
काठमाडौं । केही समययता राजावादीहरुले नेपालमा राजतन्त्र पुनर्स्थापनाको माग गरिरहेका छन् । पूर्वपञ्चहरुको पार्टी राप्रपा, राप्रपा नेपाल लगायत हिन्दूवादी संगठन र राजावादी समूहले राजतन्त्र पुनर्स्थापनाको माग गरिरहेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा ७ फागुनमा भिडियो सन्देश जारी गरी राजनीतिक दलहरू असफल भएको आरोप लगाउँदै एकता र समृद्धिका लागि आफूलाई साथ दिन आह्वान गरे । त्यसपछि राप्रपा लगायत राजावादीहरुले उनको समर्थनमा विभिन्न ठाउँमा प्रदर्शन गर्दै आएका छन् ।
एक महिनादेखि पोखरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह आज काठमाडौं फर्किने छेको पारेर राजावादीहरूले शक्तिप्रदर्शन गर्दै राजतन्त्रको पक्षमा माहोल बनाउन खोजिरहेका छन् ।

किन उठ्यो माग ?
व्यवस्था परिवर्तन भए पनि नागरिकको अवस्था खस्किँदै गएपछि जनतामा निराशा छाउन थालेको छ । व्यवस्था ल्याउन महत्वपूर्ण भूमिका खेलेका दलहरूप्रति नागरिकको असन्तुष्टि बढेको छ ।
नयाँ दलहरु उदाए पनि उनीबाट पनि नागरिक सन्तुष्ट हुन सक्ने अवस्था नबनिरहँदा त्यसको मौका राजावादीहरुले छोपेका छन् । विशेष गरी ग्रामीण भेग र पुराना राजावादी समर्थकहरूबीच राजसंस्थाको समर्थन बढिरहेको पाइन्छ । गणतन्त्र घोषणा भएपछि नेपालमा बारम्बार सरकार परिवर्तन, भ्रष्टाचार र अस्थिरता देखिएको छ । केहीले राजसंस्थालाई स्थिरताको प्रतीकका रूपमासमेत लिने गरेका छन् । नयाँ संविधानले धर्मनिरपेक्षता बनाएसँगै केही धार्मिक समूहहरू नेपाललाई हिन्दू राष्ट्रका रूपमा पुनःस्थापित गर्दै राजसंस्थालाई फर्काउन लागिरहेका छन् ।

गणतन्त्रपछिका सरकारले आशा अनुरूप काम गर्न नसकेको नागरिकमा महसुस हुँदै जाँदा धेरैजनाले वैकल्पिक शक्ति खोजिरहेका छन् । राजनीतिकरुपमा वैकल्पिक शक्ति नपाउँदा कतिपय राजतन्त्रको विकल्पतर्फ मुखरित भएका हुन् ।
राजतन्त्रको अन्त्य हुनुमा तत्कालीन राजा ज्ञानेन्द्र शाहको सत्ताप्रतिको आशक्ति, प्रत्यक्ष शासन असफल हुनु लगायतको कारण मुख्य रहेको छ।
त्यस्तै अर्को मुख्य कारण २०५८ को नारायणहिटी दरबार हत्याकाण्ड जस्ता घटनाले राजसंस्थाको साख गुमेको थियो भने सर्वसाधारणले राजपरिवार देशकोभन्दा पनि भोगविलाश, मोजमज्जा र शासन हत्याउन जस्तोसुकै हत्कण्डा अपनाउन पछि नपर्ने रुपमा लिएकाले तत्कालीन समयमा राजसंस्थाविरुद्ध राष्ट्रव्यापी माहोल बनेको थियो ।

सम्भव छ ?
