काठमाडौं । ललितपुरमा केबलकार निर्माण हुने भएको छ । ललितपुरको छपेलीदेखि माझखण्डसम्म केबलकार सञ्चालन गरिने भएको हो । ‘छपेली- माझखण्ड केबुलकार र पर्यटन परियोजना’ ले निर्माण गर्न लागेको केबलकार सोमबार शिलान्यास गर्ने कार्यक्रम रहेको छ । ललितपुर क्षेत्र नम्बर १ का सांसद एवं पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणाले बटम स्टेशन छपेलीमा शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
केबलकारको टप स्टेशन माझखण्ड १ हजार ७ सय मिटर उचाइमा रहेको छ । जहाँबाट हिमाल, पहाड र तराईको वीरगञ्जसम्मका दृश्य एकैसाथ अवलोकन गर्न सकिन्छ ।
माझखण्डभन्दा करिब ५ किमी माथि रमितेबाट सगरमाथाको रेञ्ज, तराई मधेश र काठमाडौं उपत्यकासमेत एकैस्थलबाट लोभलाग्दो दृश्यावलोकन गर्न सकिन्छ । रमिते अति नै दुर्लभ भूस्थल हो ।
यो दक्षिण एशियाकै पहिलो अत्याधुनिक केबुलकार भएको कम्पनीको दाबी । एक स्टेसनबाट अर्को स्टेसनमा ३५ यात्रु बोक्ने बाइगोण्डोला सिस्टम रहने केबुलकार नेपालकै पहिलो युरो स्ट्याण्डर्ड सर्टिफाइड हुने कम्पनीको भनाइ छ ।
नेपालमा हाल सञ्चालित केबलकारको एउटा खण्डमा ६ सीट मात्रै हुने गरेको छ । ललितपुमा बन्न लागेको केबुलकार ३५ सीट क्षमताको हुने कम्पनीको भनाइ छ । उक्त केबलकारको बीचबीचमा पोलहरु नहुने, सुरु र अन्त्यको स्टेशनमा मात्रै पोल हुने कम्पनीले जनाएको छ ।
काठमाडौंबाट हेटौंडा जाने कान्तिलोकपथमा पर्ने छपेलीबाट सुरू हुने केबुलकारमा माझखण्डसम्मको २.८ किमीको यात्रा ५ मिनेटमा पूरा हुने कम्पनीले जनाइएको छ ।
मझखण्ड-छापेली केबुलकार छापेलीबाट सुरु हुन्छ । जुन ललितपुरको सातदोबाटोबाट २६ किमी दूरीमा पर्छ ।
माझखण्डमा महारुद्रेश्वर महादेव, विश्वकै ठुलो थाइका (७०/५० मिटर) प्रदर्शनस्थल तथा बौद्ध गुम्बा र बिहारसहितको धार्मिक धाम पनि रहेको हुँदा पर्यटन प्रवर्धनका लागि यो केबुलकार महत्वपूर्ण हुने कम्पनीले जनाएको छ ।
केबलकार निर्माणका लागि प्रशासनिक कार्य सबै सकिएको र अब भौतिक निर्माणको चरणमा प्रवेश गरेको कम्पनी अध्यक्ष गोपाल सञ्जेलले जानकारी दिए ।
केबुलकार लगयतका पूर्वाधार निर्माणका संरचनाहरू बढीमा १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखेको उनको भनाइ छ ।
विभिन्न वित्तीय संस्था र बैंकको लगानीमा निर्माण हुने यस परियोजनामा केबलकारसहित सुविधा सम्पन्न होटेल, रेष्टुरेण्ट, फनपार्क, जीपलाइन आदि पूर्वाधार निर्माणको कार्य सँगसँगै अघि बढाइने उनको भनाइ छ ।
पाँच वर्षअघि केबलकार निर्माणमा ८२ करोड, होटल, फनपार्क सहितको रेस्टुराँमा ३१ करोड गरि कूल १ अर्ब १३ करोड लगानी हुने अनुमान गरिए पनि अहिले लागत बढेर करिब डेढ अर्ब पुग्ने बताइएको छ ।
केबलकार पार्किङसहित तल्लो स्टेशनका लागि आवश्यक १० रोपनी, माथिल्लो स्टेशनका लागि पाँच रोपनी, दुईतारे होटलका लागि २० रोपनी तथा रेस्टुराँ र फनपार्कका लागि १० रोपनी गरी ४५ रोपनी जग्गा कम्पनीले खरीद गरिसकेको जनाएको छ ।
प्रतिक्रिया