पूर्वराजाका ज्वाईंले समाधान गर्न सकेनन् सुमेरुको समस्या, एमाले सांसदको सहकारी पनि समस्याग्रस्त


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाईंले दायित्व बहन गर्नेगरी लिएको सुमेरु बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा भएको छ । सहकारीको पूर्वअध्यक्ष भरत महर्जन परिवारसहित बेलायत भागेपछि समस्या बढ्दै गएको सहकारीमा पूर्वअध्यक्ष हेमराज दाहाल लगायतको समूहले व्यवस्थापन गर्न सकेको थिएन ।

सहकारीको रकम पुलचोकको सुमेरु सिटी अल्पताल, धापाखेलको सुमेरु सामुदायिक अस्पताल, सादोबाटको सुमेरु मार्ट लगायतमा लगानी गरी सहकारीको पूर्वअध्यक्षहरु भरत महर्जन, हेमराज दाहाल पूर्वसचिव विनोद आचार्य लगायको समूहले आफ्नो नाममा सेयर लगत कायम गरेको थियो । सहकारीको रकम अपचलन गरी आफ्नो व्यक्तिगत सम्पत्ति जोडेका सहकारी अध्यक्ष भरत महर्जन बेलायत भागेपछि सहकारी २ वर्षभन्दा लामो समयदेखि समस्यामा छ ।

यसैबीच पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाईं राजबहादुर सिंहले सहकारीको समस्या समाधान गर्ने र सहकारीको स्रोतबाट सञ्चालकले जोड्को सम्पत्ति उक्त समूहले लिनेगरी सहकारीको पूर्वअध्यक्ष हेमराज दाहालसहित सहकारीमा आवद्ध भरत महर्जनको आफन्तले समेत सम्झौता गरेर राजबहादुर सिंह सहकारीमा प्रवेश गरेका थिए ।

तर, उनको समूह प्रवेशपछि पनि सहकारीको समस्या समाधान हुनेभन्दा पनि व्यक्तिगत लाभको लागि मात्रै काम हुन लागेपछि बाग्मती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले सुमेरु बचत तथा ऋण सहकारी संस्था पुलचोकलाई गत २८ पुसमा समस्याग्रस्त घोषणा गरेको थियो ।

सहकारीको प्रचलित ऐन र कानूनको व्यवस्था विपरित पूर्वसञ्चालकहरुले सहकारीको स्रोत दुरुपयोग गरी जोडेको सम्पत्ति राजबहादुर सिंहको समूहबाट सञ्चालक बनेकाहरुलाई नाम्सारी गर्ने र राजबहादुर सिंहको समूहले बचतकर्ताको दायित्व फिर्ता गर्नेगरी सम्झौता भएको थियो। 

बाग्मती प्रदेश संस्कृत पर्यटन तथा सहकराी मन्त्रालयले समेत यस्तो सम्झौताअनुसार चयन भएको नयाँ सञ्चालक समितिलाई स्वीकृत दिएको थियो । भरत महर्जन भागेपछि सहकारीमा आवद्ध महर्जनका आफन्त र सञ्चालक समिति अध्यक्ष हेमराज दाहाल तथा सचिव विनोद आचार्य समेत मिलेर सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका देउराली बहुउद्देश्यीय सहकारी संस्थाका तत्कालीन अध्यक्ष रविन्द्र चौलागाईं लगायतको समूहलाई जिम्मा लगाएको थियो ।

देउराली बहुउद्देश्यीय सहकारीको सल्लाहकार रहेको कृष्ण प्रसाद कँडेलको नेतृत्वमा सहकारीको नयाँ सञ्चालक समिति बनाएर १९ फागुन २०७९ मा सहकारी जिम्मा लगाएको थिए। उक्त समुहमा रबिन्द्र चौलागाईं, काग्रेस केन्द्रीय सदस्यसमेत रहेका ‘डन’ गणेश लामा र राष्ट्रिय वाणिज्य बैंकका पूर्वअध्यक्ष बलराम पाठक समेतको समूहले सुमेरु सहकरीमार्फत सहकरीको स्रोत अपलचन गरी खडा भएको सुमेरु ग्रुपको व्यवसायिक स्वामित्व लिने उदेश्यले प्रवेश गरेको थियो ।

तर सहकारीको पूर्वअध्यक्ष हेमराज दाहाल र भरत महर्जनको परिवारका समस्यहरुले सहयोग नगरेको भन्दै उक्त समूह ३ महिनामा नै सहकारीबाट पछि हट्ने निर्णय गरी आफ्नो नाममा सेयर लगत आइसकेको सुमेरु सामुदायिक अस्पताल र सुमेरु सिटी अस्पताल सहितका कम्पनीको सेयर समेत फिर्ता गरेका थिए ।

