काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा रहेको बताएका छन् । मंगलबार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष कोइरालाले निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्तिको मात्रा बढिरहेको उल्लेख गर्दै हाल निष्क्रिय कर्जा ४.५ प्रतिशतसम्म पुगेको बताए ।
कोइरालाले बैंकहरूले कर्जा रिकभरीका क्रममा कर्मचारीहरूले भोग्नुपरेको हिंसा र आक्रमणको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । उनले बैंकका कर्मचारीहरूको सुरक्षाको ग्यारेन्टीका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने माग गरे।
‘बैंक र ऋणीबीचको सम्बन्ध ऋण तिर्दासम्म राम्रो हुन्छ, तर ऋण तिर्न नसक्ने अवस्थामा यो सम्बन्ध बिग्रने खतरा रहन्छ,’ उनले भने । कोइरालाले हाल अधिकांश बैंक र ऋणीबीचको सम्बन्ध सन्तोषजनक छ, तर केही समस्याहरू भने देखिएका छन्।
कर्जा रिकभरीका क्रममा विभिन्न बाधाहरूको सामना गर्नुपरेको कोइरालाको भनाइ छ । विशेष गरी स्थानीय तहको सहयोगको अभावले बैंकहरूलाई धितो लिलाम गर्न र बेच्न समस्या भइरहेको उनले बताए । ‘घरबाटो सिफारिस जस्ता प्रक्रियामा अड्चन हुँदा समयमै कार्य सम्पन्न गर्न सकिएको छैन,’ उनले थपे ।
कोइरालाले यस विषयमा सरकारले आवश्यक पहल गरी समस्या समाधान गर्नुपर्नेमा जोड दिए । बैंकिङ प्रणालीको स्थायित्व र आर्थिक सुधारका लागि सबै पक्षले सहकार्य गर्नुपर्ने उनले बताए ।
संघका उपाध्यक्षसमेत रहेका ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मीले ऋणी र बैंकबीचको सुमधुर सम्बन्ध भएको र ऋणीलाई विश्वास गरेर नै ऋण लगानी गर्ने बताए ।
ऋण असूली न्यायाधिकरणमा ऋणको भाखा नाघेको ४ वर्षभित्रै लैजानुपर्छ अन्यथा मान्य नहुने उनले बताए ।
पछिल्लो समय निष्क्रिय कर्जा बढेको उनले बताए । भाखा नाघेको कर्जा बढ्दा ऋण असुली न्यायाधीकरणमा मुद्दा बढेको उनको भनाइ छ ।
पुँजी कोषको सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यासअनुसार अहिले नेपालको गणना गर्ने हो भने १/२ प्रतिशत बढ्ने अवस्था भएको रेग्मीले बताए । पुँजीकोष वा बैंकहरूको सम्पत्तिको गुणस्तरमा ठूलो समस्या नरहेको भन्दै उनले ४/५ प्रतिशतको निष्क्रियकर्जालाई ठूलो समस्या मान्नु नपर्ने उल्लेख गरे ।
त्यस्तै नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले यो वर्ष र आगामी २ वर्ष विश्व अर्थतन्त्रको वृद्धिदरमा ठूलो परिवर्तन हुने नदेखिएको बताए ।
नेपालको भने केही सकारात्मक रहने अनुमान आईएमएफ र विश्व बैंक जस्ता निकायहरूले गरेको उनको भनाइ छ ।
‘मुद्रास्फीति विश्वभर घट्दो ट्रेन्डमा भए पनि भारतमा उताचढाव देखिन्छ। त्यसको प्रभाव नेपालमा पनि देखिन्छ । पछिल्लो केही महिना बढ्दो क्रममा देखिन्छ,’ उनले भने ।
उपभोग्य बस्तुको मूल्य बढेको भन्दै उनले निश्चित आम्दानी भएको उपभोक्ता प्रभावित हुने अवस्था आएको बताए ।
निक्षेपमा त्यति राम्रो ग्रोथ नभए पनि कर्जामा पछिल्ला वर्षको तुलनामा केही सुधार रहेको शर्माले बताए । १८/२० प्रतिशतको ग्रोथको तुलनमा कम भए पनि गत वर्षको तुलनमा सुधार देखिएको उनको भनाइ छ ।
गत वर्ष दोस्रो त्रैमाससम्म ७ प्रतिशत बढे पनि यो वर्ष निक्षेप ४ प्रतिशतले वृद्धि भएको छ । यस्तै
कर्जातर्फ गत वर्ष र यो वर्ष बराबर साढे ४ प्रतिशतले वृद्धि भएको छ । उनले भने ,’ बैंकहरुको नाफा घटेको छ । वितरणयोग्य मुनाफा ऋणात्मक छ । लगानीमा प्रतिफल ८ प्रतिशतभन्दा तल झरेको छ । निष्क्रिय कर्जा बढेको छ । रिकभरीमा ठूलो चुनौती छ। स्थानीय तहबाट सहयोग भएको छैन भने चुनौतीहरु आएका छन् ।’
न्यून नाफा र लगानीमा घट्दो प्रतिफल चुनौतीको रुपमा रहेको उनको भनाइ छ । शर्मा भन्छन्, ‘आधार दर र स्प्रेडको गणनामा पुनराअवलोकन हुनुपर्छ । फि तथा कमिसन आम्दानीमा पनि सीमाहरू छन् । प्रत्यक्ष लगानीको व्यवस्थामा पुनरावलोकन आवश्यक छ ।’
प्रतिक्रिया