प्रदीपजंग पाण्डे र ध्रुब थापाको कसमस सिमेन्टले निरन्तर बजार गुमाउँदै, व्यापार मधेश र कोशीमा मात्र सीमित



काठमाडौं । तेज र कसमस ब्रान्डको सिमेन्ट उत्पादन गर्ने कम्पनीको कारोबार ह्वात्तै घटेको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीप जंग पाण्डे, नेपाल सिमेन्ट उत्पादक संघका निवर्तमान अध्यक्ष ध्रुब थापासमेतको लगानी रहेको कसमसको उत्पादन र व्यापार निकै घटेको हो ।

कम्पनीको कारोबार सन् २०१९ यतै घट्दै आएको हो । सन् २०१९ मा कम्पनीले १ अर्ब ५४ करोड रुपैयाँको सिमेन्ट विक्री गरेकामा सन् २०२० मा १ अर्ब ३० करोड, २०२१ मा १ अर्ब ३८ करोडको व्यापार गरेको थियो । सन् २०२२ बाट कसमसको व्यापार झन् घट्यो । २०२२ मा घटेर १ अर्ब १९ करोडको कारोबार गरेको थियो ।

यता सन् २०२३ मा आइपुग्दा वार्षिक व्यापार ८५ करोडमा खुम्चियो । कारोबार घट्ने दरले २०२४ मा निरन्तरता पाएको छ । ५ महिनामा त कसमसले २६ करोडको मात्र सिमेन्ट उत्पादन तथा विक्री गर्न सकेको छ ।

१ लाख ६५ हजार मेट्रिक टन क्लिंकर र ४ लाख २९ हजार मेट्रिक टन ग्राइन्डिङ गर्ने क्षमता भएको सिमेन्ट कम्पनी सन् २००० मा स्थापना भएको थियो । नेपालमा गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने उद्देश्य लिएको उद्योगले सुरुमा २००२ मा प्रति दिन ४०० टन क्षमताको क्लिंकर आधारित सिमेन्ट पिस्ने उद्योग सुरु गरेको थियो ।

प्रदीपजंग पाण्डे अध्यक्ष रहेको अद्योगमा सात जना सेयरधनी छन् । जसमा अध्यक्ष पाण्डे सहित सञ्चालक ध्रुव थापा, हर्षमान श्रेष्ठ र प्रदीका छोरा प्रवलजङ पाण्डे छन् । कसमसको फ्याक्ट्री धनुषको नक्टाझिज भन्ने ठाउँमा छ ।

कम्पनीको व्यवास्थापनमा भएको चुनौती, पछिल्लो समय सरकारको न्यून पुँजीगत खर्च र आर्थिक मन्दीको असर पनि कम्पनीमा परेको छ । कम्पनीले बजार व्यवस्थापनमा कम ध्यान दिँदा यसरी विक्री कम भएको हो ।

कम्पनीको सिमेन्ट बिक्री नेपालको पूर्वी क्षेत्रमा मात्र सीमित छ । देशभर आफ्नो व्यापारलाई विस्तार गर्न नसक्नुले पनि कम्पनी समस्यामा परेको छ ।

कसमसले उत्पादन गर्ने तेज सिमेन्ट हाल कोशी र मधेश प्रदेशमा बिक्री हुन्छ । उद्योग रहेको नजिकैका जिल्लाहरुमा यसका डिलर छन् ।

काठमाडौं उपत्यका लगायत नजिकका जिल्लाहरुमा भइरहेको तीव्र प्रतिस्पर्धाले पनि कम्पनीले आफ्नो सिमेन्ट धेरै बिक्री गर्न सकेको छैन् ।

उद्योगले हालै १ अर्ब ५० करोड ऋणका लागि रेटिङ पनि गराएको छ । जसमा १ अर्ब १४ करोड ६२ लाख रुपैयाँबराबरको दीर्घकालिन ऋणका लागि कम्पनीले इक्राएनपी एलबी रेटिङ पाएको छ । यसैगरी ३५ करोड ३८ लाखको अल्पकालिन ऋणका लागि इक्राएनपी एफोर रेटिङ पाएको छ ।


क्लिकमान्डु