
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक अनियमितता प्रकरणमा एमाले केन्द्रीय सदस्यसमेत रहेका पशुपति दयाल मिश्रले आफूमाथिको आरोप अस्वीकार गर्दै सम्पूर्ण जिम्मेवारी व्यवस्थापन समूहमा थोपरेका छन् ।
उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासमा तीन अर्ब २० करोड ११ लाख रुपैयाँभन्दा बढी बिगो माग गर्दै १०९ जनाविरुद्ध दायर भएको मुद्दामा मिश्र पनि एकजना प्रतिवादी हुन् ।
मिश्रमाथि मात्रै ८२ करोड ४६ लाख रुपैयाँ बिगो र जरिवाना माग गरिएको छ । उनी कर्णाली डेभलपमेण्ट बैंकका संस्थापक सदस्य तथा पूर्व सञ्चालक समितिका अध्यक्ष हुन् ।
जिल्ला सरकारी वकिलको कार्यालले उच्च अदालतमा पेस गरेको आरोप पत्रमा मिश्रले इन्कारी बयान दिएका हुन् ।
बयानमा मिश्रले २०७५ सालको माघ महिनासम्म बैंकको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गरेको बताएका छन् । नेपाल राष्ट्र बैंकले कार्यकारी अध्यक्षको प्रथालाई हटाउने निर्णय गरेपछि आफू अध्यक्ष बनेको उनको बयानमा उल्लेख छ ।
नेपाल राष्ट्र बैंकले चुक्ता पुँजी १० करोड पुर्याउन निर्देशन दिएपछि ‘कल इन एडभान्स’ शीर्षकमा रकम संकलन गरिएको भन्दै मिश्रले त्यस निर्णय सम्पूर्ण सञ्चालक समितिको रहेको दाबी गरेका छन् । उनले आफैंले २० लाख रुपैयाँ जम्मा गरेको हो कि होइन भन्नेमा एकिन नभएको बताएका छन् ।
२०७४ सालमा हकप्रद सेयर निष्काशन प्रक्रिया सञ्चालन गर्न आफू अध्यक्ष रहँदा निर्णय भएको र त्यसमा प्रभु क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको भूमिका निभाएको उनको भनाइ छ । उनले हकप्रद सेयरका लागि नगद वा चेकमार्फत रकम दिएको तर अहिले सम्झना नभएको बताएका छन् ।
कर्जा प्रवाहबारे मिश्रले व्यवस्थापनबाट सिफारिस भई सञ्चालक समितिबाट स्वीकृति हुने परम्पराअनुसार ऋण प्रवाह भएको र आफूमाथि आएको अधिकांश आरोपहरू कार्यकारी प्रमुख तथा व्यवस्थापनको कार्यक्षेत्रमा पर्ने भन्दै इन्कारी बयान दिएका हुन्।
‘छोरालाई अध्यक्ष मैले बनाएको होइन‘
मिश्रले आफ्नो कार्यकाल सकिएपछि छोरा डा. ओम प्रकाश मिश्रलाई साधारण सभाको निर्णय अनुसार सञ्चालक समितिमा नियुक्त गरिएको बताएका छन् । राजेन्द्र वीर रायलाई राष्ट्र बैंकले अध्यक्ष पदबाट हटाएपछि छोरा अध्यक्ष बनेको बताएका छन् ।
मानसरोवर एम्युजमेन्ट पार्कको नाममा ऋण प्रवाह आफ्नो अध्यक्षतामा भएको स्वीकार गरेका मिश्रले उक्त संस्थान सन्तोष कुमार सिंहको एकल स्वामित्वमा रहेको बताएका छन् । आफन्त तथा चिनजानका व्यक्ति जस्तै भतिज मोहनराम मिश्र, बेचनलाल भुजुवा, दाजु शंकर दयाल मिश्रलाई ऋण प्रवाह र सेयर उपलब्ध गराइएको स्वीकार गरे पनि त्यो बैंकको नीति अनुसार भएको उनको जिकिर छ ।
रकम अपचलनमा कार्यकारी प्रमुखहरूको संलग्नताको आरोप
