एटीएम शुरु गर्ने एससीटीको ‘एग्रेसिभ बाउन्सब्याक’: पूरानो व्यवसायिक उचाई छुन नयाँ प्रविधि र जोश
काठमाडौं । दुई दशकअघि नेपालमा एटीएम कार्ड प्रयोग गर्नुनै नौलो कुरा थियो । मुलुकमा डिजिटल कारोबार गर्नुपर्छ भनेर स्वदेशी कम्पनी स्मार्टच्वाइस टेक्नोलोजीज (एसटीसी)ले नयाँ प्रविधि भित्र्यायो, जतिबेला भारतको पनि आफ्नै कार्ड थिएन ।
कुरा सन् २००३ हो, नेपालमा भर्खरभर्खर कार्डको प्रयोग हुन शुरु हुन थालको थियो । एससीटीले बैंकहरुलाई एटीएम कार्ड प्रयोग गर्ने प्रविधि ल्यायो । अन्तर्राष्ट्रिय बजारमा भिजा कार्ड, मास्टर्ड कार्डजस्तै नेपालमा पनि स्वदेशी कम्पनीकोले उक्त सेवा दिन थाल्यो ।
बैंकहरुले धमाधम एटीएम कार्ड बाँड्न थाले । एससीटी कार्ड झन्डै शतप्रतिशत बैंकमा पुग्यो ।
त्यहीबेला नेपाली बजारमा एससीटीको जस्तो सेवा दिने अन्तर्राष्ट्रियस्तरको भिजा कार्ड प्रवेश गर्यो । एससीटीले भिजासँग प्रतिपस्पर्धा गर्नुपर्ने भयो ।
चुचुरोमा पुगेपछि टिकिरहन गाह्रो हुन्छ भने जस्तै भयो एससीटीलाई ।
एससीटीले बजारमा आफ्नो बर्चश्व कायम राख्न भिजासँग रणनीतिक सहकार्य गर्नुपर्ने थियो, त्यही कुरामा एससीटी चुक्यो ।
बैंकहरु भिजातिर लागे । केही बैंकसँग व्यक्तिगत ‘इगो’को खेल पनि भयो । बजारको बर्चश्व गुम्दै गयो ।
मुलुक डिजिटल प्रविधिमा अगाडि बढिरहेको छ तर स्वदेशकै एससीटी जस्तो अग्रहणी कम्पनी हराउन अवस्थामा पुग्यो । तर, यहीबेला खुसीको खबर आएको छ, अब नयाँ उत्साहसाथ पहिलाकै उचाइमा पुर्याउन एससीटीको ‘रिब्रान्डिङ’ हुँदैछ ।
यसका लागि नयाँ व्यवस्थापनसहित नयाँ रणनीति तयार भइरहेको छ । आइएमइलाई सफलताको शिखर चुमाउन सफल सुमन पोखरेल एससीटीको अध्यक्ष नियुक्ति भएका छन् ।
हामी एससीटीको बालुवाटारस्थित कार्यालयमा पुग्दा यही रणनीति तयार गर्न बैठक चलिरहेको थियो ।
‘हामीले नयाँ लोगोसहित रिब्राडिङ गर्दै छौं,’ स्मार्टच्वाइस टेक्नोलोजीजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण प्रकाश भुजुले बैठक सकिदै गर्दा भने ‘हामी अब आक्रमकरुपमा बाउन्सव्याक हुदैछौं ।’
रविन्द्र मल्लले नेतृत्व गरेको व्यवस्थापनले कम्पनी सञ्चालन गर्न नसकेपछि अहिले नयाँ व्यवस्थापन आएको छ । संस्थागतरुपमा मुलुकका अग्रहणी बैंक तथा वित्तीय संस्थाहरुले यसमा लगानी गरेका छन्
ग्लोबल आइएमई बैंक, प्रभु बैंक र हिमालय बैंकको मुख्य लगानी छ भने विकास बैंकहरुमा सांग्रिला विकास बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक, ग्रिन विकास बैंक र एक्सल डेभलपमेन्ट पनि एससीटीमा सहकार्य गरेका छन् ।
‘तीनवटा मुलुककै ठूला वाणिज्य बैंक र ५ वटा विकास बैंकले लगानी गरेपछि यो कम्पनी निकै बलियो भएर बाउन्सव्याक हुँदैछ,’ भुजुले थपे, ‘बजारको मागअनुसार सबै प्रोडक्ट लन्च गरिसकेका छौं ।’