हेमराज दाहाल लगायतको समूहले  पुनः आफैं सहकारीको कार्यभार अगाडि बढाए पनि प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा भने कृष्ण प्रसाद कँडेलसहितको सञ्चालक समितिको विवरण थियो । सोही समूहले कँडेल समेतलाई सम्झौता गराएर ३ असार २०८१ मा राजबहादुर सिंह समूहका विरेन्द्र महर्जनलाई सहकारीको नेतृत्व हस्तान्तरण गरेको थियो । 

विरेन्द्र महर्जनलाई अध्यक्ष बनाएर भरत महर्जनको व्यवसायिक साझेदार बनेर सहकारीको बचत रकम अपचलनमा संलग्न पूर्वसचिव विनोद आचार्यले नै भरत महर्जनलाई मात्रै विपक्षी बनाई प्रहरीमा उजुरी दिएका थिए । सुमेरु अस्पताल, सुमेरु सिटी अस्पताल, शंकरापुर कलेज, एशियन कलेज लगायका कम्पनीको सेयर लगातमा विनोद आचार्य, हेमराज दाहाल लगायतका व्यक्तिहरु समेत भरत महर्जनको सेयर साझेदार रहेको देखिन्छ ।

तर, भरत महर्जनको भान्जा, भतिज र आफन्त तथा पूर्वसचिव विनोद आचार्य समेतको समूहले भरत महर्जनले सहकारीको रकम ठगी गरेको भनि बयान समेत दिएको देखिन्छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा उनीहरुले दिएको बयानको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय ललितपुर भरत महर्जननलाई प्रतिवादी बनाएर गत पुसको पहिलो साता अभियागपत्र समेत दायर गरेको छ । 

सहकारीका पूर्वसचिव विनोद आचार्यले भरत महर्जनले ७ अर्ब १ करोड २१ लाख २८ हजार रुपैयाँ ठगी गरेको भन्दै सिआईबीमा उजुरी दिएका थिए । सरकारी वकिलको कार्यालय ललितपुरले ३ अर्ब ९३ करोड ४२ लाख २० हजार विगो मागदाबी सहित जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको हो ।

सहकारीको स्रोत दुरुपयोग भएर खडा भएका कम्पनीको  सेयर संरचना परिर्वतन गर्दै जाने र व्यवसायिक साझेदार भएकामध्यबाट एक जना विदेश पलायन हुने र अरुले उसलाई दोसी देखाउँदै बयान दिँदै जाँदा सुमेरु बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले भने बचत फिर्ता पाउने सम्भवना कमजोर बन्दै गएको छ । 

सुमेरु ग्रुपको सेयर स्वामित्व रहेको हेमराज दाहाल, विनोद आचार्य, विकास महर्जन लगायतका समूहले राजबहादुर सिंह र विरेन्द्र महर्जन लगायका समूहसँग गरेको सम्झौताअनुसार सम्पूर्ण कम्पनीको सेयर विरेन्द्र महर्जन र राजबहादुर सिंहको समूहलाई हस्तान्तरण गर्ने र सहकारीको दायित्व पनि उनीहरुको हुने उल्लेख छ । 

बाग्मती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेको सुमरु बचत तथा ऋण सहकराी संस्था पुलचोकका ऋणीहरुलाई बाग्मती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले मंगलबार एक सुचना प्रकाशित गर्दै ऋण तिर्न आह्वान गरेको छ । 

बाग्मती प्रदेश सरकारले उच्च पदस्थहरु संलग्न रहेको ३ सहकारी संस्थालाई गत २८ पुसमा एकसाथ समस्याग्रस्त घोषणा गरेको थियो । बाग्मती प्रदेशसभामा एमालेबाट प्रतिनीधित्व गर्ने प्रदेशसभा सदस्य ज्ञानबहादुर तामाङ पूर्वअध्यक्ष रहेको नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थालाई पनि समस्याग्रस्त घोषणा गरेकोमा मंगबार समस्याग्रसत सहकारी व्यवस्थापन समितिले ऋणीलाई ऋण तिर्न आह्वान गरेको छ ।

तामाङ बाग्मती प्रदेशसभामा एमालेको तर्फबाट समानुपातिक सांसद हुन् । उनी काभ्रेपलाञ्चोकका हुन् । जिल्ला सहकारी संघ काठमाडौंका पूर्वअध्यक्ष समेत रहेको उनी राष्ट्रिय सहकारी बैंकका पूर्वसञ्चालक पनि हुन् । तामाङ अध्यक्ष हुँदा सहकारीले राष्ट्रिय सहकारी बैंक, बचत तथा ऋण सहकारी केन्द्रीय संघबाट लिएको करिब ५० करोड रुपैयाँ ऋणसमेत भुक्तानी भएको छैन।

