ग्वार्को फ्लाइओभर: निर्माण कम्पनीका ६ गम्भीर त्रुटी, सुधार गर्न पत्र पठाएपछि काम ठप्प

13.8k
Shares

काठमाडौं । ललितपुरको ग्वार्को चोकमा निर्माण भइरहेको फ्लाइओभर निर्माणमा चरम लापरबाही भेटिएको छ ।

उक्त फ्लाइओभर निर्माणको ठेक्का पाएको आशिष समानान्तर रेलिगेर जेभीले मापदण्ड विपरित निर्माण गर्दैआएको पाइएको हो । निर्माणको क्रममा मापदण्डविपरित विभिन्न संरचना निर्माण भइरहेको पाइएको छ।

मापदण्डविपरित निर्माण भइरहेको संरचना सुधार गरेर निर्माण गर्न निर्देशन दिएपछि निर्माण कम्पनीले जनवरी २ तारिख (पुस १८ गते) देखि काम अलपत्र छाडेको सडक विभागले जनाएको छ । अलपत्र पारिएको काम मंगलबारसम्ममा पनि सुरु गरिएको छैन ।

‘निर्माणको क्रममा चरम लापरबाही गरी मापदण्डविपरित संरचनाहरु निर्माण भएको पाइएको छ,’ विभागका महानिर्देशक रामहरी पोखरेलले भने,‘त्यस्ता त्रुटीहरुलाई सुधार गरेर निर्माण कार्यअघि बढाउन ‘नोटिस टु करेक्ट’ पत्राचार गरेपछि निर्माण कम्पनीले काम अलपत्र पार्‍यो ।’

निर्माण कम्पनीलाई मापदण्डअनुसार डिजाइन सुधार गरी पुनः काम गर्न छलफल भइरहेको उनले जानकारी दिए ।

निर्माण सम्बन्धी काममा त्रुटी भएको पाइएको जानकारी दिँदै विभागका उपमहानिर्देशक तथा प्रवक्ता अर्जुन अर्यालले त्यस्ता त्रुटीहरुलाई सुधार गरेर निर्माण कार्य अघि बढाउन विभिन्न समयमा निर्माण कम्पनीलाई पत्राचार भएको जानकारी दिए ।

‘निर्माण भएको फ्लाइओभरको पुल र मेकानिक्याली स्टाब्लिजाइड अर्थ वाल (एमएसई वाल) सहित अन्य संरचना पनि मापदण्डविपरित निर्माण भएको पाइएको छ,’ अर्यालले भने,‘त्यस्ता गम्भीर विषयहरुमा सुधार गरेर निर्माण अघि बढाउन पटक पटक पत्राचार भएको देखिन्छ । तर पत्राचारपछि निर्माण कम्पनीले काम अवरुद्ध पारे ।’

निर्माण कम्पनीले विभिन्न वहानामा करिब १ महिनासम्म निर्माण कार्य अलपत्र पार्दा यसको निर्माण अवधि १ महिनाभन्दा बढी लम्बिएको छ ।

निर्माणको जिम्मेवारी पाएको निर्माण कम्पनी आशिष समानान्तर रेलिगेर जेभीका प्रवन्ध निर्देशक अच्युत खरेलले निर्माणको क्रममा देखिएको गम्भीर त्रुटीहरु बारेमा आफूलाई कुनै जानकारी नभएको दाबी गरे ।

‘निर्माणको क्रममा भएको त्रुटीहरुको बारेमा मलाई कुनै जानकारी छैन । यो विषयमा प्रोजेक्ट म्यानेजर विशाल बिक्रम कार्कीसँग जानकारी लिनुहोला,’ क्लिकमान्डुसँग उनले भने ।

यो विषयमा प्रोजेक्ट म्यानेजर कार्कीसँग सम्पर्क गर्न पटक पटक प्रयास गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।

पटक पटक म्याद थप भए पनि फ्लाइओभर निर्माण सम्पन्न नहुँदा ग्वार्को चोकमा हुने जामका कारण सर्वसाधारणले सास्ती व्यहोर्नुका साथै धुलो खान बाध्य छन् । ग्वार्को चोकमा हुने चर्को ट्राफिक जाम हटाउन सडक विभागले फ्लाइओभरको निर्माण गराइरहेको हो ।

उक्त फ्लाइओभर निर्माण गर्न सडक विभागले आशिष समानान्तर रेलिगेर जेभीसँग २०७८ माघ २७ गते इन्जिनियरिङ खरिद निर्माण (ईपीसी) प्रणाली अनुसार सम्झौता गरेको थियो । यसको लागत खर्च १७ करोड ६७ लाख रुपैयाँ थियो ।

