काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्नका लागि ऐन बनाउन थालेको छ । केन्द्रीय बैंकले ‘ब्याड बैंक’ भनेर चिनिने एसेट म्यानेजमेन्ट कम्पनी (एएमसी) स्थापनाका लागि एनेको मस्यौदा बनाउन थालेको हो ।
बैंक वित्तीय संस्थामा रहेका जोखिमपूर्ण सम्पत्ति (स्ट्रेस्ड एसेट) व्यवस्थापन गर्ने बैंक (कम्पनी)लाई ब्याड बैंक भनिन्छ । बिग्रेका सम्पत्ति खरिद वा स्वामित्व ग्रहण गरी ती सम्पत्तिमा फसेको लगानी उठाउन ब्याड बैंक निकै प्रभावकारी मानिन्छ ।
बैंकहरुको खराब कर्जा र गैरबैंकिङ सम्पत्तिको मात्रा अत्यधिक बढेसँगै नेपालमा पनि ब्याड बैंकको आवश्यकता महसुस गरिएको थियो । सोहीअनुसार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ब्याड बैंक स्थापना गर्ने घोषणा गरेको थियो । हालै सरकारले पनि अध्यादेशमार्फत् कानुन संशोधन गर्दै ब्याड बैंकलाई सेवा उद्योगको रुपमा वर्गीकरण गरेको छ ।
ब्याड बैंक स्थापना गर्ने ऐन निर्माण गर्ने जिम्मा राष्ट्र बैंकले पाएको हो । ऐनको मस्यौदा तयार भएपछि अर्थ मन्त्रालयको स्वीकृति र कानुन मन्त्रालयको प्राविधिक अनुमोदन पछि मन्त्रिपरिषदबाट पारित हुनेछ । त्यसपछि संसद चलिरहेको स्थितिमा विधेयकको रुपमा संसदमा पेश हुनेछ र संसदबाट अनुमोदन भएपछि ऐन बनेर आउनेछ । यसैगरी संसद चालु अवस्थामा नरहेको स्थितिमा अध्यादेशमार्फत् ऐन लागु हुनेछ ।
अहिले राष्ट्र बैंकले तयार पारेको एउटा टास्कफोर्स (कार्यदल)ले द्रुत गतिमा ऐनको मस्यौदा बनाइरहेको हो ।
केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीका अनुसार कानुन बनाउने काम अर्थात् मस्यौदा निर्माणको काम राष्ट्र बैंकमार्फत् भइरहेको छ । ‘त्यसपछि केही न केही सहयोग हुन्छ,’ अधिकारीले भने, ‘ऐन बनेपछि एनपीएलाई अर्को पकेट वा ब्याड बैंकतिर लैजानलाई सजिलो हुन्छ ।’
बैंकिङ प्रणालीले रिकभरीमा भोगेको समस्या समाधान गर्न मौद्रिक नीतिमार्फत् नै एएमसीको कानुन बनाउने उद्घोष गरेको उनले बताए ।
खराब सम्पत्तिको पूर्णरुपमा रिस्ट्रक्चरिङ सजिलो नभएको उनको भनाइ छ । ‘एसेट म्यानेजमेन्ट कम्पनीसँग सम्बन्धित एसेज म्यानेजमेन्ट ऐन बनाउन मस्यौदा बनाइरहेका छौं,’ उनले भने, ‘हामीसँग एउटा टास्क फोर्स छ । ऐन ड्राफ्ट गर्ने काम सोही कार्यदलले गरिरहेको छ ।’
केही समयअघि पूर्वसचिव तथा आर्थिक सुधार आयोगका संयोजक रामेश्वर खनालले पनि नेपालमा ब्याड बैंकको आवश्यकता रहेको बताएका थिए । बैंक डुब्नु भनेको कुनै सामान्य कम्पनी डुब्नु झैं नभएको भन्दै उनले स्ट्रेस्ड एसेटले बैंक समस्यामा रहेको बताएका थिए ।
एसेट म्यानेजमेन्ट कम्पनीलाई बोलीचालीको भाषमा ब्याड बैंक भनिन्छ । यस्तो कम्पनीले बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्ति खरिद गरेर सल्टाउने काम गर्दछ । पछिल्लो समय बैंकहरुको खराब कर्जा र गैह्र बैंकिङ सम्पत्ति उल्लेख्य मात्रामा वृद्धि भएपछि त्यसको व्यवस्थापनका लागि ब्याड बैंक खुल्ने भएको हो ।
ब्याड बैंक बैंकहरुको खराब कर्जाको व्यवस्थापन गर्नका लागि बनाइएको विशेष प्रकृतिको वित्तीय संस्था हो ।
नेपालको पहिलो मौद्रिक नीतिमा सम्पत्ति व्यवस्थापन कम्पनी (ब्याड बैंक) खोल्ने उल्लेख गरेको थियो ।
त्यसपछिको बजेटमा पनि उल्लेख भएअनुसार ब्याड बैंक स्थापनाका लागि अध्यादेश मस्यौदा तयार भएको थियो । प्रस्तावित ब्याड बैंकमा तत्कालीन श्री ५ को सरकार, नेपाल राष्ट्र बैंक र वाणिज्य बैंक क्रमशः ४० प्रतिशत, १० प्रतिशत र ६० प्रतिशत लगानी गर्न सहमत भइसकेका पनि थिए । सरकारले १५ करोड रुपैयाँबराबरको बजेट इयरमार्क पनि गरेको थियो ।
सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने विषयमा राष्ट्र बैंकले नै तत्कालीन कार्यकारी निर्देशक राजनसिंह भण्डारीको संयोजकत्वमा एक कार्यदलसमेत बनाएको थियो । भण्डारी संयोजक रहेको सो कार्यदलमा राष्ट्र बैंककै भीष्म ढुंगाना तथा बैंकरद्वय परशुराम कुँवर र मनोज गोयल सदस्य थिए । सो कार्यदलको सुझावलाई बैंकलाई कर्जा उठाउन जे जति अधिकार छ त्यो भन्दा बढी एएमसीलाई के विशेष अधिकार दिन सकिन्छ र ? भनेर थन्क्याइएको थियो ।
त्यसयताको २३ वर्षसम्म पनि ब्याड बैंक स्थापना हुन सकेको छैन ।
के हो ‘ब्याड बैंक’, कसरी गर्छ काम ?
