काठमाडौं । भुक्तानी सन्तुलन (शोधनान्तर बचत) करिब साढे २ खर्ब पुगेको छ । चालु आर्थिक वर्षको ६ महिनामा आयातमा केही वृद्धि भएपनि सोही अनुसार निर्यातमा पनि वृद्धि र विनियमदरमा भएको परिवर्तनले गर्दा रेमिट्यान्समा पनि सामान्य वृद्धि हुँदा पुसमा पनि शोधनान्तर बचतमा वृद्धि देखिएको हो ।
पुस मसान्तमा शोधनान्तर स्थिति २ खर्ब ४९ अर्ब २६ करोडले बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । रेमिट्यान्स गत वर्षको भन्दा केही बढ्दा पनि आयातमा भएको वृद्धिले अघिल्लो वर्षको सोही अवधिको भन्दा शोधनान्तर बचत केही घटेको छ । गत आव २०८०/८१ को पुससम्म शोधनान्तर स्थिति २ खर्ब ७३ अर्ब ५२ करोडले बचतमा थियो ।
चालु खाता बचत पनि करीब डेढ खर्ब नजिक पुगेको छ । पुस मसान्तमा चालु खाता बचत १ खर्ब ४८ अर्ब १७ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आवको सोही अवधिमा चालु खाता १ खर्ब ६२ अर्ब ५६ करोडले बचतमा थियो ।
यस अवधिमा खुद पुँजीगत ट्रान्सफर ४ अर्ब २९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु.३ अर्ब ११ करोड रहेको थियो । ६ महिनामा ६ अर्ब ५० करोड प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको राष्ट्र बैंकले जनाएको छ । गत आवको सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ५४ करोड थियो ।
प्रतिक्रिया