मिश्रले बैंकबाट रकम झिक्ने, अन्य बैंकमा जम्मा गर्ने, शाखामा पठाउने जस्ता कार्यहरू प्रमुख कार्यकारी अधिकृतको कार्यक्षेत्रभित्र पर्ने भएकाले त्यहीँबाट अपचलन भएको हुनसक्ने भन्दै आफ्नो संलग्नता अस्वीकार गरेका छन् । रकम अपचलनमा राजेन्द्र वीर राय, निरज विक्रम शाह, दिनेश कुमार रावत र वेद प्रकाश सिंह ठकुरीको संलग्नता हुन सक्ने उनको आरोप छ ।
धितो मूल्याङ्कनकर्ताको छनोटदेखि अनिवार्य नगद अनुपात (सीआरआर) कायम गर्न नसेकेको विषयमा समेत मिश्रले सञ्चालक समितिले व्यवस्थापनलाई निर्देशन दिएको भन्दै आफू दोषी नरहेको जिकिर गरेका छन् ।
मिश्रले आफ्नो खातामा आएको रकम, सेयर खरिदमा प्रयोग भएको माध्यम, जग्गा विवरण लगायतका धेरै विषयमा ‘हाल एकिन छैन’ भन्ने जवाफ दिएका छन् । उनले ५५ हजार रुपैयाँ तुल बहादुर गुरुङको नामबाट आएको बारेमा जानकारी नभएको बताएका छन् ।
पशुपति दयाल मिश्रको बयान यस्तो
कर्णाली डेभलपमेण्ट बैंक लि. २०६० सालमा स्थापना भई संचालनमा आएको हो । म कर्णाली डेभलपमेण्ट बैंक लि. को संस्थापक मध्येको एक हो । म स्थापनाकाल देखि नै संचालक समितिमा रहेको थिएँ । नेपाल राष्ट्र बैंकले कार्यकारी अध्यक्षको व्यवस्था हटाई संचालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत फरक-फरक व्यक्ति हुन पर्ने भन्ने व्यवस्था गरे पश्चात म संचालक समितिको अध्यक्ष भई बैंक संचालन गरेको हुँ । के कुन मिति देखी संचालक समितिको अध्यक्ष रहेको थिएँ हाल मलाई एकिन भएन । म २०७५ सालको माघ महिनासम्म संचालक समितिको अध्यक्ष भई काम गरेको हुँ ।
हाल म कर्णाली डेभलपमेण्ट बैंक लि.को कुनै पदमा आवद्ध छैन । म कर्णाली डेभलपमेण्ट बैंकको संचालक समितिको अध्यक्ष तथा सदस्यको रुपमा कार्यरत रहँदा नेपाल राष्ट्र बैंकले संचालक र अध्यक्षको लागि तोकेको काम कर्तव्य र अधिकार भित्र रही काम गरेको हुँ ।
साधारण सभाले दिएका अधिकारहरु प्रयोग गरी काम कारबाही संचालन गर्ने गरेको थिएँ । कर्णाली डेभलपमेण्ट बैंक संचालनको लागि आन्तरिक नीति, पोलिसी गाइडलाइन्सअनुसार तथा नेपाल राष्ट्र बैंकको ऐन र निर्देशन अनुसार संचालन हुने गरेको थियो । कर्णाली डेभलपमेण्ट बैंकको संचालक समितिको अध्यक्ष पदमा रहँदा नियमानुसारको बैठक भत्ता पाउने गरेको थिएँ । कर्णाली डेभलपमेण्ट बैंकको संचालक समितिको पदाधिकारी मलाई याद भए सम्म टंक बहादुर बस्नेत, युवराज अधिकारी, उषा भण्डारी, डा. उषा राणा शाह रहेका थिए । २०७५ साल पश्चात मेरो छोरा ओम प्रकाश मिश्र संचालक समितिको सदस्य हुँदै पछि सञ्चालक समितिको अध्यक्ष समेत भएका हुन् ।
प्रमुख कार्यकारी अधिकृत राजेन्द्र वीर राय, सन्तोष कुमार राई, विष्णु प्रसाद कक्षपती समेत रहेका थिए । सो पश्चात दिनेश कुमार रावत र निरज विक्रम शाह प्रमुख कार्यकारी अधिकृतको रुपमा रहेको मलाई थाहा छ । मिति २०७१ आषाढ मसान्त सम्ममा कर्णाली डेभलपमेन्ट बैंकको पुँजी १० करोड पुऱ्याउनु पर्ने नेपाल राष्ट्र बैंकबाट जारी परिपत्र अनुसार तत्काल बैंकले हकप्रद सेयर जारी गरी राष्ट्र बैंकबाट तोकिएको न्यूनतम चुक्ता पुँजी पूरा गर्न सम्भव नभएकोले बैंकका सम्पूर्ण संस्थापक तथा सेयरधनीहरुले आ-आफ्नो