काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने ‘सगरमाथा संवाद’ कार्यक्रमको शुभारम्भ गरेका छन् ।
मंगलवार सिंहदरबारमा प्रधानमन्त्री ओलीले संवाद कार्यक्रमको सुभारम्भ गरेका हुन् । पहिलोपटक आयोजना हुन लागेको सगरमाथा संवादको ‘जलवायु परिवर्तन, पर्वतीय र मानवीय भविष्य’ रहेको छ ।
संवाद कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनले गरेको असर र समाधानका उपायबारे विभिन्न आयाममा र विषयगत छलफल गरी निष्कर्षलाई अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराइने बताए । नेपालले जलवायु न्यायका सन्दर्भमा अन्तर्राष्ट्रिय जगतमा सशक्त आवाज उठाउँदै आएको उनको भनाइ छ ।
जलवायु परिवर्तनका विषयमा विश्वमै नेतृत्व हासिल गर्न तथा जलवायु न्यायका लागि पैरवी गर्न संवाद सुरु गरिएको हो । परराष्ट्र र वन तथा वातावरण मन्त्रालयले विभिन्न समिति बनाई तयारी थालेका छन् ।
यो संवाद हाललाई प्रत्येक दुई वर्षमा आयोजना गर्ने मन्त्रिपरिषद्को निर्णय छ । आगामी जेठ २, ३ र ४ गते संवाद आयोजना गर्न प्रश्ताव गरिएको छ ।
संवादलाई नेपालले अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षको अङ्गको रूपमा विकास गर्नेगरी घोषणा गरी तयारीको शुरुवात गरिएको हो ।
संवादमा न्युन कार्बन उत्सर्जन गरेर पनि उच्च जोखिममा पर्नुपरेको पीडाका बारेमा अन्तर्राष्ट्रिय जगताई जानकारी गराउँदै त्यसबाट नेपालले लिनुपर्ने क्षतिपूर्ति र नेपालले उपलब्ध गराएका वातावरणीय सेवा बापतको भुक्तानीको सन्दर्भमा समेत संवादका क्रममा पैरवी गरिने बताइएको छ ।
प्रतिक्रिया