राष्ट्र बैंकले बैंकहरुसँग निक्षेप किन्ने भएपछि अन्तरबैंक ब्याजदर ३ प्रतिशतमै अडियो



काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा (एसडिएफ)उपकरण कार्यान्वयमा ल्याउँदा अन्तरबैंक ब्याजदर ३ प्रतिशत विन्दुमा कायम भएको छ । बैंक वित्तीय संस्थामा अधिक तरलता हुँदा अन्तरबैंक ब्याजदर घटिरहेको थियो ।

एसडिएफ उपकरणमार्फत् बैंकहरुसँग भएको अतिरिक्त भएको सबै रकम राष्ट्र बैंकले संकलन गर्न सुरु गरेपछि फागुन ६ गते अन्तरबैंक ब्याजदर ३.०१ प्रतिशत पुगेको छ ।

राष्ट्र बैंकले फागुन २ गते बैंक वित्तीय संस्थालाई ३ प्रतिशत ब्याज दिएर ५ दिनका लागि २७ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

राष्ट्र बैंकले फागुन ६ गते ५ दिनका लागि ६० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

राष्ट्र बैंकले फागुन ९ गते ५ दिनका लागि तेस्रो पटक ६९ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । फागुन ९ गते संकलन गरेको निक्षेप १३ गते फिर्ता गर्नु पर्नेछ ।

राष्ट्र बैंकका अधिकारीहरु बैंक वित्तीय संस्थामा तरलात बढी भएको अवस्था फेरी पनि एसडिएफ मार्फत् बजारबाट पैसा उठाउने बताउँछन् ।

माघ २९ गते मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामार्फत् राष्ट्र बैंकले स्थाई निक्षेप सुविधा सम्बन्धी उपकरण कार्यान्वयन गर्ने घोषणा गरेको थियो ।

ब्याजदर करिडोर सम्बन्धी सिद्धान्त अनुसार अन्तर बैंक ब्याजदर निक्षेप संकलन दर भन्दा कम भएको अवस्थामा राष्ट्र बैंकले निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा उपकरणमार्फत् बजारबाट पैसा उठाउने र बैंक दरभन्दा अन्तरबैंक ब्याजदर बढी भएको अवस्थामा नीतिगद दरमा रिपो जारी गर्नु पर्छ ।

२०७७ साउनमा अन्तरबैंक ब्याजदर ०.०२ प्रतिशत पुगेको थियो । तर, त्यसबखत राष्ट्र बैंकले ब्याजदर करिडोरको सिद्धान्तअनुसार बजारबाट निक्षेप संकलन गरेको थिएन ।

जबकी, ब्याजदर करिडोर सम्बन्धी नियमअनुसार निक्षेप संकलन दरभन्दा अन्तरबैंक ब्याजदर कम भएको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा उठाउनु पर्ने र अन्तरबैंक ब्याजदर बैंक दरभन्दा माथि भएको अवस्थामा बजारमा पैसा पठाउनु पर्ने थियो।

२०७७ साउमा अन्तरबैंक ब्याजदर ०.०२ प्रतिशत, भदौमा ०.०८ प्रतिशत, असोजमा ०.११ प्रतिशत, कात्तिकमा ०.१४ प्रतिशत, मंसिरमा ०.१० प्रतिशत र पुसमा ०.१४ प्रतिशत हुँदा समेत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा भएको अधिक तरलता खिच्दै बजारलाई ब्याजदर करिडोरको सीमाभित्र राख्ने प्रयास गरेको थियो ।

त्यसबखत निक्षेप संकलन दर १ प्रतिशत, रिपोदर ३ प्रतिशत र बैंक दर ५ प्रतिशत थियो ।

अहिले निक्षेप संकलन दर ३ प्रतिशत, नीतिगत दर ५.५ प्रतिशत र बैंक दर ७ प्रतिशत छ ।

चालु आर्थिक वर्षको असोजमा औषतमा अन्तरबैंक ब्याजदर २।२४ प्रतिशत, मंसिरमा २.०४ प्रतिशत र पुसमा २.८३ प्रतिशत हुँदा समेत राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा उपकरण कार्यान्वयनमा ल्याएको थिएन् ।

मंसिरको पहिलो साता अन्तर बैंक ब्याजदर १ प्रतिशत मुनि झरेपछि राष्ट्र बैंकले मंसिर पहिलो साताबाट बोलकबोल विधी निक्षेप संकलन गर्न सुरु गरेको थियो ।

तर, अन्तरबैंक ब्याजदर घट्ने क्रम नरोकिएपछि राष्ट्र बैंकले फागुन १ गतेबाट एसडीएफ उपकरण प्रयोगमा ल्याएको हो ।


क्लिकमान्डु