काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाँदा ५६ अर्ब ८३ करोड रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार नेपाली विद्यार्थी अध्ययनका लाग विदेशमा जाँदा उक्त रकम बैंकिङ प्रणाली मार्फत बाहिरिएको हो ।
अघिल्लो आवको सोही अवधिमा यस्तो रकम ५८ अर्ब ९५ करोड रुपैयाँ रहेको थियो ।
चालु आवको ६ महिनामा नेपालीहरुले विदेश भ्रमणमा जाँदा १ खर्ब १ अर्ब ९२ करोड रुपैयाँ बाहिरिएको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो रकम ९२ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार ६ महिनाको अवधिमा खुद सेवा आय.४३ अर्ब ५३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३५ अर्ब ४३ करोडले घाटामा रहेको थियो ।
सेवा खाता अन्तर्गत ६ महिनामा भ्रमण आय ५.१ प्रतिशतले बढेर ४१ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३९ अर्ब ८२ करोड रहेको थियो ।
प्रतिक्रिया