पाथीभरामा केबलकारको छैन विकल्प, पुग्न नसक्नेहरूको पनि सपना हुनेछ साकार


विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला सात वर्ष पहिला पूर्वको प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथीभरा मन्दिरमा पहिलो पटक पुगे । झण्डै क्वीन्टलको आफ्नो शरीर माताको मन्दिरसम्म पुर्‍याउन उनले शारीरिक रुपमा ख्यालमात्रैको कष्ट गरेनन् ।

कोइराला विराटनगरबाट आरामदायी गाडीमा ताप्लेजुङ तर्फ लागे । फुङलिङ बजारदेखि सुकेटारसम्मको पक्की सडकसम्म गाडीमै पुगे । त्यसपछि गाडी लाग्यो कच्ची बाटोतर्फ । १० किलोमिटर टाढाको काफ्लेपाटीसम्म पुगे । त्यसपछि उनको शरिरले दुःख झेल्न सुरु गर्‍यो । कारण थियो, काफ्लेपाटीबाट माताको मन्दिरसम्म पुग्न हिँड्नुपर्ने अति कठिन उकालो पैदल यात्रा ।

काफ्लेपाटीबाट सामान्य मानिस एक दिनमै माताको दर्शन गरेर फर्कन्छन् । कोइराला मात्र होइन, ठूलो शरीर हुने र पहाडको उकालो हिँड्न नसक्नेलाई पाथिभरा पुग्न असम्भव झैं छ । शारीरिक रुपमा अशक्त र वृद्धपाका पनि पुग्न मुस्किलै छ ।

कोइरालाले काफ्लेपाटीबाट पैदल उकालो यात्रा सुरु गरे । अरूलाई बढीमा १ घन्टा लाग्ने माथिल्लो फेदी पुग्न उनलाई साढे तीन घण्टा लाग्यो । त्यसपछि उनको शरिर गल्यो । त्यहाँबाट उनको एक पाइला अगाडि बढ्न सकेन । अनि उनी त्यहीँ बास बसे ।

ताप्लेजुङको फुङलिङ नगरपालिका, फक्ताङलुङ र सिरिजंगा गाउँपालिकाको संगम स्थलमा रहेको ३७९४ मिटर उचाइमा रहेको पाथीभरा माताको मन्दिर पुग्न उनी भोलिपल्ट बिहान सबेरै उठेर पाइला चाले । करिब ५ घण्टा अति कठिन उकालो हिँड्दै माताको मन्दिरमा जसोतसो पुगे ।

अनि उनले माताको दर्शन गर्दै भने, ‘माता, यो पटक म जेनतेन गरेर आउन सफल भएँ । अर्को पटक म हेलिकप्टर चढेर आएँ भने मात्र हो, नत्र हजुरको दर्शन यही अन्तिम पटक हो ।’

सातवर्ष पहिला पाथीभरा माताको दर्शन गर्न जाने क्रममा काफ्लेपाटीबाट माताको मन्दिरसम्म पुग्दा गरेको यात्रा स्मरण सुनाउँदै कोइरालाले क्लिकमान्डुसँग भने, ‘पाथीभरा माताकै शक्तिले होला, मन्दिरसम्म पुगेँ । नत्र मेरो शरिर मन्दिरसम्म पुग्न सम्भव नै थिएन ।’

काफ्लेपाटीदेखि माताको मन्दिरसम्म पुग्न नाक ठोक्ने उकालो चढ्नुपर्छ । त्यो उकालो चढ्न आफूजस्तो मोटो शरिर भएका व्यक्तिका लागि मात्र नभएर शारिरिक रुपमा अशक्त, बालबालिका र वृद्धपाकाको लागि ‘आकाशको फल आँखातरी मर’ भन्ने उखान जस्तै रहेको उनी सुनाउँछन् ।

अहिलेकै अवस्थामा पाथीभरा मन्दिर पुग्न शारीरिक रुपमा अशक्त, बालबालिका र वृद्धपाकाका लागि सम्भव नै नभएको उनले सुनाए ।

०००

पाथीभरा माताको दर्शन गर्न पहिलो पटक पुग्दा भौगोलिक विकटताका कारण शारीरिक कष्ट भोगेका कोइरालाले माताको दर्शन गर्न धर्मावलम्बीहरूलाई सहज रुपमा पुर्‍याउन बन्दै गरेको केबलकारका नाममा कोशी प्रदेशमा भइरहेको विरोधमा दुःखी छन् ।

‘केबलकार निर्माणले माताको दर्शन गर्न जाने जो कोहीको शारिरिक कष्टको निदान गर्छ । तर त्यही केबलकार निर्माणका नाममा भएको विरोध र हड्तालले शारिरिक रुपमा माताको दर्शन गर्न बञ्चित भएका धर्मावलम्बीहरूको आस्थामा ठेस पुगेको छ,’ उनले भने ।

केबलकार निर्माणले पाथीभरा माताको दर्शन गर्न जो कोहीलाई सहज बनाउँछ। यसका नाममा विरोध हुनु र केबलकार नै बन्न नदिनु भनेको शारिरिक रुपमा धार्मिक अस्था र दर्शन गर्नबाट बञ्चित गर्नु भएको उनको भनाइ छ ।

