यसकारण रोकियो गभर्नर नियुक्ति गर्न बोलाइएको मन्त्रिपरिषद्को बैठक

समितिका २ सदस्य नीलमको नाम सिफारिस नगर्ने पक्षमा, आरजूलाई भेट्ने कामु गभर्नरको अनगिन्ती प्रयास

30.4k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न गत शुक्रबार बोलाएको मन्त्रिपरिषद् बैठक स्थगित भयो । प्रधानमन्त्री ओलीले नै गभर्नर सिफारिस समितिलाई स्पस्ट ‘इन्डिकेसन’ दिन नसकेका कारण गभर्नर नियुक्ति हुन सकेन ।

प्रधानमन्त्री ओली गभर्नर सिफारिस समितिलाई डा. गुणाकर भट्टसहित कायममुकायम गभर्नर डा. नीलम ढुंगाना तिम्सिनासमेतको नाम सिफारिस गर्नुपर्ने अडानबाट पछि नहटेपछि समितिले ३ जनाको नाम नै सिफारिस गर्न सकेन, र मन्त्रिपरिषद्को बैठक स्थगित हुन पुग्यो ।

वैशाख १९ गते शुक्रबार गभर्नर नियुक्त गर्ने गरी प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । शुक्रबारको बैठकको एकमात्रै एजेण्डा गभर्नर नियुक्ति सम्बन्धमा थियो । तर, अन्तिम समयमा बैठक स्थगित भयो । उक्त मन्त्रिपरिषद् बैठक स्थगित हुनुको कारण भने गभर्नर सिफारिस समितिले नाम नै सिफारिस गर्न नसकेको रहेको स्रोतको दाबी छ ।

वैशाख १८ गतेको मन्त्रिपरिषद् बैठकमा गभर्नर नियुक्तिको विषयले प्रवेश पाएको थियो । प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्रीसमहेत रहेकी देउवापत्नी आरजू राणा देउवाबीच गभर्नरका फरक-फरक उम्मेदवार रहेको संकेत पाएपछि ‘कांग्रेस नै एकमत नभएर हो कि ?’ भनेर सोधेका थिए । ओलीले कांग्रेसभित्रै २ वटा उम्मेदवार भएको संकेत गरेपछि गृहमन्त्री रमेश लेखकले ‘हामी एकमत छौं’ भन्ने जवाफ दिएका थिए । त्यसपछि ओलीले आगामी मन्त्रिपरिषद् बैठकबाट गभर्नर नियुक्त गर्ने बताएका थिए । बैठकमा उपस्थित परराष्ट्रमन्त्री आरजूले यस विषयमा केही पनि बोलिनन् ।

आरजूले नबिल बैंकका सीईओबाट राजीनामा दिएर गभर्नर बन्ने दौडमा रहेका ज्ञानेन्द्र ढुंगानाको नाम पनि केही ठाउँमा लिएको स्रोतको दाबी छ । यसै आधारमा प्रधानमन्त्री ओली प्रष्ट हुन खोजेका थिए ।

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गभर्नर नियुक्तिमा राजनीतिक सहमति जुटिसकेको छ । गत वैशाख ३ मा नै प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच डा. गुणाकर भट्टलाई गभर्नरमा नियुक्त गर्ने सहमति भएको थियो । लगत्तै वैशाख ४ मा देउवाले भट्टलाई बूढानीलकण्ठमा बोलाएर गभर्नरमा नियुक्त गर्न सहमति भएको भन्दै अर्थतन्त्र सुधारमा काम गर्न शुभकामना पनि दिएका थिए ।

वैशाख ५ मा भट्टले राष्ट्र बैंकबाट राजीनामा पनि दिए । तर, एमालेको कोटाबाट नै डेपुटी गभर्नर नियुक्त भएकी र अहिले गभर्नरको प्रतिस्पर्धामा रहेकी कामु गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले भट्टको राजीनामा स्वीकृत नगरेपछि गभर्नर नियुक्ति प्रक्रिया लम्बिँदै गएको छ । यसैबीच वैशाख ७ मा कांग्रेस सभापति देउवा उपचारका लागि परिवारसहित बैंकक प्रस्थान गरे । त्यसबीचमा सत्ता गठबन्धन नै तलमाथि हुन लागेको समाचारहरु पनि आए ।

राजनीतिक सहमति भएको भने पनि सरकारले गभर्नर नियुक्त गरेन । प्रधामन्त्री ओलीमा पहिलो महिला डेपुटी गभर्नर बनाउने हुटहुटी रहेको र आफूलाई गभर्नर बनाउने आश्वासन प्रधानमन्त्रीले दिएको उनले बताउँदै आएकी छन् । प्रधानमन्त्री ओलीले आफ्नो रोजाइका पात्रलाई गभर्नर बनाउनकै लागि लामो समयदेखि गभर्नर नियुक्तिलाई विभिन्न कारण देखाउँदै रोक्दै आएका छन् ।

