पुरानो व्यवसायिक उचाई छुन ‘रिब्राण्डिङ’मा एससीटी, क्यूआरमा फोकस



काठमाडौं । नेपालमा पहिलो पटक एटिएम सेवाको सुरुवात स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) बाट भयो । एससीटीले हिमालयन बैंकको सहकार्यमा नेपालमा पहिलो पटक एटिएम कार्ड जारी गर्यो ।

सन् २००३ देखि शुरु भएको एससीटीले नेपालमा कुनै समय एटिएम भनेको एससीटी भन्ने जस्तो छाप बनाउन सफल भएको थियो ।

बैंक तथा वित्तीय संस्थाको संख्या बढ्दो क्रममा थियो भने त्योसँगै एससीटीको व्यवसाय पनि बढ्दो क्रममा थियो । एससीटीका संस्थापक लगानीकर्ता रविन्द्र मल्लको महत्वकांक्षाले एससीटीलाई नै समस्यामा पार्यो ।

कम्पनीलाई उद्दार गर्नको लागि प्रभु समुहका अध्यक्ष देवीप्रकाशन भट्टचन बहुमत सेयरसहित कम्पनीमा प्रवेश गरे । अहिले कम्पनीमा प्रभु बैंक, प्रभु ग्रुपसहित हिमालयन बैंक, ग्लोबल आइएमई बैंकको सेयर छ ।

कोमामा पुगिसकेको एससीटीले पछिल्लो एकवर्षदेखि आफुलाई रिब्राण्डिङ गर्ने तयारी गरेको छ ।

एससीटीमा सुरुवातदेखि कार्यरत कम्पनीको उतारचढाव देखेका निमित्त प्रमुख कार्यकारी अधिकृत दिपेश मास्के कम्पनीलाई पुनः पुरानो उचाईमा पुर्याउन रिब्रान्डिङसँगै आक्रामकरुपमा डिजिटल प्रणालीमा उत्रने बताउँछन् ।

एससीटीले हालै मात्र नेपाल क्लियरिङ हाउसमा रहेको १० प्रतिशत सेयर बेचेको छ । जसबाट कम्पनीले पाएको १६ करोड रुपैयाँ आक्रामकरुपमा व्यवसाय विस्तार र डिजिटल प्रणालीको रुपमा लगाउने योजना बनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मास्केको योजना एससीटीलाई अगाडि लैजान कस्तो छ । यो विषयमा रहेर क्लिकमाण्डूले गरेको कुराकानी ।

नेपालको पुरानो र कार्ड बिजनेशको नेपाली ब्राण्डको कम्पनी पहिला निकै उचाईमा पुग्यो । विभिन्न समस्यामा पनि आयो । अब कसरी चलाउने योजना छ ?

सन् २००३ देखि स्मार्ट च्वाइस टेक्नोलोजीले सेवा दिन थालेको हो । यो स्वदेशी ब्राण्ड हो । सबैलाई यो थाहा छैन । एससीटीले एटिएम र प्लस मेसिनबाट नगद रहित भुक्तानीको काम गरेको थियो । विभिन्न कारणले गर्दा बीचमा हामीले लय गुमायौं । प्रालिबाट अहिले यो पब्लिक लिमिटेड कम्पनीको रुपमा परिणत भएको छ । पछिल्लो समय नयाँ लगानीकर्ता आएपछि एससीटीले कार्डसँग व्यवसायसँगै नयाँ प्रविधिमा आधारित पेमेन्टको व्यवसाय गर्दै आएको छ ।

अहिले हामीले चिपबेस कार्ड जारी गरेका छौं । अन्तराष्ट्रिय रुपमा चीनको युनियन पेसँग आबद्ध भएका छौं । एससीटी कार्ड प्रयोग गरेका छौं । अरु स्किम थप्ने योजना छ ।

पछिल्लो समय क्यूआर पेमेन्ट निकै लोकप्रिय हुँदै छ । यसमा कसरी जाने योजना बनाउनु भएको छ ?

कार्डको व्यवसाय सहित अहिले डिजिटल पेमेन्ट प्रणाली क्यूआर बिजनेशमा जान लागेको हो । हामी पिओसओ भएको हुँदा आफैंले सेवा दिन मिल्दैन । हामीले प्लेटफर्म बनाएका छौ । २ वटा प्रोडक्टले पेमेन्टसँँग सम्बन्धित रिटेल र कर्पोरेट लेभलमा काम गर्न खोजेका छौं ।

हामीले एससीसीटी इन्ट्रा अपरेटल एउटा बैंकको कार्ड अर्कोमा पनि प्रयोग गरेर पैसा निकाल्न मिल्न सवा दिएमा थियौ । यस्तै सेवा अब हामीले हामीले कार्ड सेक्टरमा मात्र नभएर क्यूआरमा पनि दिन लागेका छौं । अहिले मोबाइल एप्लिेकेशन प्रयोग गरेर पेमेन्ट गर्न मिल्छ । पेमेन्ट सर्भिस प्रोभाइडर विभिन्न खाले क्यूआर भएको छ । आइएमई पे राखेको क्यूआरमा प्रभु पेको क्यूआर नचल्ने । अहिले सुरुवात युनिफाइड क्यूआर जसलाई हामीले स्मार्ट क्यूआर नाम दिएका छौ । यसमा आइएमई, प्रभु र क्यू पे नेपाली ब्राण्ड र युनियन पे अन्तर्राष्ट्रिय ब्राण्डको क्यूआर चल्ने बनाएका छौं ।

हामीले आफैं क्यूआर राख्ने होइन । एकअर्कामा एकको क्यूआर अर्कोमा चल्ने बनाउने तयारी गरेका छौं ।

हालैमात्र क्लियरिङ हाउसको सेयर बिक्री गर्नुभयो । त्यो सेयर बिक्रीको पैसा के प्रयोग गर्ने योजना छ ?