पेमेन्ट सर्भिस अपरेटर (पिएसओ)को रुपमा चलिरहेको यस कम्पनीलाई कार्ड सेवामात्र नभएर पूर्णडिजिटल सोलुसन दिन पूर्वाधार तयार गरेको छ ।
‘हामीमात्र बजारमा यस्तो पीएसओ छौं जोसँग सबै सेवाहरु छन्,’ भुजुले भने, ‘अहिले एससिटीमा कार्ड, पस टर्मिनहरु, क्युआर, मोबाइल बैंकिङ, पेमेन्ट गेटवे सेवा रहेका छन् ।’
अन्तर्राष्ट्रिय एक्पोजरको लागि भिजाको ठाउँमा चिनियाँ कम्पनी युनियिन पेसँग आवद्ध भएको छ । जसले गर्दा बैंकले आफ्नो प्रोडक्टलाई विविधिकरण गर्न सक्नेछन् । अब भिजामा कुनै समस्या आउँदा लाखौं ग्राहकले दुःख पाउने अवस्था छैन । त्यो ठाउँमा एससीटीले सेवा दिन सक्नेछ ।
भिजाजस्तै एससीटी कार्ड पनि सबै ठाउँमा स्वीकार गर्ने भइसकेको छ । नेपालसहित भारत र चीनमा पनि प्रयोग गर्न सकिन्छ । कन्ट्याकलेस कार्ड पनि दिइरहेको छ । युनियन पेको कार्ड प्रयोग गर्न थालेपछि पुनः एससीटी कार्डको प्रयोग बढ्न थालेको भुजुले बताए ।
एससीटीले रिब्रान्डिङ गर्दैगर्दा यसले कार्डमा मात्र सिमित गरेको छैन । मोबाइल बैंकिङ र क्युआर पेमेन्टका लागि आफ्नै प्लेटफर्म स्मार्ट क्युआर पनि शुरु गरेको छ ।
‘स्मार्ट क्युआरले सबै कम्पनीको पेमेन्ट एकै ठाउँबाट गर्न सकिने सुविधा उपलब्ध गराएको छ,’ भुजुले भने, ‘हामी एउटा प्लेटफर्म सर्भिस प्रोभाइडरमात्र हो ।’
यसको अर्थ के भने स्मार्ट क्युआर भएपछि सबै बैंक र वालेटका क्युआर पनि स्क्यान गर्न सकिने भएको छ ।अहिलेसम्म हरेक वालेट र बैंकले प्रत्येक ठाउँमा छुट्टाछुट्टै क्युआर राख्नुपर्ने अवस्था थियो ।
डिजिटल पेमेन्टको लागि कार्डसँगै, स्मार्ट क्युआर, मोबाइल बैंकिङ र पेमेन्ट गेटवे सलुसन एससीटीसँग छन् ।
अहिले पनि कमर्शियल बैंक, विकास बैंक, फाइनान्स र सहकारी गरेर २४ वटा वित्तीय संस्थाहरु एससीटीमा आवद्ध छन् । प्रभु, ग्लोबल, हिमालयन, एभरेष्ट बैंकलगायत एससीटी कार्ड प्रयोग गरिरहन छन् ।
एससीटीले विकास बैंक, फाइनान्ससँगै सहकारीलाई पनि कार्ड दिन शुरु गरेको छ । हालसालै ८० भन्दा धेरैसँग सम्झौता भइसकेको छ भने झन्डै ६० सहकारीले कार्ड बाड्न थालिसकेका छन् ।
‘अहिले हामीले सहकारीलाई धेरै नै सस्तो अथवा लगानीविना नै कार्ड प्रयोग गर्न दिइरहेका छौं,’ भुजुले भने, ‘जुन सहरकारीसँग बैंकिङ सफ्टवेयर छ । उहाँहरुले यो कार्ड प्रयोग गर्न सक्नुहुन्छ ।’
नेपालमा डेभिड, क्रेडिट सबै कार्ड हेर्ने हो भने झन्र्ड ९० लाख कार्ड भइसकेका छन् । पुरानो एससीटी कार्डबाट युपीआईमा आइसकेपछि अहिले एससीटीका ८ लाख कार्ड छ । वर्षदिनभित्र कम्तिमा ३० प्रतिशत बजार आफ्नो बनाउने लक्ष्य एससीटीको छ ।
एससीटीसँग अहिले झन्डै २५ हजार मर्चेन्ड भइसकेका छन् । एक वर्षभित्रमा १ लाख मर्चेन्ड बनाउने लक्ष्य नयाँ व्यवस्थापनको छ ।
‘यो वर्ष एससीटीका लागि राम्रो टर्निङ प्वाइनट हुन्छ भन्ने आशा गरेका छौं,’ भुजुले भने ।