यो सम्झौताअनुसार २०७८ फागुन १२ गतेदेखि निर्माण कार्य सुरु गरी २०८० फागुन १२ गते फ्लाइओभरको निर्माण सम्पन्न गर्नुपर्ने अवधि तोकिएको थियो । तोकिएको यो अवधिमा निर्माण सम्पन्न हुन नसकेपछि गत पुस ९ गतेसम्म म्याद थप गरिएको थियो ।

यो अवधीमा समेत निर्माण सम्पन्न नभएपछि ०.०५ प्रतिशतको दरले दैनिक करिब ८५ हजार रुपैयाँ हर्जाना जरिवाना लाग्ने गरी पुस १० बाट पुनः म्याद थप गरिएको छ । यो म्याद थपअनुसार आगामी चैत मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने अवधी तोकिएको छ ।

निर्माणको क्रममा हालसम्म ४४ करोड खर्च भइसकेको आशिष समानान्तर रेलिगेर जेभीका प्रवन्ध निर्देशक खरेलले जानकारी दिए । उनका अनुसार निर्माण सम्पन्न हुँदासम्म थप रकम लाग्नेछ ।

सडक विभागका अनुसार ग्वार्को फ्लाइओभरमा हालसम्म वित्तीय प्रगति ४५.५४ प्रतिशत भएको छ भने भौतिक प्रगति करिब ८१ प्रतिशत भएको छ ।

फ्लाइओभरको ब्रीज(पुल) तर्फ ९८ प्रतिशत काम सम्पन्न भएको छ भने रेलिङ निर्माण, पेभमेन्ट निर्माण, रंगरोगन गर्न बाँकी छ । यस्तै एमएसई वाल भएको एप्रोच सडक निर्माणतर्फ ५०० मिटरमध्ये ८८ प्रतिशतका दरले ४१५ मिटर निर्माण भएको छ ।

यस्तै २ हजार ३ सय ७९ वटा प्रिकास्ट कंक्रिट फेसिया प्यानल जडानको लागि तयार भएको छ भने कोटेश्वरतर्फ ३२० मिटर जडान सम्पन्न भएको छ । त्यस्तै सातदोबाटोतर्फ १८० मिटरमध्ये १२० मिटरमा जडान कार्य सम्पन्न भएको छ ।

क्र्यास व्यारिएरतर्फको काम आंशिक रुपमा सम्पन्न भएको छ । एमएसई वालको निर्माण सम्पन्न नहुँदा हालसम्म कालोपत्रेको काम पनि अघि बढेको छैन । यस्तै ट्राफिक लाइटतर्फ पनि आंशिक काम मात्रै भएको छ ।

फ्लाइओभर अन्तर्गत ३० मिटर स्पानको ४ लेन प्रिकास्ट गिर्डर प्रविधिको पुल निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । पुलको लम्बाई ३५ मिटर रहने छ ।

सम्झौताअनुसार फ्लाइओभर ४९० मिटरको रहने छ । बालकुमारीतर्फबाट २८० मिटर लामो र्‍याम्प र सातदोबाटोतर्फबाट १३५ मिटर लामो र्‍याम्प रहने व्यवस्था गरिएको छ । फ्लाइओभरको उचाइ भने अन्तर्राष्ट्रिय मापदण्डअनुसार ६ मिटरको हुने छ ।

फ्लाइओभर निर्माण भइरहेको चक्रपथ आठ लेनको भएकाले त्यसको बीचमा चार लेनलाई फ्लाइओभरमार्फत माथि उठाइएको छ । जहाँ चक्रपथमै आवतजावत गर्ने सवारीहरू चल्नेछन् । मङ्गलबजार– इमाडोल– मङ्गलबजार सञ्चालन हुने सवारीहरू भने फ्लाइओभर मुनिबाट चल्नेछन् ।

फ्लाइओभर निर्माणपछि चक्रपथको सातदोबाटो–कोटेश्वर सडक खण्ड, मंगलबजार–इमाडोल–लुभू सडक खण्डमा सवारी साधनलाई सुरक्षित, सहज तथा व्यवस्थित तरिकाले आवागमन गर्न सुविधा प्राप्त हुने विश्वास लिइएको छ ।

यी हुन् फ्लाइओभर निर्माणमा ६ त्रुटी

फ्लाइओभर निर्माणको क्रममा निर्माण कम्पनीले मापदण्डविपरित ६ प्रकारका गम्भीर त्रुटी गरेको क्लिकमान्डुले फेला पारेको छ।