सेयर कित्ताको नियमानुसार पर्न जाने हिस्सा अनुसारको रकम पछि हिसाब मिलान गर्ने गरी जम्मा गर्न लगाई सो रकमलाई कल इन एडभान्स शीर्षकमा जम्मा गर्न लगाइएको हो । सो कल इन एडभान्स शीर्षकमा जम्मा गरिएको रकम सेयरमा परिणत गरी सम्बन्धित व्यक्तिलाई सेयर दिई चुक्ता पुँजी वृद्धि गर्ने भनी निर्णय गरिएको हो । यसको सम्पुर्ण जिम्मा व्यवस्थापन र क्यापिटल ईश्यु म्यानेजरको कार्यक्षेत्र भित्र पर्ने भएको हुँदा संचालक समितिको यस निर्णयमा कुनै गलत मनसाय छैन । यो निर्णयको विरुद्धमा नेपाल राष्ट्र बैंक, आन्तरिक तथा बाह्य लेखा परीक्षणबाट कुनै किसिमको टिप्पणी आएको छैन । मैले उक्त कल इन एडभान्स खातामा रु.२०,००,०००/- (बीस लाख) जम्मा गर्न दिएको थिएँ वा थिइन हाल मलाई एकिन छैन । यसमा मेरो हस्ताक्षर छैन । सो नाममा २:१ का दरले आएको सेयरको रकम के कती के कसलाई के कुन माध्यमबाट भुक्तानी दिएँ हाल मलाई एकिन भएन । मेरो अध्यक्षतामा मिति २०७४/०३/२१ गते बसेको कर्णाली डेभलपमेण्ट बैंक लि. को संचालक समितिको बैठकको निर्णय बमोजिम सम्पूर्ण सेयरधनीहरुले आ-आफ्नो हिस्सामा पर्न आउने रकम यस बैंकको कल इन एडभान्स खातामा जम्मा गर्न सार्वजनिक सूचना प्रकाशित गरेकोमा हालसम्म कसैको पनि जम्मा हुन नआएको र ने.रा. बैंकको निर्देशन बमोजिम २०७४ असार मसान्तसम्म ५० करोड पुँजी पुऱ्याउनु पर्ने बाध्यता भएको हुँदा उक्त कार्यलाई तदारुकताका साथ सम्पन्न गर्नको लागि संस्थापक सेयरधनी, सर्वसाधारण सेयरधनी र अन्य इच्छुक महानुभावहरुबाट (पछि हिसाब मिलान गर्ने गरी) कल इन एडभान्स खातामा रकम जम्मा गर्न आव्हान गर्ने र सोसंग सम्बन्धित कार्य गर्न व्यवस्थापनलाई अख्तियारी दिने गरी निर्णय भएको हो तर यसको कार्यान्वयनको काम व्यवस्थापन र प्रभु क्यापिटललाई दिइएको हो । मेरो अध्यक्षतामा मिति २०७४/०९/११ गते बसेको सञ्चालक समितिको बैठकले यस कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको श्री प्रभु क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशन गर्न लागेको १:२.२५ ( एक कित्ता सेयर बराबर नयाँ दुई दशमलव दुई पाँच कित्ता साधारण सेयर) अनुपातको रु. १००/- का दरले ३३,९७,५०० कित्ता हकप्रद साधारण सेयर साविक शेरधनीहरुका लागि निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट मिति २०७४/०९/०२ गते स्वीकृती भै आएकोले सोही अनुसार हकप्रद सेयर निष्काशन प्रयोजनका लागि मिति २०७४/०९/२० गते यस बैंकको सेयरदर्ता पुस्तिका (दाखिला र खारेज) बन्द गर्ने निर्णय गरियो, साथै सोही बमोजिम सम्पूर्ण सेयरधनीहरुको जानकारीको लागि राष्ट्रिय दैनिक पत्रिकामा सार्वजनिक सूचना प्रकाशित गर्ने भनी सर्वसम्मत निर्णय गरेको हो । मैले आफ्नो सेयर बापतको रकम दिएको हुँ। नगद दिएको हो वा चेक मार्फत दिएको हो मलाई हाल याद छैन । उल्लेखित कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धक श्री प्रभुक्यापिटल लिमिटेडको बिक्री प्रबन्धकत्वमा हकप्रद सेयर (राइट सेयर) निष्काशन प्रयोजनको लागि सेयरधनी पुस्तिका बन्द हुँदा को मिति २०७४/०९ / १९ गतेसम्म कायम रहेका सेयरधनीहरुलाई निजहरुको नाममा कायम रहेको सेयर संख्याको १ : २.