
काठमाडौं । कायम मुकायम गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले डा. गुणाकर भट्टको राजीनामा स्वीकृत नगरेपछि गभर्नर सिफारिस समितिका सदस्यलाई नै गभर्नरको रुपमा प्रस्ताव गरिएको छ । सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबीच कांग्रेसले सिफारिस गरेको व्यक्तिलाई नै गभर्नर नियुक्ति गर्ने सहमति भएको भनिएको १ महिना पुग्न लाग्दा पनि गभर्नर नियुक्त हुन सकेको छैन ।
कांग्रेसले गभर्नरको रुपमा कुशल अर्थशास्त्री समेत रहेका राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको नाम अगाडि सारेको थियो । गत वैशाख ३ मै भट्टलाई गभर्नर बनाउन प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सहमति भएको समाचार बाहिरियो । लगत्तै वैशाख ५ मा भट्टले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिए ।
तर, कायम मुकायम गभर्नर डा. नीलम ढुंगानाले भट्टको राजीनमा स्वीकृत नगर्दा गभर्नर नियुक्ति पेचिलो बनेको छ । कायम मुकायम गभर्नरले कुनै राजनीतिक आड नभई राजीनामा रोकर राख्न नसक्ने भन्दै भट्टलाई गभर्नर बन्नबाट रोक्न सरकारको नेतृत्व गरेको एमालेले नै भट्टको राजीनामा स्वीकृत नगर्न उनलाई ढाडस दिएको जानकारहरु बताउँछन् ।
यसैबीच कांग्रेसले डा. भट्टलाई गभर्नर बन्न मार्गप्रशस्त नभए डा. विश्व पौडेलको नाम प्रस्ताव गर्ने तयारी गरेको छ । गभर्नर सिफारिस गर्न गठित समितिका सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेलको नाम गभर्नरका रुपमा अगाडि बढाउने तयारी कांग्रेसले गरेको हो ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ दल कांग्रेस र एमालेका शीर्ष नेतृत्वसहित बसेको बैठकमा कांग्रेसले गभर्नरमा पौडेलको नाम प्रस्ताव गरेको स्रोतले बतायो । भट्टलाई गभर्नर बनाउन नसकिने भए सिफारिस समितिको सदस्य रहेका पौडेललाई गभर्नरको रुपमा कांग्रेसले प्रस्ताव गरेको स्रोतले बतायो ।
‘भटट्को विकल्पमा पौडेलको नाम प्रस्ताव गरिएको हो । सरकारले भट्टको राजीनामा स्वीकृत गरेर उनलाई नै गभर्नर बनाउने वा सिफारिस समिति पुनर्गठन गरेर पौडेलालाई नियुक्त गर्ने विकल्पमा काम गर्नेछ,’ स्रोतले क्लिकमान्डुसँग भन्यो । कांग्रेसले सत्ताका प्रमुख घटक एमालेसँग कांग्रेसको सिफारिसमा गभर्नर नियुक्त हुने सहमति भएअनुसार विकल्पमा पौडेलको पनि नाम सिफारिस गरेको भन्दै यही साता गभर्नर नियुक्त हुने विश्वासमा रहेको कांग्रेसका एक पदाधिकारीले बताए ।
बालुवाटार बैठकपछि कांग्रेसका केही पदाधिकारीले भट्टको विकल्पमा पौडेको नाम सिफारिस भएको भन्दै उनलाई बधाई समेत दिएका छन् ।
शनिबार प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा लगायत नेताहरुबीच प्रधानमन्त्रीनिवास बालुवाटार छलफल भएको थियो । छलफले एकसाताभित्र गभर्नर नियुक्त गर्ने सहमति भएको स्रोतले बतायो ।
शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका थिए । उक्त बैठकमा नै भटट्लाई गभर्नर नियुक्त गर्न प्राविधिक समस्या भए उनको विकल्पमा अर्को नाम अघि सार्ने संकेत देउवाले गरेका थिए । र नेताहरुसँग सम्भावित नाम पेश गर्न भनेका थिए । बैठकपछि धेरै नेताहरुले विश्व पौडेलको नाम लिएका छन् । केहीले ज्ञानेन्द्र ढुंगाना, अंगराज तिमिल्सिना र समीर खतिवडाको नाम पनि लिएको स्रोतले बतायो ।
