पूर्वी मधेसमा साना हतियारको चुनौती बढ्दो

सीमापारी पसलैपिच्छे किन्न पाइने पेस्तोल सुरक्षा निकायको टाउको दुखाइ बन्दै


विराटनगर । सुनसरीको सीमावर्ती देवानगन्जमा केही दिनअघि साँझ एकाएक तीन राउन्ड गोली चल्यो । घटनामा स्थानीय २१ वर्षीय शिवकुमार मेहता र रोविनकुमार यादव घाइते भए ।

गोली हान्ने देवानगन्ज–१ का २७ वर्षीय रविन यादव र २१ वर्षीय पिन्टु यादवलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न अर्का कामेश्वर यादव भने फरार छन् ।

पक्राउ परेका रविन यसअघि पनि विभिन्न मुद्दामा पक्राउ पर्नु र कारागार मुक्त हुँदै आइनै गरेका व्यक्ति हुन् । उनी एक महिना अघि लागूऔषध मुद्दामा पक्राउ परेर अदालतबाट धरौटीमा छुटेका थिए ।

गोली चलाउने र घाइते हुने दुवै समूह आपसमा साथी हुन् ।

दुवै समूह सीमावर्ती क्षेत्रमा अवैध कारोबार गर्ने समूह हुन् । उनीहरूबीचको लेनदेनको विवादका कारण गोली चलेको प्रहरीको अनुमान छ ।

उनीहरू सीमावर्ती क्षेत्रमा गाँजालगायत लागूऔषध तस्करीमा मात्र संलग्न छैनन्, चोरी, डकैतीलगायत मुद्दामा पटक–पटक पक्राउ परेर छुट्दै आएका अवैध कारोबारी हुन् ।

सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले क्लिकमान्डुसँग भने, ‘भारतसँग झण्डै ६२ किलोमिटर सीमा जोडिएको सुनसरीमा तस्कर र साना हतियारको चलखेल सुरक्षा निकायको चुनौती बन्दै गएको छ ।’

उनका अनुसार सीमापारी छ्यापछ्याप्ती साना हतियार किन्न पाइन्छ । ती हतियारमार्फत यता अपराध गरेर पारी गएर लुक्ने र पारी अपराध गरेर यता आएर लुक्ने परम्परा जस्तो बनिसकेको छ । ‘यो अन्तरदेशीय समस्या हो,’ तिम्सिनाले भने ।

यही विषयमा वैशाख १० गते भारतको सुपौलमा दुई मुलुकका सीमावर्ती सुरक्षा प्रमुखहरूको संयुक्त बैठक बस्दैछ । उक्त बैठकमा साना हतियारको कारोबार र तस्करी नियन्त्रणका विषयमा छलफल हुने उनले बताए ।

सुनसरीको सीमावर्ती देवानगन्ज, सायवगन्ज, कप्तानगञ्ज, हरिनगरा, अमडुवा, घुस्की लगायतका क्षेत्रहरूमा साना हतियार पडकिनुलाई सामान्य मानिन्छ ।

हरिनगराका एक व्यापारीले भने, ‘यहाँ सामान्य विषयमा पनि दिनहुँ साना हतियार पड्किनु सामान्यजस्तै भइसकेको छ ।’

सीमापारी हरेक पसलमा खेलौनाझैं किन्न पाइने यी साना हतियार यताका सुरक्षा निकायका लागि टाउको दुखाईको विषय बन्दै आएका छन् ।

आर्थिक लेनदेन र तस्करीका नाममा दिनहुँ कटुवा पेस्तोल पड्किन्छन् । उनले भने, ‘यही परम्पराले कैयौँ घाइते भएका छन् भने केहीको ज्यान समेत गएको छ ।’

साना हतियार सीमापारि भारतीय बजारमा सजिलै खरिद गर्न पाइन्छ । सीमाक्षेत्रका बजारमा भारु २ हजारदेखि साना हतियारको कारोबार सुरु हुन्छ ।