२५ (अर्थात विद्यमान १ कित्ता साधारण सेयर बराबर नयाँ २.२५ कित्ता साधारण सेयरको दरले) को अनुपातमा जम्मा ३३,९७,५०० कित्ता हकप्रदसेयर मिति २०७४/१०/११ गते देखि २०७४/१२/०१ गते सम्म निष्काशन गरिएकोमा निष्काशनका लागि तोकिएको समयमा रित पूर्वक प्राप्त भएका आवेदनहरुलाई “धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४” को अधिनमा रहि मिति २०७४ / १२ / ३० गतेका दिन बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा भएको हकप्रदसेयर बाँडफाँडको निर्णयलाई अनुमोदन गरि सोही बमोजिम हकप्रद सेयरको बाँडफाँड गर्ने निर्णय गरेको सोही निर्णयमा आफ्नो हकभन्दा बढी सेयरको लागि आवेदन गर्ने तथा रकम जम्मा गर्ने २७ जना सेयरधनीहरुको जम्मा १०३७ कित्ता सेयरको रकम रु. १०३,७००/- (अक्षेरुपी एकलाख तीन हजार सात सय मात्र) सम्बन्धित सेयरधनीहरुलाई फिर्ता गर्ने निर्णय मेरो अध्यक्षतामा गरिएको हो ।
निज राजेन्द्र वीर रायलाई संचालक समितिको मिति २०७४।०९।३० गतेको निर्णयबाट धितोपत्र निष्काशन गरी चुक्ता पुँजी वृद्धि गर्ने मुल उद्देश्यका साथ पुनः प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरिएको हो यसको को जानकारी नेपाल राष्ट्र बैंकलाई समेत दिएकोमा कुनै टिप्पणी आएको थिएन । मैले हकप्रद सेयर बापतको रकम रु.१०,००,०००/- (दश लाख ) कल इन एडभान्स खातामा जम्मा गरेको सम्बन्धमा मलाई एकिन छैन । कर्जाको फाईल व्यवस्थापन ले तयार गरी संचालक समितिमा ल्याई पेश गरी संचालक समितिले स्वीकृत गरी कर्जा प्रवाह हुने गर्दथ्यो । मेरो अध्यक्षतामा संचालक समितिबाट स्वीकृत भई प्रवाह भएका कर्जाहरु सबै चुक्ता भईसकेका छन् ।
मेरो संचालक समितिको अध्यक्षको कार्यकाल समाप्त भए पश्चात बैंकको साधारण सभाले मेरो छोरा डा. ओम प्रकाश मिश्रलाई संचालक समितिको सदस्य नियुक्त गरेको हो । नेपाल राष्ट्र बैंकले राजेन्द्र वीर रायलाई संचालक समितिको अध्यक्षबाट हटाए पश्चात २०८० सालबाट मेरो छोरा डा. ओम प्रकाश मिश्र संचालक समितिको निर्णयले बैंक संचालक समितिको अध्यक्ष भएका हुन् । निज राजेन्द्र वीर रायले १ लाख जरिवाना तिरेका हुन् । सो पश्चात संचालक समितिबाट निज राजेन्द्र वीर रायलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको हो ।
नेपाल राष्ट्र बैंकले निजलाई पुनः प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरे पश्चात कुनै कैफियत नजनाएको हुँदा निजलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको हो ।