धेरै नेताले पौडेलको नाम लिएपछि शनिबार भट्टलाई गभर्नर बनाउन नमिल्ने भए पौडेललाई गभर्नर नियुक्त गर्न सिफारिस गरेको स्रोतको दाबी छ ।
सहमतिअनुसार पौडेललाई गभर्नर नियुक्त गर्दा उनले सिफारिस समितिबाट राजीनाम दिनुपर्छ । त्यसपछि मन्त्रिपरिषद्ले पौडेलको स्थानमा अर्को सदस्य नियुक्त गर्नुपर्छ । सिफारिस समिति पुनर्गठन भएपछि सिफारिस समितिले पौडेलसहित ३ जनाको नाम सिफारिस गरेपछि मात्रै उनलाई गभर्नर नियुक्त गर्न सक्छ ।
डा. पौडेलले आफू निकटस्थहरुसँग पार्टीका पदाधिकारी र पार्टी सभापतिले जिम्मेवारी लिइदिनु पर्यो भनेको अवस्थामा आफू तयार रहेको बताउने गरेका छन् ।
‘मलाई गभर्नर बनाउनु पर्छ भनेर अहिलेसम्म म कहीँ कतै हिँडेको छैन, गुणाकरजी नै गभर्नर बन्नुपर्छ भन्ने बटमलाइन हो, प्राविधिक कारणले गुणाकरजी नियुक्त नभएको अवस्थामा पार्टीले मलाई अघि बढाउन खोजेजस्तो देखिन्छ,’ पौडेलको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘पार्टीले तपाईं अघि बढ्नुपर्छ भन्दा मैले नाइनास्ती गर्ने कुरा आउँदैन ।’
नेपाल राष्ट्र बैंक ऐनको व्यवस्था अनुसार बहालवाला गभर्नरको कार्यकाल सकिनुभन्दा १ महिनाअघि नै गभर्नर नियुक्त गर्नुपर्ने हुन्छ । तर, सरकारले बहालवाला गभर्नरको कार्यकाल सकिएको १ महिना बितिसक्दा पनि गभर्नर नियुक्त गर्न सकेको छैन । सरकारले ११ चैत २०८१ मा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा सिफारिस समिति गठन गरेको थियो ।
सिफारिस समितिको सदस्यमा पुर्वगभर्नरहरुबाट डा. विजयनाथ भट्टराई र अर्थविद् डा। विश्व पौडेलल सदस्य थिए । सिफारिस समिति गठन भएको १ महिनासमम पनि समितिको बैठक नबोलाएको र उच्च राजनीतिक सहमतिको नामाा सिफारिस समितिलाई रबर स्ट्याम्प बनाउन खोजेको भन्दै पुर्वगभर्नर भट्टराईले सिफारिस समितिबाट ९ वैशाखमा राजीनाम दिए ।त्यसपछि सरकराले सिफारिस समितिको समस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई ल्याएको छ । अब पुन सो कमिटी पुनर्गठन गरेर पौडेललाई सिफारिस गर्नुपर्छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा डा. पौडेल नेपाली कांग्रेसको तर्फबाट चितवन क्षेत्र नं. १ का उम्मेदवार थिए । राष्ट्र बैंकमा ऐनको दफा २१ मा राजनैतिक दलको सदस्य सञ्चालक वा गभर्नर बन्न नपाउने प्रावधान छ । गभर्नर नियुक्त हुनुअघि उनले कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिनुपर्ने हुन्छ ।
यसअघि गभर्नर नियुक्त हुनुअघि निवर्तमान महाप्रसाद अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभाग सदस्य थिए ।उनलाई नियुक्त गर्नुअघि पार्टीबाट राजीनामा गराइएको थियो । यद्यपि उनी गभर्नर रहँदै एम अधिकारीका नाममा सोही समितिमा बसेर राजनीतिमा सक्रिय थिए ।
को र कस्तो गभर्नर क्लिकमान्डुको विशेष श्रृंखला हेर्न यहाँ क्लिक गर्नुस् ।







प्रतिक्रिया