदेश दिने व्यक्तिहरू तथा रकम प्रयोगकर्ताहरू अपचलनमा संलग्न देखिएको हो ।

यसरी बैंकको रकम अपचलन गर्दा बैंकको विभिन्न खाताबाट नगद निकाल्दै बैंकिङ प्रणालीमा प्रविष्ट नगर्ने गरेका, अन्य बैंकको खातामा नगद जम्मा गर्न पठाएको तर नगद जम्मा नभएको, खातमा रकम पर्याप्त नभए पनि काउन्टरबाट चेक र भुक्तानी पुर्जीमार्फत नै रकम लिने दिने गरेको पाइएको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीइआईबी) ले गरेको अनुसनधान प्रतिवेदनको आधारमा जिल्ला सकारी वकिलको कार्यालय बाँकेले बैंक घोटालामा १०९ जना प्रतिवादी बनाउदै उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा अभियोगपत्र दायर गरेको छ ।

उक्त अनुसन्धानमा संस्थाको बिभिन्न बैंकस्थित खाताबाट नगद झिकिएको कर्णाली डेभलपमेन्ट बैंकको बैंकिङ प्रणालीमा प्रविष्टी नगरी नगद अन्यत्रै लगिएको पाइएको छ ।

यस्तै कर्णाली डेभलपमेन्ट बैंकको अन्य बैंकमा रहेको खातामा नगद जम्मा गर्न पठाइएको तर सम्बन्धित बैंकमा जम्मा नभएको, पदाधिकारी एवं कर्मचारीहरूको खातामा मौज्दात पर्याप्त नभएता पनि नगद काउण्टरबाट भुक्तानीपुर्जा र चेकमार्फत नगदै रकम लिने दिने गरेको पाइएको अभियोगत्रपमा उल्लेख छ ।

बैंकको अन्य बैंकमा रहेको खाताबाट नगद झिकेर बैंकिङ प्रणालीमा प्रविष्ट नगरी १ अर्ब ११ करोड ९१ लाख ६३ हजार रुपैयाँ अपचलन भएको पाइएको छ । साविकको सेञ्चुरी, सिभिल बैंकका साथै हिमालयन, लक्ष्मी सन्‌राइज, प्रभु, सानिमा र सिद्धार्थ बैंकमा रहेको खाताबाट उक्त रकम झिकेर संस्थाको बैंकिङ प्रणालीमा प्रविष्ट नभएको पाइएको हो ।

यस्तै साविकको सेञ्चुरी, सिभिल तथा प्रभु, सानिमा र सिद्धार्थ बैंकमा जम्मा गर्न पठाएको १५ करोड ३० लाख रुपैयाँ पनि सम्बन्धित बैंक खातामा जम्मा नभएको पाइएको छ ।

अपचलनमा अन्तर-शाखा कारोबार प्रयोग

बैंकको अन्तर-शाखा कारोबारको प्रयोग गरेर समेत रकम अपचलन भएको पाइएको अभियोगपत्रमा उल्लेख छ । केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरूको बीचमा हुने अन्तर–शाखा कारोबारमा शाखा कार्यालयबाट केन्द्रीय कार्यालयमा नगद फण्ड ट्रान्सफर हुने गरेको, केन्द्रीय कार्यालय मार्फत सो फण्ड कर्णाली डेभलपमेन्ट बैंकको अन्य बैंकस्थित खाताहरूमा दाखिला गर्न पठाएको तथ्य संस्थाको कागजात /हिसाबबाट देखिएको अभियोगपत्रमा उल्लेख छ । तर, सम्बन्धित बैंकमा सो फण्ड रकम दाखिला भएको नपाइएको हो ।

अन्तर–शाखा कारोबार अन्तर्गत अपचलन भएको खुद रकम १ करोड ५० हजार ५४१ रुपैयाँ लामो समयदेखि हिसाब मिलान नभई बक्यौता रहेको पाइएको हो ।