संस्थापक सेयर धनीको १% भन्दा कम संस्थापन सेयर भएमा संस्थापक सेयरधनीलाई बैंकबाट कर्जा उपलब्ध गराउन बाधा नपर्ने भएको हुँदा म संचालक समितिको अध्यक्ष भएको समयमा संचालक समितिबाट निर्णय गरी मोहन राम मिश्रलाई कर्जा प्रवाह भएको हो । संचालक समितिको निर्णयबाट कार्यक्षेत्र बाहिरको कागवेनी कन्सट्रक्सन प्रा. लि., पोखरा-१०, बुद्ध चोकलाई रु. ३० लाखको ओ.डी. कर्जास्वीकृत भएको होइन । बैंकमा रकमको अभाव भएको बेलामा व्यवस्थापनको सिफारिसमा मुद्दती खतामा रकम जम्मा गर्दा संचालक समितिले निर्णय गरी व्याज बढाई दिने गरेको हो ।
सन्तोष कुमार सिंहको नाममा दर्ता रहेको मानसरोवर अमेजमेन्ट पार्कको नाममा म संचालक समितिको अध्यक्ष रहेको समयमा संचालक समितिबाट कर्जा प्रवाह भएको हो । राजेन्द्र वीर रायले खुलाएको कुराहरु तथ्यहिन हुन् । मैले कर्जा स्वीकृत गर्ने समयमा मानसरोवर अमेजमेन्ट पार्क एन्ड रिसोर्ट सन्तोष कुमार सिंहको एकल कम्पनी रहेको थियो ।
व्यवस्थापन समूहबाट कर्जा स्विकृतीको लागि संचालक समितिमा आए पश्चात म संचालक समितिको अध्यक्ष रहँदा उक्त कर्जा स्वीकृत भएको हो ।
मनोजमान प्रधानले कर्णाली डेभलपमेण्ट बैंक लि.बाट व्यक्तिगत धितो राखी व्यक्तिगत कर्जा लिएको हुन् । मनोजमान प्रधानले व्यक्तिगत कर्जा रु. ६२ लाख प्रवाह गरेको, निज मनोजमान प्रधानले बैंकमा रकम जम्मा गर्नु पर्नेमा मेरो खातामा रकम जम्मा गरेको सम्बन्धमा नेपाल राष्ट्र बैंकलाई जानकारी गराईएको थियो ।
म संचालक समितिको अध्यक्ष रहेको समयमा संस्थामा अनिवार्य मौज्दात क्यास रिजर्भ रेसियो (सीआरआर) कायम गर्न नसकेको भनी जरिवाना लगाए पश्चात संचालक समितिले व्यवस्थापनलाई अनिवार्य मौज्दात सीआरआर कायम गर्न निर्देशन दिई सो सम्बन्धी जानकारी नेपाल राष्ट्र बैंकलाई दिएका थियौं । राजेन्द्र वीर राय संचालक समितिको अध्यक्ष भएको समयमा मेरो छोरा राम करण मिश्रको नाममा रहेको बाँके सम्वृद्धी एग्रो प्रालिको नाममा कर्जा प्रवाह भएको हो । कर्णाली डेभलपमेण्ट बैंक लि.बाट मेरो भतिज मोहनराम मिश्रले व्यक्तिगत कर्जा लिएको थियो । बेचनलाल भुजुवा (गुप्ता) मेरो चिनजानको मानिस हुन् । निज बेचनलाल भुजुवा (गुप्ता) र म एउटै राजनीति पुष्ठभूमिका मानिस हौं । निज कर्णाली डेभलपमेण्ट बैंक लि. को ऋणी रहेको भन्ने कुरा थाहा छ । निज बेचनलाल भुजुवाले म सँग व्यक्तिगत कामको लागि सापटी लिएको रकम फिर्ता गरेका हुन् । संस्थापक सेयर संस्थापकहरुले नलिई छोडेको सेयर मध्येको केही सेयरहरु मेरो दाजु शंकर दयाल मिश्र र भतिज मोहनराम मिश्रले प्रकृया पूरा गरी रकम जम्मा गरे पश्चात संस्थापक सेयर लिएका थिए । मेरो दाजु तथा भतिजले हकप्रद सेयर बापतको रकम जम्मा गरी हकप्रद सेयर लिएका हुन् । अन्य बैंकहरुमा रहेको खाताको व्यालेन्स सर्टिफिकेट किर्ते बनाउने काम निरज विक्रम शाहले गरेको भन्ने सुन्न आएको र निजको ल्यापटपमा सो किर्ते व्यालेन्स सर्टिफिकेट रहेको छ भनी सुनेको थिएँ । अनिवार्य नगद अनुपात मौज्दात कायम राख्ने प्रयोजनको लागि खोलिएको खातामा अपर्याप्त मौज्दात राखी नियमानुसार राख्नु पर्ने अनिवार्य नगद अनुपात मौज्दात खातामा नभएता पनि खातामा कायम रहेको भनी गलत विवरण नेपाल राष्ट्र बैंकमा