यसरी चुकेको थियो एससीटी
सन् २००३ तिर भिजा कार्डले नेपाल आउन कोसिस गरिरहेको थियो । त्योबेला नेपालमा क्रेडिट कार्डमात्र थियो ।
सन् १९९७ देखि नै नेपालमा स्ट्याण्र्ड चार्टर्ड, नबिल बैंकले क्रेडिट कार्ड प्रयोग शुरु गरेका थिए ।
हिमालयन बैंकसहित एक दुइवटाको मात्र एटीएम थियो ।
‘त्यो अबस्थामा ठूलो लगानी गरेर सबै बैंकलाई कार्ड सेवा दिन्छु, एउटा इन्ट्राअपरेबल नेटवर्क बनाउँछु भन्नु नै ठूलो आँट थियो,’ भुजुले भने ।
एससीटीले नेपालको सबै बैंकसहित नेपालमा बाहिर पनि सेवा शुरु गरिसकेको थियो । भुटानमा नेपालको जस्तै सेवा दिन शुरु गरिसकेको थियो । एससीटीसँगै टेक्निकाल पूर्वाधार र ज्ञान पनि थियो ।
एससीटीले आफ्नो सेवा शुरु गरेको दुई वर्षपछि सन् २००५ बाट इन्भेष्टमेन्ट बैंकमार्फत् भिजा डेभिड कार्ड शुरु भयो । त्योभन्दा अघि नेपालमा क्रेडिट कार्डमात्रै थियो ।
भिजा नेपाल र भारत सबैमा प्रयोग हुन्थ्यो । तर, एससीटीको कार्ड भारतमा चल्दैनथ्यो । पछि पञ्जाव नेसनल बैंकसँग आवद्ध भएर भारत निश्चित क्षेत्रमा मात्र चल्ने भयो तर भिजाको जस्तो नेटवर्क थिएन एससीटीको ।
भिजाको नेटवर्क धेरै बलियो थियो । उनीहरु अन्तर्राष्ट्रियस्तरमा स्वीकार गरेको कम्पनी भएकाले नेपालमा हुने जुनसुकै स्वदेशी कम्पनीले उसँग सहकार्य नगरी सुखै थिएन् ।
तर, त्यो सहकार्य हुन सकेन । भिजालाई नेपालमा ल्याउने बैंकले एससीटीलाई स्वीकार गरेनन् भने एससीटी सञ्चालकका रुपमा रहेका रबिन्द्र मल्लले पनि उनीहरुसामू ‘नझुक्ने’ रणनीति लिए ।
भिजाको नेटवर्कमा एससीटी नचल्ने र एससीटीमा भिजा नचल्ने भयो । यस्तो अवस्थामा प्रतिस्पर्धीका रुपमा दुई कार्ड बजारमा उत्रिए । भिजाले नेटवर्क बढाउँदै जाँदा एससीटी कार्डमात्र चलाएर बैकलाई नहुने भयो । भारत र नेपालको सबै ठाउँमा एससीटी नचल्ने भएपछि यसको प्रयोग कम हुँदै गयो ।
‘भिजासँग सहकार्य गर्न नसक्नु नै रणनीतिकरुपमा एससीटी पछि पर्दै जानु हो,’ भुजुले भने, ‘त्योबेला भिजासँग सहकार्य गर्न सकेको भए एकअर्काको नेटवर्कमा दुवै कार्ड चल्ने हुन्थ्यो । एससीटीको बजार कायमै रहन्थ्यो ।’
भारतले बिशाल बजारमा पनि मास्टर्डलाई छोडेर अहिले आफ्नै देशको रुप्पे कार्ड प्रवद्र्धन गरिरहेको छ । तर, बिडम्बना नेपालले भने १८ वर्षअघि नै स्थापना भएको स्वदेशी कार्ड सफल बनाउन सकेन ।
पछि यही कुरालाई महसुस गरेर एससीटीले चीनको युनियन पेसँग २०१५ देखि सहकार्य शुरु गर्यो । त्यो सहकार्यपछि अन्तर्राष्ट्रिय एक्पोजर पाएको छ । अहिले एससीटी कार्ड सबै एटिएममा चल्ने भएको छ ।
अहिले आएर नेपाल राष्ट्र बैंकले पनि नेपालमा नेसनल पेमेन्ट स्विच बनाएर नेपालमा नेपालकै कार्ड प्रयोग गर्नु पर्छ भन्ने नीति अघिसारेको छ ।