झट्ट ‘ब्याड बैंक’ सुन्दाखेरी यो खराब बैंक हो कि जस्तो भान हुनसक्छ । तर, नाम ब्याड भए पनि ब्याड बैंक वास्तवमा ‘गुड बैंक’ हो ।
अरु बैंकले झैं ब्याड बैंकले निक्षेप स्वीकार गर्दैन, चेक जारी गर्दैन, केन्द्रीय बैंकमा नगद मौज्दात वा वैधानिक तरलता अनुपात कायम गर्नु पर्दैन ।
सुरुमा ब्याड बैंकको परिभाषा बुझौं । ब्याड बैंक एसेट रिकन्स्ट्रक्सन कम्पनी वा एसेट म्यानेजमेन्ट कम्पनी (नेपालीमा सम्पत्ति व्यवस्थापन कम्पनी) हो, जसले बैंकको खराब कर्जा खरिद गर्छ, व्यवस्थापन गर्छ, र बेचेर लगानी असुली गर्छ ।
कुनै ऋणीले बैंकको पैसा तिरेको छैन भने सो ऋणलाई बैंकले ब्याड बैंकलाई बेचिदिन सक्छ । त्यसवापत ब्याड बैंकले ऋणको पूरै रकम भने दिँदैन । झमेला बेहोर्नु वा उठ्दै नउठ्नुभन्दा केही रकम लिएर ऋण बेच्नु अरु बैंकलाई लाभदायक हुन्छ ।
ब्याड बैंक विशेष प्रकारको वित्तीय संस्था हो जसले बैंकको खराब कर्जा परस्परमा निर्धारित मूल्य तिरेर आफ्नो स्वामित्वमा लिन्छ । त्यसपछि सो कर्जा रिकभर गर्न आफ्नो सामथ्र्य लगाउँछ । रिकभर नभए कर्जावापत् राखेको धितो बेचेर कर्जा असुल गर्छ ।
अर्थात् ब्याड बैंकले बैंकहरुको ‘ब्याड’ सम्पत्तिलाई आफू मातहतमा ल्याउँछ र सफा बनाउन सहयोग गर्छ ।
मानौं, नेपाल बैंकले सन्तोष नाम गरेको व्यत्तिलाई १ करोड बराबरको कर्जा दिएको छ । सन्तोषले कर्जाका लागि नयाँ बानेश्वरको घर धितो राखेका छन् । सन्तोषले १ वर्षअघि कर्जा लिएकामा पछिल्लो ६ महिनादेखि किस्ता तिरेका छैनन् । अर्थात्, नेपाल बैंकका लागि सन्तोषले लिएको ऋण निष्क्रिय सम्पत्ति बनिसकेको छ ।
अब नेपाल बैंकले सन्तोषको घर लिलाम गरेर आफ्नो रकम उठाउनुपर्ने हुन्छ । नेपाल बैंकका लागि यस्तो सयौं निष्क्रिय कर्जा हुन्छन् । सबैको झमेला बेहोर्नुभन्दा बैंकले यस्ता कर्जा ब्याड बैंकलाई बेचिदिनु उपयुक्त मान्यो । नेपाल बैंक र ब्याड बैंकले पारस्पारिक सम्झौता गर्छन् । १ करोडको कर्जा ८० लाखमा किनबेच हुन्छ । सन्तोषको ऋणमा अब नेपाल बैंकको स्वामित्व रहेन । बाँकी जे हुन्छ ब्याड बैंकको मर्जी । ब्याड बैंकले अब धितो लिलाम गर्छ, अदालती प्रक्रिया अपनाउँछ । धितो १ करोडमा बिक्री भयो भने २० लाख आफू राख्छ । बढीमा बिक्री भए बढी भएको रकम ऋणीलाई फिर्ता दिन्छ ।
यसरी बैंकले डुबेको सम्पत्ति उठाउँछ र ब्याड बैंकले नाफा कमाउँछ ।
प्रतिक्रिया