डीपीलाई कार्यवाहक सभापति दिएपछि स्वर्णिम वाग्ले असन्तुष्ट, संसदीय दलको नेता नपाए विद्रोहको तयारी



काठमाडौँ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध सहकारी ठगी सम्पत्ति शुद्धिकरण र संगठित अपराधको कसुरमा ३१ करोड २६ बिगो मागदावी गर्दै कास्की जिल्ला अदालतमा मुद्दा दायर भएपछि पार्टीभित्र गुट उपगुट बढेका छन् । रास्वपा पदाधिकारी बैठकले सभापति लामिछाने विरुद्ध मुद्दा दायर भएपछि पार्टीका उपसभापति डोलप्रसाद डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ । 

सम्पत्ति शुद्धिकरणको कसुरमा लामिछाने विरुद्ध मुद्दा दायर भएपछि लामिछाने प्रतिनिधिसभा सदस्यबाट पनि निलम्बित भइसकेका छन् । पार्टी सभापति लामिछानेको ठाउँमा अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी पाएकाले आफूले संसदीय दलको जिम्मेवारी पाउनु पर्ने धारणा पार्टीमा अर्का उपसभापति स्वर्णिम वाग्लेले राख्न थालेका छन् । आफूलाई संसदीय दलको जिम्मेवारी नदिए देखिनेगरी विद्रोह गर्ने सन्देश वाग्लेले लामिछाने सहितको नेतृत्वलाई पुर्‍याईसकेको स्रोतको दाबी छ ।  

सभापति लामिछाने गत कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् ।

समानुपातिकबाट सांसद भएका अर्याललाई संसदीय दलको नेता बनाइए विद्रोह गर्ने मुडमा रास्वपा संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठ समेत रहेको स्रोतको दाबी छ । 

‘स्वर्णिम दाईले कार्यवाहक सभापतिको जिम्मेवारी आफूले पाउनुपर्ने धारणा राख्नुभएको थियो । यद्यपि सभापतिको रुचि भन्दै डिपीजीलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ । हाल कार्यवाहक सभापतिको जिम्मेवारीको विषयमा पार्टीभित्र फरक मत छैन’ रास्वपाका एक सांसदले क्लिकमान्डुसँग भने, ‘संसदीय दलको नेताको जिम्मेवारी पनि पार्टी सभापतिको रुचि भन्दै डिपीजीलाई नै दियो भने पार्टीभित्र ठूलो विद्रोह हुन्छ । त्यसले समग्र पार्टीलाई नै कमजोर बनाउने निश्चित छ ।’

रास्वपाको विधानमा उपसभापतिको काम, कर्तव्य र अधिकारमा दुई उपसभापतिमध्ये उमेरमा जेष्ठउपसभापतिले वा सभापतिले तोकेको उपसभापतिले सभापतिको अनुपस्थितिमा कार्यवाहक सभापतिका रुपमासभापतिको कार्य गर्ने उल्लेख छ । यसैगरी उपसभापति वा उपप्रमुख पदमा एकभन्दा बढी सदस्य जिम्मेवारीमारहे उमेरले ज्येष्ठ उपसभापति वा उपप्रमुखले कार्यवाहक सभापति वा प्रमुखको जिम्मेवारीमा कार्यसम्पादन गर्नेविधानमा उल्लेख छ ।

वाग्ले २०३१ साल जेठ १६ गतेका हुन् भने अर्याल २०३१ भदौ ६ का । तर, उमेरले ज्येष्ठ रहेका वाग्लेलाई रवि रपार्टीले कार्यवाहक सभापति पद दिन अस्वीकार गरेको हो । 

राजनीतिमा उच्च महत्वाकांक्षा भएका वाग्ले धैर्य हुँदै पद प्राप्त गर्नुभन्दा पनि जहिल्यै उच्चतम स्थानमा आफूले जिम्मेवारी पाउनुपर्ने धारणा राख्दै आएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी निर्माणमा वाग्ले भन्दा डिपी अर्यालको भूमिका भएकाले पार्टी सभापति लामिछानेले जसलाई चाहन्छन् उसैले संसद दलको नेताको जिम्मेवारी पाउनुपर्ने डिपी निकट नेताहरूको तर्क छ । 

संसदीय दलको नेतामा हालका उपनेता श्रेष्ठका साथै पूर्वमन्त्री सुमना श्रेष्ठले समेत दाबी गरेकी छन् । यस्तै महिलाले संसदीय दलको जिम्मेवारी पाउनुपर्ने अडान राख्दै रास्वपाकी सांसद चन्दा कार्कीले समेत संसदीय दलको नेतामा उम्मेदवारी दिने बताउन थालेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति अर्यालले संसदीय दलको नेतामा समानुपातिक सांसदसमेत हुन सक्ने माहोल बनाउन विभिन्न समानुपातिक सांसदलाई उम्मेदवारी दिने विषयमा धारणा राख्न लगाएको स्रोतको दाबी छ । अर्यालले सिधै समानुपातिक सांसदलाई संसदीय  दलको नेता बनाउँदा हुन सक्ने विवादलाई व्यवस्थापन गर्न खोजेको देखिन्छ। 