नेपाल क्लियरिङ हाउसमा रहेको एससीटीको सेयर बेचेका छौ । एससीटी कुनै बेलाको नाम चलेको कम्पनी हो । अहिले एससीटी नाम सुन्न कम भयो । ब्राण्ड देखिन कम भयो । हामीले प्रतिस्पर्धामा जान विभिन्न कारणले सकेनौं । अहिलेको नयाँ प्रविधिमा लगानी गर्ने योजना हो । यही डिजिटल पेमेन्ट क्षेत्रमा काम गर्न लगानी गर्ने सोचमा छौं । मोबाइल बैंकिङ आउने तयारीमा छ ।

क्यूआर पेमेन्टमा देखिएको समस्या के हो ?

क्यूआरको पेमेन्ट भनेको रिटेल पेमेन्टमा जाने हो । जनचेतना बढेको छैन । पछिल्लो समय क्यूआर पेमेन्टमा आकर्षण बढेको छ । तर, जनचेतना जगाउन जरुरी छ । हालैमात्र दुईवटा तरकारी बजारमा क्यूआर पेमेन्टको सुरुवात भयो । तरकारी पसल चलाउने व्यक्तिले सिकेर यो चलाउन जान्ने भन्नु भएको थियो । हामीले यसको ज्ञान बढाउनुपर्ने जरुरी छ ।

यसमा जनचेतना जगाउन कसले के गर्नु पर्ने हो ?

हामीले विभिन्न खाले जनचेतनाको काम अगाडि बढाउनुपर्छ । हामी विभिन्न मर्चेन्टसँग पुगेका हुन्छांै । यो पूर्णरुपमा इको सिस्टम तयार पार्ने हो । यसमा हामीले मात्र गरेका हुँदैन । मिडियाको पनि निकै ठूलो महत्वपूर्ण भूमिका हुन्छ । सन् २००७÷८ मा कार्ड बिजनेशमा पनि यही समस्या थियो । कार्ड व्यवसाय सुरु गर्यौ । तर, कार्ड चलाएर पैसा निकाल्न आएको हुँदैनथ्यो । सबै सेक्टरबाट सहयोग भएमा डिजिटल पेमेन्टको काम अगाडि बढाउन सकिन्छ ।

गभर्नरले मैले हस्ताक्षर गरेको नोट सर्वसाधारणको हातमा नपुगोस् भनिरहनुभएको छ । यो दिन सम्भव छ होइन ?

मेरो बिचारमा सम्भव छ । राष्ट्र बैंकले निकाल्ने नोट कारोबारमा चाहिने अवस्था आउने छैन । यसको लागि डिजिटल पेमेन्टको इको सिस्टम बनाउनुपर्छ । चीनमा हरेक कुरा क्यूआर मार्फत हुन्छ । यसमा एउटा डिजिटल पेमेन्ट दिने कम्पनीले मात्र गरेको भएको होइन । यो पूर्ण रुपमा इको सिस्टमले गर्दा भएको हो । यो इको सिस्टमले गर्दा भएको हो ।

हाम्रो देशमा लन्च हुन्छ एकदुईदिन हल्ला हुन्छ । चलाउन जान्नेले चलाएको हुन्छ नजान्नेले जानेको हुँदैन । क्यूआर राख्नको लागि प्यान दर्ता चाहिने गरेको थियो । सानो तरकारी पसलहरु प्यानमा दर्ता भएको हुँदैन । यसमा राज्यले सहुलियत दिनुपर्यो । एक पटक भुक्तानी गर्दा ३ पटकसम्म भुक्तानी नभएपछि प्रयोगकर्ताले त्यो प्रयोग गर्दैन । रियल टाइम पेमेन्टको काम हुनुपर्यो । यसमा मोबाइल सेवा प्रदायकदेखि लिएर राज्य सबैको भूमिका हुन्छ ।

डिजिटल प्रणालीमा गएको अवस्थामा कार्ड व्यवसायको सम्भावना कस्तो हुन्छ ?

हरेक कुरा डिजिटल पेमेन्टबाट गर्न सम्भव भएपनि कार्डको प्रयोग हुन्छ । कार्डको प्रयोग एटिएमबाट पैसा निकाल्नलाई मात्र होइन । यसबाट नगदरहित नै भुक्तानी गर्न मिल्छ । इकमर्शको कारोबार हुन्छ । चीनमा त्यतिको ठूलो कारोबार भएपनि एटिएम बुथहरु अझैपनि छन् । कार्डहरु छ । यसको प्रयोग घटेपनि हराएर बिस्थापित हुन्छ भनेर अझै १० वर्षसम्म भन्न सकिने स्थिति छैन ।


पुष्प दुलाल