१५ हजार भारुमा राम्रो साना हतियार खरिद गर्न पाइने गरेको सुरक्षा स्रोतहरूको अनुभव छ । अहिले पनि बिहारका अधिकांश स्थानमा खुलेआम साना हतियारको खरिदबिक्री हुन्छ ।

एक सुरक्षा अधिकारीले भने, ‘तिनै हतियारकै कारण पूर्वी तराईमा दिनहुँ आपराधिक घटना भइरहेका छन् ।’

भारतीय खुला नाका र कमजोर सीमा सुरक्षाका कारणले तुलनात्मक रूपमा साना हतियारको प्रभावमा कोशी प्रदेशको तराई क्षेत्र मोरङ, सुनसरी र झापा अशान्त बन्दै गएको छ ।

मोरङ प्रहरीले केही अघिल्लो समय पथरीशनिश्चरे नगरपालिका–३, विकास टोलका ३२ वर्षीय राजकुमार तुम्वापोलाई कटुवा पेस्तोलसहित घरबाटै पक्राउ गरेको थियो ।

घरको कोठाको र्‍याकभित्र ‘नन वर्किङ’ कटुवा पेस्तोल भेटिएको थियो । उनले पेस्तोल कुन प्रयोजनका लागि, कहिले र कहाँबाट ल्याएको भन्नेबारे खुलाएका थिएनन् ।

मोरङको मिल्स एरिया, बुधनगर, पोखरिया, कर्सिया, रंगेली, डाईनिया लगायतका सीमावर्ती क्षेत्र साना हतियार र तस्करीबाट आक्रान्त बन्दै आएका छन् ।

पछिल्लो समय खुला सीमाको फाइदा उठाउँदै साना हतियारको प्रयोग र ओसारपसार बढ्दा जिल्लामा सुरक्षा चुनौती थपिएको छ ।

सुरक्षा निकायले पटक–पटक साना हतियार बरामद गर्नु र गोली प्रहारका घटना बढ्नुले पनि यसको पुष्टि गर्छ ।

पेस्तोलबाट गोली प्रहारको घटना भारतीय सीमावर्ती तराईका जिल्लामा पहिले पनि भइरहँदै आएको हो ।

साना हतियार प्रयोग गरी व्यक्ति हत्या, लुटपाट, चोरी, डकैतीका घटनासहित लागूऔषध तथा व्यापारिक वस्तुको तस्करी हुने गरेको पाइएको छ ।

नेपालमा अपराध घटाएर संलग्नहरू लुक्नका लागि वारिपारि आउने–जाने गर्दछन् ।

कोशी प्रदेशमा चालु आर्थिक वर्षको चैतसम्म प्रहरीले भारतबाट ल्याइएका ८ थान साना हतियार र २६ राउन्ड गोली बरामद गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरको अभिलेख छ ।

उक्त अवधिमा अवैध हातहतियारसहित १६ जना पक्राउ परेका छन् ।

सबैभन्दा बढी सुनसरीमा साना हतियारसहित मानिसहरू पक्राउ परेका छन् । सुनसरीमा ४ वटा साना हतियार र १८ थान गोली बरामद हुँदा ९ जना पक्राउ परेका छन् ।

सुनसरीपछि मोरङमा साना हतियार र गोली बरामद भएका छन् । मोरङमा चालु आर्थिक वर्षको आठ महिनामा ३ वटा साना हतियार, ३ गोली र ५ जना पक्राउ परेका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका सुरक्षा अधिकारीका अनुसार खुला सीमाका कारण तस्करी र साना हतियारको प्रभावले सुरक्षा चुनौती थपिएको छ ।

‘खुला सीमा छ । चोरबाटो हुँदै राति अपराधमा संलग्नहरू ओहोरदोहोर गर्नु सामान्य भएको छ,’ ती अधिकारीको गुनासो छ ।

‘साधन र स्रोतले भ्याएसम्म चेकजाँच र पक्राउ भइरहेको छ,’ ती अधिकारीले भने, ‘तर पारी पट्टिको काउन्टरपार्टको सहयोग नभएसम्म साना हतियारको विगविगी र तस्करहरूको दाँई रोकिने स्थिति छैन ।’