जसअनुसार पहिलो त्रुटी ‘क्युएपी’ सम्बन्धी इस्सु रहेको छ । यो भनेको आवश्यकताअनुसार गुणस्तरको मापदण्ड प्लान सुधार गरेर उपलब्ध गराउनुपर्ने थियो । यो प्लान सुधार गरेर बुझाउन निर्माण कम्पनीलाई निर्देशन दिइए पनि हालसम्म बुझाइएको छैन।

यस्तै दोस्रो त्रुटीमा ‘फेलियर अफ एमएसई वाल’ को इस्सु पाइएको छ । यो भनेको सातदोबाटोतर्फबाट कोटेश्वर आउने क्रममा बायाँतर्फ र्‍याम्पवालमा गम्भीर त्रुटी पाइएको छ । यो र्‍याम्प्प पुनः निर्माण गर्नुपर्ने भन्दै विभागले निर्माण कम्पनीलाई पत्राचार गरेको थियो । तर त्यसमा कुनै सुधार नगरी निर्माण भइरहेको पाइएको थियो ।

यो एमएसई वाल भनेको निर्माण भएको पुललाई जोड्न सातदोबाटो र कोटेश्वरतर्फबाट वालसहित उठाउँदै लगिएको र्‍याम्प्प भाग हो । यो एमएसई वालमा व्लक प्यानलबीच मापदण्ड विपरित ग्याप(खाली) भएको पाइएको छ ।

ग्यापको न्यूनतम मापदण्डसमेत पालना नगरिएको पाइएको हो । न्यूनतम मापदण्डअनुसार १५ मिलिमिटरभन्दा बढी ग्याप हुनु हुँदैन ।

तर यसमा १०० मिलिमिटर (१० सेन्टिमिटर) सम्मको ग्याप पाइएको छ । यो ठूलो ग्यापका कारण र्‍याम्प वालको सतह मापदण्डअनुसार बलियो र भरपर्दो हुँदैन । कुनै पनि वेला भाँसिने समस्या आउन सक्छ । प्यानल बाहिर उप्केर निस्कने समस्या आउन सक्छ ।

यो विषयलाई पनि गम्भीर रुपमा सुधार गरेर निर्माण कार्य अघि बढाउन सडक विभागले निर्माण कम्पनीलाई पत्राचार गरेको थियो । तर सुधार गर्नुको साटो निर्माण कम्पनीले एकतर्फी रुपमा काम अलपत्र पारेको हो ।

यसैगरी तेस्रो त्रुटीमा ‘इन करेक्ट कपिङ इन्स्टालेसन’ सम्बन्धी इस्सु हो । पुलको माथिल्लो भागमा निर्माण भएको ‘क्र्यास व्यारिएर’ को मापदण्डअनुसार उपयुक्त डिजाइन बनाउन निर्माण कम्पनीलाई पत्राचार गरिएको थियो । तर त्यस सम्बन्धी डिजाइन वेगर नै निर्माण कार्य अघि बढाइएको थियो ।

चौथोमा ‘रेक्टीफिकेसन अफ ड्यामेज प्यानल’ सम्बन्धी गम्भीर त्रुटी पाइएको छ । यो भनेको फ्लाइओभर निर्माणको क्रममा विभिन्न स्थानमा रहेको व्लक प्यानल फुटेर क्षतिग्रस्त हुनु हो । यो विषयलाई पनि सुधार गर्न पत्राचार गरिएको थियो । तर हालसम्म कुनै सुधार नगरिएको विभागको एक अधिकारीले जानकारी दिए।

पाँचौ त्रुटीमा ‘स्लाव डिजाइन कनेक्टिङ ब्रीज एण्ड एमएसई वाल’ सम्बन्धी इस्सु छ । ब्रीज र वालबीच भएको ग्यापको विषयमा सुधार गरेर वाल उठाउन तत्कालीन महानिर्देशकले २०८० भदौमै निर्माण कम्पनीलाई पत्राचार गरेको थियो । तर हालसम्म यो विषयमा पनि कुनै सुधार नगरी निर्माण कार्यअघि बढाइएको थियो ।

छैठौं त्रुटीमा ‘सरफेस ड्रेनेज डिजाइन’ सम्बन्धी समस्या रहेको छ । जसअनुसार ३२० मिटरको र्‍याम्पमा वर्षाको पानी निकासको कुनै उपयुक्त व्यवस्था गरिएको छैन । यस्तो पानी निकासको व्यवस्था नगरिँदा वर्षाको पानी र्‍याम्पमा र र्‍याम्प तल जमेर तलाउ जस्तो बन्ने अवस्था आउँछ ।

यसको डिजाइन गरी विभिन्न उपयुक्त स्थानमा पानीको निकासको व्यवस्था गर्न पत्राचार गरिए पनि त्यस विषयमा निर्माण कम्पनीले कुनै चासो नदेखाएको बरु कामै रोकेको हो।