उपचारका लागि बैंकक गएका देउवा वैशाख १२ मा फर्किएपछि पनि ओली देउवाबीच गभर्नरको सन्दर्भमा दोस्रो पटक छलफल भएको थियो । तर, पनि गभर्नर नियुक्तिमा प्रधानमन्त्री ओलीकै कारण ढिलाइ भइरहेको स्रोतको दाबी छ । कामु गभर्नर नीलमलाई नै गभर्नर बनाउन स्वार्थ समूहका साथै प्रधानमन्त्री ओलीले दिएको ढाडसले नै उनले अख्तियारीको दुरुपयोग गर्दै कार्यकारी निर्देशक डा. गुणाकर भट्टले दिएको राजीनामासमेत स्वीकृत गरेकी छैनन् ।

आरजू भेट्न नीलमका अनगिन्ती प्रयास असफल

उच्च राजनीतिक नेतृत्वबीच कांग्रेले सिफारिस गरेको पात्रलाई गभर्नर बनाउने सहमति भएको र डा. भट्टलाई कांग्रेस सभापति देउवाले अघि सारेका थिए । सोही नाममा सहमति जनाएका प्रधानमन्त्री ओलीले गभर्नर नियुक्तिमा गरेको आलटालले कांग्रेसमा संशय पैदा गरेको कांग्रेस नेताहरु बताउँछन् ।

एमालेले डेपुटी गभर्नर बनाएको र अहिले पनि एमाले कोटामा एकमात्रै गभर्नरको उम्मेदवार रहेकी नीलमले भट्टको राजीनामा मात्रै रोकेकी छैनन्, यसबीचमा उनले कांग्रेस सभापति देउवाकी पत्नी एवं परराष्ट्रमन्त्री आरजू राणलाई पनि पटक–पटक भेट्ने प्रयास गरेकी छन् । प्रधानमन्त्री ओलीले सहमति भएको भनिएको गभर्नर नियुक्ति प्रक्रिया रोक्ने र उनकै उम्मेदवार भनिएकी नीलमले आरजूलाई भेट्न गरेको उच्च प्रयासले पनि ओलीकै योजनामा गभर्नर नियुक्ति प्रक्रिया अलमलिएको हो ।

यसबीचमा नीलमले परराष्ट्रमन्त्री आरजूमात्रै नभएर सभापति देउवाका स्वकीय सचिव भानु देउवा, परराष्ट्रमन्त्री राणाको स्वकीय सचिव र केही देउवा निकट कांग्रेस सांसद र उच्च नेतृत्वलाई पटक फोन गरे पनि आरजूसँग भेट गर्न नसकेको स्रोतको दाबी छ।

प्रधानमन्त्री ओली पत्नी राधिका शाक्य र तत्कालीन राष्ट्रपति विद्या भण्डारीका सल्लाहकार भेटेर डेपुटी गभर्नरमा बाजी मार्न सफल नीलमले यसपटक कांग्रेस सभापति देउवा पत्नीसँग सेटिङ मिलाएर गभर्नर बन्ने अन्तिम प्रयास गरिरहेकी छिन् ।

‘नीलमजीले आरजू म्याडमलाई कम्तिमा पनि २ दर्जन बढी फोन कल र आधा दर्जन बढी पटक मोबाइलमा म्यासेज पठाउनु भएको छ,’ आरजू निकट स्रोतले भन्यो, ‘ उहाँको फोन र म्याजेसले आरजू म्याडम हैरान हुनुभएको छ । तर अहिलेसम्म न फोन उठाउनु भएको छ, न त म्यासेज नै रिप्लाइ गर्नुभएको छ ।’

यसैबीच प्रधानमन्त्री केपी ओलीलेसमेत सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुबीचमा नै खेल्न खोजेको स्रोतको दाबी छ ।

‘सभापतिज्यूले हाम्रो उम्मेदवार यही हो भनेर भनिसक्नु भएको छ । त्यसपछि गभर्नर नियुक्तिमा अलमल गर्ने र एमालेले अघि बढाएको भनेको उम्मेदवारले पटक पटक फोन गरेर भेट्न गरेको प्रयासले राम्रो सन्देश दिएन,’ कांग्रेसका एक सांसदले भने ।

नीलमको नाम आएपछि विश्व पौडेलले गरे बैठक बहिष्कार, महाप्रसाद पनि विपक्षमा

डा. गुणाकर भट्टलाई नै गभर्नर बनाउने भए पनि सिफारिस समितिले डा. नीलम ढुंगानाको नाम जसरी पनि सिफारिस गर्नुपर्ने भनेपछि कांग्रेसको तर्फबाट सिफारिस समितिमा गएका सदस्य डा.विश्व पौडेल पनि ससंकित भएको स्रोतको दाबी छ ।