समस्या समाधानका लागि सबै पक्ष जिम्मेवार बन्नु पर्ने उनले बताए । ‘सरकारले आन्दोलनरत पक्षका मागलाई सम्बोधन गरेर केबलकार निर्माणलाई सहज गर्नुपर्छ,’ कोइरालाले भने ।

हिँड्न नसक्ने धर्मावलम्बीलाई बोकेर मन्दिरसम्म पुर्‍याउने र ल्याउने मानिस बोक्ने भरियाको व्यवस्था माथिल्लो फेदीदेखि छ । त्यसका लागि कम्तिमा १० हजार रुपैयाँ तिर्नुपर्छ । गोजीमा पैसा नहुनेहरूका लागि त्यो व्यवस्था व्यर्थ छ।

‘केबलकार निर्माणले त्यहाँका भरियाहरूको रोजगारी गुम्ला । त्यसैले केबलकार सञ्चालकले त्यहाँका भरियाहरूका लागि वैकल्पिक व्यवस्था गर्नुपर्छ,’ कोइरालाले भने, ‘केबलकार निर्माण ताप्लेजुङको समृद्धिको आधार पनि हो । केबलकार निर्माणपछि पाथीभराको धार्मिक, सांस्कृतिक एवं साहसिक पर्यटन प्रवर्धन, स्थानीयवासीका लागि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सिर्जना हुने रोजगारीका अवसर र पर्यटन विकासमा हुने नयाँ आयामका बारेमा सोच्नको लागि आन्दोलनरत पक्षलाई अपिल गर्छु ।’

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले पनि पाथीभरा मन्दिरमा निर्माण भइरहेको केबलकारको विरोध, अवरोध र बन्द हड्तालको निन्दा गरे । कोशी प्रदेशको प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथीभरा क्षेत्रमा धार्मिक पर्यटनको विकासका लागि महत्वपूर्ण पूर्वाधार केबलकार निर्माणको क्रममा अहिले केही विवादहरू देखिएको र यो सिंगो ताप्लेजुङवासीका लागि राम्रो नभएको राउतको भनाइ छ ।

अध्ययन र अनुसन्धानहरूबाट पनि पर्यटन क्षेत्रमा पूर्वाधारको कमीले पर्यटक संख्यामा वृद्धि हुन नसकेर रोजगारी सिर्जना हुन नसकेको वर्तमान अवस्थामा निजी क्षेत्रलाई लगानीका लागि प्रेरित गर्नुपर्ने अवस्था रहेको उनी बताउँछन् ।

‘आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेर अघि बढिरहेको परियोजनालाई अवरोध गर्नु कदापी उचित हुँदैन,’ उनले भने, ‘नेपालको धार्मिक सांस्कृतिक विविधताले नै पर्यटनको महत्वपूर्ण आधारशीला खडा गरेको छ । हरेक धर्म संस्कृति र रीतिरिवाजको प्रवर्धन, सम्बर्धन र संरक्षणमा निजी क्षेत्र संवेदनशील छ।’

उनी पनि समस्या समाधानका लागि वार्ता र संवादबाट निकास निकाल्नु पर्ने उनले बताए । ‘अहिले देखिएको विवाद र अवरोधलाई वार्ता र संवादको माध्यमबाट समाधान गर्न अपिल गर्दछु । हामीले देशमा लगानीका लागि वाह्य लगानीकर्ताहरूलाई अपिल गरिरहेका अवस्थामा देशभित्रकै निजी क्षेत्रलाई निरुत्साहित पार्ने वातावरण सिर्जना नगर्नुहोस् ।’

केबलकारका नाममा दुई सातादेखि ताप्लेजुङ मात्र नभएर सिंगो कोशी प्रदेश अशान्त बन्दै आएको छ । सातादेखि पूर्वमा यातायात बन्द हुँदा जनजीवन प्रभावित भएको छ । ‘विकास पक्ष र विकास विरोधी पक्षको चेपुवामा आम सर्वसाधारण यसवेला मारमा परेका छन्,’ उद्योग वाणिज्य संघ ताप्लेजुङका अध्यक्ष नारायण थापाले भने, ‘पाथीभरा माताको मन्दिरसम्म जो कोही सहज रुपमा पुग्न र त्यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न पाथीभरामा केबलकार निर्माण गर्न कसैले विरोध गर्नु नहुने हो।’

पाथीभरा मुक्कुमलुङ लिम्बु समुदायको मुन्धुमीस्थल भएकाले केबलकार निर्माण गरेर त्यसको अस्तित्व मेट्न नहुने भन्दै त्यसलाई यथावत अवस्थामा राख्नु पर्ने आन्दोलनरत पक्षको माग छ । थापाले भने, ‘लिम्बु समुदायको धार्मिक अस्तित्वको पनि संरक्षण हुनुपर्छ र केबलकार पनि निर्माण गरिनु पर्छ । विकासका नाममा धार्मिक अस्तित्व संकटमा पर्नु हुँदैन र धर्मका नाममा विकासलाई पनि रोक्न मिल्दैन ।’ पाथीभरामा केबलकार निर्माण गरिनु सिंगो ताप्लेजुङको विकासको आधार भएको उनी बताउँछन् ।

फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले पाथीभरामा केबलकार निर्माण कार्यलाई अवरोध पुर्‍याएर आन्दोलनरत पक्षले सिंगो जिल्लाको विकासको आधार नै बन्द गर्ने प्रयास गरेको आरोप लगाए । ज-जसले बिरोध गरे पनि पाथीभरामा केबलकार निर्माण भएरै छाड्ने उनको दाबी छ । ‘पहिचानवादीका नाममा केही व्यक्तिले इतिहास र किम्बदन्ती नै नबुझि पाथीभरालाई मुक्कुमलुङ भन्दै केबलकार निर्माण कार्य रोकेर रोकिँदैन,’ उनले भने ।

जात र धर्मको नाममा विकास अवरुद्ध गरेर सिंगो ताप्लेजुङको विकासको आधारमै प्रहार नगर्न आन्दोलनरत पक्षलाई मादेनले आग्रह गरे ।

संघीय, प्रदेश र स्थानीय सरकार पाथीभरा माताको दर्शन गर्न जो कोहीलाई सहज रुपमा पुर्‍याउन केबलकार निर्माण गरेरै छाड्नु पर्ने उनी बताउँछन् ।

तर खगेन्द्र फेम्बुको नेतृत्वमा गठित ‘नो केबलकार मुक्कुमलुङ संघर्ष समिति’ले पाथीभरा माता केबलकार कम्पनीले केबलकार निर्माण प्रक्रिया अघि बढाएदेखि नै अवरोध गर्दै आएको छ । समितिले पाथीभरा मुक्कुमलुङ लिम्बु समुदायको मुन्धुमीस्थल भएकाले केबलकार निर्माण गरेर त्यसको अस्तित्व मेट्न नहुने भन्दै त्यसलाई यथावत अवस्थामा राख्नु पर्ने अडान राख्दै आएको छ ।

त्यसैक्रममा अघिल्लो शनिबार सुरक्षाकर्मी र संघर्ष समितिबीच झडपसमेत भयो। झडपमा संघर्ष समितिका ५ र सुरक्षाकर्मी तर्फ १३ जना घाइते भए । त्यसपछि संघर्ष समितिले मेची राजमार्ग र तमोर कोरिडोर बन्द गर्दा सर्वसाधारणले सास्ती भोगिरहेका छन् ।

पाथीभरा मन्दिरलाई लक्षित गरेर फुङलिङ १० काफ्लेपाटीदेखि दुई सय मिटर उत्तरबाट मन्दिर छेउसम्म २.७ किलोमिटर केबलकारको व्यवस्था गर्ने संघीय सरकारको योजना छ । त्यसका लागि संघीय सरकार, फुङलिङ नगरपालिका सहित सिरिजंगा र फक्ताङलुङ गाउँपालिकाको निर्माण स्वीकृति सहित सबै प्रक्रिया पूरा गरेर नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल नेतृत्वको पाथीभरा मुक्कुमलुङ केबलकार प्रालिले निर्माण प्रक्रिया अघि बढाएको छ। केबलकार निर्माणको लागत तीन अर्ब रूपैयाँ छ।

केबलकारको पहिलो स्टेशन र अन्तिम स्टेशन फुङलिङ क्षेत्र पर्छ । पहिलो स्टेशन निर्माणका लागि केबलकार निर्माणको जिम्मा पाएको हिमालयन कन्स्ट्रक्सनले अघिल्लो मंगलबार काफ्लेपाटी नजिक जमिन सम्याउने काम सुरु गरेको थियो।

त्यसैक्रममा काफलेपाटीभन्दा करिब एक किलोमिटर माथि रहेको बलुडाँडामा अघिल्लो शनिबार संघर्ष समिति र सुरक्षाकर्मीबीच झडप भएको थियो ।

समस्या समाधानका लागि गृहमन्त्रालयले अन्दोलनरत पक्षसँगको वार्ताका लागि समिति गठन गरेको छ । दुई पक्षबीच मंगलबार राति अबेर ६ बुँदै सहमति भएको छ ।

सहमति अनुसार केबलकार विरोधी पक्षले अनिश्चितकालीन यातायात बन्द स्थगन गरेको छ । आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क र प्रभावकारी रूपमा स्वास्थ्योपचार गरिने सहमतिपत्रमा उल्लेख छ । वार्ता सहजीकरण समितिका तर्फबाट सरस्वता सिंगक (सरु) र सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईद्वारा हस्ताक्षर गरेका छन् ।

पत्रमा पाथीभरा केबलकारको स्टेशनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेशनका सन्दर्भमा मिति २०८१ माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने उल्लेख छ । यसैगरी विरोधका क्रममा थुनामा रहेका बन्दीहरूको विना शर्त तत्काल रिहाइ पनि हुनेछन् ।