९ सन्तानकी ठूलीकान्छी लीलादेवीको ‘कमाण्ड’ मा देशको स्थायी सरकार



विराटनगर । मुलुकले पहिलो पटक महिला मुख्य सचिव पाएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले लीलादेवी गड्तौलालाई मुख्य सचिव नियुक्त गरेसँगै स्थायी सरकारसमेत भनिने निजामती कर्मचारी क्षेत्रले इतिहासमै पहिलो पटक महिला मुख्य सचिव पाएको हो । छोटो अवधिका लागि भए पनि गड्तौलाले एउटा इतिहास रचेकी छन् ।

२०५२ पुसदेखि शाखा अधिकृतको रुपमा निजामती सेवा प्रारम्भ गरेकी उनी मुख्य सचिव बन्न सफल भएकी हुन् । छोटै समयका लागि भए पनि लीलादेवीले स्थायी सरकारको कमाण्ड सम्हाल्ने छिन् ।

प्रारम्भिक शिक्षाको ‘कखरा’ घर आँगनमा रहेको तेह्रथुमको तत्कालीन पिप्पले गाविस ५ हालको म्याग्लुङ नगरपालिका ४ को सारदा प्राथामिक विद्यालयमा चिनेकी थिइन्, गड्तौलाले । उनी प्रारम्भमा विद्यालय जान खासै मन नगर्नेमा पर्ने उनी निकटका बताउँछन् ।

विद्यालयका त्यसबेलाका प्रधानाध्यापक नातामा काकाहजुरबा पर्ने हाल ९४ वर्षीय युवराज गड्तौलाले उनलाई हौस्याउँदै विद्यालय लैजाने गर्थे ।

हेडसरको केही दिनको हौस्याइँले उनी फुरुङ्ग हुँदै नियमित विद्यालय जान थालिन् । त्यसपछि उनलाई स्कुल जान कर लगाउनै परेन । उनले त्यही शारदा प्राविबाट कक्षा ३ सम्म अध्ययन गरिन । उनका काका विष्णु गड्तौलाका अनुसार लिलाले बाँकी माध्यामिक तहको शिक्षा म्याग्लुङ बजारको सिंहवाहिनी माध्यामिक विद्यालयबाट गरिन् । त्यहाँबाट एसएलसी उत्तीर्ण भएपछि उनी उच्च शिक्षा अध्ययनका लागि काठमडौं आइन् । लीलादेवी ‘नेपाल ल क्याम्पसमा उच्चशिक्षा पढ्न पुगिन्,’ विष्णुले भने, ‘उनी कहिल्यै पनि फेल भइनन् ।’

तेह्रथुमको पिप्लेस्थित मुख्यसचिव जन्मेहुर्केको घर ।

निडर र मेहनती स्वाभावकी लीला मध्यम परिवारकी कान्छी छोरी हुन् । उनी ५ दिदीबहिनी मध्यकी कान्छी हुन् । लीलाका चार दाजुभाइ छन् । लीलाका काका विष्णुले भने , ‘उनका चार दिदी राधिका, सिता, इन्दिरा र अम्विका गृहणी छन् । चार दाजुभाइ मध्ये जेठो दाजु टंक उसबेला विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा आइएससी अध्ययन गर्दा गर्दै हराएका अहिलेसम्म सम्पर्क वीहिन छन् । माइलो दाजु डम्बरुबल्लभ गृहमन्त्रालयबाट अधिकृत पदबाट र साइलो दाजु माधवप्रसाद गड्तौला सामान्य प्रशासन मन्त्रालयवाट सहसचिववाट सेवा निवृत्त भएका छन् । कान्छो भाइ लक्ष्मण पेसाले कानून व्यवसायी हुन् । हाल उनी अमेरिकामा छन् ।’

लीलाका बाबु रामचन्द्र जिल्ला अदालत झापाबाट नायव सुब्बा भएर सेवा निवृत्त भएका थिए । उनकी आमा खुराजकुमारी हुन् । काका विष्णुका अनुसार लिलाको विवाह सोलुखुम्बुका कानून व्यवसायी मातृका निरौलासँग भएको हो । हाल उनीहरु काठमाडौंको अनामनगर बस्छन् ।


विनोद भण्डारी