दिन बिराएरै दिन थालियो स्थायी निक्षेप सुविधा, मापदण्ड घटाएपछि प्रभावकारी

गभर्नरले यसरी गरे कार्यविधि संशोधन, फ्रिक्वेन्सी बढाएर मापदण्ड पनि खुकुलो



काठमाडौं । दुई दिनको अन्तरमा दिइने गरेको स्थायी निक्षेप सुविधा (एसडीएस) एक दिनको अन्तरमा दिन थालिएको छ । नेपाल राष्ट्र बैंकले अन्तरबैंक ब्याजदरलाई ब्याजदर कोरिडोरको सीमाभित्र राख्ने मुल प्रयोजनसहित कार्यान्वयनमा ल्याएको यस व्यवस्थालाई थप प्रभावकारी बनाउन ‘फ्रिक्वेन्सी’ बढाइएको हो ।

असारको पहिलो सातासम्म एसडीएफ सुविधा हरेक आइतबार र बुधबार दिइँदै आएको थियो । त्यसयता हरेक आइतबार, मंगलबार र बिहीबार दिन थालिएको छ । १० गते महाप्रसाद अधिकारीले खुला बजार कारोबारसम्बन्धि कार्यविधि संशोधन गरेर सुविधा लिने मापदण्ड पनि सहज बनाएका छन् ।

केन्द्रीय बैंकले जुन अभिप्रायका साथ एसडीएफ ल्याएको हो, सो अभिप्राय पुरा हुन प्रभावकारी नभएपछि मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत् ‘ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा प्रदान गर्ने व्यवस्थामा आवश्यक पुनरावलोकन गरिने’ उद्घोष गरेको थियो ।

सोहीअुनसार राष्ट्र बैंकले सातामा तीनपल्ट एसडीएफ सुविधा दिन थालेको हो । फ्रिक्वेन्सी बढाएसँगै सहभागिता पनि बढेको छ ।

गभर्नर महाप्रसाद अधिकारीले खुला बजार कारोबबारसम्बन्धि कार्यविधिमाथि पाचौं संशोधन गर्दै स्थायी निक्षेप सुविधासम्बन्धि व्यवस्था परिवर्तन गरेका हुन् ।

एसडीएफ प्रभावहीन भएको समाचार क्लिकमाण्डुमा निरन्तर सम्प्रेषण हुँदै आएको छ । यसबीचमा मौद्रिक नीति समीक्षामा कार्यविधि परिवर्तन गर्ने उल्लेख गरिएको थियो ।

कार्यविधि परिमार्जन गर्दै स्थायी निक्षेप सुविधा लिन आवश्यक मापदण्ड पनि घटाइको छ । अबदेखि स्वदेशी मुद्रामा लिएको अन्तर बैंक सापटीको दायित्व बाँकी नरहेको रस्वदेशी मुद्राको बचत निक्षेपमा प्रदान गर्न प्रकाशित न्यूनतम ब्याजदर यो सुविधाको ब्याजदरभन्दा कम नभएको बैंकले यो सुविधा लिन पाउनेछन् ।

यसअघि अन्तर बैंक सापटीको दायित्व बाँकी रहेको, पछिल्लो तीस दिनको दैनिक कर्जा निक्षेप अनुपात तोकिएको सीमा भित्र नरहेको, पछिल्लो तीस दिनको दैनिक खुद तरल सम्पत्ति तोकिएको सीमाभन्दा बढी नरहेको, र सबै प्रकृतिका स्वदेशी मुद्राको बचत निक्षेपमा प्रदान गर्न प्रकाशित न्यूनतम ब्याजदर यो सुविधाको ब्याजदरभन्दा कम भएको बैंकले यो सुविधा पाउँदैन थिए ।

यसैगरी स्थायी निक्षेप सुविधाको न्यूनतम रकम १० करोड र सोभन्दा बढीको हकमा ५ करोडले भाग गर्दा निःशेष रहने अंक हुनुपर्ने व्यवस्था गरिएको छ । यसअघि न्यूनतम रकम २० करोड थियो ।

नयाँ व्यवस्थाअनुसार आइतबार प्रदान गरिएको सुविधा मङ्गलबार, मङ्गलबार प्रदान गरिएको सुविधा बिहीबार र बिहीबार प्रदान गरिएको सुविधा आइतबार परिपक्व भई भुक्तानी गरिने छ । तर भुक्तानी मितिमा बैंक विदा पर्ने अवस्थामा विदाको अघिल्लो दिनमा भुक्तानी हुने गरी कम अवधिका लागि समेत प्रदान गर्न सकिने छ ।

राष्ट्र बैंकको व्यवस्थाअनुसार स्थायी निक्षेप सुविधाअनुसार जम्मा गरिएको निक्षेप वापत प्रमाणपत्र प्रदान दिइन्छ । यसैगरी भुक्तानी अवधि समाप्त भए पछि निर्धारित ब्याजसहित सो निक्षेप रकम फिर्ता हुन्छ ।

व्यवस्थाअनुसार स्थायी निक्षेप सुविधामा जम्मा रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइँदैन । तर, यस बैंकको निर्देशनबमोजिम कायम राख्नु पर्ने वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा गणना गर्न सकिनेछ ।

यसरी प्रभावकारी हुँदै
सुविधा लिन चाहनेको मापदण्ड घटाएर फ्रिक्वेन्सी बढाएसँगै एसडीएफमा बैंकहरुको सहभागिता निकै बढेको छ ।

असार १६ र १८ मात्रै हालसम्मकै बढी २५–२५ वटा कारोबार हुँदा १ खर्ब २५ अर्ब तथा १ खर्ब ३० अर्ब रुपैयाँको सुविधा लिइएको छ ।

राष्ट्र बैंकले असार १० गतेयता ३ खर्ब २० अर्ब ९५ करोड रुपैयाँको एसडीएफ दिएको छ ।

यस्तै अन्तरबैंक ब्याजदर पनि ३ प्रतिशतकै वरिपरि घुमेको छ ।


क्लिकमान्डु