नेपालमा करिब २४० वर्षे शाह वंशीय राजतन्त्र ०६५ जेठ १५ गते विधिवत् रूपमा अन्त्य भएको थियो । १० वर्षे जनयुद्ध र ०६२/०६३ सालको जनआन्दोलनले राजतन्त्र अन्त्य गर्दै नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको थियो । तर, पछिल्लो समय केहीले राजतन्त्र पुनर्स्थापनाको वकालत गर्दै आएका छन् ।
नेपालमा राजतन्त्र पुनर्स्थापना सम्भव छ कि छैन भन्ने विषय राजनीति, जनमत, संविधान र अन्तर्राष्ट्रिय परिवेशमा निर्भर गर्छ । संविधानसभाले नेपाललाई औपचारिक रूपमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो जसअनुसार राजतन्त्र पुनर्स्थापनाका लागि संविधान संशोधन आवश्यक पर्छ ।
नेपालमा संविधान संशोधन गर्न दुई-तिहाइ बहुमत आवश्यक पर्छ जुन अहिलेको संसदीय समीकरणमा सम्भव छैन । हालको संविधानले राजतन्त्रलाई कुनै ठाउँ दिएको छैन त्यसैले यसको पुनर्स्थापना गर्नु संवैधानिक रूपमा चुनौतीपूर्ण छ । त्यतिमात्र होइन राजतन्त्र हटाउन मुख्य भूमिका खेलेका दलहरुले अहिले सत्ता र शक्तिमा रहेकाले पुनर्स्थापनाका मुद्दा कमजोर बन्ने निश्चित छ ।
यदि कुनै ठूलो राजनीतिक दल वा नागरिक समूहले राजतन्त्र पुनर्स्थापनाको माग गर्दै जनमत संग्रहको पहल गर्दा यसबारे राष्ट्रिय बहस हुन सक्छ । तर, जनमत संग्रहबाट राजतन्त्रको पक्षमा मत प्रकट हुने विश्वास गर्ने आधार छैनन् । हालको अवस्थामा नेपालमा राजतन्त्र पुनर्स्थापना निकै कठिन देखिन्छ । तर, राजनीतिक अस्थिरता बढ्दै जाँदा, जनमत गणतन्त्रविरुद्ध फर्कियो र ठूला दलहरू यसबारे गम्भीर भए भने भविष्यमा पुनर्स्थापनाको बहस थप पेचिलो हुन सक्ने देखिन्छ ।
संविधानविद्हरु संवैधानिक रुपमा राजा फर्किने सम्भाना नरहेको दाबी गर्छन् । त्यस्तै राजनीतिशास्त्रीहरु राजनीतिक परिवर्तनका माध्यमबाट राजसंस्था पुनर्स्थापित हुनसक्ने नदेखिने बताउँछन् । तर राजावादी पार्टीले दुई तिहाइ बहुमत ल्याएर राजसंस्था पुनर्स्थापना गर्न चाहेमा संवैधानिक रूपले त्यो सम्भव हुन सक्ने संविधानविद् विपिन अधिकारीको भनाइ छ ।
विश्व परिवेश, युवा सोचले पनि २१ औं शताब्दीमा परिवारवाद, वंशजका आधारमा कोही जन्मनासाथ राजा हुने विषयलाई स्वीकार गर्ने अवस्था नबन्ने देखिन्छ । कुनै व्यक्ति जन्मदैमा राजा बन्ने, योग्यता/अयोग्यताको परीक्षण नगरी स्वत: देशको नेतृत्व गर्ने र कोही रैतीका रुपमा ‘दास बन्ने’राजनीतिक व्यवस्थालाई आम रुपमा सहजै स्वीकार गर्ने अवस्था बन्ने सम्भावना न्यून देखिन्छ। देशका जुनसुकै भूभागका नागरिकले राजनीतिक रुपमा देशको प्रमुख बन्न पाउने संवैधानिक अधिकार उपभोग गर्न पाउने अवस्थालाई हटाउने सम्भावना न्यून देखिएको छ ।
राजतन्त्र पुनर्स्थापनाको इतिहास
तर, इतिहासमा विभिन्न समयमा विश्वका कतिपय देशमा राजतन्त्र पुनर्स्थापित भएको पाइन्छ ।
इंग्ल्याण्डमा राजतन्त्र पुनर्स्थापना (१६६०)
