
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ नभएको स्पष्ट पारेका छन् ।
मंगलबार पार्टी कार्यालय सानेपामा नेपाली कांग्रेसले आयोजना गरेको आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको कार्यक्रममा देउवाले राष्ट्र बैंकभित्रकै समस्याले गभर्नर नियुक्तिमा ढिलाइ भइरहेको तर्क गरे। प्रधानमन्त्री ओलीले गभर्नर छनोटको जिम्मा कांग्रेसलाई दिएको देउवाको भनाइ छ ।
‘अहिले एमालेसँग हाम्रो गठबन्धन छ । गठबन्धनमा केपी ओलीसँग कुनै समस्या छैन । गभर्नरको सम्बन्धमा उहाँले ल्याएको समस्या होइन, राष्ट्र बैंकभित्र कै समस्या हो,’ देउवाले भने, ‘उहाँ(केपी ओली) कांग्रेसलाई गभर्नर दिने पक्षमा हुनुहुन्छ । उहाँले सहयोग गर्नु भएको छ ।’
वर्तमान राजनीतिक प्रणालीमा एउटै पार्टीको बहुमत आउने अवस्था नरहेकाले अन्य दलसँग मिलेर सरकार बनाउनुपर्ने अवस्था आउनु स्वभाविक भएको उनले बताए ।
देशको अर्थतन्त्रमा देखिएको मन्दी क्रमशः सुधारोन्मुख रहेको भन्दै देउवाले गठबन्धन सरकारले आर्थिक विकासलाई थप गति दिन कडा मेहनत गर्नुपर्नेमा जोड दिए । उनले आगामी बजेटमा व्यवहारिक र कार्यान्वयन योग्य योजनाहरू ल्याउनुपर्ने आवश्यकता औंल्याए ।







प्रतिक्रिया