निजामती हाँक्ने पहिलो महिला: शाखा अधिकृतबाट मुख्यसचिवसम्मको ३० वर्षे यात्रा



२०५२ मा शाखा अधिकृतबाट निजामती सेवा प्रवेश गरेकी लिलादेवी गड्तौला ३० वर्षमा कसरी बनिन् मुख्यसचिव ?

काठमाडौं । निजामति सेवाको सर्वोच्च पद मुख्यसचिवमा पहिलो पटक महिला कर्मचारी लीलादेवी गड्तौला नियुक्त भएकी छन् । प्रशासनिक क्षेत्रको इतिहासमा छोटो अवधिका लागि भए पनि गड्तौलाले एउटा इतिहास रचेकी छन् ।

बिहीबार सरकारले गडतौलालाई मुख्यसचिवमा नियुक्त गरेको हो । यसअघि असार ३१ गते केपी ओली नेतृत्वको सरकारले नै उनलाई कामु मुख्यसचिवको रुपमा नियुक्त गरेको थियो ।

तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि गडतौला कामु मुख्यसचिव नियुक्त भएकी थिइन् । त्यसको झण्डै २ सातापछि उनी २७औं मुख्यसचिवको रुपमा नियुक्त भएकी हुन् ।

को हुन् मुख्यसचिव गडतौला

पूर्वी पहाडी जिल्ला तेह्रथुमको हाल म्याङ्लुङ-४ मा २०२३ भदौ १५ गते जन्मिएकी गडतौलाको स्कुले पढाइ सिंह वाहिनी माध्यमिक विद्यालयबाट पूरा भएको थियो ।

त्यसपछि उनी उच्च शिक्षाका लागि काठमाडौं आएर उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाल ल क्याम्पसबाट आइएल र बीएलको अध्ययन सम्पन्न गरिन् । त्यसपछि भक्तपुरमा रहेको काठमाडौं स्कुल अफ ल बाट ह्युमन राइट्स एण्ड जेन्डर जष्टिजमा एलएलएम गरेकी छन् । यसवाहेक उनले त्रिभुवन विश्वविद्यालयबाटै राजनीतिशास्त्रमा पनि स्नातकोत्तर गरेकी छन् ।

२०५२ पुसदेखि शाखा अधिकृतको रुपमा गडतौलाको निजामती सेवा प्रारम्भ भएको थियो । २०६३ कात्तिकमा उपसचिव र २०७० माघमा सहसचिव बनेकी गडतौला २०७७ कात्तिकमा सचिव (विशिष्ट श्रेणी) मा बढुवा भएकी थिइन् ।

२०८१ असार १० गतेदेखि ३० गतेसम्म निमित्त मुख्यसचिव र असार ३१ गतेदेखि गडतौला कामु मुख्यसचिव बनेकी थिइन् । यसबीचमा उनले देवानी संहिता मस्यौदा कार्यदल सदस्य रहेर काम गरेकी छन् । १७ वर्षसम्म कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा काम गरेकी गडतौलाको विधेयक मस्यौदाको क्षेत्रमा विशेष दक्षता मानिन्छ ।

२०६४ मा गठन भएको र त्यसपछि दोस्रो पटक बनेको संविधानसभा निर्वाचनको क्रममा उनी निर्वाचन अधिकृतको रुपमा काम गरेकी थिइन् । यसवाहेक गृह मन्त्रालय, जलस्रोत, ऊर्जा, उद्योग, परराष्ट्र मन्त्रालय र निर्वाचन आयोगमा काम गरेको उनको अनुभव छ ।

राजनीतिक दबाबमा तटस्थ गडतौला

असारको दोस्रो साता नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सत्ता गठबन्धन भत्किएपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गडतौलालाई कतिपय निर्णय कार्यान्वयन गर्न दबाब दिँदा तत्कालीन सरकारसँग उनको मनमुटाव देखिएको थियो । यद्यपि प्रचण्डले उनलाई मुख्यसचिवमा नियुक्त गर्ने आश्वासन दिए पनि उनले अस्विकार गरेकी थिइन् । कांग्रेस र एमालेको गठबन्धनबाट बनेको केपी ओली नेतृत्वको वर्तमान सरकारले भने उनलाई कामु मुख्यसचिव हुँदै आज मुख्यसचिवको रुपमा नियुक्त गरेको हो ।

प्रचण्ड नेतृत्वको सरकार हट्नै लागेका बेला तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गडतौलालाई नयाँ मुख्यसचिव, नेपाल टेलिकममा प्रबन्ध निर्देशक नियुक्ति लगायतका लागि दबाब दिँदा पनि गडतौलाले आफ्नो तटस्थता देखाएकी थिइन् ।

एक महिनाका लागि मुख्यसचिव

गडतौलासँगै तोयानारायण ज्ञवाली, रामकृष्ण सुवेदी, दिनेश भट्टराई, एकनारायण अर्याल, अर्जुनप्रसाद पोखरेल, उदयराज सापकोटा र मधुकुमार मरासिनी वरिष्ठ सचिव थिए । तर एक महिनाका लागि भए पनि ओली सरकारले गडतौलालाई मुख्यसचिव बनाएको हो ।

तीब्र प्रतिस्पर्धा र राजनीतिक दबाबका बावजुद गडतौलालाई ओली सरकारले मुख्यसचिव बनाएको हो । तर उनी आगामी भदौ १७ गते उमेर हदका कारण अनिवार्य अवकाशमा जानेछिन् । झण्डै ३० वर्षे कार्यकालमा गडतौला हालसम्म विवादरहित अधिकृतको रुपमा चिनिएकी छन् ।

प्रशासनका जानकारहरुका अनुसार गडतौला जस्तोसुकै दबाबबाट पनि विचलित नहुने अधिकृतको रुपमा चिनिन्छिन् । तटस्थ भूमिका निर्वाह गरेकै कारण उनले निजामती सेवाको उच्चतम पदको अवसर पाएको उनका निकटस्थहरु बताउँछन् ।

महिलाहरुलाई महत्त्वपूर्ण जिम्मेवारी दिने क्रममा अधिकांश सरकारहरु चुकिरहेका बेला ओली सरकारले भने महिला मुख्यसचिव बनाएर महिलाहरुप्रति हेर्ने सरकारको धारणा पनि प्रदर्शन गरेको निजामती क्षेत्रमा चर्चा हुन थालेको छ । जवकि यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारले परराष्ट्र सचिवको रुपमा सेवा लम्साललाई नियुक्त गरेको थियो । अर्थात् लम्साल परराष्ट्र क्षेत्रको पहिलो महिला सचिव बन्न सफल भएकी थिइन् ।

निजामती क्षेत्रमा सफल बनेका महिला कर्मचारी

२०४१ सालमा चन्द्रकला किरण नेपालकै पहिलो महिला सचिव बनेकी थिइन् । त्यसपछि २०८० सालमा सेवा लम्साल भने पहिलो महिला परराष्ट्र सचिव बनेकी हुन् । यही शिलशिलामा २०८१ मा गडतौला पहिलो महिला कामु मुख्यसचिव र मुख्यसचिव बन्न सफल भएकी हुन् ।

मुख्यसचिवको पद रिक्त रहेर एक किसिमको संक्रमण सिर्जना भएका बेला गडतौलाले कामु म्ख्यसचिवको रुपमा आफ्नो क्षमता र कौसल पुष्टि गरेकी थिइन् । अब एक महिना उनले देशको निजामती सेवा क्षेत्र हाँक्ने छिन् ।


क्लिकमान्डु