भिजाको कार्ड प्रयोग भइरहँदा नेपालको ठूलो रकम बाहिर गइरहेको महशुस राष्ट्र बैंकदेखि सबैलाई भएको छ । यही महशुस गरेर स्वदेशी प्रविधि र स्वदेशी कार्डको प्रयोगलाई प्रवद्र्धन गर्न नियामक निकाय पनि सकारात्मक देखिएको छ ।
गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिकरुपमै एटीएम कार्ड प्रयोग गर्दा देशको ठूलो धनराशी विदेश गएको भन्दै यसलाई रोक्नुपर्ने बताउँदै आएका छन् । एक वर्षमा ४० देखि ५० करोड रुपैयाँ विदेशिदै आएको छ ।
आठ वटा बैंक तथा वित्तीय संस्थाको नेतृत्वमा एससीटीको नयाँ व्यवस्थापन आएपछि यसलाई बजारले हेर्ने नजर धेरै फरक परेको भुजु बताउँछन् ।
बजारमा ‘कमव्याक’ गर्नका लागि नयाँ व्यवस्थापन आएपछि नाफाभन्दा पनि सेवालाई केन्द्रमा रहने भुजुको भनाइ छ । आगामी दिनमा भिजा बराबरको सेवा दिन सक्नेमा एससीटी व्यवस्थापन विश्वस्त छ ।
‘म पनि बैंकिङ क्षेत्रमा २२ वर्ष काम गरेको आएको हुँ,’ भुजुले भने, ‘एससीटीसँग धेरै बैंकको एट्याजमेन्ट छ । धेरैले यसबाट आशा पनि गरेका छन् । सबैले एससीटी आउनु पर्छ भनेका पनि छन् ।’
रिब्राडिङका चुनौतिहरु
डिजिटल भुक्तानी बिस्तारै एटिएमबाट मोबाइलमा रुपान्तरण हुँदै छ । अन्तर्राष्ट्रियरुपमा पनि यस्तै भइरहेको छ ।
क्यसालेस सोसाइटीमा जाँदा एटीएम रिप्लेसन हुन केही समय त लाग्छ । तर, अबको लक्ष्य भनेको प्लाष्टिक कार्ड प्रतिस्थापन गर्नु रहेको भुजु बताउँछन् ।
‘हाम्रो फोकस भनेको यी सबै सुविधा एउटै प्लेटफर्मबाट हुनुपर्छ भन्ने हो,’ भुजुले भने, ‘हाम्रो फोकस डिजिटल पेमेन्ट सोलुसनमा हो ।’
अबको चुनौति भनेको यी सबै सुविधालाई एउटै माध्यमबाट एकीकृत गरेर कसरी लैजाने भन्ने रहेको भुजुको भनाइ छ ।
अर्को चुनौति भनेको सबैको लागि प्लेटफर्म उपलब्ध गराउन सक्नु पनि हो । एससीटीले स्मार्ट क्युआर ल्याएको छ । यसको प्रयोग सबै बैंक तथा वित्तीय संस्था, मोबाइल वालेटलगायत सबै गर्न सकून् भन्ने हो ।
‘अबको दिनमा एटीएम प्रयोगमा प्लाष्टिक कार्ड प्रयोग गर्न नपरोस् भन्ने हो,’ भुजुले भने, ‘कसैले पनि ३/४ ओटा बैंकको कार्ड बोक्न नपरोस् भन्ने उद्देश्य हाम्रो छ ।’
मोबाइलमा भएको क्युआरकोड स्क्यान गरेर एटीएमबाट पैसा झिक्न सकियोस् भन्ने उद्देश्य उनीहरको छ । यसका लागि एसटीसीले टेक्नोलोजीलाई स्तरोन्नति गरिरहेको छ ।
अहिले बैंकहरु एउटै ‘भेन्डर’मा निर्भर छन् । बैंक तथा वित्तीय संस्था कुनै एक भेन्डरमा समस्या आउँदा दसौं लाख ग्राहक समस्यामा पर्ने अवस्था छ ।
‘ती ग्राहकले जसको पनि सेवा प्रयोग गर्न पाउनु पर्छ,’ भुजुले भने, ‘बैंकले एउटा भेन्डरको मात्र सेवा दिन्छु भनेर बसिरहनु भएन । त्यो एक किसिमले रिक्स पनि हो ।’
एउटा भेन्डर डाउनहुदा अर्को भेन्डरबाट भुक्तानी लिन सक्ने भएमा सबै ग्राहकलाई सुविधा हुन्छ । तर, बजारमा भने ‘मोनोपोली’ छ । भिजबाहेक अर्को कम्पनीलाई छिर्न नदिने खेल रहेको अवस्थामा एससीटीलाई पुरानो लयमा फर्काउनलाई ठूलो चुनौति छ ।