वैशाख १९ गते प्रधानमन्त्रीले गभर्नर नियुक्त गर्ने एजेण्डा राखेर बिहान १० बजे मन्त्रिपरिषद् बैठक बोलाएका थिए । शुक्रबारै बिहान ८ बजे अर्थमन्त्री विष्णु पौडेलले सिफारिस समितिको बैठक बोलाए पनि डा. विश्व पौडेल बैठकमै सहभागी नभएको स्रोतको दाबी छ ।

‘सिफारिस समितिको बैठक बोलाएपछि विश्व पौडेलले कसलाई सिफारिस गर्ने हो भनेर सोध्नुभएको थियो । अर्थमन्त्रीले डा. गुणाकर भट्ट र कामु गभर्नर डा. नीलमसहित अर्को एक जनाको नाम सिफारिस गर्ने बताउनुभयो,’ स्रोतले क्लिकमान्डुसँग भन्यो, ‘विश्व पौडेलले भने नीलम ढुंगानाको नाम सिफारिस गर्ने भए बैठक बस्न नसकिने भन्दै बैठक नै बहिस्कार गर्नुभयो । सिफारिस समितिको बैठक बस्न नसकेपछि १० बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक नै स्थगित भएको थियो ।’

स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले केही समयअघि कामु गभर्नर नीलमको नाम पनि सिफारिस गर्नुपर्ने बताएका थिए ।त्यसपछि ओलीले त्यस विषयमा कुनै सन्देश नदिएपछि सिफारिस समितिका संयोजक अर्थमन्त्री पौडेलले पहिलो नम्बरमा डा. गुणाकर भट्ट र दोस्रो नम्बरमा नीलमको नामसहित अर्को १ जनाको नाम थप गरेर रिफारिस गर्ने गरी वैशाख १९ मा सिफारिस समितिको बैठक बोलाएका थिए ।

तर, विश्व पौडेलले नीलमको नाममा असहमति जनाउँदै बैठकमा नै अनुपस्थित भएपछि सिफारिस समितिले नाम नै सिफारिस गर्न सकेन ।

डा. विश्व पौडेल मात्रै नभएर पूर्वगभर्नरका तर्फबाट सिफारिस समितिमा आएका निवर्तमान गभर्नर महाप्रसाद अधिकारी पनि नीलमको नाम सिफारिस गर्न नहुने पक्षमा छन् । आफू गभर्नर हुँदा हदैसम्मको दु:ख दिएको भन्दै नीलमलाई कुनै पनि हालतमा सिफारिस गर्न नसकिने अधिकारीको अडान छ । विश्व पौडेल र अधिकारीले नीलमको नाम सिफारिस गर्न नसक्ने सन्देश प्रधानमन्त्रीकोमा पुर्‍याउन भनेको स्रोतको दाबी छ ।

‘नीलमको नाम सिफारिस गर्दा ओलीले उनैलाई क्याबिनेटबाट गभर्नर नियुक्तिको निर्णय गर्न सक्ने जोखिम छ,’ स्रोत भन्छ, ‘त्यही भएर सिफारिस समितिबाटै उनको नाम गएन भने समस्या हुँदैन भन्ने सिफारिस समितिका २ सदस्य र कांग्रेसको बुझाइ छ ।’

सिफारिस समितिका दुई सदस्य नीलमको नाम सिफारिस गर्न तयार नभएको र प्रधानमन्त्री ओलीले नीलमको सन्दर्भमा अर्को कुनै सन्देश नदिएका कारण सिफारिस समितिले कुनै निर्णय गर्न नसेकेको हो ।

पहिलो नम्बरमा डा. भटट्को नाम सिफारिस गर्नेमा समितिका तीनै जना सदस्य सहमत छन् । दोस्रो र तेस्रो नम्बरमा कसलाई सिफारिस गर्ने भन्नेमा भने सिफारिस समितिमा सहमति जुट्न बाँकी रहेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री ओलीले नीलमको स्थानमा अर्का डेपुटी गभर्नरलाई सिफारिस गर्ने ‘ग्रिन सिग्नल’ दिएको अवस्थामा तेस्रो व्यक्तिमा सहमति जुटाउन समस्या नहुने भएकोले प्रधानमन्त्रीले चाहेको अवस्थामा आगामी बिहीबारसम्म गभर्नर नियुक्त हुने सम्भावना रहेको स्रोतले बतायो । यसर्थ, नीलमको ठाउँमा बमबहादुर मिश्रको नाम सिफारिसमा पर्ने देखिन्छ । र ओलीले देउवासँग गरेको प्रतिवद्धताअनुसार आगामी बिहीबार सरकारले गभर्नर नियुक्त गर्ने छ ।

क्लिकमान्डुको विशेष श्रृंखला ‘को र कस्तो गभर्नर ?‘ हेर्न यहाँ क्लिक गर्नुस् ।

Skip This