रास्वपा उपसभापति स्वर्णिम वाग्लेले आफ्ना निकटस्तहरूसँग स्वाभाविकरूपमा उपसभापतिका रूपमा आफूले पाउनुपर्ने कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिएकाले संसदीय दलको जिम्मेवारीमा अन्य कुनै नेताले दाबी गर्न नपाउने बताउँदै आएका छन् ।

‘यदि कसैले षड्यन्त्र गरेर पेल्न खोजियो भने हामीले प्रतिवाद गर्नुपर्छ,’ वाग्लेलाई उदृत गर्दै स्रोतले भन्यो, ‘सबै विषय सामान्यरूपमा अगाडि बढ्यो भने यसलाई चुकाउने भन्ने कुरा हुँदैन ।’

रवि लामिछाने पूर्वपक्षका लागि थुनामा नगई हिरासतमुक्त भएको अवस्थामा सभापति रविलाई स्वीकार गर्ने र सर्वोच्च अदालतले हाल सांसदबाट गरिएको निलम्बन फुकुवा गरिदिएको अवस्थामा संसदीय दलको नेतामा समेत लामिछानेलाई नै स्वीकार गर्ने विषयमा विवाद छैन । यद्यपि लामिछाने थुनामुक्त नभएको अवस्था वा अदालतले उनको निलम्बन फुकुवा नगरेको अवस्थामा पार्टी सभापति र संसदीय दलको नेता दुबै पदमा एकै व्यक्तिले जिम्मेवारी पाउन नसक्ने वाग्ले पक्षधरको धारणा छ ।

‘अन्य पार्टीमा देखिने गरेको गुट उपगुट यसपटक हाम्रो पार्टीमा पनि देखिन थालेको छ,’ एक सांसदले भने, ‘धेरै कुरा बाहिर भन्न मिल्दैन एकले अर्कालाई नस्वीकार्ने भन्ने अवस्थामा कैयौं नेताहरु पुगेका छन् ।’

वाग्लेले आफूलाई नस्वीकार्ने अभिव्यक्ति दिएको चाल पाएपछि कार्यवाहक सभापति अर्याल सके आफैं संसदीय दलको नेता बन्ने नसकेको अवस्थामा जसरी पनि वाग्लेलाई रोक्ने प्रयासमा छन् ।

हाल प्रहरीको हिरासतमा रहेका लामिछानेले हस्तक्षेप गरेको अवस्थामा समेत वाग्लेलाई स्वीकार्ने पक्षमा लामिछाने निकट नेताहरू पनि छैनन् । लामिछानेले हिरासतमा विवेकशील साझाका नेता मिलन पाण्डेलाई भेट्दै नयाँ समीकरण समेत बनाउन सक्ने संकेत गरेका छन् । आफू लामो समय हिरासतमा बस्ने अवस्था आएमा हाल पार्टी बाहिरका व्यक्तिलाई पनि पार्टीमा ल्याउँदै सभापति बनाउन समेत अगाडि बढ्ने गरी लामिछाने समूहले रणनीति बनाइरहेको स्रोतको दाबी छ ।

‘लामिछाने जेल गएको अवस्थामा पार्टीको कमाण्ड आफ्नो हातमा पुग्ने जुन वाग्ले समूहको सोच छ, त्यो पूरा हुने देखिँदैन,’ स्रोतले भन्यो । 

वाग्ले गत निर्वाचनमा नेपाली कांग्रेसबाट सांसदको टिकट नपाएपछि रास्वपा प्रवेश गरेका थिए । वाग्ले समूहले नै लामिछानेलाई आरजू देउवा र गगन थापाविरुद्द जेहाद छेड्न उक्साएको लामिछानेको कोर टिमका नेताहरु बताउँछन् ।

‘रवि दाईको सबैभन्दा ठूलो कमजोरी भनेको आफू २० सिटे नेता हूँ भन्ने विर्सेर अरु दल र तिनका नेताप्रतिको धम्कीपूर्ण अभिव्यक्ति हो’ ती सांसदले भने ‘अहिले उहाँमाथि त्यसैको प्रतिशोध साँधिएको छ ।’ 

सभापति लामिछानेले आफ्नो कर्मको फल भोग्ने भन्दै अन्य संभावनाका खेलहरु खेल्नुपर्ने केही नेताको भनाइ छ । रवि जेल गइहालेको अवस्थामा डीपी र स्वर्णिमले नेतृत्व गर्न नसक्ने भन्दै काठमाडौं महानगर पालिकाका मेयर बालेन साहलाई पार्टी नेतृत्व मानेर जानुपर्ने विषयमा पनि केही नेताले गृहकार्य सुरु गरिसकेका छन् । तर अहिलेसम्म बालेनले मुख खोलेका छैनन् । 

‘सभापति लामिछानेलाई जेल हालेर रास्वपा सिध्याउन खोजिएको छ तर रास्वपा सकियो नै भने पनि यो मुमेन्ट रोकिनेवाला छैन’ ती नेताले भने ‘यसको राजनीतिक लाभ बालेनजीले लिनसक्ने प्रवल संभावना देखिन्छ ।’


क्लिकमान्डु