रिर्पोटिङ गर्ने काम निरज विक्रम शाहले गरेका हुन् । बैंकबाट रकम झिक्ने, अन्य बैंकहरुमा रकम जम्मा गर्ने, शाखा कार्यालयहरुमा रकम पठाउने, शाखा कार्यालयहरुबाट रकम ल्याउने र त्यसको अभिलेख राख्ने काम प्रमुख कार्यकारी अधिकृत लगायत व्यवस्थापनको जिम्मामा पर्ने भएको हुँदा निजहरुको नै संलग्नतामा रकम अपचलन भएको देखिन्छ । दिनेश कुमार रावतले आफु योग्य भएको प्रमाण पत्र पेश गरेकोमा संचालक समितिले निज दिनेश कुमार रावतलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । दिनेश कुमार रावत प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएको केही समय पश्चात मेरो कार्याकाल समाप्त भएकोमा पछि राष्ट्र बैंकले पत्राचार गरी निजको योग्यता नपुगेको भनी कैफियत जनाए पश्चात निजले निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा चलाई केही समय पश्चात राजेन्द्र वीर रायको अध्यक्षताको संचालक समितिले निजलाई पुनः प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । बैंकबाट रकम झिक्ने, अन्य बैंकहरुमा रकम जम्मा गर्ने, शाखा कार्यालयहरुमा रकम पठाउने, शाखा कार्यालयहरुबाट रकम ल्याउने र त्यसको अभिलेख राख्ने काम प्रमुख कार्यकारी अधिकृत लगायत व्यवस्थापनको जिम्मामा पर्ने भएको हुँदा निजहरुको नै संलग्नतामा रकम अपचलन भएको देखिन्छ । बैंकबाट रकम झिक्ने, अन्य बैंकहरुमा रकम जम्मा गर्ने, शाखा कार्यालयहरुमा रकम पठाउने, शाखा कार्यालयहरुबाट रकम ल्याउने र त्यसको अभिलेख राख्ने काम प्रमुख कार्यकारी अधिकृत लगायत व्यवस्थापनको जिम्मामा पर्ने भएको हुँदा निजहरुको नै संलग्नतामा रकम अपचलन भएको देखिन्छ । धितो मूल्यांकनकर्ताको नियुक्ति धितो मुल्याङकनकर्ताले पेश गरेको निवेदनको आधारमा संचालक समितिले गर्ने गर्दछ । धितो मुल्याङकनकर्ताले गरेको धितो मुल्याङकनको के-कति प्रतिशतसम्म कर्जा प्रवाह गर्न मिल्छ भन्ने कुरा मलाई हाल एकीन छैन । राजेन्द्र वीर रायलाई नेपाल राष्ट्र बैंकले संचालक समितिको अध्यक्षबाट कारबाही गरी हटाई सके पश्चात रिक्त स्थानमा मेरो छोरा डा. ओम प्रकाश मिश्र राजेन्द्र वीर रायको स्थानमा संचालक समितिको निर्णयबाट अध्यक्षको पदमा नियुक्त भएको हुन् । मेरो खातामा तुल बहादुर गुरुङको नामबाट ५५,०००/- (पचपन्न हजार) आएको सम्बन्धमा एकिन छैन । राजेन्द्र वीर रायले म सँग व्यक्तिगत रुपमा लिएको फिर्ता गरेका हुन् । अन्य रकम मेरो बोर्ड बैठक भत्ता तथा अन्य सुबिधा बापतको रकम जम्मा गरिएको हो । हिरमिनियाको जग्गाहरु पैतृक सम्पती हुन्, सो बाहेक नेपालगञ्ज र उढरापुरको जग्गा सम्बन्धमा हाल एकिन छैन । मोहन राम मिश्रको जग्गाको मुल्यांकन गर्ने क्रममा म सो स्थानमा रहेको थिएँ । सो फोटो मेरो समेतको हो । ऋणको साँवा व्याज तिर्ने जिम्मेवारी ऋणी को हो । प्रस्तुत वारदातमा राजेन्द्र वीर राय, निरज विक्रम शाह, दिनेश कुमार रावत र वेद प्रकाश सिंह ठकुरीको मुख्य संलग्नता हुन सक्छ ।







प्रतिक्रिया