सेयर बजारमा २४ लाख महिला लगानीकर्ता, २० महिनामै थपिए साढे ५ लाख



काठमाडौं । सेयर बजारमा महिला लगानीकर्ताको संख्या २४ लाख नजिक पुगेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार २०७९ फागुन मसान्तसम्ममा २३ लाख ७७ हजार १५९ महिलाले डिम्याट खाता खोलेका हुन् । यो संख्या कुल डिम्याट खाताको ४२.५४ प्रतिशत हो ।

सेयर किनबेचका लागि डिम्याट खाता खोल्नेको संख्या फागुन मसान्तसम्ममा ५६ लाख ५५ हजार नाघेको छ । सीडीएससीका अनुसार अहिलेसम्म ५६ लाख ५५ हजार ५१२ जनाले डिम्याट खाता खोलेका छन् भने लगानीकर्ताले बन्द गराएका र बन्द गराउने प्रक्रियामा रहेका खाता संख्या ६७ हजार ३१८ छ । फागुनसम्म ५५ लाख ८८ हजार १९४ खाता कायम छन् ।

डिम्याट खाता खोल्ने पुरुषको संख्या ३२ लाख ४ हजार ६३८ छ । यो कुल खाताको ५७.३५ प्रतिशत हो । डिम्याट खाता खोल्ने तेस्रो लिंगीको संख्या ४५ छ ।

त्यस्तै सेयर बजारमा अभिभावकले कारोबार गर्ने गरी ६ लाख ७९ हजार २१२ बालबालिका (१६ वर्षमुनि)का खाता खुलेका छन् । दैनिक कारोबारभन्दा पनि स्थानीयबासीका लागि कानुनी रुपमै छुट्याइएको या नछुट्याइएको प्राथमिक निष्कासन (आईपीओ) भर्न बालबालिकाका डिम्याट खाता खोलिएका हुन् ।

सीडीएससीका अनुसार २०७९ असार मसान्तसम्म एक कित्ता पनि सेयर नभएको खाता संख्या १४ लाख ८८ हजार ४३७ छ । यो कुल संख्याको २६.६४ प्रतिशत हो । नवीकरण नभएका डिम्याट खाताको संख्या ५ लाख ९३ हजार ३९२ रहेको प्रमुख कार्यकारी अधिकृत पूर्ण आचार्यले जानकारी दिए ।

सीडीएससीले दोहोरो खाता खोल्न सकिने व्यवस्था गरेको छ । जसअनुसार ३ लाख ८३ हजार ३११ जनाले दुई वटासम्म खाता खोलेका छन् ।

नवीकरण नभएका ५ लाख ९३ हजार ३९२, बालबालिकाका ६ लाख ७९ हजार २१२ र दोहोरो ३ लाख ८३ हजार ३११ वटा गरी कम्तीमा १६ लाख ५५ हजार ९१५ वटा खाताका धनी कारोबारमा संलग्न हुँदैनन् । बाँकी ३९ लाख ३२ हजार २७९ वटा खाता आईपीओ भर्न या दैनिक कारोबारमा संलग्न हुन सक्छन् ।

किन बढे महिला ?

पुँजीबजारमा २०७८ असारसम्म १८ लाख ३७ हजार महिला खातावाल थिए । २० महिनामा साढे ५ लाख थपिएर २३ लाख ७७ हजार नाघेको सीडीएससीले जनाएको छ । २० महिनामा पुरुषको संख्या पनि साढे ५ लाख हाराहारीमै थपिएको छ ।

सेयर बजारमा महिलाको उल्लेख्य उपस्थितिका केही कारण छन् । अहिले बालबालिकाको पनि आईपीओ भर्ने क्रम बढेको छ । परिवारका सबै सदस्यको भर्दा कसै न कसैको पर्ला भन्ने आशाले बालबालिकाको डिम्याट खाता खोलिएका कारण महिला सहभागिता बढी देखिएको हो ।

अर्को कारण कानुनतः स्थानीयबासीका लागि छुट्याइएको सेयरमा आवेदन दिनका लागि परिवारका सबै सदस्यको डिम्याट खाता खोल्ने गरिन्छ, जसका कारण महिलाको संख्या पनि बढेको हो ।

त्यस्तै उच्च सरकारी अधिकारी र सुरक्षा निकायका उपल्लो तहका कर्मचारीले श्रीमतीलाई सेयर कारोबारमा लगाउने गरेको पाइन्छ । सानो-सानो अवैध पैसालाई वैध बनाउन उनीहरुले श्रीमतीमार्फत सेयर कारोबार गर्ने गरेका छन् ।

अनलाइनबाटै सेयर किनबेच गर्न सजिलो भएपछि पनि महिला सहभागिता बढ्दै गएको हो । पुँजीबजारमा सहभागी महिलाले आफूलाई आर्थिक रुपमा सबल र अब्बल बनाएको पनि महसुस गर्ने गरेका छन् । घरमै बसेर लगानी गर्न सकिने र थोरै पैसाले पनि सेयर किन्न सकिने भएकाले सेयर बजारमा यसै पनि धेरै मानिसको पहुँच बढेको छ ।

