काठमाडौं । नेपाल एफएटीएफको ग्रे लिस्टमा पर्ने जोखिम बढेपछि राष्ट्र बैंकले बैंकहरुलाई अलर्टमा बस्न निर्देशन दिएको छ ।
सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलपमा वित्तीय लगानी निवारणमा विश्वव्यापी रुपमा निगरानी राख्ने अन्तराष्ट्रिय निकाय ‘फाइनान्सियल एक्सन टास्क फोर्स’को ग्रेलिस्टमा पर्ने जोखिम बढेसँग राष्ट्र बैंक तातेको हो ।
सोमबार राष्ट्र बैंकको सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखाले बैंकका प्रमुख कार्यकारी अधिकृत र सञ्चालककको नेतृत्वमा रहने सम्पत्ति शुद्धीकरण सम्बन्धि उपसमिति तथा अनुपालनमा विभागका प्रमुख समेतलाई बोलाएर छलफल गरेको छ ।
गभर्नर महाप्रसाद अधिकारी र व्यवस्थापनको अन्य उच्च अधिकारी सहितको छलफलमा गभर्नर अधिकारीले सम्पत्ति शुद्धीकरणको विषयमा उच्च सतर्कता अपनाएर काम गर्न निर्देशन दिएको एक बैंकरले बताए । सोमबार बिहान सम्पत्ति शुद्धीकरण निवारण विभागले गरेको छलफलमा केही दिन अगाडि फिलिफिन्सको मनिलामा भएको नेपालको प्रिजेन्टेसन र यसपछिको छलफल समेतको आधारमा नेपाल ग्रे लिस्टमा पर्ने अवस्था देखिएको सन्देश गनर्भर अधिकारीले दिएका थिए । नेपाल ग्रे लिस्टमा परे पनि त्यहाँबाट चाँडै बाहिर आउनेगरी काम भइरहेको बताएका थिए ।
त्यस लगत्तै बैंकरहरुलाई बोलाएर छलफल गर्दै सम्पत्ति शुद्धीकरण सम्बन्धी राष्ट्र बैंकको निर्देशन कार्यान्वयनमा उच्च ध्यान पुर्याउन निर्देशन दिएका हुन् । ‘उहाँले ग्रे लिस्टमा पर्ने जोखिम नै छ त भन्नु भएन । तर, बैंकहरुले सम्पत्ति शुद्धीकरणको राष्ट्र बैंकले दिएको निर्देशन पालनमा उच्च प्राथमिकता दिनुपर्यो भन्नुभयो,’ एक बैंकरले भने, ‘गभर्नरले एफएटीएफले तोकेको मापदण्डमा बैंकिङ क्षेत्रमा राम्रो सुधार भएपनि केही कमी कमजोरी देखिएको भन्दै त्यसमा सुधार गर्नुपर्ने कुरा राख्नुभयो ।’ उनका अनुसार बैंकहरूले निक्षेप ग्राहकहरूको हिताधिकारीको तथ्यांक नराखेको, उच्च पदस्थ राजनीतिक व्यक्तिको विवरण नभएका जस्ता बैंकहरुको समान किसिमको समस्या देखिएको भन्दै त्यसमा सुधारको लागि के प्रयास भएन भनेर बैंकहरुले जवाफ दिनेगरी अगाडि बढ्नुपर्ने बताएका थिए ।
यस्तै बैंकको तल्लो तहका कर्मचारीमा पर्याप्त सचेतना नहुँदा बैंक खाता खोल्दा अनुपालनमा कमजोरी देखिएको भन्दै त्यसमा सुधार गर्न गर्न निर्देशन दिएका थिए । सोमबार नै सम्पत्ति शुद्धीकरण निवारण विभागमा भएको एक कार्यक्रममा भने गभर्नर अधिकारीले आगामी फेब्रुअरीमा फ्रान्समा हुने बोर्ड बैठकमा नेपालको पक्षमा निर्णय नआउनसक्ने संकेत दिएको बैंकरहरु बताउँछन् । आगामी १७ देखि २१ फ्रेब्रुअरीसम्म फ्रान्सको पेरिसमा एफएटीएफको प्लेनरी बैठक बस्दैछ । सोही बैठकले नेपाल ग्रे लिस्टमा पर्ने वा नपर्ने भन्ने निर्णय गर्नेछ ।
प्रतिक्रिया