१६४९ मा राजा चार्ल्स प्रथमको मृत्युदण्डपछि इंग्ल्याण्डमा ओलिभर क्रोमवेलको नेतृत्वमा गणतन्त्र स्थापना भएको थियो । क्रोमवेलको मृत्युपछि राजनीतिक अस्थिरता बढ्दा सन् १६६० मा राजा चार्ल्स द्वितीयलाई पुनः सिंहासनमा ल्याइयो । यो घटनालाई इतिहासमा ‘द रेस्ट्रोरेसन’ (पुनर्स्थापना) भनेर चिनिन्छ ।
फ्रान्समा बोर्बन वंशको पुनर्स्थापना (१८१४-१८३०)
फ्रान्सेली क्रान्ति (१७८९-१७९९) पछि नेपोलियन बोनापार्टले शक्ति हातमा लिएका थिए । तर सन् १८१४ मा नेपोलियन पराजित भएपछि राजा लुई १८ औंलाई गद्दीमा पुनर्स्थापित गरियो ।
सन् १८१५ मा नेपोलियनले पुनः सत्ता हात पार्न खोजे (१०० दिन), तर वाटरलू युद्धमा पराजित भएपछि राजतन्त्र पुनः स्थापित भयो । बोर्बन राजवंश १८३० मा समाप्त भयो,जब राजा चार्ल्स १० औंलाई क्रान्तिबाट हटाइयो ।
स्पेनमा राजतन्त्र पुनर्स्थापना
सन् १८६८ मा स्पेनको राजतन्त्र समाप्त भई गणतन्त्र स्थापना भएको थियो । तर १८७४ मा राजा अल्फोन्सो १२ औंलाई पुनः सिंहासनमा राखेर राजतन्त्र पुनर्स्थापित गरियो । सन् १९३१ मा पुनः गणतन्त्र स्थापना भयो र राजा अल्फोन्सो १३ औं निर्वासनमा जान बाध्य भए । तानाशाह फ्रान्सिस्को फ्राङ्कोको मृत्युपछि सन् १९७५ मा राजा जुआन कार्लोस प्रथमलाई पुनः गद्दीमा राखियो जसले स्पेनलाई लोकतन्त्रतर्फ लैजान महत्वपूर्ण भूमिका खेलेको थियो ।
इटालीमा राजतन्त्र पुनर्स्थापना गर्ने असफल प्रयास
नेपोलियन बोनापार्टको पतनपछि सन् १८१५ मा भिएना सम्मेलनमार्फत इटालीका विभिन्न राज्यहरूमा राजतन्त्र पुनर्स्थापित गरिएको थियो । तर १९४६ मा जनमत संग्रहमार्फत इटालीले राजतन्त्र हटाएर गणतन्त्र घोषणा गर्यो । राजा उम्बर्टो द्वितीय निर्वासनमा जान बाध्य भए र त्यसयता इटालीमा राजतन्त्र फर्काउन सफल प्रयास भएका छैनन् ।
कम्बोडियामा राजतन्त्र पुनर्स्थापना
१९७० मा कम्बोडियामा गणतन्त्र लागू गरियो र राजा नोरोडोम सिहानुक पदच्युत भए ।
१९७५-१९७९ को खमेर रूज शासनपछि देश राजनीतिक अस्थिरतामा फस्यो । १९९३ मा संयुक्त राष्ट्रसंघको शान्ति प्रयासपछि राजा नोरोडोम सिहानुकलाई पुनः गद्दीमा ल्याइयो र संवैधानिक राजतन्त्र पुनर्स्थापित गरियो ।
जहाँ राजतन्त्र पुनर्स्थापना गर्ने प्रयास भएन सफल
सोभियत संघको पतनपछि, बुल्गेरिया, रोमानिया, र सर्बियामा राजतन्त्र पुनर्स्थापना गर्ने प्रयास भएका थिए तर ति प्रयासहरु सफल हुन सकेनन् ।
बुल्गेरियामा पूर्वराजा सिमेअन द्वितीय २००१-२००५ सम्म प्रधानमन्त्री बने तर उनले राजतन्त्र फर्काउन सकेनन् । रोमानिया र सर्बियामा पनि राजतन्त्र पुनर्स्थापना प्रयास भए, तर सफल भएनन् ।
अफगानिस्तानमा पनि राजतन्त्र पुनर्स्थापनाको माग भएको थियो । सन् २००१ मा राजा जाहिर शाहलाई सम्मानजनक रूपमा ‘राष्ट्रपिता’ घोषणा गरिएको थियो तर राजतन्त्र पुनःस्थापित भएन।
त्यस्तै ईरानमा केही समूहहरूले पहलवी वंशलाई फर्काउन प्रयत्न गरेका थिए तर उनीहरु सफल हुन सकेन् ।
हाल विश्वभरका ४३ देश/राज्यमा राजा वा रानी राष्ट्रप्रमुख रहेका छन् । जसमध्ये १२ एशियामा, ११ युरोपमा, ९ अमेरिकामा, ६ ओसियानियामा र ३ अफ्रिकामा रहेका छन् ।
प्रतिक्रिया