यस्तै २८ पुसमा नै काठमाडौंको खुसिबुमा रहेको लालिगुराँस बचत तथा ऋण सहकारी संस्था पनि समस्याग्रस्त घोषणा भएको छ । जिबी राइका जेठान डिबी बम्जनको समूह नै संस्थापक रहेको उक्त सहकारीले २०७९ मा जिबी राई अध्यक्ष भएको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीसँग मर्जरमा जाने सम्झौता पनि गरेको थियो ।  सहकारीका अध्यक्ष धनबहादुर तामाङ जिबी राईको जेठीसासुका ज्वाई हुन् । ललितपुरको गोरखा सेभिङ एण्ड क्रेडिट को अपरेटिभ लिमिटेडका तत्कालीन अध्यक्ष डम्बर बहादुर (डीबी) बम्जन तामाङकी श्रीमती कुमारी तामाङ संस्थापक अध्यक्ष भएर सहकारी स्थापना भएको हो ।  डीबीका दाइहरु तेज बहादुर तामाङ र उत्तर बहादुर तामाङ पनि सहकारीका सञ्चालक थिए ।  तेजबहादुर तामाङ हाल शिवशिखर बहुउदेशिय सहकारी संस्थाको ठगीमा फार प्रतिवादी हुन् ।  

सहकारीको हाल अध्यक्ष धन बहादुर तामाङ छन्  । धन बहादुर तामाङ डिबीकै भान्जी संगिता तामाङको श्रीमान् हुन्। संगिता तामाङलाई वर्तमान सरकारले नै हाल विघटन भएको राष्ट्रिय सहकारी विकास बोर्डको सदस्यमा नियुक्तसमेत गरेको थियो । धन बहादुर तामाङले २०५६ मा गोरखा बचत तथा ऋण सहकारीमा बजार व्यवस्थापक भएर सहकारी क्षेत्रमा प्रवेश गरेका थिए ।  संस्थापक अध्यक्ष कुमारी तामाङ डिबि बम्जन कार्याकारी अध्यक्ष रहेको गोरखा विकास बैंकमा समस्या आउपछि सञ्चालक समितिबाट हटाएर धन बहादुर तामाङ अध्यक्ष भएका हुन् । तामाङ सहकारीमा स्थापनादेखि नै प्रबन्धकको रुपमा कार्यरत थिए।  

तामाङ २०६५ मा शिखर सेभिङका अध्यक्ष र श्रीमती संगिता तामाङ कोषाध्यक्ष रहेका थिए । सोही संस्थापछि मर्जर भएर शिवशिखर भएको हो । संगिताका मामा तेबहादुर तामाङ शिवशिखरको सचिवमा कार्यारत थिए । हाल सोही संस्थासमेत मर्जर भएर शिवशिखर बहुउदेशिय सहकारी संस्था बनेको हो । उक्त संस्थाका अध्यक्ष केदारनाथ शर्मा सहकारी ठगीमा पक्राउ गरेका छन् भने  सोही सहकारीको सचिव रहेका डीब बम्जनका दाई तेज बहादुर तामाङ फरार छन् ।  संगिता तामाङ युनाइटेड गोर्खा बचत तथा ऋण सहकारीको संस्थामा अध्यक्ष छन् । 

ऋण तिर्ने ३५ दिने सूचना

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तीनवटा सहकारीका सञ्चालक तथा कर्मचारीलाई सोमबार उपस्थित हुन सूचना प्रकाशित गरेको थियो । 

सूचना प्रकाशित गर्दै तीनवटै सहकारीका सञ्चालक तथा कर्मचारीले सो सहकारीसँग सम्बन्धित सम्पूर्ण कागजात तथा सम्पत्तिहरु समितिसमक्ष बुझाई कार्यालय बन्द गर्नुका साथै कुनै पनि कारोबार नगर्न नगराउन निर्देशन दिएको थियो । मंगलबार अर्को सूचना प्रकशित गर्दै ३ वटै सहकारीका ऋणी सदस्यलाई ३५ दिनभित्र लिएको ऋण भुक्तानी गर्न आह्वान गरेको छ ।

३५ दिनभित्र ऋणको साँवा र ब्याज भुक्तानी नभएमा बैंक तथा वित्तीय संस्थामा भएको आर्थिक काराबोर र अन्य चलअचल सम्पत्ति समेत रोक्का राख्ने सूचनामा उल्लेख छ । ३५ दिनभित्र ऋण नतिर्ने ३ वटै सहकारीका ऋणी सदस्यलाई कालोसूचीमा राख्ने बाग्मती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सूचनामा उल्लेख छ ।