हकप्रद सेयरको रकम पनि अचलन भएको पाइएको छ । बैंकले २०७१ असारमा ५० प्रतिशत र २०७३ साउनमा २२५ प्रतिशत हकप्रद सेयर जारी गरेको थियो । उक्त हकप्रदको लागि संस्थापक सेयरधनीहरूले जम्मा भएको रकमको विश्लेषण गर्दा ठूलो रकम नगदै जम्मा भएको १० लाख भन्दा बढीको कारोबारको स्रोत पुष्टी नगरेको, जम्मा गर्ने व्यक्तिको नाम उल्लेख नगरेको, जम्मा गर्नेको दस्तखत किर्ते गरेको देखिएको अभियोगपत्रमा उल्लेख छ ।

यस्तो रकम कारोबार समय पश्चात ढिलो गरी अनियमित समयमा नगद जम्मा भएको जस्ता कैफियत पाइएको हो । यस्तो रकम नगदै जम्मा नगरी ५ करोड ७४ लाख ७५ हजार जम्मा भएको देखाउने कार्यमा तत्कालीन कर्मचारीहरू वेद प्रकाश सिंह ठकुरी, मानबहादुर चौधरी र समजलाल चौधरी संलग्न रहेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

नक्कली ऋणाीको प्रयोग

बैंकको रकम अपचलन गर्न नक्कली ऋणीको प्रयोग भएको समेत पाइएको छ । व्यवसाय सञ्चालन गर्न सक्ने वित्तीय हैसियत नभएका तथा आफूले अनुचित प्रभाव पार्न सक्ने व्यक्ति वा व्यक्तिको नाममा कम्पनी स्थापना गरी गराई त्यस्ता व्यक्ति वा संस्थामार्फत कर्जा लिए/दिएको पाइएको अभियोगपत्रमा उल्लेख छ ।

यस्तै नक्कली ऋणी खडा गरी त्यस्तो ऋणी मार्फत कर्जा लिए दिएको पनि पाइएको छ । कर्जा लिने प्रयोजनको लागि कम्पनी दर्ता गर्ने र दर्ता भए लगतै काल्पनिक एवं अवास्तविक विवरणको आधारमा कर्जा प्रवाह गर्ने गरेको निष्कर्ष सीआईबीको छ ।

‘कर्जा सुविधा उपलब्ध गराए बापत अनुचित लाभ लिएको देखिन्छ,’ अभियोगपत्रमा भनिएको छ, ‘कम्पनीको विगत कारोबार नभएको, कर चुक्ता नभएको, लेखापरीक्षण प्रतिवेदन नभएको, वित्तीय प्रक्षेपण नलिएको र परियोजना नभएतापनि कर्जा प्रवाह गरेको पाइयो।’

बैंकबाट प्रवाह भएको कर्जा जुन प्रयोजनको लागि लिएको हो, सो प्रयोजनमा नलगाई अन्यत्रै लैजाने गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ । अनियमितता गरी प्रवाह भएको पुरानो र खराब कर्जालाई कागजी रुपमा नयाँ कम्पनी खडा गर्ने लगायतका कार्य गरी नयाँ कर्जा सिर्जना गरी अनियमितता हुने गरेको पाइएको छ ।

‘धितोको गलत र अधिकमूल्यांकन गरेको तथा केही कर्जामा अन्तिम मूल्यांकन प्रतिवेदनबिना नै कर्जा प्रवाह गरेको देखिन्छ,’ अभियोगपत्रमा भनिएको छ, ‘संस्थाका पदाधिकारी तथा कर्मचारीहरूले कर्जा प्रवाह / असुलीको क्रममा कर्जा सम्बद्ध व्यक्ति, कम्पनी तथा ऋणीसँग कारोबार गरेको देखिन्छ । ऋणीको नाममा जग्गापास भएपछि धितो राख्ने शर्तमा औद्यौगिक कर्जा शीर्षकमा कर्जा प्रवाह गर्ने र सो कर्जा उद्योगको लागि प्रयोग गर्ने भएको देखिएन ।’

यसरी अनियमितता भएको कर्जा २०८१ चैत मसान्तसम्म साँवा ९७ करोड ११ लाख २५ हजार ४८२ रुपैयाँ र बक्यौता व्याज ३४ करोड ५३ लाख ६५ हजार २४३ रुपैयाँ गरी कुल १ अर्ब ३१ करोड ६४ लाख ९० हजार ७२५ रुपैयाँ बक्यौता छ । विभिन्न ३४ कम्पनी तथा व्यक्तिलाई उक्त कर्जा लगानी भइ दुरुपयोग भएको पाइएको हो ।