सेयर बजारमा महिला उपस्थिति उत्साहजनक हुनुले सकारात्मक सन्देश दिने विश्लेषकहरु बताउँछन् । यसलाई महिलाको वित्तीय पहुँच र सहभागिता बढेको रुपमा बुझ्नुपर्ने उनीहरुको तर्क छ । ‘यसले पुँजीबजार जस्तो जोखिमपुर्ण क्षेत्रमा पुरुषले मात्र लगानी गर्नसक्छन् भन्ने मान्यता हट्दै गएको रुपमा बुझन् सकिन्छ,’ सेयर बजार विश्लेषक रविन्द्र भट्टराई भन्छन् ।

आयआर्जन र भविष्यका बारेमा पुरुषभन्दा महिला बढी चिन्तित हुने र महिला भविष्यमा वित्तीय रुपमा सुरक्षित हुन चाहने कारण पनि पुँजीबजार महिलाको रोजाइमा परेको हुनसक्ने उनले बताए ।

पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल ब्रोकर कार्यालयमा १०-१२ वर्ष अघिसम्म महिला भेटिँदै-नभेटिने गरेकोमा अहिले प्रशस्त भेटिने गरेको बताउँछिन् । ‘सानो पुँजीबाट, घर तथा कार्यालयको काम भ्याएर र थोरै समयमा पनि कारोबारमा संलग्न हुन सकिने भएकाले महिलालाई पनि सेयर बजार सहज भएको छ,’ उनी भन्छिन्, ‘सेयर बजारसम्बन्धी साक्षरता पनि बढेको छ, हामी आफैं पनि सक्रिय भएर लागेका छौं, हामीलाई देखेर पनि धेरै महिला पुँजीबजारप्रति आकर्षित भएका छन् ।’

सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट सेयर बजारसम्बन्धी जानकारी प्राप्त हुने र पैसा कमाउने महिलाका कथा बाहिर आउने भएकाले पनि धेरै महिलाको रुची बढेको उनको बुझाइ छ । तथापि, कतिपय खातावाल महिलालाई आफ्नो खाता छ भन्ने पनि थाहा हुँदैन । उनीहरुका नाममा खाता खोलेर बुवा, श्रीमान् या छोराले चलाउने गरेका हुन्छन् ।

करिब ४ वर्षमा ४ गुणा वृद्धि

डिम्याट खाता संख्या करिब ४ वर्षमा ४ गुणाले बढेको छ । आर्थिक वर्ष २०७६/७७ मा १५ लाख हाराहारी रहेको डिम्याट अकाउन्ट गएको फागुनसम्ममा ५६ लाख नाघेको हो ।

आव २०७६/७७ सम्म डिम्याट खाता संख्या १५ लाख ७१ हजार ६ सय थियो । आव २०७६/७७ मा १ लाख ८२ हजार ४३४ वटा थपिए । अर्को वर्ष खाता खोल्नेको संख्यामा उच्च वृद्धि भयो । २०७७/७८ भरमा २० लाख ३७ हजार ४२३ नयाँ खाता खुले ।

त्यस्तै २०७८/७९ मा पनि १५ लाख ५७ हजार ५२५ वटा डिम्याट खाता थपिएको सीडीएससीले जनाएको छ । चालू आवको ८ महिनामा पनि ३ लाख ६ हजार ५३० वटा खाता खुलिसकेका छन् । बैंक, ब्रोकर कम्पनी, मर्चेन्ट बैंकलगायतले खाता खुल्ने सुविधा दिएपछि लगानीकर्तालाई सहज भएको छ ।

दैनिक कारोबार कति ?

दोस्रो बजारमा दैनिक कारोबारमा सक्रिय हुनेहरुको संख्या पनि बढेको छ । तीन-चार वर्ष अघिसम्म दैनिक कारोबारीको औसत संख्या ४-५ हजार रहेकोमा अहिले २० हजारभन्दा धेरै छ ।

दोस्रो बजारमा बुधबार दिनभरिमा २५ हजार जनाले कारोबार गरेका छन् । त्यस्तै, सोमबार २३ हजार ८४९, आइतबार २४ हजार ८८४, चैत ३ गते २२ हजार ५२९, २ गते २१ हजार ५८३ र चैत १ गते २३ हजार ५० जनाले कारोबार गरेका थिए ।

दोस्रो बजारमा कारोबार गर्ने कुल लगानीकर्ताको संख्या भने १९ लाखभन्दा केही बढी रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । दैनिक कारोबारी र सक्रिय लगानीकर्ताको यथेष्ठ जानकारीले बजारका बारेमा धारणा बनाउन सहज हुने सेयर विश्लेषकहरु बताउँछन् ।


डीआर आचार्य