कीर्तिपुरमा कारमा आगलागी: सिटमै रहेको अवस्थामा चालकको जलेर मृत्यु

245
Shares

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–१ स्थित ट्याङ्लाफाँटमा मंगलबार एक निजी कारमा अचानक आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ ।

ट्याङ्लाफाँटको चाँदनी चोक नजिकै बा ५ च ३०३८ नम्बरको किया कारमा गुडिरहेकै अवस्थामा एक्कासि आगो लागेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कारमा आगो लागेपछि चालक बाहिर निस्कन पाएका थिएनन् । उनलाई गाडीभित्र सिट बेल्ट बाँधेको अवस्थामै जलेको र मृत फेला पारिएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले आगलागी भएको गाडीबाट एक पुरुषको शव निकालिएको जानकारी दिए । मृतक चालकको पहिचान (सनाखत) भने हुन बाँकी छ ।

घटनाको जानकारी पाएलगत्तै स्थानीय बासिन्दा र प्रहरीले आगो निभाउने उपकरणको प्रयोग गरी आगो निभाउने प्रयास गरेका थिए। पछि घटनास्थलमा दमकल पुगेर आगो नियन्त्रणमा लिएको थियो ।

गुडिरहेको गाडीमा कसरी अचानक आगलागी भयो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन । प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।