
काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विगतमा लामो समय सञ्चालन नभइराखेको अवस्थामा यसको सञ्चालनको लागि गत वैशाख २०८१ मा नै यस कार्यालयले कार्य योजना तयार गरी नेपाल नागरिक उड्डयन प्राधिकरण र संबद्ध सबै निकाय मार्फत पहल गरी आएको हो ।
राज्यको उल्लेखनीय लगानी भएको विमानस्थललाई सञ्चालनमा ल्याउनु पर्दछ भन्ने अभिप्रायले विमानस्थलले आफ्नो बिजनेस प्राप्त गर्न विभिन्न रणनीतिक उपाय अपनाउनु आवश्यक थियो ।
सोही अनुरूप सुरुवाती दिनहरूमा विमानस्थलको प्रचारप्रसारका लागि पनि एयरलाइन्स कम्पनीलाई आकर्षित गर्न उडान सञ्चालनको वातावरण बनाउनु पर्ने भएकोले छुट सहितको व्यवस्था (जसमा यात्रुको लागि भाडादर सस्तो बनाउने र वायुसेवा ले बिजनेस पाउने अवस्था सृजना गर्दै विमानस्थलको बजारीकरण र गन्तव्य प्रवर्द्धनगर्ने), यही कार्यनीति अनुरूप प्रस्तावित कार्ययोजना नेपाल सरकारबाट स्वीकृत भएर पनि आयो । यसमा, यात्रुको लागि झन्झटिलो (मेडिकल, श्रम, र भिसा प्रोसेसिङ) का प्रकृया सहज बनाउने पनि थियो।
हामीले आईएलएस सञ्चालनमा नआएको अवस्थामा यसको विकल्पको रूपमा भू-उपग्रहमा आधारित अवतरण (आरएनपीएआर) विधिको प्रस्ताव पनि गरेका थियौँ । अहिले यो तयार पनि भै सकेको छ। यसै हिउँदमा भिजिविलिटीको समस्या र यस अवस्थामा अवतरण गर्ने विकल्प तयार नभएको भनी केही समय एयरलाइन्सले उडान झिकेको थिए । अब ढिलै भएपनि यो प्रणाली कार्यान्वयनमा आएकोले यो प्रणालीमा अवतरण गर्न सक्ने जहाज र चालक भएका इच्छुक एयरलाइन्सले यो विधि प्रयोग गर्न सक्ने भएकोले आइएलएसको विकल्पको रूपमा केही नहुनु भन्दा यसको ब्यबस्था गरिएको छ।
नोभेम्बर महिनाबाट पुनः नियमित रूपमा उडान सञ्चालन भएयता एयरलाइन्सहरुले जनावरीदेखि डिसेम्बर २०२४ को (एक वर्ष)मा ८१५७ यात्रुलाई सेवा दिएको थियो । यस्तो सेवामा सन् २०२५ जनावरीदेखि मार्च २० सम्म १३१८१ दुई तर्फी यात्रु लाई सेवा दिई सकेको छ। यस मध्ये यात्रु आवागमन संख्या २०२४ को नोभेम्बर मा ४२७९, डिसेम्बरमा ३८७८, जनावरीमा २०२५ मा १३६५ रहेको छ । सन् २०२५ को फ्रेब्रुअरीमा कुल ११५ उडान अवतरण मार्फत अहिले सम्मकै धेरै ६७७९ यात्रु आवागमन भएकोले पनि उडान सुधार उन्मुख छ ।
पछिल्ला दिनमा यात्रु आवागमनमा देखिएको उल्लासँगै व्यवसायिक गतिविधि पुनरागमन हुन लागेको र विश्वसनीय वातावरण तयार भैराखेको अवस्थामा ३१ मार्च २०२५ बाट लागू हुने अन्तर्राष्ट्रिय एयरलाइन्सको समर सेड्युलको अवस्था के हुन्छ, सरोकार निकायले चासो राखी रहेको अवस्था छ । अन्तर्राष्ट्रिय एयरलाइन्सले गौतम बुद्धका लागि हालसम्म सेड्युल पेश नगरेको, ‘अन्तर्राष्ट्रिय वायुसेवा गौतमबुद्ध र पोखरा छोडेर काठमाडौं केन्द्रित ‘ भएको भन्न थालिएको छ ।
विमानस्थलको दिगो सञ्चालनका लागि नेपाल सरकारबाट भएको निर्णय र मिति २०८१/१२/८ मा संसदमा सम्माननीय प्रधानमन्त्रीज्यूबाट विमानस्थलको सञ्चालन निरन्तरता सम्बन्धमा व्यक्त गर्नु भएको सरकारको धारणा पनि सार्वजनिक भइसकेको छ।
विगतमा मन्त्रिपरिषदबाट भएको निर्णय मध्ये, भैरहवाबाट नै संबद्ध मन्त्रालय बाट म्यानपावर कम्पनी सहितको श्रम स्वीकृति र मेडिकल टेस्टको व्यवस्था र भिसा सेण्टरको व्यवस्था मिलाई यात्रुलाई सहज वातावरण बनाउनु पर्ने थियो । यो अति आवश्यक पनि छ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अन्तर्गतका नेपाल नागरिक उड्डयन प्रधिकरण लगायत संबद्ध निकायले उपयुक्त सञ्चालन रणनीति/बजार नीति अवलम्बन गरी दिगो सञ्चालनमा जोड दिन पनि आबस्यक छ।
मिति २०८१ चैत ९ मा यस विमानस्थलमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री वद्रि पाण्डेको आह्वानमा विमानस्थलको दिगो सञ्चालन सम्बन्धमा भएको छलफलमा सरोकार पक्षबाट उठाइएका विषयमा सरकारले मन्त्रिपरिषदबाट भएका निर्णयको कार्यान्वयन हुन बाँकी कार्यको लागि सम्बन्धित मन्त्रालय सँग पुन: समन्वय छलफल गर्ने तथा उडान निरन्तरता समेत हुनेमा सरोकार पक्ष लाई आश्वस्त परेका थिए ।
अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका लागि नेपाल सरकारले हरतरहले उडान सञ्चालनको उपयुक्त वातावरण तयार गरी आएको अवस्थामा कतै फेरि उडानले निरन्तरता नपाउने त हैन भन्ने संशय लाई चिर्दै एयरलाइन्स कम्पनीले सञ्चालन निरन्तरता दिँदै विश्वसनीयता कायम गर्नेछन् ।
एयरलाइन्स कम्पनीमा अझै पनि कुनै खालको समस्या छ भने पनि आपसी छलफल गर्दै उडानको थप अनुकूल वातावरण तयार गर्न सबै निकायले ध्यान पुर्याउँदा उडानले निरन्तरता पाउने विश्वास गर्न सकिन्छ। हामीलाई गलत भास्य सृजना गर्नु छैन, यो विमानस्थललाई सञ्चालन निरन्तरता दिँदै दिगो सञ्चालन मा केन्द्रीत हुनुछ।
(प्रतापबाबु तिवारीको विचार )
प्रतिक्रिया