
एजेन्सी । इराकको बसरा नजिकै अमेरिकाको स्वामित्वमा रहेको कच्चा तेल ट्यांकर सेफसी विष्णुमाथि इरानले बुधबार गरेको आक्रमणमा एक भारतीय चालक दलका सदस्यको मृत्यु भएको छ ।
जहाजमा रहेका बाँकी १५ भारतीय चालक दलका सदस्यहरूलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको बग्दादस्थित भारतीय दूतावासले जानकारी दिएको छ ।
इराकको जलक्षेत्रमा आक्रमणमा परेपछि पर्सियाली खाडीमा अर्को एक तेल ट्यांकरमा पनि आगो लागेको छ ।
इरानी सरकारी सञ्चारमाध्यम आईआरआईबीका अनुसार, इरानले यी आक्रमणहरूको जिम्मेवारी लिँदै पानीमुनिबाट गरिएको ड्रोन आक्रमणले पर्सियाली खाडीमा दुईवटा तेल ट्यांकरहरू उडाइदिएको जनाएको छ ।
आक्रमणमा परेका जहाजहरू माल्टाको झण्डा अंकित जेफिरोस र मार्शल टापुको झण्डा अंकित सेफसी विष्णु हुन् । सेफसी विष्णु अमेरिकास्थित कम्पनी सेफसी ट्रान्सपोर्ट इंकको स्वामित्वमा छ भने जेफिरोसका मालिक ग्रीसका नागरिक हुन् ।
भारतीय दूतावासले आफू इराकका अधिकारीहरू र उद्धार गरिएका भारतीय नाविकहरूसँग नियमित सम्पर्कमा रहेको बताएको छ ।
‘११ मार्च २०२६ मा मार्शल टापुको झण्डामुनि चलिरहेको अमेरिकाको स्वामित्वमा रहेको कच्चा तेल ट्यांकर सेफसी विष्णुमाथि इराकको बसरा नजिकै आक्रमण भएको थियो, जसमा दुर्भाग्यवश एक भारतीय चालक दलका सदस्यले ज्यान गुमाएका छन् । बाँकी १५ भारतीय चालक दलका सदस्यहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।’
यसअघि सीएनएनको एक रिपोर्टले विस्फोटक पदार्थले भरिएको इरानी सुसाइड डुंगाले दुईवटा जहाजहरूलाई ठक्कर दिएको हुन सक्ने दाबी गरेको थियो र यसको अनुसन्धान जारी छ ।
विश्वको सबैभन्दा व्यस्त तेल ढुवानी मार्ग हर्मुज जलयोजकमा कम्तीमा तीनवटा व्यापारिक जहाजहरू पनि अज्ञात गोलाबारुदबाट प्रहारमा परेका छन् ।
विश्वव्यापी ऊर्जा चिन्ताका बीच अमेरिका–इजरायल र इरानबीचको युद्धले तेल धनी खाडी क्षेत्रलाई दबाबमा पारेको छ । यूके मेरिटाइम ट्रेड अपरेशनका अनुसार, एउटा जहाज संयुक्त अरब अमिरात (यूएई) को तटमा आक्रमणमा परेको छ । ओमानको उत्तरमा रहेको दोस्रो जहाजमा आगो लागेपछि खाली गराउनुपरेको छ र दुबईको उत्तरपश्चिममा तेस्रो जहाजमा क्षति पुगेको छ ।
यसअघि, इरानले हर्मुज जलयोजकबाट पार गर्न खोज्ने जुनसुकै जहाजमा आगो लगाइदिने धम्की दिएको थियो । त्यहाँबाट सामान्यतया विश्वको करिब २० प्रतिशत तेल ओसारपसार हुन्छ । तेहरानको धम्कीका बावजुद यस मार्गबाट निकै कम मात्रामा जहाजहरूको आउजाउ जारी छ ।
यसैबीच अमेरिकाको डोनल्ड ट्रम्प प्रशासनले आफ्नो सेनाले जलसन्धिमा माइन बिछ्याउने इरानका १६ वटा जहाजहरूलाई नष्ट गरेको बताएको छ ।
इरान विरुद्धको अमेरिका–इजरायली अभियान अहिले १२ औं दिनमा पुगेको छ र यसको अन्त्य हुने कुनै संकेत देखिएको छैन । यसले समुद्री यातायातलाई गम्भीर रूपमा घटाएको छ र विश्वव्यापी तेलको मूल्य आकाशिएको छ ।







प्रतिक्रिया